संविधान सभा र अनिश्चित भविष्य
०२ मंसिर २०६९
•
१० मिनेट पाठ
संविधान सभा र अनिश्चित भविष्य
नेपालको राजनीतिमा संविधान सभा दुई पटक असफल भइसकेको छ। के असफल भएको संविधान सभाको अर्को चुनावद्वारा देश र जनताको वर्तमान संकटको समाधान होला? फेरि संविधान सभा असफल हुँदैन भनेर कसरी सुनिश्चित गर्न सकिन्छ? संविधान सभा के अब नेपाली जनताको एजेण्डा हुन सक्छ?
असफल र अक्षम प्रमाणित भएका पार्टी र नेताले सहमति गरेर घोषणा गर्दैमा के सहज संविधान सभाको चुनाव होला त? नेपाली राजनीतिमा संविधान सभा असफल हुनाको कारण के हो? जनतालाई स्पष्ट पार्नुपर्छ। साथै नयाँ बन्ने संविधानका आधारभूत सिद्धान्त र संविधान सभाको नयाँ चुनावबारे बृहत्तर सर्वपक्षीय राष्ट्रिय सहमति कायम हुनुपर्छ। यी पूर्व सर्त पूरा नभई गरिने संविधान सभाको अर्को चुनाव राष्ट्र र जनताको टाउकोमा जबर्जस्त थोपरिएको बोझमात्र हुनेछ, जुन बोझ पन्छाउनु नेपाली जनता र क्रान्तिकारीहरुको पहिलो कर्तव्य हुनेछ। अबको संविधान सभा चुनावले समस्याको समाधान होइन, बरु समस्यालाई बल्झाएर संंकटमा बदलिदिनेछ। यो संकटलाई क्रान्तिकारी र प्रतिक्रान्तिकारीले आ-आफ्नो पक्षमा उपयोग गर्ने प्रयत्न गर्नेछन्। क्रान्ति र प्रतिक्रान्ति नयाँ अध्यायमा प्रवेश गर्नेछ।
पहिलो पटक २००७ को राजनीतिक परिवर्तनसँगै नेपाली राजनीतिमा प्रवेश भएको संविधान सभा कालान्तरमा व्यावहारिक प्रयोगमा नआई असफल भयो। दोस्रो पटक भने जनयुद्धको जगमा २०६२/०६३ को जनआन्दोलनपछि संविधान सभा व्यावहारिकरूपमा प्रयोगमा त आयो। तर असफल भयो। आखिर किन? तत्कालीन विद्रोही क्रान्तिकारीहरुले संविधान सभामा आफ्नो स्वामित्व कायम गर्न नसक्नु संविधान सभा असफल हुनुको पहिलो कारण हो। दोस्रो, वैदेशिक शक्तिको अनावश्यक चलखेल अनि नेतृत्वको पराधिन सोच र सम्झौतावादी विचलन हो। तेस्रो, क्रान्तिकारी सेनाको विघटन गर्नु पनि संविधान सभा असफल हुनु एउटा महŒवपूर्ण कारण हो। त्यस्तै जनताको सतर्कता, जागरुकता र खबदारीको अभावका कारण पनि संविधान सभा असफल भएको हो।

राजनीतिक परिर्वतनलाई संस्थागत गर्न संविधान सभा पूर्णतः असफल सिद्ध भएको छ। र, पुरानै सत्तालाई थप सुदृढ गर्ने अझ झन् निरंकुशताको साधन बन्न पुगेको छ। त्यसैले सिद्धान्ततः संविधान सभा आजको नेपालमा जनताको मुक्ति र क्रान्तिकारी परिर्वतनको साधन बन्ने देखिँदैन बरु उल्टै जनताका जल्दाबल्दा समस्यालाई नजरअन्दाज गर्दै परिर्वतनका आवाजलाई दमन गर्ने, पुरानै प्रतिगामी र यथास्थितिवादी सत्तालाई थप सुदृढ गर्ने र त्यो सत्ताको अंशवण्डा गर्दै एउटै ड्याङ्गका कुनै एकलाई सत्तासीन बनाउने साधन बन्नेे देखिएको छ। किनभने संविधान सभामा विद्रोही क्रान्तिकारीहरुको स्वामित्व गुमिसकेको छ, अब फेरि स्वामित्व कायम गर्न जनबल आवश्यक हुन्छ। साथै अहिले इतिहासमै सबैभन्दा बढी वैदेशिक चलखेल छ र नेतृत्वमा राष्ट्रिय आत्मसमर्पणवादी सोचको पराकाष्ठाका साथै सम्झौतावादी विचलन आएको छ। संविधान सभा सफल हुनका लागि जनतासँग आफ्नै फौज, सत्ता र एक दृढ तथा विश्वसनीय क्रान्तिकारी नेतृत्व हुन जरुरी छ। आज जनतासँग न आफ्नो फौज र सत्ता छ, न त विश्वसनीय नेतृत्व नै छ। यो स्थितिमा हुने संविधान सभा चुनाव घोषणाले देशलाई थप प्रतिगमन, निरङकुशता, द्वन्द्व र संकटतिर लैजानेछ।
अहिलेका प्रमुख भनिएका राजनीतिक पार्टीहरुको आधार भत्किसकेको छ। नेताहरुले सहमति गरेर चुनाव घोषणा गरे देश चुनावमा गइहाल्छ र सहज चुनाव हुन्छ भन्नु सतही बुझाई, एकतर्फी र आंशिक हिसावले मात्रै सत्य हो। एकातिर असफल पुरानै बासी चुनाव देश र जनताको आवश्यकता र चाहाना होइन, जनतामाथि थोपरिएको बाध्यता र विवशता हो। अर्कोतिर नयाँ विकल्प सहज छैन, स्थापित छैन र क्रान्तिकारीहरुले सशक्तरुपमा उठाउन सकेका छैनन्। संविधान सभा कि संसदको निर्वाचन? भन्नेमा दलबीच विवाद छ। असफल र अक्षम सावित भइसकेका दलहरु देशमा कुनै पनि निर्वाचनको नौटंकी गरेर पुरानो सत्तालाई सुदृढ गर्दै जनतामाथि निरंकुशता थोपर्ने प्रयास गर्दैछन्, जसको नेतृत्व वर्तमान सरकारले गरिरहेको छ। आफ्नो प्रतिक्रान्तिकारी चरित्रमाथि पर्दा हाल्न सरकार र सत्तासीन पार्टीहरु असफल सिद्ध भइसकेको संविधान सभा र संसदको चुनावको नारा जोडतोडले लगाइरहेका छन् भने अकर्मण्यताको शिकार भएका निरीह प्रतिपक्षहरु पनि सरकारको नेतृत्वको कुरा मिल्नेबित्तिकै चुनावी नौटकीमा सहमत हुने देखिएको छ। यसरी चुनावको आवरणमा हुने प्रतिक्रान्तिले आजसम्म जनताले जनयुद्धलगायत् सबै बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेका उपलब्धि अपहरण गर्नेछ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झन् जटिल बन्दै जाने निश्चित छ।

संकट समाधानका लागि क्रान्तिकारी र प्रतिक्रान्तिकारी दुवैलाई जनतामा जानुपर्ने आवश्यकता छ। तर जनतामा जाने बाटा फरक फरक हुन सक्छन्। अहिले देशमा पैदा भएको संकट बुझ्ने र सामाधान गर्नेबारे सर्वपक्षीय राष्ट्रिय सहमति हुने सम्भावना एकदम न्युन छ। अझ यो प्रकृयामा नयाँ माओवादीलाई पूरै बेवास्ता गरिएको छ। यसरी फरक पर्ने बाटोबाट अन्तिम फैसला त जनताले नै गर्नेछ। प्रतिक्रान्तिलाई पूर्णता दिने चुनाव कसरी लोकतान्त्रिक हुन सक्छ? असफल र अक्षम सावित भइसकेका पुराना र नयाँ संसदवादी (एकीकृत माओवादी) पार्टी र नेताहरुले चाहे चुनाव गरुन्, चाहे आन्दोलन नै गरुन्, यिनीहरुले जनताले संघर्षद्वारा प्राप्त गरेका उपलब्धिहरुको रक्षा गरेर परिवर्तनलाई संस्थागत गर्न सक्ने छैनन्। यी सबै पार्टीलाई जनताले चुनाव र संघर्ष दुईवटै बाटोबाट सत्तामा पुर्या ए तर जनताको न्युनतम् अपेक्षा पनि पूरा भएन। बरु उल्टै प्राप्त उपलब्धि गुमे। के उनीहरू समयाभावले परिवर्तनलाई संस्थागत गर्न असफल भएका हुन त? अवश्य होइनन्। नेपालमा संविधान सभा असफल हुनु र परिवर्तन संस्थागत नहुनुको खास कारण पार्टी र नेताहरुमा देखिएको राष्ट्रिय आत्मसमर्पणवादी विचलन नै हो। पार्टीहरु असफल र अक्षम हुनुको कारण पनि यही हो। त्यसो भए के नेताहरु यो कमजोरी र समस्या स्वीकार गर्न तयार छन्? यदि छैनन् भने चुनाव वा संघर्ष जे गरे पनि देशको समृद्धि हुँदैन। न शान्ति र संविधानमार्फत् परिवर्तन संस्थागत हुन्छ, न त संकटको उचित समाधान नै हुन्छ।
लेखक नेकपा-माओवादीका केन्द्रीय सदस्य हुन्।
अर्को समाचार
एकल राष्ट्रियतामा आधारित सह-अस्तित्व
०२ असार २०६९
•
१८ मिनेट पाठ
एकल राष्ट्रियतामा आधारित सह-अस्तित्व
संविधान सभा भंग गरिएपछि नयाँ संविधान निर्माणको भविष्य अब अनिश्चित भएको छ। नेपालको आन्तरिक एवं बाह्य सुरक्षा दुवै जोखिममा परेका छन्। दिनदिनैका बन्द र हड्ताल, अराजकता र चरम अवसरवादी राजनीतिक परिदृश्यमा अर्थतन्त्र कमजोर हुनेमात्र होइन, असफल हुने खतरा पैदा भएको छ। बिग्रँदो आर्थिक अनुशासन, राजनीतिक अस्थिरता र अनियन्त्रित अराजकताले जनतामा सिर्जना गर्ने मनोविज्ञानले सचेत मानिसमा निरासालाई झन व्यापक बनाउनेछ। र, त्यसबाट युवाहरुको पलायनता झन तीव्र हुनेछ। तर नेपाली शिक्षित समूह समस्याको जरो दलका नेताहरुमा मात्र देख्छ, नेपाली राजनीतिको वर्तमान स्थिति 'परिणाम' मात्र हो, समस्याको कारण होइन।
नेपाली जनता अनेक किसिमका भ्रमबाट ग्रस्त छन्। संविधान सभाको अवसान त एउटा बहाना थियो तर संविधान वरिपरि पोखिएका मागदाबीहरुका पछाडि व्यक्त/अव्यक्त 'डिजाइन' त अलग अलग थिए। संघीयता 'घरदैलो' मा सरकार पुर्‍याउन शासकीय शक्तिको प्रक्षेपण गर्ने एक लोकतान्त्रिक एवं सुशासनको माध्यम हो भन्ने बुझेका थिए नेपाली जनताले। तर यस सामान्य लोकतान्त्रिक अवधारणालाई विभिन्न समूहले 'बलात अपहरण' गरे। विदेशी यात्रा र अवलोकनका माध्यमबाट 'संविधान सभाका केही टाठाबाठा' सभासद्ले, संघीयता विदेशबाट आयात गर्ने प्रयास गरे। पाँचतारे होटलमा विदेशी दातृसंस्थाका रकमबाट सम्पन्न हुने सभा र सेमिनारमा 'संघीयतालाई शासकीय स्वरुप' को थप लोकतान्त्रीकरण गर्ने माध्यमको रुपमा होइन, 'कुनै खास समूह' को शक्ति केन्द्र निर्माण गर्ने साधनका रुपमा प्रकट हुन थाल्यो। राष्ट्रिय हित, राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय सुरक्षा चासोको विषय एकरति बनेन्। बरु जात, समूह, क्षेत्रीयता यस्ता सभा सम्मेलनका केन्द्रविन्दु बने। गरिबी, अर्धविकसित मान्यता र संरचना, शिक्षा र चेतना, समान अवसर र मौका संविधानका विषयवस्तु बन्न सकेनन्। वर्गीयता राजनीतिबाट पूर्णरुपमा उखेलियो। अनि कसैले युरोपको कुनै देशलाई, कसैले भारतलाई, कसैले चीनलाई, कसैले अमेरिकालाई, कसैले हिन्दू महासंघलाई, कसैले क्रिश्चिनियटी, कसैले इस्लामलाई राजनीतिका 'मालिक' वा प्रेरणाका स्रोत बनाएर संविधानबारे छलफल गर्न थाले।

दुईवटा शक्तिशाली राष्ट्रका बीचमा अवस्थित 'जोखिमपूर्ण राष्ट्रिय सुरक्षा' को घेराभित्र रहेको देशले ग्रहण गर्नुपर्ने 'कूटनीतिक सतर्कता र राष्ट्रियता एवं अखण्डताको चासो यस देशका नेता र नागरिक कसैलाई गएन। परिणामस्वरुप समाज 'अधिकारका दावीका नाममा' धर्म, जात, भूगोल, भाषा र नाकका नाममा विभाजित भयो। संविधान बन्न मूलतः यिनै कारणले सकेन। गोरुका खुट्टा हिलो दलदलमा गाडिएका थिए। हली गोरु कुटिरहेको थियो। ऊ समस्याको कारण गोरुलाई देखिरहेको थियो, तर कारण दलदल हिलो थियो। हलीको भूमिका खेल्नुपर्ने नागरिक समाजले गोरुलाई दलदलबाट निक्लिन बल लगाउनुपर्ने थियो तर हली युरोपियन युरो, अमेरिकी डलर, भारतीय रुपैयाँले किनेका चकलेट गोजीबाट निकाल्दै कुटुकुटु खाँदै गोरु कुट्नुलाई नै समस्याको समाधान देखिरहेको थियो। वरिपरिबाट रमिता हेरिरहेका मानिस जसलाई अंग्रेजीमा 'मेडिया' भनिन्छ, उनीहरु भन्दै थिए- गोरु नै फटाहा हो। नियम बाँध्ने कानुनयीहरु भनिरहेका थिए- 'रात पर्नुपहिले जोत्ने काम सकिएन भने गोरुले बाँच्ने हक गुमाउनेछ।' नेपालको दर्शन गर्न आएका विदेशी पर्यटक मुस्कुराइरहेका थिए। उनीहरुलाई थाहा थियो- गोरु दलदलबाट निस्कन सक्ने छैन।

प्रतिकात्मक गोरु नेपाली जनताको लोकतन्त्र, समानता, समृद्धिप्रतिको प्रत्याभूति गर्ने संविधानको चाहना हो। यो चाहनाको संगठित रुप संविधान सभा थियो। त्यस चाहनाको अभिष्ट थियो- 'नेपाली जनता' को आर्थिक-सामाजिक समृद्धि। नेपालीको यो समृद्धि भारत र चीन दुवैको चासोको कुरा थियो। शक्तिशाली, स्थिर उन्नत नेपाल यी दुवैका लागि हितकर र लाभदायक छ। तर उनीहरु नेापली उभिएका ठाउँमा उभिएर आफूतिर हेर्न चाहँदैनन्। उनीहरु नेपाल आफ्नो चाहनाको पोल्टामा बसोस् भन्ने चाहन्छन्। तसर्थ नेपालको 'समृद्धि र उन्नति' उनीहरुको परिभाषाभित्र रहनुपर्छ भन्ने चाहन्छन्। त्यसैले नेपालीहरुको 'एकताले मात्र' उनीहरुले हामीमाथि शासन गर्ने अभिष्ट पराजित हुन सक्छ। तर हामीले राष्ट्रले जितोस् भन्ने होइन, राष्ट्रभित्र मैलेमात्र जितौं' भन्ने चाहना राख्यौ।

भारत र चीनका बीचमा केही परम्परागत केही आधुनिक सुरक्षा सरोकारका अन्तरविरोध छन्। उनीहरुले एक अर्काको अस्तित्वलाई स्वीकारेका छन् तर एकअर्काप्रति शंकित पनि छन्। भारतमा आतंकवादको समस्या छ र नेपालको भूमि पनि उसका विरुद्ध प्रयोग हुन सक्छ। चीनको स्वशासित क्षेत्र तिब्बतका बारेमा पश्चिमी देशहरु प्रश्न उठाइरहेका छन्। युरोपियन तथा अमेरिकनहरु तिब्बतको स्वतन्त्रता चाहन्छन् र नेपालमा तिब्बती शरणार्थीको मानव अधिकारको प्रश्न धेरै पहिलादेखि उठाइरहेका छन्। यिनै कारणले चीन नेपालप्रति शंकित छ। हाम्रो 'राजनीतिक' दलदल कसरी निर्माण भएको छ स्पष्ट छ। तिब्बतको स्वतन्त्रता पश्चिमी राष्ट्रहरुको कूटनीतिक रणनीतिको प्राथमिकताको विषयवस्तु हो। त्यसैले उत्तरमा विभाजित जातीय राज्य उनीहरुको कूटनीतिक रणनीतिको चाहना हो। त्यसैले उनीहरु जनजातिमाथिको शोषणका कुरा गर्छन् र यो 'बाहुनवाद' ले गर्दा भएको हो भन्छन्। चीन पश्चिमी कूटनीतिको यो खेलसँग परिचित छ र त्यसैले ऊ नेपाल एकात्मक राष्ट्र नै रहोस् भन्ने चाहन्छ। भारतका नेपालप्रति अनेकौं एजेण्डा छन्। पानीको राजनीति छ। नेपालको पानीमा भारत आफ्नो सरोकार कायम गर्न चाहन्छ। त्यसैले मुखले नबोले पनि ऊ एक मधेस एक प्रदेश चाहन्छ। नेपालको विकास तराईमा केन्द्रित छ। सबै उद्योग, कलेज तराईमा छन्। सबै शहर र ठूला राजमार्ग पनि तराईमा छन्। रोजगारीका अवसर पनि तराईमा नै छन्। पहाडमा निकालिएको बिजुलीको ठूलो अंश तराईमा नै प्रयोग हुन्छ। तर तराई पहाडको उपनिवेश भएको प्रचार गरिएको छ। देशका राष्ट्रपति यादव छन्। उपराष्ट्रपति झा छन्। सभामुख लिम्बू थिए। प्रधान सेनापति गुरुङ छन्। सशस्त्र प्रहरी महानिरीक्षक नेवार छन्। प्रधान मन्त्री र प्रहरी महानिरीक्षक मात्र कथित बाहुन र ठकुरी छन्। दुईवटा विश्वविद्यालयका उपकुलपति नेवार छन्। गृहमन्त्री थारु छन्। महान्यायाधिवक्ता नेवार छन्। सर्वोच्चमा एक जना प्रधान न्यायाधीश बाहुन छन्। के देश समावेशी बाटोमा हिँड्न थालेको छैन? के परिवर्तनको लहर सुरु भएको छैन? हो महिला फेरि पनि वञ्चित छन्। महिला सबै जातिभित्र वञ्चित छन्। के सबै जातिभित्र महिलाको वञ्चितीकरण 'बाहनुवादबाटै' भएको हो?

अहिले सडकमा, आवाज सुनिन्छन्- 'बाहुनवाद' का कारणले संविधान बनेन। तर नेपालमा घनीभूत हुँदै गएको 'तिब्बतोन्मूख' कारणले संविधान सभा भंग भएको हो। तिब्बती स्वतन्त्रताको पश्चिमी कूटनीति पनि 'बाहुनवाद' नै हो? चीनले पनि नेपाली जनतालई हेरेको होइन, तिब्बतलाई हेरेर आफ्नो रणनीति बनाइरहेको छ। त्यसैले ऊ संघीय पुनर्संरचनाको पक्षमा छैन, जसलाई ऊ तिब्बतको सुरक्षा प्रतिकूल देख्छ। के यो पनि 'बाहुनवाद' नै हो? भारत नेपाललाई आफ्नो एकपक्षीय सुरक्षा प्रणालीभित्र राख्न चाहन्छ। नेपाललाई सानो भाइ बनाउन चाहन्छ। सानो भाइ बनेर बसेमा ऊ नेपाललाई सबै कुरा दिन चाहन्छ। नेपाल भारतको सुरक्षा घेराभित्र बसोस्, उसको चाहना यही हो। के यो पनि 'बाहुनवाद' हो?

नेपालको संविधान नबन्नका लागि यी अन्तर्राष्ट्रिय प्रभावले निर्माण गरेका राजनीतिक 'अस्थिरता र दलदल' प्रमुख कारण हो भन्ने बुझ्नुपर्छ। हामी को कसकसका प्रभावमा कसकसको सल्लाहमा संविधान बनाउन लाग्यौ भन्ने कुरा पनि बुझ्नुपर्छ। हामीले आफ्नो दिमाग बोल्यौं वा अर्काको दिमाग बोल्यौ भन्ने कुरा पनि आत्मसमीक्षा गर्नुपर्छ। हामीले संविधान बनाउन सकेनौं किनभने हामीले 'बाहिरी प्रभाव' लाई सन्तुलनमा राख्न सकेनौं। हामी अन्तर्राष्ट्रिय प्रभावका छायाँमा बसेर आफूलाई विभाजित गर्ने खेलमा सरिक भयौं। जबसम्म हामी नेपालको यस यथार्थता बुझ्दैनौं, संविधान बन्न सक्तैन। नेपाली 'राष्ट्रियता' को घेराभित्र 'राष्ट्रिय एकता' संविधान बनाउने पहिलो पूर्व सर्त हो। संघीयता लोकतान्त्रिक शासकीय व्यवस्था हो, अतः लोकतन्त्रको सिद्धान्त र अवधारणालाई तिलाञ्जली दिएर संविधान निर्माण गर्न सकिँदैन। कुनै खास ठाउँमा बसोबास गरेको समूहको पहिचान लोकतन्त्रको विकल्प होइन, उसको पहिचान लोकतन्त्रमा समावेशिता सुनिश्चित गर्ने आधारमात्र हो। यस्ता समूहको जनसंख्याको घनत्व भएको भूगोलको नामाकरण त्यस समूहको नाममा गर्ने कुरा समस्या होइन। तर त्यसरी नामाकरण गर्दा त्यो समूहबाहेकको अरु जनसंख्याले आफूलाई बहिष्कार गरको होइन भन्ने ठान्न सकोस् भन्नका लागि कस्ता सतर्कता अपनाउन सकिन्छ? भन्ने कुरा महत्वपूर्ण प्रश्न हो। प्रान्तका नाम कुनै एक समूहले अरुसँग लडेर लिने अधिकारको कुरा होइन। यो अरुलाई मनाएर लिने 'कर्तव्य' हो। त्यसैले सबैले मान्ने 'साझा भूगोलको नाम र समूह' को नाम जोडेर प्रान्तको नामाकरण गर्न सकिन्छ। यो 'राष्ट्रियताको घेराभित्र' पहिचान र एकता खोज्ने सिद्धान्तमा आधािरत छ। तर 'हकदाबीका आधारमा एकल पहिचान' को दाबी अरुको बहिष्करणको रणनीतिक सिद्धान्त हो भन्न सकिन्छ। नकारात्मक अवधारणाबाट सकारात्मक अधिकार सृजना गर्न सकिँदैन।

अब प्रश्न उठ्छ, के 'एकल राष्ट्रियताको घेराभित्र' निर्माण गर्न नसकिएको एकताबाट राष्ट्रिय अखण्डता जोगाउन सकिन्छ? लोकतन्त्रमा रुसो र जे.एस मिल जस्ता दार्शनिकले भनेजस्तै व्यक्तिको 'स्वतन्त्रता' नै लोकतन्त्रको मूलढुंगा हो। व्यक्ति सार्वभौम हो र प्रत्येक व्यक्तिले आफ्नो सार्वभौमिक स्वतन्त्रताको उपयोग गर्न सकोस् भनेर नै 'साझा कानुन' निर्माण गरिन्छ। यस्तो साझा कानुन सबैले मान्नुपर्छ र यसको पालना नै 'समानता' हो। तर जब कुनै कानुन सबैलाई समानरुपमा लागु हुने गरी बन्दैन, त्यसले व्यक्तिको सार्वभौमिकतालाई चुनौती दिन्छ।

राष्ट्रको साझा कानुन राष्ट्रिय सहमतिबाट मात्र बनाउन सकिन्छ। बहुमतबाट कसैको वैयक्तिक अधिकार कुण्ठित गर्न वा अपहरण गर्न सकिँदैन। यस्तो अवस्थामा राष्ट्रिय सहमति निर्माणका लागि एकल राष्ट्रियतामा आधारित एकताको घेराभित्र सबैले रहनुपर्छ। 'एकल राष्ट्रियताको घेराभित्र रहेर सह-अस्तित्वको आधारमा सामूहिक पहिचानलाई मान्यता दिन सकिन्छ।' अहिले 'अस्थिरताको दलदलमा ठेलिएको राष्ट्र' लाई पुन 'एकल राष्ट्रियताको घेराभित्र' ल्याउनु आजको पहिलो आवश्यकता हो। यसका लागि विगठित संविधान सभामा ठूलो दलको रुपमा रहेको एनेकपा (माओवादी) ले भन्दै आएको 'एकल जातीय' पहिचान भनेको के हो भन्ने कुरालाई सबै नागरिकसमक्ष स्पष्ट पार्नुपर्छ। साथै यसरी एकल पहिचानका आधारमा गठन हुने प्रान्तहरुमा 'विविधता' का बीचमा रहने सह-अस्तित्वको आधार के हो भन्ने कुरा पनि स्पष्ट पार्नुपर्छ। के विभिन्न पार्टीबाट एकल पहिचानका लागि हस्ताक्षर गरी प्रचण्डलाई दिने सभासदहरु एनेकपा (माओवादी) को एकल जातीय पहिचानको व्याख्यासँग सहमत हुनुभएको हो? यसबारेमा तपार्इंहरुले सम्पूर्ण नागरिकलाई स्पष्ट पार्नुपर्छ।

शायद यही हस्ताक्षर काण्डले आज राजनीतिक पार्टीबीच शंकाको खाडल सिर्जना गरेको हो र त्यसैले संविधान सभालाई विगठनको दलदलमा पुर्‍याएको हो। यी सबै घटनाका पछाडि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको भूमिका व्यापक थियो। नेपाली समाज आज विभाजित मनोविज्ञानमा उभिएको छ। तसर्थ 'एकल राष्ट्रियताको घेराभित्र सह-अस्तित्वमा आधारित राष्ट्रिय एकता' निर्माण गर्नु नै अन्तर्राष्ट्रिय निहित प्रभावलाई रोक्ने सबैभन्दा महत्वपूर्ण पूर्व सर्त हो। यसका लागि राजनीतिक दलहरुका आँखा खोलिनुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस