नयाँ राजाको अभिषेक
१२ मंसिर २०६९
•
१८ मिनेट पाठ
नयाँ राजाको अभिषेक
कुनै-कुनै संयोगले मानिसलाई छक्कै पार्छ। मानिस त्यस्तो संयोग देखेर छक्क पर्दै गर्दा त्यस्ता संयोग जुराउने पात्रहरूले भने थप संयोगको खेल खेल्न भ्याइसकेका हुन्छन्। विश्वको राजनीतिक रंगमञ्चमा एउटा अनौठो संयोगको पुनःमञ्चन भएको छ। मिश्रको नामले प्रख्यात रहेको देश इजिप्ट र नेपालका राष्ट्रपति-द्वयले मंसिर ८ गते शुक्रबार राष्ट्रपति पदलाई संविधानभन्दा माथि भएको जनाएका छन्, नयाँ आदेश जारी गर्दै। जनआन्दोलनपछि निर्वाचित भएका इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले विशेष आदेश जारी गर्दै सत्तामाथि आफ्नो पकड बलियो पारेका छन्। आफूले बनाएका कानुन, आफ्ना फैसला र आदेशलाई कसैले पनि चुनौती दिन नसक्ने आदेश दिँदै उनले राष्ट्रपति पदलाई संविधानभन्दा माथि भएको देखाएका छन्।

गत शुक्रबारकै दिन जनआन्दोलनपछि निर्वाचित नेपाली राष्ट्रपति डा. रामवरण यादवले पनि आलंकारिक वा संवैधानिक घेरा तोडेका छन्, अन्तरिम संविधानले सामान्य सहुलियतसमेत नदिएको कार्यकारी अधिकार प्रयोग गर्दै। मन्त्रिपरिषद्को सिफारिसमा मात्रै केही गर्न सक्ने संवैधानिक हैसियतमा रहेका राष्ट्रपति यादवले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई 'बाइपास' गर्ने क्रममा गैरसंवैधानिक कदम चालेका छन्, 'सहमतीय सरकार' का निम्ति ७ दिनभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न आह्वान गर्दै।
संविधान सभाको अवसानपूर्व निर्वाचन घोषणासँगै कामचलाउ सरकारमा फेरिएको बाबुराम सरकारलाई बर्खास्त गर्ने क्रममा आलंकारिक राष्ट्रपतिले 'सहमतीय सरकारका प्रधानमन्त्री' खोज्न सार्वजनिक विज्ञापन जारी गरेका छन्, विपक्षी दल, नागरिक समाज र विदेशी शक्तिको उक्साहटमा। उनलाई गैरसंवैधानिक कदम चालेर बाबुराम सरकारलाई बर्खास्त गर्न उक्साउनेहरू, आफूलाई मात्रै लोकतन्त्रवादी ठान्ने विपक्षी दलहरू र उनीहरूसँग सम्बद्ध नागरिक समाजले ताली पिटेर आह्वानको स्वागत गरेका छन्। व्यवस्थापिका-संसद्को सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने र व्यवस्थापिका-संसद्को मृत्यु भइसकेको स्थितिमा सबैजसो दलका नेता र नागरिक समाजका अगुवा दौरा-सुरुवाल सिलाउनमै ब्यस्त छन्, लोकतान्त्रिक गणतन्त्रमा नयाँ राजाको उदय हुन थालेको भयावह तथ्यलाई बेवास्ता गर्दै।
असंवैधानिक 'मुभ'को संयोग
अहिले सत्ताच्युत भइसकेका राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तै 'निर्वाचन गर्न अक्षम भएको' आरोपमा बाबुराम सरकारलाई बर्खास्त गर्न वा राजीनामा गर्न बाध्य पार्न लागेका डा. यादवमा पनि ज्ञानेन्द्रीय भूत सवार भएको छ। त्यसैले नयाँ राजा बन्न लागेका डा. यादवले असंवैधानिक 'मुभ'का लागि ज्ञानेन्द्रीय शैलीमा शुक्रबारकै दिन संयोग पारेर प्रधानमन्त्रीका लागि विज्ञापन गर्नु पनि कुनै अनौठो कुरा होइन। ज्ञानेन्द्रकालमा नारायणहिटीको दक्षिणी द्वारमा शाही प्रधानमन्त्रीका लागि आवेदन हाल्न जाने विपक्षी दलका नेताहरू नै रामवरणकालमा पनि प्रधानमन्त्री पदका लागि शीतल निवासको उत्तरी ढोकामा निवेदन दिन सबैभन्दा अगाडि देखिए भने आश्चर्यको कुरा हुने छैन। र, कुनै नागरिक समाजका अगुवाले पनि लक्ष्मणसिंह खड्काको शैलीमा नागरिकीय सहमतिको प्रधानमन्त्रीका लागि आफ्नै नाममा सिफारिस चढाए भने छक्क पर्ने स्थिति छैन।
संयोगको कुरा गर्दा नेपाल र मिश्रका विपक्षी र नागरिक समाजको भूमिकामा भने अन्तर देखिएको छ। नेपालका एकसेएक लोकतान्त्रिक र मार्क्सवादी-लेनिनवादीहरू नयाँ राजाको अभिषेक गर्न लागेको बेला मिश्र (इजिप्ट) का विपक्षी र नागरिकहरूले राष्ट्रपति मोहम्मद मुर्सीलाई नयाँ फेराओ (बादशाह) नबन्न चेतावनी दिएका छन्। नोबेल पुरस्कारबाट सम्मानित प्रमुख विपक्षी नेता मोहम्मद अल बारादेइले टि्वटरमा लेखेका छन्- मुर्सीले सबै शक्ति आफ्नो हातमा लिँदै आफूलाई मिश्रका नयाँ फेराओका रूपमा स्थापित गरेका छन्। तर नयाँ-पुराना फेराओहरूको दुःखद् समाप्ति अनिवार्य भएको तथ्य इजिप्टमै पटक-पटक प्रकट भइसकेको छ। ब्रिटिस साम्राज्यद्वारा स्थापित राजतन्त्रअन्तर्गत १६ वर्षसम्म शासन गरेका राजा फारुक हुन् या अमेरिकाको बलमा ३० वर्षसम्म राष्ट्रपतीय शासन गरेका होस्नी मुबारक हुन्, जनआन्दोलन र कु देताँका कारण सबैजसो नयाँ-पुराना फेराओहरू समाप्त भएका छन्। तर नयाँ-पुराना फेराओ बन्ने र बनाउनेहरूले यस्ता ऐतिहासिक तथ्यबाट पाठ नसिक्ने र आफू संविधानभन्दा माथि बस्न खोज्ने क्रम भने दोहोरिँदै आएको छ। नेपालमा पनि राजा त्रिभुवनले गरेको गल्ती उनका पुत्र राजा महेन्द्र र नाति ज्ञानेन्द्रले महागल्तीका रूपमा दोहोर्‍याएका छन्। त्यसैले त उनीहरूलाई ऐतिहासिक पाठ नसिकेबापत जनताले कठोर सजाय दिएका छन्, राजतन्त्रै मास्दै। तर राजतन्त्रको अन्त्यपछि पनि नयाँखाले राजतन्त्रको थालनीको प्रयास भने टिठलाग्दो प्रहसनका रूपमा देखिएको छ।
तानाशाहविनाको तानाशाही
कार्ल मार्क्सको भनाइ छ- इतिहासले आफूलाई पहिलो पटक त्रासदिका रूपमा दोहोर्‍याउँछ भने दोस्रो पटक प्रहसनका रूपमा। नेपालमा पनि त्यस्ता त्रासदि र प्रहसन जारी छ, नयाँ-पुराना राजाहरूका हास्यास्पद पहलकदमीको परिणामस्वरुप। राणाहरूबाट खोपीका राजा बनाइएका शाहवंशीय राजाहरूले २००७ सालको परिवर्तनको फलस्वरुप संसार देख्न पाएका थिए, तर उनीहरूले सत्ताशक्तिको लोभवश संसारबाट केही पाठ सिकेनन्। भारतको दबाबमा नेपाली कांग्रेसका अध्यक्ष मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएका राजा त्रिभुवनले उनको राजीनामापछि २००९ सालमा परामर्शदातृ सरकार बनाए, राणाकालीन भाइ/भारदारहरूलाई समेट्दै। अतः अमेरिकी लेखक युगिने ब्रामर मिहालीले भनेझैं 'राजा त्रिभुवनको नेपाल तानाशाहविनाको तानाशाही राज्य भयो।' त्यस्तो राज्य बनाउन 'अहिलेको परिस्थितिमा मेलजुल कायम राखी हाम्रा प्यारा प्रजाहरूको हितको लागि राम्ररी काम गर्न सक्ने मन्त्रिमण्डलको निर्माणको सम्भावना नदेखिएको' निहुँ थापियो र निर्दलीय चरित्रको 'परामर्शदातृ सरकार' गठन गरियो। त्यस्तो प्रजातन्त्रविरोधी सरकारको निर्माणपछि कांग्रेसका नेता गणेशमान सिंहले राजा त्रिभुवनलाई इतिहासको पाठ सम्झाए- 'राष्ट्रिय र प्रजातान्त्रिक चेतनाको लहरलाई अपहेलना गरेकै कारण मिश्रका बादशाह फारुकले अशोभनीय स्थिति भोग्नुपरेको' तथ्यको ऐना देखाएर।
इतिहासबाट पाठ नसिक्ने कसम खाँदै सत्ता, शक्ति र सम्पत्ति प्राप्तिका लागि २००७ सालदेखि २०१५ सालसम्मका ८ वर्षमा आठवटै सरकार गठन गरियो। र, प्रजातन्त्रवादीको मुकुण्डो लगाएका स-साना दलका नेताहरूलाई पनि प्रधानमन्त्री बनाएर राजतन्त्रलाई बलियो बनाइयो। र, त्रिभुवनबाट घोषणा भएको संविधान सभाबाट नयाँ गणतान्त्रिक संविधान लेखनलाई रोकियो।
पुष्पलाल श्रेष्ठका अनुसार यस्ता जालसाजीपूर्ण खेलको एउटै भयानक प्रतिक्रान्तिकारी उद्देश्य थियो- संविधान सभाको निर्वाचनै हुन नदिनु। यसमा त्रिभुवन र महेन्द्रको जालसाजीपूर्ण खेलका 'प्रजातन्त्रवादी खेलाडी' हरूको दोष पनि कम थिएन, न त त्यसको सशक्त प्रतिकार गर्न नसकेका प्रजातन्त्रवादी र साम्यवादी दलहरूको कमजोरी नै कम थियो। अन्तरिम संविधानलाई कुल्चेर देश र जनताभन्दा माथि उक्लेका राजाहरूका प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालाले 'प्रजातन्त्रका लागि नेपाल योग्य भएको छैन' भन्ने उद्घोष हुँदा पनि राजनीतिक प्रतिवाद भएन। प्रधानमन्त्रीद्वय टंकप्रसाद आचार्य र डा. केआई सिंहले प्रजाको सट्टा राजाको राजनीति गर्दा पनि भुइँ तहबाट प्रतिकार भएन। संविधान सभा चुनावका लागि भएको आन्दोलनमाथि दमन र संसदीय चुनाव गराउने जालसाजी हुँदा पनि सशक्त आन्दोलन उठाइएन, बरु शाही संविधान निर्माण र संसदीय चुनावका लागि सम्झौता गरियो। त्यसैको जगमाथि टेकेर संसदीय चुनावबाट गठित बीपी कोइरालाको सरकारलाई डेढ वर्षमै बर्खास्त गरियो। र, २००७ सालदेखि २०१७ सालसम्मको टिकेको बहुदलीय प्रजातन्त्रको घाँटी निमोठेर निरंकुश तानाशाही लादियो।
राजनीतिक दुश्चक्रको पुनरावृत्ति
नेपाल फेरि पनि २००७ सालदेखि २०१७ सालको राजनीतिक दुश्चक्रमा फसेको छ, बीपी कोइरालालाई आदर्श मान्ने राष्ट्रपति डा. यादवले महेन्द्रपथ अनुसरण गरेका कारण। २०१७ सालको त्रासदि भोगेर कांग्रेसका महामन्त्री र स्वास्थ्य मन्त्रीसम्म भएका राष्ट्रपतिले 'सहमतीय सरकार' को खोजमा लादेको तानाशाहविनाको तानाशाही राज्यमा दुश्चक्रको अभाव हुने छैन। अब संविधानको संरक्षण र पालनाको रट लगाउँदै 'अक्षम सरकार र सत्तालोभी दलहरू' लाई कटाक्ष गर्दै राज्यलाई असफल बनाउन नदिने राष्ट्रपतीय भाषणबाजी सुन्न पाइनेछ। २०६९ सालमा आएर सत्रसाले असंवैधानिक त्रासदि दोहोर्‍याउन खोजिएकाले नेपाली इतिहासमा २००७ सालदेखि २०१७ सालबीचको राजनीतिक प्रहसन अनेक रुपरंगमा हेर्न पाइनेछ। र, एकसेएक विदूषक र हास्य कलाकारको 'प्रधानमन्त्रीय अभिनय' को मज्जा पनि लुट्न पाइनेछ।
अब संसद्बाट निर्वाचित सरकारलाई असंवैधानिक कदममार्फत तह लगाउन उक्साउने विपक्षी दलहरूले राष्ट्रपतिलाई महान् प्रजातन्त्रवादीका रूपमा, 'माओवादी सर्वसत्तावाद' का मुक्तिदाताका रूपमा महिमामण्डन गर्नेछन्। र, राष्ट्रपति महोदयले पनि महेन्द्रले जस्तै कुन दल ठूलो छ, कुनचाहिँ गठबन्धन बलियो छ भन्ने प्रश्न उठाउँदै 'म्युजिकल चेयर' गेम खेलाउनेछन्। र, कुनचाहिँ नेताले सहमतिको सरकार गठन गर्न सक्छन् अथवा बहुसंख्यक दलको समर्थन प्राप्त गर्न सक्छन् भन्दै राजनीतिक प्रहसन दोहोर्‍याउने छन्। सहमतीय सरकार गठनजस्तो भ्यागुताको धार्नी पुर्‍याउने कार्यभार दिएर सत्तामुखी दलहरूलाई लिगलिगे दौडमा कुदाउन सफल भएका संविधानका संरक्षक र पालकले अब संविधानले बोल्न नसकेका कुरामा आफैं बोल्नेछन्।
संसदीय व्यवस्थामा निर्वाचन घोषणापछि सरकारको हैसियत कामचलाउ हुने भए पनि चुनाव नभएसम्म उसलाई हटाउन मिल्दैन। नयाँ सरकार गठनका लागि संसदसमेत नभएको बेला त्यही सरकारको नेतृत्वमा अन्य दललाई पनि मिलाएर लैजानेबाहेक अन्य विकल्पै छैन। यस्तो जटिल स्थितिमा सहमतीय सरकारका प्रधानमन्त्रीको नाम पेस गर्न सातदिने म्यादपुर्जी जारी गर्नु राजनीतिक फजुल खर्चमात्रै हो। यी सबै तथ्य संविधानका संरक्षक र पालकलाई थाहा नभएको होइन।
दलहरूले सहमतीय प्रधानमन्त्री सिफारिस गर्न नसके के गर्ने भन्ने प्रश्नमा अन्तरिम संविधान मौन छ। मरिसकेको संसद्बाट संविधानको धारा ३८ (२) अनुसार बहुमतीय सरकार पनि गठन नहुने स्थिति भएकाले कुन-कुन मतको बहुमत खोज्ने, कुन-कुन दलको बहुदलीय समर्थन माग्ने हो, अन्तरिम संविधान बोलेको छैन। ७ दिने राजनीतिक विज्ञापनमा पनि कुन-कुन दलले सिफारिस गर्ने, कुन-कुन दलबीच सहमति हुनुपर्ने, कतिपय दलले असहमति जनाए भने सहमतीय सरकार बन्छ कि पुनः बहुमतीय सरकारै बन्छ, त्यस्ता सरकारले चुनाव गराउन सक्छ भन्ने ग्यारेन्टी के छ? यस्ता प्रश्नमा संविधानका संरक्षक र पालक पनि मुखर भएका छैनन्। तर अब सम्भावना बढेको छ, 'दलहरूको सहमतिमै कदम चाल्छु' भन्दै दलहरूलाई सुम्सुम्याउँदै हिँडेका संविधानका संरक्षक र पालकले नै संविधान मौन रहेका मुद्दामा पाइला चाल्नेछन्। दलहरूको सत्तालिप्सा र अन्तर्द्वन्द्वबाट सत्ताशक्ति पाएका संविधानका संरक्षक र पालकले नै त्यस सत्ताशक्तिको अभ्यास पनि गर्नेछन्।
राष्ट्रपति यादवका नेता गणेशमान सिंहले 'राष्ट्रपिता' त्रिभुवनलाई २००९ सालमा प्रजातान्त्रिक चेतनाको अपहेलना गरेका बादशाह फारुक पद्च्युत भएको र राजतन्त्र समाप्त भएको तथ्य सम्झाएका थिए। उनै पदच्युत बादशाह फारुकले राजगद्दीमात्रै होइन, देशै छाड्नुपरेपछि संसारभरका नयाँ-पुराना राजाले सुन्नेगरी भनेका थिए- अब संसारमा पाँच जना बादशाहमात्रै हुनेछन्, एक बेलायतका बादशाह, अरु चार जना तासका बादशाह।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस