इतिहासको बेगारी र नेकपा-माओवादी
२५ भदौ २०६९
•
१७ मिनेट पाठ
इतिहासको बेगारी र नेकपा-माओवादी
'ऐतिहासिक विकासको निकै महँगो मूल्य तिर्नुपर्ने हुन्छ।' इतिहास र संस्कृतिका ज्ञाता ग्यार्गी प्लेखानोभको गम्भीर भनाई राज्य, समाज र पार्टीको सन्दर्भमा कठोर ढंगले लागु हुँदै आएको छ। इतिहासको गतिले मानवजातिको सभ्यतालाई नै अग्निपरीक्षाबाट अगाडि बढ्न विवश पार्छ भने त्यसका अवयवका रुपमा रहेका राज्य, समाज र पार्टी अछूतो हुने कुरै भएन। त्यसैले उनको मत थियो- इतिहासको गति र त्यसका शक्तिहरूले नै सबै पक्षलाई आफ्ना पुराना सम्बन्ध त्याग्न, नयाँ राजनीतिक दलमा संगठित हुन र 'इतिहासको बेगारी' गर्नका लागि निस्कन बाध्य पार्छन्।




प्लेखानोभको दृष्टिकोणबाट हेर्दा देखिन्छ- एकीकृत माओवादीका केही नेता-कार्यकर्ता पनि आफ्ना पुराना सम्बन्ध त्याग्दै नेकपा-माओवादीमा संगठित भएका छन्। तर, प्रश्न उठेको छ- के उनीहरूमात्रै एकीकृत माओवादी र अन्य दलका नेताजस्तै 'इतिहासको बेगारी' गर्नुपर्ने बाध्यताबाट मुक्त हुन सक्लान्?
ज्याला नदिई वा नाउँमात्रको ज्याला दिएर लगाइने वा मन नलाइकन गरिने कामका रुपमा प्रयोग हुने बेगारी शब्दमा सामन्तवादी दुर्गन्ध आउन सक्छ। सामन्तवादी युग भएरै अगाडि बढेको इतिहासले पुँजीवादी युगमा पनि सबै दल तथा नेता-कार्यकर्तालाई आफ्नो बेगारी गर्न नछाड्ने रहेछ। विभिन्न वर्गमा विभाजित समाजमा उत्पादक शक्तिबीचको अत्याधिक द्वन्द्वको परिणामस्वरुप इतिहासको गति अगाडि बढ्दै आएको छ। तर, मानवीय चेतना, संगठनको शक्ति र बल प्रयोगमार्फत् इतिहासको गतिलाई अत्यधिकरुपमा तीव्र पार्न खोज्दा ठूलठूला दुर्घटना भएका उदाहरण कमी छैन। इतिहासको गतिशीलता नबुझ्दा, वस्तुगत नियमअनुसार नचल्दा, उत्पादक शक्तिबीचको द्वन्द्वको सही परिचालन नहुँदा भएका यस्ता दुर्घटना यथार्थमा इतिहासले दिएको कठोर सजाय हुन सक्छ।

प्रश्नको घेराबन्दी
इतिहासको गतिलाई तीव्र पार्ने क्रममा अनेक संघर्ष र विद्रोह भएका छन्। नेपालकै सन्दर्भमा पनि जनयुद्ध र जनआन्दोलन त्यसको जिउँदाजाग्दा नमुना हुन्। ती संघर्षमा धेरै जनधन बलिदान भए, तर ती बलिदान खेर गएनन्। तिनै बलिदानको आधारमा नेपाली ऐतिहासिक गतिको गाडीमा तेल थपिएको हो र नेपाली इतिहासमा राजतन्त्रको अन्त्य र संघीय र धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। यी उपलब्धिलाई क्रान्तिकारी सफलता मान्ने कि क्रान्तिकारी सफलताका लागि नयाँ जनवादी क्रान्ति नै गर्ने भन्ने विषयमा राजनीतिक विवाद भएपछि एकीकृत माओवादीमा फुट भएको हो। तर, यस राजनीतिक विवादलाई विभाजनको तहसम्म लैजाने काममा इतिहासको गतिलाई चेतना, चेतनशील समूह र सचेत प्रयत्नबाट फड्को मराइको हदसम्म तीव्र पार्न सकिन्छ, यसमा सचेत र संगठित प्रयासबाट मात्रै वस्तुगत नियमलाई सहजै मिच्न सकिन्छ भन्ने दार्शनिक मतले पनि उत्तिकै भूमिका खेलेको छ। यस विवाद र विभाजनमा मुख्य नेतृत्वको भूमिका सम्झौतावादी र संशोधनवादी भएको, उनीहरू एक हदसम्मको परिवर्तनपछि शासक वर्गमा रुपान्तरित भएको आरोप सबैभन्दा प्रवलरुपमा उठेको छ। अबको प्रश्न हो- आफ्ना पुराना सम्बन्ध त्यागेका र नयाँ राजनीतिक दलमा संगठित भएका नेकपा-माओवादी नेतृत्व आफैं पनि यस्ता वैचारिक, राजनीतिक र दार्शनिक प्रश्नको घेराबन्दीबाट कति दिनसम्म मुक्त हुन सक्लान्?
कार्ल मार्क्स भन्ने गर्थे, विश्वको इतिहास वर्गसंघर्षको इतिहास हो। यही संघर्षको क्रममा भएका सचेत र संगठित प्रयासको महŒव कम छैन। ती प्रयास धेरैजसो असफलै भए पनि तिनले इतिहासमा आफ्नो छाप छाडेकै छन्। तर, यस्ता धेरैजसो प्रयासमा नेतृत्वको भूमिका भने दासविद्रोहका नेताहरूकै विडम्बना दोहोरिएका छन्। त्यो विडम्बना हो, स्वामीविरुद्ध विद्रोह गर्ने दास र तिनका नेताहरू पनि धेरैजसो मात्रामा दासस्वामी बन्नमै रुचि लिनु। त्यस्तो रुचि पनि दासप्रथाले गाँजेको इतिहासकै सिर्जना थियो, त्यसैले त्यस रुचिबाट स्वतन्त्र हुनु गाह्रै हुन्छ। यस्तै प्रवृत्ति सामन्तवादी र पुँजीवादी व्यवस्थाका मानिस र उनीहरूका नेताहरूमा पनि पाइन्छ। त्यस्तो प्रवृत्तिबाट नेपालका नेताहरू पनि मुक्त छैनन्, मुक्त हुन गाह्रो पनि छ। लेनिन भन्ने गर्थे, जिउनेचाहिँ समाजमा अनि समाजबाट स्वतन्त्र रहनु कसरी सम्भव हुन्छ? वर्गसंघर्षकै क्रममा वस्तुगत अवस्थामा परिवर्तन हुन्छ, त्यस संघर्षका पक्ष/विपक्षका शक्तिहरूमा पनि फेरबदल आउने न हो। यो फेरबदलबारे नियतिवादी विश्लेषण होइन, वस्तुगत नियमको व्याख्या मात्रै हो, जसमा चेतनाको भूमिका पनि कम हुँदैन।
जनयुद्धको नेतृत्व गरी नेपालमा सामन्ती राजनीतिक संरचना उखेल्नमा अग्रिम पंक्तिमा रहेका माओवादी नेताहरू पनि अब क्रान्ति होइन, सुधारको पक्षमा उभिएर बिग्रिए भन्ने नेकपा-माओवादीको आरोप अर्द्धसत्य छ। आर्थिक र सांस्कृतिक क्षेत्रमा आरोपित र आरोपीहरू कति बिग्रिए, कति सप्रिए, अलग्गै खोज र बहसको विषय हो। तर, राजनीतिक क्षेत्रमा सधैं विद्रोहको वस्तुगत परिस्थिति देख्ने सदाबहार विद्रोही आँखाले प्राप्त उपलब्धि देख्दैन, देखे पनि न्युनीकरण गर्छ, सुधारलाई वास्तै गर्दैन। प्रत्येक सुधारलाई नै सुधारवादी ठान्ने, सुधार र क्रान्तिको अन्तर्सम्बन्धलाई मतलब नगर्ने तथा क्रान्तिको नाममा युद्धको भुमरीमा होमिएर सखाप हुने अन्धताले सबै बिग्रिएकोबाहेक केही देख्ने अनुमति दिँदैन। त्यस्तो अन्धताले इतिहासको गतिलाई चलायमान बनाइरहेको वस्तुगत नियमलाई आत्मसात् गर्ने स्वीकृति पनि दिँदैन। र, अन्ततः बलिदानका लागि बलिदानको नारा लगाउँदै आफूलाई सदाबहार विद्रोही सिद्ध गर्नुमै उनीहरूको सर्वाेपरि लक्ष्य बन्न पुग्छ, समाज परिवर्तनको नाममै।
बिग्रिन अभिशप्त नेतृत्व
सदाबहार विद्रोहीहरूको बाटोभन्दा भिन्न बाटो पनि निकै चल्ती मार्ग हो। नेकपा-माओवादीले आरोप लगाएझैं विद्रोही नेताहरू पनि शासक वर्गमा सामेल हुने चलन नेपाली समाजमा पनि व्यापक छ, त्यो कांग्रेसदेखि एमाले र माओवादीसम्म पनि देखिन्छ। विश्व इतिहासमा पनि सामन्तवादी युगमा भएका ठूलठूला विद्रोहका नेताहरूले पनि विजयको फलस्वरुप सामन्ती शासक वर्गमा स्थान पाएका उदाहरण नभएको होइन। मध्ययुगीन कालको नर्वेमा बाह्रौं शताब्दीको अन्त्यमा किसान नेता स्वेर्रे महान् बीस वर्ष लामो संघर्षपछि सिंहासनमा आसीन भएका थिए। सत्ता पक्षका शत्रुहरूले उनका समर्थकहरूलाई 'बिर्केबिनर' र अर्धनग्नसमेत भनेर गाली गर्थे। पछि आफूलाई विद्रोही राजनीतिक दलका रुपमा बिर्केबिनर नामबाटै स्थापित गरेका ती अर्धनग्नहरूका नेता शासक भए पनि समाजको परिवर्तन राजतन्त्र र सामन्तवादको अन्त्यसम्म पुग्न सकेन। त्यस्तै भएको थियो, छिमेकी देश चीनमा भएको ठूलो विद्रोहमा पनि। सन् १३६८ मा चीनमा ठूलो आन्दोलन भयो, जसले मंगोल वंशको शासनै समाप्त पार्‍यो। पक्कै पनि त्यो आन्दोलन राष्ट्रिय मुक्ति आन्दोलन थियो र सामन्तवादविरोधी पनि थियो। त्यस आन्दोलनले पनि आफ्नो लक्ष्य पूरा गर्न सकेन, तर एक सइस (घोडाको रेखदेख गर्ने व्यक्ति) लाई भने सिंहासनमा विराजमान गर्‍यो।
प्रत्येक आन्दोलन आफ्नो लक्ष्यसम्म नपुग्न सक्छन् र आन्दोलनकारी नेताहरू शासकमा फेरिन पनि सक्छन् र यसरी आन्दोलन सिंगै तुहिन सक्छ। यस्तो असफलता त इतिहासको यात्रामा कति भयो कति? त्यसको हिसाबकिताबै छैन। धेरैजसो आन्दोलनका नेताहरू शासक वर्गको स्थानमा सामेल भएका र त्यस वर्गको उपग्रहजस्तै हुने अनि बाँकी आममानिसको जीवनमा धेरै परिवर्तन नहुने स्थिति जारी रहेका उदाहरण बग्रेल्ती पाइन्छन्। यति हुँदाहुँदै पनि ती आन्दोलनको अर्थ र महŒव भने कम छैन, न त ती आन्दोलनमा भएका बलिदानै खेर जान्छन्।
आन्दोलन र विद्रोहमा होमिएका नेतादेखि कार्यकतासम्मका उद्देश्य र लक्ष्यमात्रै होइन, नीति र नियत जतिसुकै उच्च किन नहोऊन्, उनीहरूले न इतिहासको चक्र घुमाएर आदिम समानता ल्याउन सक्छन्, न त इतिहासको गतिलाई तीव्र पारेर आजै साम्यवादी व्यवस्थै स्थापना गर्न सक्छन्। समाजमा जारी वर्गसंघर्षलाई सही ढंगले सञ्चालन गर्न सकिएन भने, वस्तुगत नियमलाई पचाएर समाज परिवर्तनको संघर्षलाई नेतृत्व गर्न सकिएन भने इतिहासको गतिलाई बलजफ्ती मात्रै तेज पार्न सकिँदैन। त्यसैले धेरैजसो आन्दोलन र विद्रोह असफल हुन अभिशप्त रहेका छन्, केही समय विजयी नै भए पनि। र, ती आन्दोलन र विद्रोहका नेताहरू असफलताबीच मारिने र सफलताबीच शासकमा फेरिने नियति पनि दोहोरिँदै आएको छ।

प्रतिक्रियाशील अराजनीति
इतिहासमा हरेक परिवर्तनको आफ्नै समय हुन्छ। समय नआउँदै गरिने विद्रोह असफल हुन अभिशप्त हुन्छ र सफल भएका विद्रोहका नेताहरू पनि लक्ष्यसम्म पुग्नुअघि नै शासक वर्गमा सामेल हुन्छन्। यी सबै इतिहासको बेगारी पूरा गर्ने उपक्रम हुन्, जसले समाजको विकासमा आफ्नै अर्थ र महŒव कायम गर्छ नै। त्यसको अर्थ समय कुर्दै हात बाँधेरै बस्नुपर्छ भन्ने होइन। किनभने समाजमा जारी वर्गसंघर्षको सही सञ्चालन गर्न सक्नु र प्रो-एक्टिभ पहल लिनुमै नेतृत्वको खुबी देखिन्छ। तर, इतिहासको बेगारी पूरा गर्दिनँ भन्दै बेला न कुबेला विद्रोहको हुँकार भर्दैमा कोही क्रान्तिकारी हुँदैन। अहिले सबैभन्दा बेसी विद्रोही तेवरसँगै क्रान्तिकारी नारा लगाइरहेको नेकपा-माओवादीकै नेताहरू पनि अहिले त्यही बेगारी पूरा गर्नबाट मुक्त हुने सम्भावना छैन।
हिजोसम्म आजै विद्रोह, भोलि नै सत्ताकब्जा, पर्सि नै नयाँ जनवादको लक्ष्य पूरा गर्ने 'उदात्त नीति र नियत' सञ्चार गरिरहेका ती नेतामध्ये कोही आज शान्तिपूर्ण संघर्षबाट नयाँ जनवाद स्थापना गर्न सकिएन भनेमात्रै बलपूर्वक सत्ता कब्जा गर्ने नारामा झरेका छन्। हिजोसम्म तुरुन्त जनविद्रोहका लागि कोही भूमिगत त कोही अर्धभूमिगत बस्ने तथा सबै सैनिक संरचना निर्माण र जनसरकार पुनर्स्थापना गर्ने उद्घोष गर्दै हिँडेका नेताहरू आज पुरानो स्थायी सत्ताकै एक संयन्त्र : निर्वाचन आयोगलाई केन्द्रीय समितिको निर्णयअनुसार पार्टी गठनको जानकारी दिने स्थितिमा आएका छन्,। 'गम्भीर प्रकारका सैद्धान्तिक, राजनीतिक मतभेद भएकाले एमाओवादीसँग सम्बन्ध विच्छेद गरी नयाँ दल गठन गरेको' दाबी गर्ने नेकपा-माओवादी निर्वाचन आयोगमा पार्टी दर्ता गरी एकाध वर्षमै संसदीय राजनीतिमै चुर्लुम्म डुब्यो भने पनि अनौठो हुने छैन र विद्रोहको साख बचाउन अर्काे सेक्टर काण्ड आयोजना गरियो भने आश्चर्यचकित हुने ठाउँ छैन। राज्यको सत्ताशक्तिको विकेन्द्रीकरण र स्थानीय तहसम्म निक्षेपीकरणका लागि जरुरी संघीय प्रणालीसँग एकात्मक र केन्द्रीकृत राज्य अनि संसदीय शासन प्रणालीको तालमेल मिलाउन गाह्रो हुने तथ्य थाहा हुँदाहुँदै पनि एमाओवादी राष्ट्रपतीय प्रणालीमा गएकाले संसदीय आफू उक्त पद्धतिमा नजानेजस्ता उसको प्रतिक्रियाशील अराजनीतिक अडानले जनमुखी, प्रगतिशील र लोकतान्त्रिक परिवर्तनको नेतृत्व गर्ने सहुलियत र सुविधा दिँदैन। यसका लागि त भूमण्डलीकृत विश्वको अन्तरसम्बन्ध र अन्तरद्वन्द्वको सिंहावलोकन गर्ने, नेपाल र छिमेकी ठूला राष्ट्रको नाडी छाम्ने र ती सबैबीच समाजमा जारी संघर्षलाई अग्रगामी दिशा दिने नीति, नेतृत्व र पहल आवश्यक हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस