सत्ता-विमर्श र बहिष्कृत दलित
०८ असोज २०६९
•
१९ मिनेट पाठ
सत्ता-विमर्श र बहिष्कृत दलित
नेपालका लागि सत्ता, शक्ति, ज्ञान, सञ्चार वा अन्य सबैजसो क्षेत्रको केन्द्र काठमाडौं हो। काठमाडौंमा गत हप्ताको आइतबारदेखि यस साताको आइतबारसम्म भएका विमर्शको केन्द्र पनि सत्ता नै रह्यो।
चाहे संविधान सभा पुनर्स्थापनाको ढोका बन्द गरी संविधान सभाकै निर्वाचनतिर जान लागेका ठूला दलका शीर्ष नेताका ठूलठूला बहसको विषय हेरौं, चाहे ज्ञानका विभिन्न क्षेत्रमा आयोजना भएका छलफल, गोष्ठी र बहसका एजेन्डा अनि त्यहाँ एकसेएक विद्वान्ले गरेका विचार-विमर्शका मुद्दा हेरौं, सत्ता नै केन्द्रीय मुद्दा भएर देखा परे।




कुर्सीकेन्द्रित डिस्कोर्स
विमर्श (डिस्कोर्स) सत्ताको क्षेत्रमा होस् या ज्ञानको इलाकामा, विमर्श आफैं सत्ताशक्तिसँग सम्बन्धित छ। सत्ताशक्तिको निर्माण वा विनिर्माणका लागि विमर्शलाई दोधारे अस्त्रका रुपमा प्रयोग गरिन्छ। तर, राजनीतिक सत्ताशक्तिसँग जोडिएको विमर्शमा पुरानै सत्ता टिकाउने र विस्तार गर्ने नियत एवं नीति अभिव्यक्त भइरहेको छ। संविधान सभामा आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित र महिलालगायत् अन्य बहिष्कृत जनताको इन्द्रेनी उपस्थिति, संविधान सभाका विभिन्न विषय समितिले पेस गरेका अग्रगामी प्रस्ताव तथा विभिन्न क्षेत्रका जनप्रतिनिधिका ककसमार्फत् सक्रिय हस्तक्षेपबाट त्रसित भएका सत्ता-प्रतिष्ठानका पीठाधीश संविधान सभाको चुनाव गर्ने सोम शर्माको गफ गरिरहेका छन्। उनीहरू राजनीतिक विवादबारे मात्रै होइन, पहिले सहमति भइसकेका विषयमा पनि नयाँ सिराबाट बहस गर्ने अतिरिक्त जोशजाँगर देखाउँदैछन्, पुराना राजनीतिक सहमति र संविधान सभाका विभिन्न समितिका प्रस्तावलाई सामान्य सन्दर्भ सामग्रीमात्रै बनाउने उद्घोषका साथ। उनीहरूले जे/जस्तो गफ वा बहस गरे पनि तिनका विमर्शको केन्द्रमा भने आफ्नो वा आफ्नो दलको नेतृत्वमा सरकार गठन मात्रै रहेको छ। प्रधानमन्त्रीमा दाबी-प्रतिदाबी गर्दै हिँडेका विजयकुमार गच्छदारदेखि खड्गप्रसाद शर्मा ओलीसम्मले सत्ताको चाबी आफ्नो खल्तीमै राख्ने नियत सार्वजनिक गर्नु यस अर्थमा अनौठो होइन।
सत्ता-प्रतिष्ठानका पीठाधीशहरूका विमर्शको केन्द्रमा सत्ताशक्तिमा फेरबदल गर्ने नीतिका साथ संविधान सभाबाट नयाँ संविधान लेखन छँदै छैन। तिनका कोठे छलफल (छल±फल)को सेरोफेरोमा नयाँ संविधानमा जनमुखी र प्रगतिशील रुपान्तरणका अन्तर्वस्तु पनि छैनन्। र, उत्पीडित नेपालीमध्ये पनि उत्पीडित दलित समुदायलगायत् सबै पीडित तह र तप्कालाई बहिष्करण र सीमान्तीकरणबाट मुक्त गर्ने चिन्तासमेत देखिँदैन। ती पीठाधीश आफ्नो नेतृत्वमा निर्वाचन गर्ने तथा पहिलो हुनेले जित्ने प्रत्यक्ष निर्वाचन प्रणालीलाई बेसी सिट राख्ने पक्षमा उभिन थालेको पाइन्छ। र, उनीहरू दलितलगायत् सबै बहिष्कृत र सीमान्तकृत समुदायको क्षतिपूर्तिसहित समानुपातिक प्रतिनिधित्व घटाउने पक्षमा उभिएको बलियो संकेत पनि प्रकट हुँदैछ। यसको अर्थ उनीहरू पुरानो सत्ताशक्तिबाट बहिष्कृत र सीमान्तकृत रहेका समुदायलाई विमर्शको सेरोफेरोबाट पनि बहिष्कृत र सीमान्तकृत गर्न पनि पटक्कै नहिच्किचाउन सक्छन्। जनयुद्ध र जनआन्दोलनको रापताप सेलाउन थालेकाले अब त्यसका नायकदेखि खलनायकसम्मले पनि ती संघर्षका जनादेश, अन्तरिम संविधानका सन्देश र अनेक सहमति सम्झौतामा लिपिबद्ध मर्मलाई पनि पोलेर खान बेर छैन। स्थानीय तहका सबै समुदायका जनतासम्म सत्ताशक्तिको निक्षेपीकरण गर्नेगरी राज्यको पुनर्संरचना गर्दै, त्यसलाई संघीयतासहितको नयाँ संविधानले दिशानिर्देश गर्दै समावेशी लोकतन्त्रमार्फत् बहिष्करण र सीमान्तीकरणको समस्यालाई सम्बोधन गर्ने जनादेशलाई पीठाधीशहरूले ममः सम्झेर खाने र 'हेजिमोनी' को हाजमोलाले पचाउने काम गरे भने प्रतिगमनको नयाँ अवतारको दर्शन पाइने नै छ।

जात र विभाजनकारी व्यवहार
'जनयुद्ध' र जनआन्दोलनको मुख्य म्यान्डेट हो- पुरानो सत्ताशक्तिको विभाजनकारी व्यवहार अन्त्य गर्नु। पुरानो सत्ताशक्तिको एउटा मुख्य स्वरुप र चरित्र हो विभाजनकारी व्यवहार। फ्रान्सिसी विद्वान् मिसेल फूकोले 'म्याडनेस एण्ड सिभिलाइजेसन' मा पुरानो सत्ताशक्तिले गर्ने विभाजनकारी व्यवहारको शवपरीक्षा गरेका छन्। फुकोले मध्यकालीन युरोपमा गरिब, रोगी र पागल र आवारालाई समाजबाट अलग्याइने गरिन्छ भन्ने तथ्य खोतलेका छन्। ठीक त्यही अलग्याउने तरिका दक्षिण एसियामा जात/जातिको सन्दर्भमा पनि अभिव्यक्त भएको तथ्य छर्लङ्गै देखिन्छ। मानिसलाई एउटा एउटा सामाजिक पहिचान दिनु, श्रेणी दिनु, नाम र पद पनि दिनु यसकै चिनो हुन्। कसैलाई जातको पहिचान दिइनासाथ ऊ त्यही पहिचानका आधारमा अरु मानिसबाट अलग्गिन्छ। यस्तो प्रक्रियामा सबैलाई 'सामाजिक' बनाइएझैं देखिन्छ, तर सारमा भने उनीहरूलाई समाजबाट अलग्याइएकै हुन्छ। यो एकसाथ 'सामाजिक' पनि बनाउने र समाजबाट 'अलग' पनि गर्ने विभाजक प्रक्रिया हो।
यस अर्थमा जातप्रथाले लाखौं मानिसलाई पहिचान त दिएको छ तर त्यही पहिचान नकारात्मक सावित भएको छ र नकारात्मक पहिचान दिइएका मानिसलाई त्यसले समाजबाट बाहिर पनि पार्दै आएको छ। यही नकारात्मक पहिचान दिने र समाजबाट बाहिर पार्ने विभाजक प्रक्रियाले पुरानो सत्ताशक्तिलाई कमजोर बन्न दिएको छैन। त्यसैले सत्ताशक्तिका पीठाधीशको विमर्शमा जातप्रथाको अन्त्य, जातप्रथाको शिकार भएका लाखौं दलितलाई पनि सत्ताशक्तिमा पहुँच, प्रतिनिधित्व र सहभागिताको ग्यारेन्टी गर्ने विषयले खासै प्रवेश पाएका छैनन्। बरु, समानुपातिक निर्वाचन प्रणालीको परिणामस्जरुप ५१ जना दलितको प्रतिनिधित्व भएको संविधान सभाको विघटनपछि दलितको प्रतिनिधित्वको मुद्दा पनि दलनमा परेको छ। र, अब हुने संविधान सभाको निर्वाचनमा सभासद्को संख्या घटाउने नाममा प्रत्यक्ष निर्वाचित हुनेको संख्या बढाउने र समानुपातिकबाट आउनेको संख्याचाहिँ घटाउने उद्गारहरू 'उच्च जात' का नवसम्भ्रान्त नेताबाट पोखिँदैछन्।
यसको सीधा अर्थ हुन्छ, दलितलगायत् आदिवासी जनजाति, महिला, मुस्लिम र अन्य बाहिर पारिएका समुदायको मात्रै होइन, 'उच्च जात' भनिएका क्षेत्रीहरूको पनि प्रतिनिधित्वमा पनि कमी आउनु। नेपालका पाँच वटै आमनिर्वाचनका परिणामले देखाइसकेका छन्- समानुपातिक निर्वाचन प्रणाली, त्यसमा पनि ऐतिहासिक विभेद र बहिष्करणको क्षतिपूर्ति दिनेखालको चुनाव प्रणाली अंगालिएन भने सत्ताशक्तिमा उत्पीडित समुदायको पहुँच आकाशको फल सावित हुनेछ। तर, अहिले पुरानो सत्ताशक्ति र तिनको राजनीतिक प्रतिनिधित्व गर्ने 'उच्च जात' का नवसम्भ्रान्त नेताहरूका कोठे छलफलमा उत्पीडित समुदायले गर्दै आएको पहुँच र प्रतिनिधित्वको माग बाहिरै पारिएको छ।

ज्ञान उत्पादनमा बहिष्करण
पहिले सिंगो समुदायलाई नै समाजबाट र सत्ताशक्तिबाट अनि अहिले उनीहरूको मुद्दालाई सत्ताशक्तिको वरपरका केन्द्रमा जारी छलफलबाट बाहिर पार्ने नीति वा नियत वा बेवास्ताले राज्यसत्ताको पुनर्संरचनालाई मद्दत गर्दैनन्। यही दुरवस्था 'ज्ञानको सत्ता' वरपर रहेको क्षेत्रमा पनि देखिएको छ, जहाँ दलितलगायत् उत्पीडित समुदायको पहुँच, समता, न्यायको आवाज विचार-विमर्शको विषय बन्न सकेको छैन। गत हप्ता ज्ञान उत्पादन गर्ने विभिन्न संस्थाले आयोजना गरेका ६-७ वटा बौद्धिक विमर्शमा सहभागी हुँदा दलितकै संस्थाले गरेका कार्यक्रममा बाहेक अन्य आयोजनामा दलितका मुद्दा बहसका विषय नै बनेनन्। चाहे साम्राज्यवाद र नेपाली क्रान्तिसम्बन्धी अन्तर्क्रिया होस् या सन् १९९० पछिको बदलिँदो नेपाली समाजसम्बन्धी छलफल होस्, दलितलगायत् पीडित समुदायका मुद्दाले मुखररुपमा प्रवेश गर्न पाएनन्। भव्य ढंगले सम्पन्न भएको एनसेल लिटरेचर फेस्टिभलमा पनि मातृभाषामा लेखनको मुद्दालाई समाहित गरिएझैं दलित लेखनको प्रवृत्ति र दलित सौन्दर्यशास्त्रलाई बहसको मुद्दा बनाइएको भए बौद्धिक विमर्शको दायरा निकै गहन र व्यापक हुन्थ्यो। त्यस्तै, विभिन्न आदिवासी जनजाति, मधेसी, मुस्लिम जनताका भाषामा लेखिएका साहित्यलाई नेपाली साहित्य मान्ने कि नमान्ने भन्ने विषयमा विचारविमर्श गरिएको भए नेपालको आन्तरिक राष्ट्रियता र समावेशी लोकतन्त्रसम्बन्धी सोचाई पनि फराकिलो हुन्थ्यो। लिटरेचर फेस्टिभलमा अर्थतन्त्रबारे बहस गराउन सकिन्थ्यो भने अर्थतन्त्रले साहित्यमा पारेको प्रभाव वा साहित्यमा समावेशी लोकतन्त्रको खोजीजस्ता विषय पक्कै पनि अछुत मुद्दा नहुनुपर्ने थियो। तर, एकातिर एनसेलको प्रायोजन, अर्काेतिर प्राथमिक चरणका कार्यक्रममै विचार, भाषा, समुदायको विविधताको बेसी आस गर्न पनि गाह्रै हुन्छ। पुनर्संरचित हुँदै गरेको भनिने राज्यसत्ताले गर्नुपर्ने दायित्व एउटा संस्थाबाट आशा गर्न सकिन्न तर आगामी वर्षहरूमा सुधारको सम्भावना भने बाँकी छ।
मिसेल फुको भन्ने गर्थे- हामी राज्यसत्ता वा सामाजिक संस्थानहरूको पक्षमा होउँ या नहोउँ, हामी सक्रिय होउँ या नहोउँ, तर हामी हमेसा एउटा सत्ताको विमर्शकै सेरोफेरोमै हुन्छौं। हामी प्रत्यक्षरुपमा सत्ताशक्तिको विमर्शमा होउँ या ज्ञान उत्पादन र विमर्शको क्षेत्रमा, हामी सत्ताकै विमर्शमा रहन्छौं। त्यसैले भनिन्छ- ज्ञान जस्तोसुकैखालको किन नहोस्, त्यो सत्ता-विमर्शकै हिस्सा हो। ज्ञान कहिले पनि आफ्नो सत्तात्मक जरुरतबाट निरपेक्ष हुँदैन, स्वतन्त्र पनि हुँदैन। हाम्रा ज्ञान उत्पादन र विचारविमर्श पनि सत्ताशक्तिको विमर्शबाट निर्देशित वा प्रभावित हुनु अनौठो होइन। तर, सत्ताशक्तिको कुर्सीकेन्द्रित कोठे छलफल (छल±फल) प्रति आलोचनात्मक चिन्ता पोख्ने र चिन्तन गर्ने संस्था वा बौद्धिक तप्काले पनि ज्ञान उत्पादन र विमर्शको क्रममा भिन्नता देखाउनु जरुरी छ। विशेषतः सत्ताशक्तिको कुर्सीकेन्द्रित कोठे छलफल (छल±फल) मा भन्दा फरक विषय, भिन्न प्रश्न, अलग्गै दृष्टिकोण र उन्नत संस्कृतितिर उन्मुख हुनु आवश्यक छ। समाजको मुख्य जरातिर हेर्ने, जरामा लागेका जातप्रथालगायत् अन्य सामाजिक विभेद र उत्पीडनजन्य रोगको डाइग्नोसिस (निदान) गर्ने र तिनको उपचारका लागि ज्ञान उत्पादन र विमर्श गर्ने काम आलोचनात्मक चेत भएका संस्था र बौद्धिक तप्काहरूको चुनौतीपूर्ण काम हो। अन्यथा, ज्ञान आफैं सत्ताको विमर्श भएझैं ज्ञानीजनहरू पनि सत्ता, शक्ति र सम्पत्तिका प्रतिष्ठानहरूकै औजार मात्रै बनिरहने खतरा रहिरहन्छ।

दुइटा पहिचानप्रति त्रास
अहिले सत्ता र ज्ञानको शिखरमा रहेका पीठाधीशमा दुइटा पहिचानप्रति छूवाछूतको भाव बढ्दो छ। एउटा पहिचान हो- जन्म र वंशका आधारमा टिकिरहेको जातप्रथाले ठेकेको जातगत पहिचान उन्मूलन गर्ने विषयमा उनीहरूको हिच्किचाहट बाँकी नै छ। र, कथित उपल्लो जातको चुह्लो छाएको निहुँमा दलितले ज्यानै गुमाउनुपर्ने हदसम्मको हिंसा अस्वीकार्य भएको छैन। र, अन्तरजातीय विवाह गरेको बहानामा दलित वस्ती नै कुटपिटसहित गाउँ निकाला गरिने विभाजनकारी प्रक्रिया रोक्ने कुनै पहलकदमी पनि भएको छैन, बरु 'अछुतहरूले हक मागे समाजको शान्ति र सद्भाव बिग्रिन्छ' भन्ने भावले घर गर्न थालेको छ।
त्यस्तै, अर्को पहिचान हो, आदिवासी जनजाति, मधेसी, मुस्लिमका पहिचानको नामै सुन्न नचाहने र त्यस्तो पहिचानलाई पश्चिमा डलर र पाउण्डबाट निर्मित ठान्दै आफूलाई पहाडी उच्च जातीय राष्ट्रवादी कित्तामा सुरक्षा खोज्ने प्रवृत्ति पनि बढ्दो छ। त्यस अर्थमा जोसुकैले पनि सुतुरमुर्ग चाल अंगाले पनि यथार्थमा पहिलोथरि मासिनुपर्ने पहिचान बोकेको दलितका अधिकार र दोस्रोथरि पहिचानकै आधारमा खोजिएको न्यायोचित हक पनि मूलतः सत्ता, शक्ति र सम्पत्तिमाथि जारी विमर्श र हस्तक्षेप नै हो। यस्तो विमर्श र हस्तक्षेपलाई गहिरो र फराकिलो पार्न जातीय विभेद र छुवाछुत अन्त्यका लागि राष्ट्रव्यापी सामूहिक अभियानको क्रममा ३६ जिल्लामा ५ हजार किमीको यात्रामा लागेका युवाहरूले मात्रै होइन, सत्ता र ज्ञानको क्षेत्रमा लागेका संस्था र नेतृत्वले पनि देशव्यापी विमर्शको लहर सिर्जना गर्नु जरुरी छ। यसमा साथै, शीर्ष नेताहरूका कोठे छलफल (छल±फल) माथि पनि हस्तक्षेप गर्ने क्षमता, आँट र पहलकदमी विकास गर्नु जरुरी भइसकेको छ। नत्र, समाज, सत्ता, शक्ति, सम्पत्तिबाट मात्रै होइन, विमर्शबाट पनि बहिष्कृत र सीमान्तकृत गर्नेखालको पुरानो सत्ताशक्तिको गाडीमा स्वतः ब्रेक लाग्दै/लाग्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस