अझै कति दिन स्टुज हुने?
२४ मंसिर २०६९
•
१५ मिनेट पाठ
अझै कति दिन स्टुज हुने?
पटकपटकको दलबीचको सहमतिको आग्रहलाई बेवास्ता गरेपछि बाध्य हुँदै राष्ट्रपतिले समयसीमा तोकेरै दलहरुसँग राष्ट्रिय सरकार बनाउनका लागि सहमतिसहितको प्रधानमन्त्रीको उम्मेदवार माग गरे। संविधान सभालाई बलात् विघटन गर्ने वर्तमान प्रधानमन्त्रीलाई कामचलाउको संज्ञा दिइसकेपछि कमसेकम राष्ट्रपतिका लागि उनी विश्वासिला या भरपर्दा प्रधानमन्त्री बाँकी रहेनन्। कामचलाउको हैसियतमा पुगिसकेका प्रधानमन्त्रीले निर्वाचन गराउने या वैधानिकताको कुनै पनि किसिमको आवरणभित्रबाट कुनै ठूलो निर्णय, जसले देशको अर्थतन्त्र, राजनीतिक विकास क्रम, सामाजिक, सांस्कृतिक सद्भावलाई प्रभावित गर्ने यी र यावत् यस्ता विषयमा कुनै निर्णय लिन सक्दैन भन्ने कुरा स्वतः बुझ्नुपर्ने हुन्छ। र, त्यसैबेला उनको तर्फबाट राजनीतिक बाटो उनले अर्को प्रधानमन्त्रीका लागि खुला गरिदिनुपर्छ। यो उनको नैतिक, वैधानिक, प्राकृतिक, राजनीतिक संस्कारभित्र पर्नुपर्ने विषय हो, उनी लोकतान्त्रिक व्यक्ति भइदिएको भए। दुर्भाग्य, जुन स्कुलबाट तालिम लिएर उनी आए, जुन विद्यालाई शिरमाथि राखेर उनी हिँडेका छन् न त्यो स्कुल, न त त्यो विद्यालयले उनलाई यति उदार लोकतान्त्रिक व्यक्ति बनाउन मद्दत गर्छ। त्यसमाथि उनीमाथि लगाइएको एउटा आरोप छ- उनी अन्तैबाट नेपालमा थोपरिएका कार्यकारी प्रमुख हुन्। यसरी उनलाई आरोपित गर्नेहरु अरुभन्दा पनि उनकै दलभित्रका कामरेडहरु बढी छन्। त्यसमध्येको एउटा शक्तिशाली पक्ष उनको दल छोडेरै गइसक्यो। वर्तमान उनको दलका अध्यक्ष पनि कहिले हो भन्छन्, कहिले मौन बस्छन् र कहिले होइन भन्छन्। उनी त झन् बोलीको ठेगान नभएका व्यक्तिका रुपमा चित्रित छन् नेपाली जनमानसमा।
एकीकृत नेकपा माओवादी भनिएको दल आफैंमा दल भन्नुभन्दा पनि टुक्राटुक्रामा विभाजित समूहहरुको एउटा गठजोड हो। उनको न गृहनीति स्पष्ट छ, न त विदेश नीति नै। विदेश नीतिको अर्थमा हेर्दाखेरी वर्तमान नेतृत्व नराम्रोसँग दक्षिणतिर झुकेेको देखिन्छ भने गृहनीति उसको केही छँदै छैन। नेपालजस्तो मुलुकमा कस्तो प्रकृतिको संविधान आवश्यक छ भन्ने कुरामा उसले कहिले पनि स्पष्ट दृष्टिकोण राख्नै सकेन। संविधानको मेरुदण्डका रुपमा कहिले उसले एकल जातीय पहिचानसहितको संघीयताको माग गर्योव। सँगसँगै शासकीय स्वरुपको कुरो गर्दा राष्ट्रपतीय व्यवस्थाको कुरो गर्योक। जनगणतन्त्रका कुरा पनि गर्योस। निर्वाचन पद्धतिका कुरा गर्दाखेरी ६०१ जनासम्मको संविधान सभा निर्माण गर्ने कुरो पनि उसैले गर्योो। धर्मनिरपेक्षताको कुरो पनि उसैले गर्योथ। गणतन्त्रका विषयको उठान पनि उसैले गर्योल। सांस्कृतिक राजतन्त्रका कुरा पनि उसैले उठायो। यी सबै कुराबाट आज ऊ बिमुख छ। जब मुलुक एउटा घोर संकटमा पुगिसकेको छ। यसबखत सरकार परिवर्तनको माग सर्वत्र देखिएको छ। अरुलाई यथास्थितिवादी भन्दै, अरुलाई सत्तालोलुप भन्दै सत्ताकै मोहमा टाँसिएर त्यही लिप्सा, त्यही रागमा झुम्मिएर सत्तारुपी एउटा फोहोर आहालमा डुबुल्की मार्दै त्यसभित्रबाट मोती खोज्ने प्रयत्नमा लिप्त हुँदै सत्ता कति लम्ब्याउने र कसरी यसभित्र टिक्न सकिन्छ भन्ने चिन्तनमा अहोरात्र उसको यत्न रहेको बुझ्नका लागि धेरै सोच्नुपर्दैन।




एकीकृत नेकपा माओवादीका कुनै पनि कुरा संविधानसम्मत छैनन्। संविधान उसको चासोको विषय होइन। ऊ संविधानबाट निर्देशित हुन पनि चाहँदैन। अधिनायकत्वमा विश्वास राख्नेहरु संविधानबाट अनुशासित हुन सक्दैनन् पनि र भएका पनि छैनन्। न लेनिन भए, न स्तालिन भए, न माओत्जेदुंग नै भए। जब कोही पनि भएनन् भने प्रचण्ड, बाबुराम नै किन हुनु? हरकुरामा दक्षिणको हस्तक्षेप देख्ने नेपालका बुद्धिजीवीलाई पनि केही भन्नु छ। तालिम, हतियार, रणनीति र नेपालको राजनीतिमा हस्तक्षेप गर्न सक्ने सम्पूर्ण ताकत लिएर बसेको दक्षिणी छिमेकीले गरेका कृत्य, कुकृत्यका धेरै पटक पटाक्षेप भइसक्दा पनि एमाओवादीले आरोप खेप्न नपर्ने, अरु प्रतिपक्षले मात्रै त्यो आरोप खेप्नुपर्ने स्थितिको जन्म नेपालमा किन हुन्छ? यो पनि बुझिनसक्नु यथार्थ हो। नेपालका कूटनीतिज्ञहरुलाई सुन्दा, बुझ्दा पनि विचित्र लाग्छ। ०४६ सालको आन्दोलनमा दक्षिणी छिमेकीको भूमिका र पश्चिमा जगत्को भूमिकाको कुनै एक जना कूटनीतिक विशेषज्ञले विश्लेषण गरेको मैले सुनें। निर्क्योल निकाल्दै उनले भने- भारतको सहयोगबिना त्यो सम्भव थिएन। त्यसबेला पार्टी प्रवत्ताको हैसियतले म पश्चिमा जगत्को सहयोग जुटाउने क्रममा युरोप खटिएको थिएँ। भारत पनि कसै न कसैको दबाबमा कुनै बेला पर्ने गर्छ भन्ने कुराको अनुभव मैले त्यसबेला बुझ्न पाएको हुँ। बेलायतको कन्जरभेटिभ शासन होस् या फ्रान्सको सोसलिस्ट। फ्राँ स्वाँ मित्तेराँ, सोसलिस्ट इन्टरनेशनलका विली ब्रान्ट, बदलिँदै गएको रुसका गोर्भाचोभ, अमेरिकाको रिपब्लिकन जर्ज बुस सिनियर कोही किन नहुन् भारतमा दबाब यत्तिकै परेको थिएन। सुरु या मध्य चैतमा झण्डै धर्मराइसकेको नेपालको आन्दोलन नेपाली जनताकै बलबुतामा फेरि उठेको पनि हो। यसो भनेर आन्दोलन विदेशीको बुइँ चढेर गरिएको भनिएकोचाहिँ होइन। तर सिंगो संसारको जनमत आन्दोलनको पक्षमा भने थियो।

कूटनीतिक भाषा जसले जे प्रयोग गरे तापनि वर्तमान सरकारको नेतृत्व या गठबन्धनका घटकसँग कुनै एउटा देश विशेष सन्तुष्ट छ भन्दैमा सरकारको आयु अनन्तसम्म छ भन्ने भ्रम कसैले पाल्नु ठूलो गल्ती हुनेछ, त्यो सत्तासीन दलका लागि मात्र होइन, सिंगो नेपालको भविष्यका लागि। न नेपालीले, न त नेपालका कुनै पनि जिम्मेवार नागरिक नेतृत्वले। यो कुरो स्पष्ट छ हाम्रो उत्तरको छिमेकी, समुद्रापारिका पश्चिमा मुलुकहरु कोही पनि यो सरकारको कामकारवाही, यसको व्यवहार, यसको सोच कुनै कुरोसित सन्तुष्ट छैनन्। प्रत्यक्ष हस्तक्षेप कोही कहीँ पनि अहिले गर्न चाहँदैनन्। सिरिया, उत्तरकोरिया, इरान, गाजा, लेवनानको स्थिति पनि नेपालको होइन। उत्तरले हस्तक्षेप गर्ने पर्याप्त कारण पनि छैन र उसको त्यत्रो तयारी पनि छैन। तर नेपाली जनता भने यो कुरो राम्ररी जान्दछ, दक्षिणी छिमेकीको प्रत्यक्ष, परोक्ष हस्तक्षेपले अब सीमा नाध्न थाल्यो। यसरी सिंगो मुलुकलाई, मुलुकबासीलाई चिढाएर उसले प्राप्त गर्ने के? उत्तर र दक्षिणको सिधा प्रतिस्पर्धा नेपालभित्र खोजेको पनि नेपालीले होइन। यी दुवैमध्ये कसैलाई निम्त्याउन खोजेको पनि होइन। नभए विदेशी हस्तक्षेेप हुन्छ भन्ने स्वर पनि तिनैबाट सुनिन्छ, जसको बलमा शासन गर्ने एकथरीको रहर छ। अब हुने निर्वाचन एउटा दल विशेषका विरुद्धमा होइन कि जसले ती दलहरुलाई शासन गर्नका लागि बल पुर्याबइराखेको छ, त्यसका विरुद्ध मतदान हुनेछ भन्ने कुरो त्यो छिमेकीले बुझ्नुपर्छ, जसले यो शासनसत्ता टिकाउन मद्दत गरिराखेको छ। यो कुरो अदनाभन्दा अदना नेपालीले राम्रैसँग बुझेको छ।

देशको कार्यकारी प्रमुख कसैको स्टुज (कठपुतली) भएर बस्ने व्यक्ति हुनुहुँदैन। कार्यकारी प्रमुख हुने हैसियत राजनीतिमा बचाइराख्ने उद्यम पनि गरिराख्नुपर्छ। एकपटकको सत्ता मोहले त्यो सदाकालका लागि बचिरहन्छ भन्ने सोच गलत हो। पटकपटक संविधान उल्लंघन गरेर भोलि बन्ने संविधानले उनका लागि त्यो बाटो खोल्छ भन्ने देखिँदैन। उनी जुन पार्टीबाट आएका हुन्, त्यो पार्टी अब धुजाधुजा हुने क्रममा छ। भनिएको मितिमा उसले अधिवेशन गर्छ/गर्दैन, त्यो कुनै ठेगानको विषय छैन। नेता निर्वाचित हुँदैनन्। एक पटक नेता भइसकेपछि सदाकालका लागि नेता नै भइरहनुपर्ने, एकपटक प्रधानमन्त्री भइसकेपछि सधैंका लागि प्रधानमन्त्री नै भइरहनुपर्ने मानसिकताले कुनै पनि पार्टीलाई आफैंभित्र लोकतन्त्रको अभ्यास गर्न दिँदैन भने त्यसले सिंगो मुलुकलाई लोकतन्त्रको अभ्यासको छुट देला भनेर पत्याउनु नै कसरी? आजसम्म भएका कुनै पनि समझदारी, सहमति, सम्मति केही पनि स्वीकार नगर्ने दललाई नेपाली जनताले दलका रुपमा स्वीकार्नु नै किन? धम्की, चुनौती, ललकारको भाषा बोल्ने हो भने प्रजातन्त्रवादी शक्तिहरुले अरु प्रकृृतिका धम्की र चुनौती दिने त होइन, निर्वाचनको चुनौती भने दिनैपर्ने हुन्छ।

संविधान सभा माग्नेहरुलाई आउ, संविधान सभामा जनताले के भन्छन् त्यहीअनुरुपको बनाऊँ भनेर भन्नैपर्ने हुन्छ। पुष्पकमल दाहालको मस्तिष्कमा कस्तो प्रकृतिको संविधान छ या मोहन वैद्यको या राजेन्द्र महतो या सुशील कोइरालाको या प्रकाशचन्द्र लोहनीको ... भनेर संविधान लेखिँदैन। संविधान यदि लेखिन्छ भने नेपाली जनताले खोजेजस्तो संविधानमात्रै लेखिन्छ। संविधानका अन्तरवस्तुमाथि अहिले निर्णय गरौं भनेर दश पन्ध्र जनाको बैठकले गरिएको निर्णय नेपाली जनतालाई स्वीकार्य छैन। यो सरकारको विकल्प त यसकारण खोजिएको हो कि यो सरकार असफल छ। त्यसमा बहस गर्न सकिन्छ। सरकारले सफलताको फेहरिस्त जनताका माझ ल्याउन सक्छ भने सोच्ने कुरा होला। यही प्रधानमन्त्री रहेसम्म भ्रष्टाचारबाहेक केही पनि रहँदैन, दण्डहीनताबाहेक केही पनि रहँदैन, राजनीतिक अपराधीकरणबाहेक केही पनि रहँदैन भनेर नै यसको विकल्प चाहिएको हो। यसले ठूलो काम गर्छ भनेर भनिएको पनि होइन, संविधानको पालना गर्छ भनेर यसलाई टिकाइराख्नुपर्ने कारण पनि छैन।
अन्तमा, हरेक महिना गाउँलेकहाँ गएर बस्ने रहर भएका प्रधानमन्त्री गाउँको रमाइलो बुझ्न गएका हुन् या गरिबी? बाबुरामले बुझे हुन्छ- सप्तरीमा दश घर जल्दा उनका सारा सम्पत्ति खरानी भएर जाँदा जम्मा दश लाखको क्षति भयो। त्यो गाउँका मान्छेको प्रतिव्यक्ति सम्पत्ति कति होला? तपाईं अर्थमन्त्री, श्रीमती पटकपटकको मन्त्री र अहिले पुनः प्रधानमन्त्री भइसक्दाको तपाईंको परिवारको कमाई र खर्च कति भयो होला?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस