सत्तामा टिक्ने खेल
१४ असोज २०६९
•
१६ मिनेट पाठ
सत्तामा टिक्ने खेल
बुढापाकाहरु भन्ने गर्थे 'नपढेका भन्दा पढेकाहरु बढी मूर्ख हुन्छन्।' यस भनाइमा कति सत्यता छ त्यो त भन्नेहरु नै जानुन्। तर निश्चय पनि विद्वान वा बुद्धिजीविले आफनो स्वार्थका निमित्त मुलुकलाई धेरै हानी तुल्याउन सक्दछ। उसँग सूचनाको पहुँच बढी हुन्छ।
प्रचार प्रसारका निमित्त उसलाई प्रविधि पनि उपलब्ध हुन्छ। उसले आफनो फाइदाका निमित्त तिनीहरुको प्रयोग सजिलैसँग गर्न सक्छ। चलाखीको उपयोग आफनो स्वार्थका निमित्तगर्दा समाज र मुलुकले के कस्तो मूल्य चुकाउनु पर्छ त्यसको उसलाई पर्वाह हुँदैन।
हाम्रा प्रधानमन्त्री अब्बल दर्जाका विद्वान हुनुहुन्छ। आफूलाई अर्थ-राजनीतिको विशेषज्ञ बताउने डा.बाबुराम भट्टराई प्राज्ञिक समुदायमा स्टालिनले कसरी पश्चिमी युरोप भन्दा १०० वर्ष पछाडि परेको सोभियत युनियनलाई २०/२५ वर्षमा नै उछिन्न सक्ने तुल्याए भनेर वर्णन गर्न थाल्नुभएको छ। वास्तविकता भने फरक छ। वोल्सेभिक क्रान्ति अघि सोभियत युनियनको ठूलो भाग त्यस बखतको पश्चिमी युरोपभन्दा पछाडि परेका थिएनन। स्टालीन त परै रहुन, बे्रजनिभको शासनकालसम्म पुग्दा उसका अधिकांश भाग पछाडि परेका थिए र छन्। यहि कारणले गर्दा नै हो गोर्वाच्योवले अर्थतन्त्रलाई खुल्ला पार्ने बाध्यता महसुश गरे। सत्य भनेको स्टालीनले हिटलरलाई परास्त गर्न सके। त्यसैगरी तिनले सोभियत युनियनलाई दोस्रो सैनिक शक्तिका रुपमा पुर्या एका हुन्। यो तथ्य प्रशंगवस निकालिएको हो। किन कि हाम्रो मुलुकले राजा महेन्द्रको 'अरुले सय वर्षमा गरेको काम हामीले दश वर्षमा गरेर देखाउनु पर्दछ' भन्ने महावाणीको पिडा भोगिसकेको छ। त्यहि नारामा उनी र उनका छोराले ३० वर्ष एक छत्र राज गरे। अब माओवादीहरुले २० वर्षमा मुलुकलाई विकासशीलबाट विकसित बनाइदिने भन्न थालेका छन्। यो भनाइले मुलुक अझ कति पछाडि पर्ने हो त्यसको अनुमान मात्र गर्न सकिन्छ।
प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्रीले संविधान सभाको अवसानको घोषण गर्दा आफ्नो पार्टीलाई दुइतिहाइ मतले जिताउन जन समक्ष अनुरोध गरेका थिए। त्यो दुइतिहाइ प्राप्तिका निमित्त कामचलाउ प्रधानमन्त्रीकै हैसियतले पनि उनले जनसमक्ष ठूला ठूला आश्वासन र सपनाहरु बाड्न थालेका छन्। उनको वौद्धिक नेतृत्वमा देशमाथि लादिएको जनयुद्धले मुलुकलाई बीसौं वर्ष पछाडि धकेलेको वास्तविकतालाई लुकाउँदैै २० वर्षमा विकसित मुलुक बनाइदिने सपना बाड्नु कति चलाखी हो र कति राजनीति त्यो तिनलाई नै थाहा होला। वास्तविकता भनेको हामी ४ प्रतिशतको आर्थिक वृद्धि दर धान्ने प्रयत्नमा तँछाडमँछाड गरेर लागि परेका छौँ।




प्रधानमन्त्रीको भनाइ र गराइमा हुने भिन्नताले सबैलाई समय समयमा रनभुल्लमा पार्दछ। जस्तो कि लोडसेडिङ १० घण्टा तुल्याउने पछिल्लो निर्देशनलाई उदाहरणका रुपमा लिन सकिन्छ। वास्तविकता के हो भने विद्यमान विद्युत् उत्पादन र प्रसारण क्षमता तथा माग अनुसार लोडसेडिङ १९ घण्टा हुने लक्षणहरु देखिन्छ। वर्षात्मा सबैभन्दा बढी उत्पादन हुँदा समेत हामी कहाँ प्रतिदिन ६ सय ४० मेगावाट विद्युत उत्पादन हुन सक्छ। सुक्खा याममा घटेर यो आधाको हाराहारीमा पुग्दछ। माग भने प्रतिदीन १ हजार १ सय ६० मेगावाट भन्दा बढी हुन्छ। हिउँदमा ५ सय २० मेगावाटको घाटा पूर्ति जादुबाट बाहेक हुन सक्तैन। यदि भारतले दियो नै भने पनि हाम्रो प्रसारण लाइनको क्षमता प्रतिदिन १५० मेघावाट भन्दा बढी आयात गर्न सक्ने छैन । यस्तो परिस्थीतिमा उत्पादन बढाउने र प्रसाारण लाइनको क्षमता वृद्धिगर्ने तर्फ उन्मुख हुनपर्ने हो। प्रधानमन्त्रीका प्रशिक्षित कार्यकर्ताहरुले न नयाँ आयोजना कार्यन्वयन हुन दिएका छन् त न प्रसारण लाइनको क्षमता वृद्धि कार्यलाई नै अगाडि बढ्न दिएका छन्। प्रधानमन्त्री मुलुकको हितका निमित्त तयार भइदिएको भए आफना कार्यकर्तालाई अनुसाशित तुल्याएर उत्पादन वृद्धितर्फ श्रोत र साधन परिचालन गर्ने नीति तजर्ुुमा र कार्यान्वयनमा लाग्ने थिए।

केहिदिन अगाडि प्रधानमन्त्रीले महिलाहरुको भेलालाई सम्बोधन गर्दै उनीहरुको ५० प्रतिशत प्रतिनिधिŒव राज्यको सबै निकायमा हुनुपर्दछ भने। तर, उनको कार्यकालमा कुनै पनि महिलालाई प्राथमिकता दिएको पाइँदैन। प्रशासनमा सचिव कति महिला भए? कुनकुन सरकारी संस्थामा उनीहरुको नियुक्ति भयो? अनि कुनकुन प्रयास वा नीतिहरुको तर्जुमा भएका छन् जसले महिला उत्थान तर्फ अग्रसरता देखाएको छ? बल्लबल्ल एक महिला मुख्य सचिव बन्न योग्य भएकी थिइन। उनलाई सो पदमा नियुक्त गर्नु त परै जाओस् उनको विचल्ली नै भएको छ।

जनतालाई राहत दिने उद्देश्यले न्यूनतम मुल्यको घोषणा, मूल्यसूचि अनिवार्य राख्नुपर्ने प्रावधान र बजारको अनुगमन जस्ता कार्यक्रम ल्याइए। विद्वान अर्थ-राजनीति विज्ञ प्रधानमन्त्रीलाई थाहा छ मूल्य वृद्धिको कारण आन्तरिक मात्र होइन बाहिरी पनि हो। भारतीय बजारको अवस्थाले प्रत्यक्ष असर हाम्रो बजारमा पार्दछ। सबभन्दा बढि हाम्रो व्यापार उनीहरुसँग नै हुन्छ। हाम्रो मुद्राको भाउ भारुसँग गासिँएको छ। अनि सीमाना खुल्ला छ। आन्तरिक कारण भनेको बजारमा हुने माग र आपूर्तिको कारणबाट मूल्य निधारण हुनुपर्ने हो। जहाँसम्म सरकारको हस्तक्षेपको प्रभावकारीताको प्रश्न छ त्यो कृत्रिम अभाव सिर्जनाको अवस्थालाई रोक्ने तथा गुणस्तर कायम गर्ने तर्फ केन्द्रित हुनुपर्ने हो। अझ चाहेको खण्डमा विश्वबजारबाट सस्तोमा सामान भिœयाउने कार्यलाई प्रोत्साहन गर्ने हो। यि विषयमा उनको सरकार मौन छ। बजार अनुगमन भन्ने कार्य मिथ्या सावित भएको छ।

सरकारबाट गरिने खर्चलाई दुई प्रमुख शीर्षक अन्तर्गत राखिने गरिएको छ। ती हुन साधारण तथा पुँजिगत। साधारण खर्च भन्नाले तलव भत्ता, रिण भुक्तानी आदि लगायतका अत्यावश्यक खर्चहरु हुन्। पुँजीगत खर्च भनेको विकास कार्यमा हुने खर्चहरु हुन्। सरकारी खर्च विवरणलाई हेर्न हो भने खर्च आकासिँदै गएको पाइन्छ। तर त्यसको अनुपातमा आन्तरिक स्रोतबाट राजस्व परिचालन हुन सकेको छैन। विकास निमार्णका कार्यहरुमा भन्दा सरकारी साधारण खर्च अझ बढ्दैै गएको छ। साधारण खर्च कुल खर्चको ६० प्रतिशतको हाराहारीम्ाा पुग्ने लक्षणहरु देखा पर्न थालिसकेका छन्। राजस्व र खर्चबीचको खाडल पनि फराकिलो हुँदै गएको छ। त्यो खाडल पुर्ने श्रोत भनेको वैदेशिक तथा आन्तरिक सहयोग र ऋणहरुबाट नै हो । वैदेशिक सहयोग क्रमिक रुपमा संसार भरि नै घट्दै गएको छ। हामी सबिस्तार ऋणमा डुब्दै छौं। आन्तरीक ऋण लिने कार्यमा पनि सरकारले ऋणलिने तिब्रता देखाउँदै छ। आन्तरिक ऋण भनेको सरकारले बजारमा भएको मुद्रालाई आफूतर्फ आकर्षित तुल्याएर बजारको तरलता घटाउने हो। यसरी उठाएको ऋण साधारण खर्चका निमित्त उपयोग गरिनु भनेको व्यापारीक क्षेत्रलाई तिनले उत्पादक क्षेत्रमा गर्ने लगानीबाट विमुख तुल्याउनु सरह हो। आखिर ऋण भनेको ऋण नै हो। कुनै न कुनै समय साँवाव्याज भुक्तानी गर्नु पर्दछ। त्यसै पनि वैदेशीक ऋण भुक्तानीले नै मात्र पनि सरकारको साधारण खर्चको ४ प्रतिशत भन्दा बढी भाग ओगट्न थालिसकेको छ।

यसै परिपेक्षमा प्रधानमन्त्रीको गरिबलाई राहत दिने घोषणालाई पनि हेर्न सकिन्छ। प्रथम, हामी सबै गरिब छौ। सबैका निमित्त राहत आवश्यक छ। यो मुलुकमा थोरै मात्र सम्पन्न परिवार छन्। त्यसकारण राहत दिने भन्दा सबैको आँखा चम्कन्छ भने स्वाभाविक नै हो। अर्थात राहतका निमित्त प्रतिस्पर्धा हुनु स्वभाविक हुन्छ। दोस्रो, गरिवको पहिचान गर्न हो भने नै पनि त्यो त्यति सजिलो छैन। विश्व बैंकको सहयोगमा गरिएको जीवनस्तर सर्वेक्षणको आधारमा २५ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भन्ने तथ्याङ्क छ। तर यो तथ्याङ्क प्रत्येक नेपाली घरधुरीको अध्ययनबाट निकालिएको नभएर ५ हजार ९ सय ८८ घर धुरीको सर्वक्षणको आधारमा तयार पारिएको हो। त्यसकारण यो तथ्याङ्कलाई वास्तविक स्थिति भन्न मिल्दैन। यो अध्ययन प्रतिवेदन स्याम्पलिङ् र नन स्याम्पलिङ इररबाट प्रभावित भएको छ। त्यसैको आधारमा एक चौथाई जनसंख्यालाई राहत दिन्छु भन्नु गलत हो। वास्तवमा राहत दिनु नै पर्ने परिवार संख्या यो भन्दा धेरै हुने छ।

राहत भनेको सरकारले बढी लागत पर्ने वस्तु र सेवा सस्तोमा उपलब्ध गराउने हो। अर्थात् बजार मूल्य र उपलब्ध गरिने मूल्यबीचको रकम सरकारले बेहोर्ने हो। यो खर्च साधारण खर्च शीर्षक अन्तर्गत जाने हो। उसै पनि आकाससँदै गएको साधारण खर्चमा थप भारको असर मूल्यवृद्धिमा त्यसै पनि पर्ने नै छ तर मूल प्रश्न चाहिँ के हाम्रो सरकारसँग यस्तो काम गर्नका लागि चाहिने त्यति श्रोत र साधन छ? भन्ने हो। उत्तर प्रष्ट छ यो हाम्रो अर्थतन्त्रको क्षमता भन्दा धेरै परको कुरा हो।

अझ महत्वपूर्ण पक्ष के हो भने गरिबीको रेखामुनि रहेका जनतालाई माछा दिने कि माछा मार्ने उपकरण तथा ज्ञान दिने भन्ने हो। माछा दिँदा त्यो खाइन्छ सकिन्छ। केहि माछा उत्पादक तथा वितरकहरुलाई फाइदा त हुन सक्छ। तर पाउनेलाई हात पसार्ने आदत बस्दछ। अनि माछा मार्ने जाँगर पनि घट्दछ। प्रधानमन्त्री माछा बाँडेर राहत दिने कार्य गर्न अग्रसर छन्। सरकारी अनुदान भनेको राज्य कोषबाट दिने हो। अर्थात एक सुका नै दिइन्छ भनेपनि त्यो एक सुका अन्यत्र हुने खर्च काटेर दिनुपर्ने हुन्छ। सोझो अर्थमा भन्नुपर्दा माछा मार्न सिकाउने कार्य तथा उपकरण दिनुको साटो माछा दिँदा मुलुकले के कति कष्ट भोग्नु पर्ने छ भन्ने हो। यस्तो कार्यक्रम एक पटक सुरु गरिसकेपछि रोक्न कठिन हुन्छ। यस अर्थमा कामरेड बाबुराम अर्थतन्त्र ध्वस्त पार्ने कार्यमा लाग्ोको प्रष्ट छ। बिडम्बना नै हो, यसपटक गुरिल्ला भएर होइन मुलुकको प्रधानमन्त्री बनेर उनी यस कार्यमा अग्रसर छन्।

माथि उल्लेखित कार्यहरु त्यस्ता चलाख विद्वान व्यक्तिहरुले मात्र गर्न सक्दछन् जसलाई मुलुकको भविष्य होइन आफू बसेको कुर्सीको भविष्यको मात्र चिन्ता हुन्छ। निष्चय पनि प्रचारमुखी सस्ता कार्यक्रम तथा घोषणहरुले बाबुरामलाई ४६ हजारको साटो ६० हजार मत नै पनि मिल्न सक्छ। तिनको पार्टीलाई पनि दुइतिहाइ होइन, शतप्रतिशत नै पनि मत मिल्ने वातावरण बन्न सक्छ। तर, त्यसले हाम्रो जिवनस्तरलाई सोमालिया, चाड तथा कङ्गोको हाराहारीमा पुर्याकउने निश्चित छ। त्यसै पनि हामी दक्षिण एसियाको टाहटी त बनिसकेका नै छौं। अब यिनको प्रयासले हामी उत्तर कोरियाको दर्जामा पुगौँला। त्यतिबेला एउटा विज्ञ शासकले कसरी अर्थतन्त्रलाई तहसनहस तुल्याउन सक्दछ भन्ने उदाहरणका रुपमा हाम्रो देश प्रस्तुत हुनेछ।
अर्को समाचार
प्रतिबिम्बित अनुहारहरू र अन्त्यहीन संघर्ष
०४ असोज २०७८
•
१० मिनेट पाठ
प्रतिबिम्बित अनुहारहरू र अन्त्यहीन संघर्ष
अमेरिकी पलायनपछि अफगानिस्तानमा रकमको जोहो अब कताबाट हुन्छ भन्ने प्रश्न उठिरहेका बेला त्यहाँ रकम उपलब्ध गराउन अघोषित रूपमा प्रतिस्पर्धा सुरु भइसकेको देखिन्छ। प्रकृतिले दिएकोबाहेक ‘फ्रि’ भन्ने कुरा संसारमा केही पनि छैन। अन्तर्राष्ट्रिय राजनीतिमा यो हुन सक्ने कुरा नै होइन। 




विदेशी सहायताको उत्पत्ति स्वार्थ अभिप्रेरित साधन बनेर भएको हो। स्वार्थ ‘लेटेन्ट’ र ‘म्यानिफेस्ट’ अर्थात् देखिएको र लुकेका हुन्छन्। गरिबी निवारण, प्रजातन्त्र, मानव अधिकारको संरक्षण, सुदृढीकरण, सुधार र उदार अर्थनीति जस्ता विषयसँग आबद्ध भएर आर्थिक सहयोग प्रवाह हुने गर्छ।

यसरी रकम प्रवाह गरिँदा दुइटा कुरामा अत्यधिक महत्त्व दिइन्छ। पहिलो हो, त्यो मुलुकको रणनीतिक अवस्थिति। दोस्रो हो, त्यहाँको खनिज द्रव्य। यसपछि धर्म। नेपालमा अहिले गहिरो ज्वारभाटा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रदत्त आर्थिक सहयोगले निकालिरहेको छ जबकि यस्तो सहयोगको थालनी सन् १९५१ बाट गर्ने पहिलो देश संयुक्त राज्य अमेरिका हो। यहाँनिर अलिकति अफगानिस्तानलाई एउटा ‘केस स्टडी’ का रूपमा सरसर्ती हेरेमा चुरो पत्ता लगाउन सजिलो हुनेछ।

अफगानिस्तान नेपालकै हाराहारी जनसंख्या भएको र त्यस्तै भूपरिवेष्टित र लडाकु देश हो। इतिहासको कालखण्डमा इम्पेरियल रसिया र इम्पेरियल ब्रिटेनसँग पनि लडेको देश हो। यस पटक पनि विगत ४० वर्षदेखि रसिया र अमेरिकासँग लडेर विजय हासिल गरेको छ। तर यतिखेर जितेर पनि हारेको अवस्थामा छ। त्यहाँ दुवै कुरा विद्यमान छन्– रणनीतिक अवस्थिति र खनिज द्रव्य। 

अफगानिस्तानमा इस्लाम धर्म छ भने नेपालमा हिन्दु बाहुल्य। दुवै क्रिस्चियन धर्मको तारो। यसले गर्दा पनि लामो समयदेखि यो मुलुक असन्तुलित हुँदै आएको छ। ‘वार लर्डहरू’ को बाहुल्य भएको अफगानिस्तानमा १४ जनजाति सधैँ द्वन्द्वमा छन्। तर यसका बाबजुद राजतन्त्र सबैले मानेका कारण सन्तुलन कायम थियो। विरोधाभाषले उत्पन्न गर्ने ऐतिहासिक परिवर्तनको प्रक्रियाबाट यो संस्था हटेर जान धेरै नै समय लाग्छ। रहुन्जेल सन्तुलन दिन्छ। विदेशी शक्तिका लागि राज्य सञ्चालनमा घूसपैठ गर्न जनताको नाममा राजतन्त्र फाल्नुपर्ने हुन्छ।

इजिप्टमा राजा फारुकलाई फाल्न त्यहाँ क्रान्तिकारीहरू तयार पार्न अमेरिकी गुप्तचर संस्था सिआइएलाई लामो समय लाग्यो। त्यसैले अफगानिस्तानमा चाँडै काम तमाम गर्न सन् १९७३ मा सेना नै प्रयोग भयो राजा जहिर शाहलाई फाल्न। 

यो भ्याक्युममा आफ्नो पकड जमाउन सोभियत संघ छिर्‍यो। मुजाइद्दिनहरूले मुखतोड जवाफ दिए, अमेरिकी सहयोगमा। अहिले सिरियामा जस्तो अमेरिका र रसियाबीच ‘प्रोक्सी वार’ बनेन त्यो। यसैबिच लाल पुँजीवादी वर्गको हालीमुहालीबाट कहालीलाग्दो हुँदै गएको विरोधाभाषले निकालेको विखण्डनका तरङ्गले सोभियत सङ्घ आफैँ असन्तुलित बन्यो। त्यसैले अफगानिस्तान छाड्न बाध्य भयो।  

त्यसपछिको शासन इस्लामिक कट्टरपन्थी तालिवानको रह्यो। अमेरिकाले रसियनसँग लड्न जन्माएको बिल लादेनले नै अमेरिकामा २००१ मा गराएको आक्रमणपछि अमेरिकाको प्रमुख शत्रु उनी बने। आतङ्कवादविरुद्धको ‘अमेरिकी जेहाद’ ले अमेरिकाको उपस्थिति अफगानिस्तानमा २० वर्ष रह्यो। लथालिङ्ग पारेर गत महिना पलायन भएको हो। 

यस अवधिमा माछाका लागि पानी जस्तै भ्रष्टाचारमा पौडी खेल्ने एउटा ‘इमिटेसन’ गर्ने शासनसँग आबद्ध उपभोक्ता वर्ग जन्म्यो। यस्तो वर्ग जन्माउन अमेरिकाले भागेका राष्ट्रपति असरफ घानी वा तिनी जस्तालाई प्रयोग गर्‍यो । यस क्रममा आन्तरिक आर्थिक तागत सखाप भयो। त्यसैले अहिले अफगानिस्तानमा रकमको चरम अभाव छ। यो रकम पूर्तिमा अहिले ठूलो अन्तर्राष्ट्रिय राजनीति छ। 

कसलाई रोक्न, कोसँग मिल्ने लाभ–हानिको हिसाबकिताबमा छन्। मुख्य कुरा को कसको सुरक्षा साझेदार बन्ने ? हालैमात्र अस्ट्रेलियाले आफ्नो सबभन्दा ठूलो व्यापार साझेदार चीनलाई छाडेर अमेरिकाको सुरक्षा साझेदार बन्न गयो।

मध्य र दक्षिण एसिया बहुध्रुवीय क्षेत्र हो यो। मूलतः चीन, रसिया र इरान अवसर हेरिरहेका देखिन्छन् भने पाकिस्तान सशक्त माध्यमका रूपमा तयार छ। आफ्नो लगानीबारे भारत चिन्तित छ। त्यसमा अमेरिकाको चासो छ। यो क्षेत्र पुरानो सिल्क रोड। विश्वव्यापी स्तरमा चीनले विगत ८ वर्षदेखि अवलम्बन गर्दै आएको पूर्वाधार निर्माणको परियोजना छ– दि बेल्ट एन्ड रोड इनिसिएटिभ। त्यस्तै, पूर्वाधार निर्माणका लागि गरिब देशलाई दिइने सहायता छ एमसिसी। 

क्षेत्रीय स्तरमा १९८५ मा स्थापना गरिएको दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) मा पाकिस्तान भएका कारणले आफ्नो हालीमुहाली नहुने देखेपछि पाकिस्तानबिनाको आफ्नो सङ्गठन खोल्यो भारतले १९९७ मा– बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिम्सटेक)। स्वार्थ परिपूर्ति गर्न तागत भएका मुलुकले आफ्नो सङ्गठित तागत बढाउने वैधानिकता लिन मूलतः आ–आफ्नो नेतृत्वको सङ्गठन निर्माण गर्दै आएका छन्।

अब अलिकति विदेशी सहयोगबारे हेरौँ। यसको इतिहास लामो छैन। यो द्वितीय विश्वयुद्धपछि ध्वस्त भएका युरोपीय मुलुकहरूमा सोभियत सङ्घको प्रभाव कायम नहोस् भनेर संस्थागतरूपमा अमेरिकाले मार्सल योजनाअन्तर्गत सुरु गरेको हो। विदेशी सहयोग, चाहे त्यो सफ्ट लोन होस् या अनुदान, अरू बस्तुसरह नै एउटा ‘प्रडक्ट’ हो। अरू बस्तुसरह यो बनाइन्छ र बेचिन्छ। यसको आफ्नै बजार व्यवस्थापन हुन्छ। सर्तहरू हुन्छन्। बैंकबाट हामीले ऋण लिँदा तमसुक गरेर लिएजस्तै हो। यो भ्रममा हामी नपरौँ कि हाम्रो गरिबीबाट भावविह्वल भएर ‘फ्रि’ कसैले दिइरहेको छ।

धरातलीय वास्तविकता यो पनि छ कि गरिब मुलुकमा आएको विदेशी सहयोगले आमगरिबलाई झन् गरिब र एउटा वर्गलाई भने अकल्पनीयरूपमा धनी बनाएको छ। यहाँनिर झ्वाट्ट सम्झन पुगेको छु म अमेरिकी अर्थमन्त्री पल ओनिइले विश्व बंैक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सार्वजनिकरूपमा गरेको झगडा। यो २००२ को सुरुतिरको कुरा हो। उनले ठाडै भने– खर्बौँ खर्बको सहयोगको प्रभावकारिता घट्दै गएको छ। गरिब मुलुकलाई गरिबी घटाउन मद्दत पुर्‍याउनु साटो झन् त्यहाँ गरिबी बढाएको छ।’

ओनिइल यसरी झगडा गरिरहँदा विश्व प्रसिद्ध इकोनोमिस्ट पत्रिकाले लेखेको थियो– सहायता बहसमा ढोगी या पाखण्डी टक्रक्क देखिने अमेरिका हो तर यसमा ऊमात्र खलनायकचाहिँ होइन।

यसपछिका २० वर्षमा यो वास्तविकता झन् पीडादायी भएको छ। विदेशी सहयोगले गरिब मुलुकको हालत सुध्रिएको भन्दा बिग्रिएको छ। यसको प्रमुख कारण दुइटा छन्। पहिलो, भ्रष्टाचार हो। दोस्रो, मुलुकको आन्तरिक तागत रुग्ण बन्दै जानु हो। यसरी रुग्ण बनेको त्यो मुलुकको मौलिकपन क्रमशः ध्वस्त हुँदै गएर हो। यो ध्वस्त पार्ने काम मूलतः वैदेशिक सहायता सञ्चालन गर्ने विदेशीले आफ्नो स्वार्थका लागि राखेका सर्तहरूले गर्दा हो।

विदेशी सहायता ‘उद्योग’ का रूपमा फस्टाएको छ। यता राजनीतिक व्यापारीहरूका लागि सत्तामा पुग्ने र टिक्ने खेल पनि यही बनेको छ। यसरी गरिब मुलुकका गरिबहरूको अवस्था दयनीय बन्दै गएका कारण आफ्नै मुलुक छाड्नुपर्ने भएको छ। र, राजनीतिक व्यापारीरूपी अपराधीहरू मार्कोस, एस्ट्राडा, सुहातोहरूका विभिन्न स्वरूपमा रजाइँ गरिरहेका छन्। यही हालत हो हाम्रो मुलुकमा पनि। यस्ता स्वरूपहरू हामीले देखि नै रहेका छौँ, भोगिरहेका छौँ। सार्वभौमसत्ता र राष्ट्रियताको धुवाधार भाषणभित्र मुलुक पिलन्धरे हुँदै गएको परिवेश यही हो। एमसिसी यसैको सेरोफेरोमा छ। यी देखिएका अनुहार त्यसको प्रतिबिम्ब बनिरहेका छन्।

एमसिसीमा जस्तो विदेशी सहयोगबारे हल्लाखल्ला कहिले भएको थिएन। न विदेशी सहायता लिन संसद्बाट पास गराउनुपर्ने कुरा पहिले कहिले आएको थियो। यस्तो किन ? विदेशी सहायता नेपालले विगत ६९ वर्षदेखि लिँदै आएको छ। हाल हामीले तिर्नुपर्ने ऋण मात्रै करिब १८ खर्ब भन्दा बढी पुगिसकेको छ। तर यत्रो लगानीको प्रतिफल भने अर्थतन्त्र सुकुलगुन्डा मात्र होइन, परजीवी बनेको छ। ऋण खान लिने त होइन।आम्दानी बढाउन लिने हो। आम्दानी कति बढ्यो त ? विदेशी सहायताको उत्पादकत्व कति रह्यो ? यो सब विश्लेषण गरेर जनतालाई देखाउनुपर्ने हो सरकारले।

यहाँ त मेलम्चीमा जस्तो विगत २३ वर्षदेखि लुटेर खानका लागि ऋणमाथि ऋण थोपरिँदै गएको छ। गफ गर्न सिपालु ओलीले एक वर्षमा नै ४ खर्बको ऋण बोकाए– विकास समृद्धिका लागि भनेर। अनि भन्छन् – धरहरा बनाएँ, अब घण्टाघर पनि बनाउँछु। के यस्तै प्रहसनको घण्टा बजाएर विदेशी सहायतामा ‘कानुनसम्मत लुट’ गर्न सक्नु नै मुलुकको अर्थराजनीति हो ? मुलुकलाई अगुवाइ गर्ने पार्टीहरू क्रमशः ‘कानुनसम्मत अपराध’ गर्ने सङ्गठनमा रूपान्तरित हुँदै गएका छन्। एउटा कहावतमा जस्तो एउटा छान्नैपर्ने अवस्थामा दुवैतिर दानव छन् भने जो छाने पनि के भिन्नता भयो र ?

विगत दुई महिना भन्दा बढी भयो पाँच सदस्यीय मन्त्रिपरिषद्लाई रूप दिन सकेका छैनन् हाम्रा पाँचपटके प्रधानमन्त्री देउवाले, हिलोको किलो जस्तो भएर। कति अक्षम ? कसरी सत्तामा टिक्ने भन्ने ‘लम्पट सोच’ ले मुलुक हाँकिएको छ। 

सत्तामा टिकाउने र हटाउने खेलमा विदेशीहरू खेलिरहेका छन्। एमसिसी पनि कडी बनेको छ यो खेलमा। अमेरिकी जनताले तिरेको करको उपयोग अमेरिकी स्वार्थलाई परिपूर्तिका लागि १७ वर्षपहिले स्थापना भएको एमसिसीको घोषित उद्देश्य विश्वव्यापी गरिबी निवारण गर्नु हो। यसलाई लगानीका रूपमा हेरिएको छ। अर्थात्, यसको प्रतिफल भनेको अमेरिकी स्वार्थको उच्च अभिवृद्धि गर्नु हो।

मुलुकलाई अहिले दुईतिर पंक्तिबद्ध पारिएको छ। शासक र महापण्डितहरू भन्छन्– ५० करोड डलर आएपछि मुलुकको काया नै पलट हुन्छ। नेपालीले दुःख गर्न खाडी मुलुक जान नपर्ने ग्यारेन्टी गर्नेदेखि आएको खाना नखाएर के भोकै बस्ने भन्नेसम्मका प्रश्न गरिरहेका छन्। के यो कायापलट हुने त्यति ठूलो रकम हो र ? शासकहरूसँगको मिलेमतोमा लाभ कर र भ्याट जुन परिमाणमा ठगी भइरहेको छ त्यो रकम एमसिसीको भन्दा धेरै बढी छ।

मुलुकको हितको निर्विकल्प साधन भन्दै ‘विकास र समृद्धि’ को नारा नै बनाएका छन् हाम्रा शासकहरूले एमसिसीलाई। अर्कोतिर एमसिसी मुलुकको हितमा छैन भन्नेहरूको धारणा छ– विदेशी सहायता लिँदा कहिले संसद्बाट पास गर्न नपर्नेमा अहिले किन गर्नुपरेको ? अझ त्यस्ता सर्तहरू कसरी स्वीकार गर्न सकिन्छ जसअन्तर्गत हाम्रो मुलुकको कानुन भन्दा माथि एमसिसी हुनेछ ? थैलीमात्र देखाएर भएन। महापण्डितले भनेजस्तै राष्ट्रिय सहमति गरौँ, पास गराउनका लागि भन्ने त होइन ?

यो झन् पञ्चतन्त्रको मूर्ख पण्डितको कुरो जस्तो भयो। ऊ यति महाविद्वान् थियो कि उसले सूत्र सम्झ्यो जब नदीमा आएको बाढीमा साथी डुब्दै थियो। त्यो सूत्र थियो– सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डितः। अर्थात्, सबै नास हुन लाग्यो भने आधा त्यागेर भए पनि आधा जोगाउनुपर्छ। 

उसले खुकुरी झिकेर साथीको टाउको छिनालेर हातमा लिएर नदी तर्‍यो। सबै सर्तहरू एकेक गरेर हेर्नुपर्‍यो। सानो मुलुकको पनि न्यूनतम राष्ट्रिय स्वार्थ त हुन्छ। अहित हुने कुरालाई कसरी न्यूनीकरण गरिएको छ सो भन्नुपर्‍यो। कुनै पनि कुरा हितमात्र गर्ने, अहित गर्दै नगर्ने त हुनै सक्तैन विश्वमा। हित गर्ने औषधिले पनि अहित गर्छ। हेर्नुपर्‍यो अहितलाई हितले जितेको छ कि छैन। कुरो त्यो हो अहिलेको। 

शासनका महापण्डितहरूले द्यौसी भट्ट्याएर त भएन ! यो मुलुक शासकहरूको सम्पत्ति हो र ? चुनावबाटै आएका थिए– मार्कोस, एस्ट्राडा, सुहार्तो र घानीहरू। ‘सुरुङ युद्ध’ बाट अवतरण गराइएका हाम्रा महापण्डित सत्तामा रहँदा मुलुकको सबै विमानस्थलहरू चलाउने जिम्मा विदेशीलाई दिन लागेका थिए। नेपाली जनताले रोकेका न हो त्यतिबेला।

यस क्षेत्रको रणनीतिक सन्तुलनबारे परामर्श गर्न अमेरिकी र रसियाली उच्च सुरक्षा अधिकारीहरू दिल्लीमा रहँदा एमसिसी उपाध्यक्ष फतिमा सुमार हाम्रा शासकहरूसँग आक्रामक ‘प्रडक्ट मार्केटिङ’ गरिरहेकी थिइन्। कूटनीतिक भाषाको मिठास भए पनि उनले भनेजस्तै यो ‘निस्वार्थ आर्थिक सहयोग’ चाहिँ किमार्थ होइन। 

त्यस्तो थियो त शासन चलाउने सर्तहरू किन ? अन्तको आँखाबाट नेपाललाई किन हेरिएको ? अफिम्चीले अफिम खान नपाए हलचल गर्न नसक्ने जस्तो विदेशी सहायताबिना आर्थिक गतिविधि चलाउनै नसकिने अवस्थामा नेपाललाई ‘विकाश र समृद्धि’ को नाममा पुर्‍याइएको  छ। 

यो वास्तविकताभित्र बसेर हेर्दा ऋणको पासो या यस्तै अरू गलपासोमा पर्दापर्दै पनि सहायता नलिने भन्ने कुरो पनि आएन। अहिलेको प्रश्न हो– सहायताको फाइदा लिँदा हाम्रो गलपासो कति कसिन्छ ? थैली हेरेर जानिजानी हाम्रा शासकहरूको सत्ता राजनीतिक सर्त मिलानको भूमरीमा परेर नेपाल पनि अफगानिस्तान जस्तै अन्तर्राष्ट्रिय द्वन्द्वको थलो बन्नु त भएन ? यी शासक त भागेका राष्ट्रपति घानी जस्तै मोजसँग विलासी जीवन बिताउनेछन् विदेशमा गएर। जनताको बाहेक अरू कुरै नगरेर अर्जुन दृष्टि लिएर विदेशमा थुपारेको नोट छ ऊसँग।

मान्छे ईश्वर हो। मान्छे दानव पनि। यी दुवै शक्तिको सङ्घर्ष अनवरत भइरहेको छ मान्छेको मनको युद्धभूमिमा। त्यसैले भुवनको  अन्तर्द्वन्द्व विश्वका शासकको मनबाट निस्किने  अन्तर्द्वन्द्व विस्तारित स्वरूप हो। 

विश्वका शासकले विश्वरूप देखाउने प्रयास जति गर्छन् त्यति ताण्डव नृत्य, होइन, नाङ्गो नाच बढ्दै जान्छ। किनकि यहाँ कोही कृष्ण छैनन् विश्वरूप देखाउन सक्ने। न त्यो देख्न सक्ने अर्जुन जस्तो शिष्य नै कोही छ। अणु लिएर लडु भन्नेहरूले शिष्य बटुल्ने काम बन्द गर्दा नै विश्व सुरक्षित रहन सक्छ। तर हाम्रो दुर्भाग्य ! हाम्रो मुलुक नेपाल भने भुवनको  अन्तर्द्वन्द्वमा नराम्रोसँग च्यापिएका छ। न निस्कन सक्छौँ हामी। न धान्न सक्छौँ। सङ्घर्षको मुकाम छैन। कानुनसम्मत आपराधिक सङ्गठन हाँक्ने प्रतिबिम्बित अनुहारहरूले यसलाई अन्त्यहीन बनाउँदै लगेका छन्। 

(अर्थराजनीतिक विश्लेषक)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस