विनाअर्थको सडक तताई
२४ भदौ २०६९
•
१५ मिनेट पाठ
विनाअर्थको सडक तताई
एकै वर्षमा छैटौं पटक पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेपछि विद्यार्थीले सडक तताउनु अस्वाभाविक होइन। विडम्वना नै हो कि हाम्रो मुलुकमा इन्धनका प्रमुख उपभोक्तालाई इन्धनको मूल्य वृद्धिले सबैभन्दा ठूलो असर पार्छ। उनीहरु आफ्नो मनमा जति आक्रोश भए पनि चूप नै रहन्छन्।
विद्यार्थीहरु पछिल्लो पटक पनि पेट्रोलियम पदार्थको भाउ वृद्धि हुनासाथै आक्रोशित भएर सडकमा उत्रिएका थिए। आपूर्ति मन्त्रीले उनीहरुलाई छूट दिने वाचा गरेपछि मात्र चूप लागेका हुन। यो वाचा अझै पूरा भएको रहेनछ। छूट दिने सम्झौता सरकारले पालना गरेनछ। उनीहरु पुरानो माग अघि सारेर जनजीवनमा असर पर्नेगरी सडक तताउँदैछन्। सरकारले तिनको माग पूरा गर्योु भने पनि देशको आर्थिक स्थितिमा के/कस्तो असर पर्छ, त्यसका विषयमा विद्यार्थी सचेत देखिँदैनन्।

हाम्रो देशमा जनसाधारणका हितमा कोही बोल्दैनन्। जनसाधारणको चासोको विषयमा राजनीतिक पार्टीले बोल्नुपर्ने हो। समस्या समाधानको कार्यक्रम बनाएर जनतालाई संगठित गर्ने काम उसैको हो। तर, हाम्रा कुनै पनि राजनीतिक पार्टी राज्य सत्तामा कसरी पुग्ने भन्ने अंकगणितमा नै केन्द्रित भइरहन्छन्। नेताहरुको जनसाधारणसँगको सम्बन्ध त केवल चुनावको समयमा मात्र हुन्छ। त्यतिबेला भोट माग्न बाध्य भएका नेताहरु जनताको घरदैलोमा पुगेर मलाई चुन्नुभयो भने म तपाईंले कल्पना गरेको र चिताएको सबै पुर्यारइदिन्छु भन्ने वाचा गर्छन्। अरु समयमा उनीहरु देखिँदैनन्।

राष्ट्र बैंकको तथ्यांकले ७ प्रतिशत मूल्य वृद्धि देखाए पनि देशमा मंहगी अनियन्त्रित किसिमले बढेको छ भन्ने बोध प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत भएछ। उहाँले सरकारी निकायलाई बजार अनुगमन र निरीक्षण गर्न आदेश दिएपछि आयल निगमले इन्धनको मूल्य वृद्धिको घोषणा गरेको हो। इन्धनको मूल्य वृद्धिको चर्चा गरिँदा गोदाम भरिएर थन्किएका वस्तुहरुको मूल्यमा त्यसको असर न्युन हुनुपर्ने हो। किनकि वस्तुहरु ओसारपसार गर्ने यातायात खर्चको ठूलो भाग पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुअगावै तिरिसकिएको हुन्छ। त्यस्ता वस्तुको यातायातमा लाग्ने खर्च भनेको वितरणमा लाग्ने यातायात खर्चमात्र हो। तर हाम्रो देशमा भण्डारमा राखिएको सामानमा हुने यातायात खर्चको बचतमा विचार गरिँदैन। गोदाममा रहेको सामानको मूल्य नयाँ यातायात खर्चअनुरुप बढाइन्छ। अरु त अरु नेपाल आयल निगम, जसले देशलाई १५ दिनसम्म आवश्यक पर्ने झण्डै ७२ हजार किलोलिटर इन्धन भण्डारण गरेको हुन्छ, अन्य क्षेत्रझैं मौन रहन्छ। भण्डारमा रहेको इन्धनले निगमको नाफा नोक्सानमा पार्ने असरबारे निगम सधैँ मौन रहने गरेको छ।

देशभर छरिएका पेट्रोल पम्प तथा ग्यास उद्योगका डिलरले भण्डारमा राखेका वस्तुमा मूल्य वृद्धिको असर के हुन्छ? यसमा कसैले रुचि राख्दैन। मूल्य वृद्धिको घोषणा उनीहरुको निमित्त त चिठ्ठा परेजस्तै हुन्छ। विनाखर्च उनीहरुको भण्डारमा सञ्चित सामानको भाउ वृद्धि हुन्छ। मूल्य वृद्धिको घोषणा जतिसुकै मध्य रातमा गरे पनि व्यापारीलाई मूल्य वृद्धि हुँदैछ भन्ने पूर्वाभाष भइसकेको हुन्छ। उनीहरुले बजारमा सामान बिक्री गर्न कञ्जुस्याइँ गर्छन्। को कसलाई कति मुनाफा हुन्छ यकिन गर्नु कठिन छ। यसबाट जनसाधारणलाई घाटा हुन्छ।

सरकार शायद कामचलाउ भएर होला, मूल्य वृद्धि गर्दा पनि नेपाल आयल निगमको घाटा स्थितिमा ठोस फरक हुने देखिँदैन। मूल्य वृद्धिपश्चात् अर्थात् सेप्टेम्बर महिनाभरमा मात्र पनि उसले ७३ करोड ९२ लाख रुपियाँ घाटा बेहोर्नुपर्ने अनुमान गरेको छ। प्रश्न उठ्छ- मूल्य वृद्धि गर्नु नै परेपछि कमसेकम किन शून्य घाटा हुनेगरी वृद्धि गरिएन? यसका दुईवटा कारण हुन सक्छन्- एक, सडकको तापक्रम नाप्ने अर्थात् सडक तातेन भने केही दिनपछि फेरि भाउ बढाउने। र दुई, सरकारले आयल निगमलाई अनुदान दिने। यी दुवै घातक कदम हुन। समय कुरेर पछि मूल्य वृद्धि गर्ने भनेको जनतालाई सस्तो किसिमले झुक्याउने प्रवृत्ति हो। यही प्रवृत्तिका कारण सवारी साधनका प्रयोगकर्ताले घाम पानी नभनी बाध्य भएर पेट्रोलियमका लागि लाइन लाग्नुपर्ने बाध्यात्मक स्थिति आउँछ। अर्कोतिर मुनाफाको निम्ति कालो बजारले प्रश्रय पाउँछ। घरघरमा प्लास्टिकका ड्रममा डिजेल र पेट्रोल सञ्चय गर्ने क्रम बढ्छ। यसबाट उपभोक्ताको घर-परिवार आगलागीको जोखिममा त पर्छ नै, बजारमा उपलब्ध हुने थोरै इन्धन पनि व्यक्तिगत सञ्चय बढ्न जाँदा कृत्रिम अभाव हुन्छ।

आयल निगमलाई सरकारले अनुदान दिने विकल्प भनेको गाई मारेर गधा पोस्नेसिवाय अरु केही हुन सक्तैन। राजश्वमार्फत् इन्धनको घाटा पूर्ति गर्नु मूलतः शहरी क्षेत्रमा बस्ने जनसंख्या अर्थात् कुल जनसंख्याको १७ प्रतिशतलाई सुविधा दिनका निम्ति बाँकी ८३ प्रतिशतलाई पसिना काट्न लगाउनुसरह हो। जुन देशमा आधा जनसंख्यालाई नजिकका सडक पुग्न घण्टौं हिँड्नुपर्ने बाध्यता छ, तिनका निमित्त यातायात क्षेत्रलाई दिने सहुलियतको कुनै अर्थ हुँदैन। हाम्रो मुलुकमा आयात गरिने पेट्रोलियम पदार्थको ६४ प्रतिशत डिजेल हुने गर्छ। यसको खपत झण्डै ७४ हजार ट्रक, बस, मिनीबस ट्रयाक्टर आदिले गर्छन्। त्यसका लागि दिइने सहुलियत रकम जनताको जीवनस्तर उकास्न तर्जुमा गरिएका कार्यक्रम सञ्चालन गर्न प्रयोग गर्ने हो भने त्यो रकमबाट बहुजनको हित हुने निश्चित छ।

सरकारका सामु मुख्य प्रश्न अनुदान दिएर नेपाल आयल निगममार्फत् यातायात सुविधा प्रयोग गर्न सक्ने सामर्थ्य भएकालाई पोस्ने कि बहुजन नेपालीको हितमा कार्य गर्ने भन्नेमात्र हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि विपन्न परिवार वा समुदायका निमित्त त 'कागलाई बेल पाक्यो, हर्ष न विस्मात' सरह नै हो। आयल निगमले माग गर्दै आएको पेट्रोलियम पदार्थमा लगाइने कर कम गर्ने अर्को विकल्प हुन सक्छ। हाल पेट्रोलमा रु ३४.१२, डिजेलमा रु १५.७० तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २३७.४५ कर लाग्ने गर्छ। जहाँसम्म बढेको मूल्यपछि हुने घाटाको सवाल छ, पेट्रोलमा निगमलाई प्रतिलिटर रु ४.२० मुनाफा हुन्छ। तर डिजेलमा रु ९.९७ तथा ग्यास प्रतिसिलिण्डर रु ३६३.६० घाटा छ। डिजेलको दाँजोमा पेट्रोलको खपत न्युन हुन्छ। पेट्रोलमा राजस्व बढाएर अथवा घटाएर संस्थानको नाफा नोक्सानीमा खासै असर पर्दैन। तर मोटरसाइकलमा सवार गर्ने मध्यम आय भएका व्यक्तिका निम्ति पेट्रोलमा मूल्य वृद्धि कष्टप्रद् हुन्छ। त्यस्तै खाना पकाउने ग्यासका शहरी उपभोक्ताहरु भाउ बढेमा सडक तताउन लागिपर्छन्। तर ग्यासमा मूल्य वृद्धिले निगमको कुल घाटामा खासै असर पर्दैन। डिजेलमा मूल्य वृद्धिको प्रभाव ठूलो हुन सक्छ। डिजेलमा राजस्व घटाएर संस्थानको वित्तीय स्थिति सुधार्न सकिन्छ। समयसमयमा आयल निगमले प्रस्तुत गर्ने सोझो विकल्प यही नै हो। राजस्व घटाउने हो भने प्रत्येक लिटर डिजेल बिक्री गर्दा निगमलाई हुने रु ९.९७ को घाटा सरकारले बेहोर्ने हो भने प्रतिलिटर रु ५.३० मा सीमित हुनुपर्ने देखिन्छ। जसले गर्दा राजस्व प्रभावकारीरुपमा कम हुन जान्छ। सजिलोसँग प्राप्त हुने राजस्व घट्नुको अर्थ सरकारले गर्ने विकास तथा सामाजिक कार्यमा रकम घटाउनु हो।

आन्दोलनले मूल्य वृद्धि नगर्न सरकारलाई मजवुर तुल्यायो भने पनि त्यसको प्रत्यक्ष असर आयल निगमले भारतीय आयल निगमलाई भुक्तानी गर्ने रकममा पर्छ। जसले गर्दा निगमले पेट्रोलियम पदार्थ आयात गर्न सक्दैन र ती पदार्थ पुनः अभाव हुन्छ। त्यसको मार काठमाडौंलगायत् अन्य स्थानमा पेट्रोलियम पदार्थ खपत गर्ने उपभोक्तालाई पर्ने हो। पुनः कथा दोहोरिन्छ- उपभोक्ताहरु महँगो भए पनि पाइए हुन्थ्यो भन्नेमा लाग्छन्।

समस्याको समाधान भनेको जनचेतना र बुझाईबाट हुने हो। आन्दोलित विद्यार्थीलाई सहुलियत दिने नाममा जनसाधारणलाई घाटामा राखेर हुँदैन। हाम्रो देशमा पेट्रोलियम पदार्थको आपूर्ति भारतबाट आयात गरेर हुने हो। भारतीय आयल निगमले तोक्ने मूल्य भनेको विश्व बजारले निर्देशित गर्ने मूल्य हो। हामीले त्यो मूल्य चुकाएर मात्र उपभोग गर्न पाउँछौं। त्यस अर्थमा आयल निगमलाई विश्व बजारअनुरुप मूल्य समायोजन गर्न छुट दिनु आवश्यक छ । आयल निगम मुलुकको सेतो हात्ती सावित भइसकेको छ। उसको कार्यदक्षता न्युन छ। उसको प्रशासकीय खर्च बढी छ। यो संस्थामा भ्रष्टाचार तथा चुहावट धेरै छ। त्यसैले यसले पाएको पेट्रोलियम पदार्थको एकल व्यापारिक सुविधा (मोनोपली) अन्त गर्न ढिला भइसकेको छ। यसको अर्थ आयल निगम खारेज गर्ने भन्ने होइन। उसलाई व्यापारिक प्रतिस्पर्धामा उतार्ने हो भने सरकारले अविलम्व निजी व्यापारीलाई पेट्रोलियम पदार्थ आयात गर्ने सुविधा दिनु आवश्यक भइसकेको छ। सरकारले यो निगमलाई सञ्चयकर्ता र संकटकालीन अवस्थाका लागि राखेर सञ्चित पेट्रोलियम पदार्थको बजारमा प्रभाव बढाउन सक्छ। यो प्रकृयाले उपभोक्तालाई सधैं पेट्रोलियमको हाहाकारबाट जोगाउन सक्छ।

सरकारले आयल निगमलाई राष्ट्रिय सुरक्षा अंगहरुलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको आपूर्तिमा सीमित गर्ने हो। व्यक्तिगत क्षेत्रलाई पेट्रोलियम पदार्थ व्यापार गर्न दिँदा उत्पन्न हुने नकारात्मक असरहरु जस्तै- मूल्य वृद्धि अथवा आयात/निर्यातमा हुने अनियमितता तथा गुणस्तर कायम गर्ने जस्ता विषयमा सरकारले निरीक्षण गर्ने प्रभावकारी निकाय बनाउनु आवश्यक देखिन्छ। मूल्य निधारण गर्दा भारतीय बजारमा भएको मूल्यअनुरुप हामीकहाँ पनि निर्धारण गरिनुपर्ने हुन्छ । अन्यथा अवैध व्यापारले प्रश्रय पाउनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस