उदार तानाशाह र सत्ताकब्जा
२० कार्तिक २०६९
•
१८ मिनेट पाठ
उदार तानाशाह र सत्ताकब्जा
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उद्घोष गर्दैछन्, 'माओवादी सत्तासीन रहेसम्म शान्ति र संविधान प्राप्त हुन सक्दैन, पटकपटक सच्चाउन खोज्दा पनि नसच्चिएको माओवादीलाई राजनीतिक रुपमा एक्ल्याउने समय आइसकेको छ।'
माओवादीलाई सच्याउने राजनीतिक ठेक्का लिएर बसेको एमाले नेतृत्व अचेल माओवादीलाई एक्ल्याउने माध्यमको रुपमा आलंकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपति बनाउन सक्रिय रहेको छ। सत्ताच्युत गरी एक्ल्याउनु पनि माओवादीका लागि एमालेले 'प्रेस्क्राइब' गरेको नयाँ जबजछाप औषधी हुनसक्छ। एमाले नेतृत्वले जस्तै माओवादीलाई सच्याउने राजनीति गरिरहेको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पनि चेतावनीपूर्ण भाषण दिँदै हिँडेका छन्, सर्वसत्तावादी मानसिकता नत्याग्ने हो भने माओवादीको हविगत पनि राणा र राजाको जस्तै हुनेछ। कांग्रेस नेतृत्वका लागि माओवादील्ााई राणा र राजाकै जस्तै बेहाल बनाउने अस्त्र हो, आफ्नै पूर्वमहामन्त्री रहेका महामहिम राष्ट्रपतिलाई 'नयाँ राजा' बनाउन उक्साउने। सायद, आफ्ना पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पुराना राजाले गरेको जस्तो पदच्युतीकरण नै 'सर्वसत्तावादी' माओवादीलाई तह लगाउने प्रजातान्त्रिक मन्त्र हुनसक्छ।

नसच्चिएको माओवादीलाई तह लगाउन आफूहरूले अनेक उद्घोष र भाषण गरेर पनि केही भएन, सर्वसत्तावादी माओवादी त सत्तामाथि कब्जा गरेर बसेको गोमन सर्पजस्तो छ, एमाले र कांग्रेस नेतृत्वको आँखामा। माओवादीको बुद्धि फिराउन कम्मर कसेर लागेका एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यही भावलाई कति स्पष्ट शब्दमा व्यक्त गरेका थिए, 'एमाओवादीले सत्ताकब्जा गरिसक्यो, अब फुत्काउन गाह्रो भइरहेको छ।' त्यही सत्ता फुत्काउन नै कहिले सडकमा युवा र विद्यार्थी ओह्रालेर प्रतिपक्षीय नाटक देखाउनुपरेको थियो भने कहिले शीतल निवास धाएर माओवादीले सत्ताकब्जा गर्न लागेको गुनासो पोख्दै प्रतिसत्ताकब्जा गर्न राष्ट्रपतिलाई उचाल्नुपरेको थियो।
विपक्षी दलको भाषामा सत्ताकब्जा गरेर बसेको र हालसम्म पनि नफेरिएको 'सर्वसत्तावादी' दल माओवादीलाई पनि लागिरहेको छ, विपक्षी दलले कामचलाउ भइसकेको सरकारलाई कसरी सत्ताबाट ओह्राल्न सक्छ? संविधान बनाउने र निर्वाचन गर्ने भए संविधानका आधारभूत कुरामा सहमति गरौं, अन्यथा चुनावका लागि कामचलाउ सरकारले किन राजीनामा दिने? यसैमा सबै दल सहभागी भए सबै समस्याको समाधान हुन्छ भन्ने लागेको छ। माओवादीलाई एउटा डर भने छ, कहीं एमाले र कांग्रेसद्वारा कार्यकारी राष्ट्रपति हुन उचालिएका डा. रामवरण यादवले नेपाली सेना र भारतको सहयोगमा सत्ताविप्लवको नाटक गर्ने त होइनन्? पहिले डा. यादव एमाले, कांग्रेस, सेना र भारतको बलमा अघिसरेकाले सेनापति प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' राजीनामा दिन बाध्य भएझैं आमनिर्वाचन वा बजेट वा सहमतिको सरकार वा अन्य कुनै निहुँमा बाबुराम सरकारलाई पनि बर्खास्त गरिने पो हो कि?
'अम्पायर' नै खेल्न थालेपछि
संविधानसभाको विघटनपछि सत्तापक्ष र विपक्षीको सम्बन्ध जोगी देखेर भैंसी डराउने र भैंसी देखेर जोगी डराउने खालको छ। दुवै पक्षको डरको केन्द्रविन्दु भने सरकारै भएको छ। सत्ताशक्तिका बनाइएका राजनीतिक दलहरूको ध्यानकेन्द्र सरकार हुनु अनौठो होइन। यतिखेर पनि सरकारमाथि कसको हालीमुहाली चलाउने भन्ने प्रश्नको घेराबीचमै सत्तापक्ष र विपक्षबीच 'म्युजिकल चेयर्स'को गेम जारी छ। र, 'अम्पायर' हुनुपर्ने राष्ट्रपति डा. यादवसमेत घरीघरी खेलमैदानमा उत्रिएर विपक्षी राजनीतिमा सामेल भएकाले खेल स्वच्छ हुने कुरै भएन।
मुखले सर्वसहमति गर भन्ने, कामले विपक्षीलाई टेवा दिने काममा राष्ट्रपति डा. यादवको पनपक्षी व्यवहार देखिएको हो। संविधानसभाको निर्वाचन घोषणा गरेलगत्तै बाबुराम सरकार कामचलाउ भइसकेको स्थितिमा थप कामचलाउ पुर्जी थमाउनमा उनले देखाएका अतिरिक्त रुचि स्वाभाविक थिएन। निर्वाचनका लागि कानुनी बाधा अड्चन फुकाउन वा बजेट जारी गरी अर्थतन्त्रका लागि सुरक्षित बाटो बनाउनमा उनको अरुचि पनि अस्वाभाविकै थियो। यी र यस्ता व्यवहारमा देखिएको उनको रुचि र अरुचि त संवैधानिक राजाले नगर्ने खालका कार्यकारी अधिकारप्राप्त सरकारविरोधी आचरण हुन्। तर, माओवादी-मधेसवादी गठबन्धनको सरकारविरुद्ध गरिएकै कारण यस्ता कामलाई जायज र उचित ठान्ने मानसिकताले भने डा. यादवको व्यवहारमा कुनै पनपक्ष देख्दैन। त्यस्तो पक्षपाती मानसिकताले एमाले र कांग्रेस नेतृत्वको सरकारलाई पनि यस्तै व्यवहार गरिएको भए पनपक्ष भएको देख्छ कि देख्दैन, प्रश्न उठाउनु जरुरी छ। आफ्ना पूर्वमहामन्त्री राष्ट्रपति भएकै कारण यस्ता व्यवहार जायज र उचित हुने भए राष्ट्रपति र सरकार एउटै दलको हुनुपर्ने मान्यता बस्छ र आलंकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतीय व्यवहार गर्ने सहुलियत र सुविधा पनि भएको जिकिर गर्नुपर्ने हुन्छ। र, शासकीय प्रणाली रोज्ने मामिलामा कार्यकारी राष्ट्रपतिको विरोध र आलंकारिक राष्ट्रपतिको समर्थन पनि सैद्धान्तिक मान्यता र राजनीतिक मूल्यको मुद्दा होइन भन्ने पुष्टि हुन्छ।
माछो आए दुलोभित्र हात, सर्प आए दुलोबाहिर हातको अवसरवाद नै एमाले र कांग्रेसको शासकीय प्रणालीसम्बन्धी मूल्यमान्यता रहेको तथ्य व्यवहारमा देखिएको छ। यही अवसरवाद आलंकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपति बनाउने कसरत र कार्यकारी राष्ट्रपतीय कदमको पछि लागेर सत्तासीन हुने दिवास्वप्नमा पनि अभिव्यक्त भएको छ। संविधानका संरक्षक र पालक भएर बस्ने, तर कुनै कार्यकारी अधिकार नभएका र कार्यकारी सरकारलाई नै सल्लाहकार ठान्नुपर्ने राष्ट्रपतिलाई पनि जथाभावी भेट्न, बोल्न र कदम चाल्न उक्साउने विपक्षी व्यवहार र उक्सिने राष्ट्रपतीय आचरणमा पनि 'नयाँ राजा'को झझल्को आउनु अनौठो होइन।
उदार तानाशाहका लागि अर्चना
यतिखेर भने एकले अर्काे दलको नेतृत्वको अनुहारमा 'नयाँ राजा'को झझल्को देख्ने र त्यसको भर्त्सना गर्ने चातुर्यपूर्ण खेल जारी छ। यो खेलमा नयाँ-पुराना राजनीतिक खेलाडीहरू पनि नयाँ-नयाँ मुकुण्डो लगाएर प्रवेश गर्दैछन्। विपक्षी राजनीतिक दलहरूको सडक आन्दोलनको ध्वाँस र तिनका भ्रातृसंगठनको सडक नाचपछि अब नागरिक समाजको नाममा सडक आन्दोलन गर्ने तयारी हुँदैछ। लामो समयदेखि शीतल निवास धाएर माओवादीलाई सत्ताच्युत गर्न राष्ट्रपतिलाई उक्साउँदै आएका नागरिक समाजका अगुवा र पेसाकर्मीहरू माओवादी निरंकुशतन्त्र हाबी हुन थालेको भन्दै सडक तताउन खोज्दैछन्। संकटमा परेको लोकतन्त्र र राष्ट्रियता बचाउन सडकमा आउने घोषणा गरेका नागरिक समाजका अगुवाहरूको संघर्षले कत्तिको सडक तताउने हो, हेर्न बाँकी छ। केही गरी सडक तात्यो भने त्यसबाट सत्ताशक्तिको तातोविना कठ्यांग्रिएका विपक्षी दलहरूले त न्यानो प्राप्त गर्नेछन् नै, राष्ट्रपति पनि तातोपनाबाट विमुख हुनुपर्दैन। प्रचण्ड सरकारकै पालामा माओवादीविरुद्ध नागरिक संघर्षको थालनीका लागि कृष्ण पहाडीजस्ता नागरिक आन्दोलनका गणतन्त्रवादी अगुवाहरूलाई गुहार्ने राष्ट्रपति महोदय नक्कली गणतन्त्रवादीहरूको संघर्षबाट पनि लाभान्वित नहुने कुरै भएन।
हुन त विपक्षी दलदेखि नागरिक समाजले भन्न थालेको निरंकुशतन्त्र र लोकतन्त्रबीच कति दूरी र भिन्नता छ, छुट्याउन कठिन छ। एकातिर राष्ट्रिय समस्या समाधान गर्ने उद्देश्य अगाडि सारेर आलंकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिमा काँचुली फेर्न अनुकूल मौसम सिर्जना गर्ने, अर्काेतिर जनआन्दोलनमा सहकार्य गरेका दललाई नै सके समाप्त पार्ने, नसके एक्ल्याउने चाहनाको अभिव्यक्तिले यस्तो कठिनाइ पैदा गरेको हो। एकातिर आलंकारिक राष्ट्रपतिलाई 'बेनिभोलेन्ट डिक्टेक्टर' (उदार तानाशाह) बनाउन पूजाअर्चना गर्दै हिँड्ने, अर्काेतिर पार्टी फुटको सर्तमा पनि जनसेनासमेत समायोजन र विघटन गरिसकेको माओवादी नेतृत्वले तानाशाही थोपर्न सत्ताकब्जा गरिसकेको हौवा पिट्ने बालखेलले परिस्थतीमा थप जटिलता थपेको हो।
यस्तो कठिनाइको बेला मनमा प्रश्न उठेको छ : कुनै पनि खालको निरंकुशताका लागि सुहाउँदो शासक हुनसक्ने उदार तानाशाह लोकतन्त्रवादी (प्रजातन्त्रवादी)हरूको माग कसरी हुन थाल्यो? पछिल्लो चरणमा आफूलाई मात्रै लोकतन्त्रवादी ठान्ने, गणतन्त्रको लहर आएपछि लोकतान्त्रिक गणतन्त्रवादी पनि मान्न थालेका नागरिक, पेसाकर्मी र दलहरूका लागि जनताबाट अनिवार्चित व्यक्तिको प्रत्यक्ष शासन कसरी आदर्श हुन पुग्यो? अनिर्वाचित शासक वा उदार तानाशाहलाई आदर्श मान्ने मान्यतामा कतै खाईपाई आएको सत्ता, शक्ति र सम्पत्ति गुम्ने डर त अभिव्यक्त भएको होइन? आफू र आफ्नो संस्था लोकतान्त्रिक हुनुनपर्ने, मतदानको लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित गरिएको दललाई चुनावबाटै पदच्युत गर्ने धैर्य र साहस पनि नगर्ने दलगत र पेसागत नेताहरूको भाषण र संघर्षले कुनै न कुनै नामधारी 'बेनिभोलेन्ट डिक्टेक्टर' (उदार तानाशाह) जन्माउने वातावरणमात्रै तयार गर्नसक्छ।
यो कसको 'मुभ'?
हुन त बाघ कराउनु र बाख्रा हराउनु कागतालीमात्रै पनि हुन सक्छ। तर, एकातिर विपक्षी नेताहरूका भाषणमा सत्तासीन दललाई एक्ल्याउने विचार सम्प्रेषण हुनु, तिनै नेताहरूबाट राष्ट्रपतिले नै सत्ता हत्याउनुपर्ने माग चर्कोरुपमा उठ्नु र राष्ट्रपति महोदयले शीतल निवासबाट निस्किएर संविधानसभाको पुनर्स्थापनाको विरोध गर्दै निर्वाचनको मिति माग्दै भाषण गर्नु पनि काकतालीमात्रै नहुनसक्छ। एकातिर नागरिक समाजका स्वघोषित अगुवा र पेसाकर्मी बौद्धिकहरूबाट पनि उदार तानाशाह वा नयाँ जंगबहादुरको वकालत हुनु, अर्कोतिर तिनीहरूकै उक्साहटअनुसार राष्ट्रपतिबाट पनि भारत र युरोपका कूटनीतिक निकाय तथा नेपाली सेनाको नेतृत्वमार्फत 'मुभ' गर्न खोजेको खबर आउनु पनि माओवादी पार्टीले जुराएको संयोग वा अर्थमन्त्री वर्षमान पुन अनन्तले फैलाएको 'प्रोपोगाण्डा' मात्रै नहुनसक्छ। यस्तो बेला आमजनताको चाहना हुनसक्छ, कुनै तानाशाहबाट उदारता, लोकतन्त्र र न्यायको आस गर्ने सदाशयी प्रजातन्त्रवादी र जबजवादीले भनेझैं यो पनि माओवादीले थालेको प्रचारयुद्धमात्रै सिद्ध होस्।
हुन त राष्ट्रपति र माओवादी अध्यक्ष प्रचण्डबाट भ्रम र अविश्वास निवारणका लागि भेटघाट सँगसँगै नाडी छाम्ने प्रयास तीव्र पारिएको छ। राष्ट्रपतिले पनि सबै राजनीतिक दलको सहमतिविना कुनै कदम नचाल्ने बचन दिएको खबर आइसकेको छ। तर, बहुमत दलको समर्थन, सेना र सुरक्षा निकायको टेवा तथा भारतको सदाशयता पाइने निश्चित भएमा कुनै रात उदार तानाशाहको नवीन वक्तव्यसँगै नयाँ कदम चालिएको खबर आउने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन। बाबुराम सरकारले संकट निम्त्याएको आरोप लगाउँदै राजनीतिक जुहारीमा उत्रिने सम्मानित आलंकारिक संस्थाबाट कथंकदाचित् 'आमनिर्वाचन सम्पन्न गर्न अक्षम भएको' आरोपका साथ पुराना राजाकै शैलीमा नयाँ कदम चालियो भने महासंकट निम्तिनसक्छ। त्यस्तो महासंकटको बेला संस्थागत भइनसकेको नेपालको लोकतान्त्रिक गणतन्त्र कहाँ पुग्छ, राष्ट्रपतीय संस्था आफैं पनि कता पुग्छ, मनमा प्रश्नमात्रै उठ्दा पनि आङ सिरिङ्ग हुन्छ। राष्ट्रपतिबाट कू, माओवादीबाट सत्ताकब्जा, विपक्षी दल र नागरिक समाजबाट सडक संघर्षको हल्ला चलेको बेला यहाँहरूको मन पनि भरङ्ग भएको छैन?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस