काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलको क्रममा निर्देशक केसाङ छेतेनले आफ्नो पछिल्लो डकुमेन्ट्रीमार्फत प्रश्न उठाए, 'हु विल बी अ गोरखा?' उनले ब्रिटिस गोरखा सैनिकमा भर्ती हुन चाहने नेपाली युवाहरूले गर्दै आएको श्रम र संघर्षलाई उजागर गर्नेगरी 'हु विल बी अ गोरखा?' नामक डकुमेन्ट्री बनाएका हुन्। डकुमेन्ट्री हेर्दै गर्दा छर्लङ्गै देखिन्छ, ब्रिटेनले एउटा सार्वभौम मुलुक नेपालमा कसरी रोजीरोजी भर्ती गर्दै आएको रहेछ!
'पहिले खोजीखोजी, अहिले रोजीरोजी'
त्यसरी रोजीरोजी भर्ना गरिएका नेपाली युवाहरूले ब्रिटिस गोरखा सेनामा भर्ती हुने कामलाई कसैले पुस्तैनी पेसाका रुपमा त कसैले बेरोजगारीलगायत आर्थिक समस्या समाधानको उपायका रुपमा लिएको पाइन्छ। तर, वार्षिक एक सय जना भर्तीका लागि दसौं हजार युवाले आफ्नो छाती नपाउनु, त्यसका लागि कठोर संघर्ष गर्नु र अन्ततः ब्रिटिस साम्राज्यको स्वार्थका खातिर आँसु, रगत र पसिना बगाएर केही रकम कमाउनु आफैंमा विचारणीय विषय हो। केही हदसम्म आकर्षक रोजगारका लागि यति धेरै श्रम, संघर्ष र बलिदान गर्न बाध्य पार्ने वा लोभ्याउने खालको ब्रिटिस रोजाइ कत्तिको मानवीय छ? डकुमेन्ट्री हेर्दै गर्दा यस्तै प्रश्नले मनमस्तिष्कमा घर गरेका थिए।
हुन त डकुमेन्ट्रीले ब्रिटिस गोरखा भर्तीसँग जोडिएका पुराना फुटेज पनि प्रयोग गरेको छ, तर दुई सय वर्ष लामो इतिहासलाई कोट्याउने काम भने गरेको छैन। वर्तमानमा ब्रिटिस गोरखा लाहुरे हुन चाहने युवाका अनेक र समस्यासँगै त्यसका लागि ब्रिटिस रोजाइको प्रक्रियालाई देखाउन सफल डकुमेन्ट्रीबाट इतिहासमात्रै होइन, भर्तीको अर्थ-राजनीतिको गहिराइ खोतलिने आस गर्नु बेसी नै हुन्छ। तर, डकुमेन्ट्री हेरिरहँदा मनमस्तिष्कलाई भने सरदार भीमबहादुर पांडेले लेखेको 'त्यस बखतको नेपाल'का केही सन्दर्भले घरीघरी तानिरह्यो। डकुमेन्ट्रीजस्तै लेखिएको 'त्यस बखतको नेपाल' पुस्तकमा उनले 'पहिले खोजीखोजी, अहिले रोजीरोजी' भर्ती गरिने प्रक्रियाबारे एउटा सन्दर्भ उल्लेख गरेका थिए। उनले लेखेका थिए, 'प्रथम महायुद्धको बेला अंग्रेजी फौजबाट गल्ला खोज्न गाउँगाउँमा गोरखा पल्टनका सुवेदार, जमदार र हवल्दारहरू खटिएर आउने चलन पछिसम्म चलिरह्यो (आजकलजस्तो रिक्रुट गर्ने डिपो खुलेको थिएन)। त्यस्ता गल्ला खोज्ने मानिस गाउँतिर आएको खबर पाउने आमा, स्वास्नीहरूले आफ्ना छोरा र लोग्नेको पिच्छा छाड्दैनथे- बहकिएर उनीहरू विदेशिएलान् भन्ने डरले। यसप्रकार १९७७-७८ सालतिर पहाडियाहरू परदेशतिर लाग्न थालेका ताँती र त्यहाँ उनीहरूले पाएको हैरानीको करुण कहानी लामो छ।'
दामका लागि सैन्य भर्ती
ब्रिटिस साम्राज्यले चलाएको युद्धका लागि आवश्यक चारोको रुपमा राणा शासकहरूले उर्दी नै जारी गर्दै पहिलो विश्वयुद्धमा नेपालको २० प्रतिशत श्रमशक्ति अर्थात् दुई लाख, दोस्रो विश्वयुद्धमा साढे दुई लाख नेपालीलाई ब्रिटिस गोरखा बनाएको इतिहास छ, करकापका आधारमा। अचेल भर्ती करकापका आधारमा होइन, स्वेच्छाले हुने गरेको छ, आकर्षक तलब र सुविधाले तानिएर भर्ती हुनेहरूको संख्या बढ्दो छ। र, नेपालको बढ्दो बेरोजगारी र गरिबी घटाउन भर्ती प्रक्रिया थालेको दाबी गर्ने ब्रिटिस सरकारले भने आफ्नो सेनाको संख्या कटौती गर्ने क्रममा गोरखा सैनिकको संख्या ३ हजारको हाराहारी सीमित गरिसकेको छ र भर्तीको संख्या पनि कतौटी गरेर यस प्रक्रियालाई निरन्तरतामात्रै दिँदै आएको छ। त्यसै क्रममा आफ्नो रोजाइलाई निकै प्रतिस्पर्धापूर्ण बनाएको छ र त्यस्तो प्रतिस्पर्धाको सुरुङभित्र पसेर उत्तीर्ण हुन निकै कठिन पारेको छ।
डकुमेन्ट्रीमा ब्रिटिस अधिकारीहरूले 'गोरखा भर्तीको प्रक्रिया स्वच्छ, निस्पक्ष र पारदर्शी हुन्छ' भनी पटकपटक दाबी गरेको सुन्दा उदेकै लाग्छ। पहिले नेपाली शासकहरूलाई दबाब, लोभ र लाभका आधारमा भर्ती खुलाउने र देशभरि भर्तीका लागि उर्दी गराउने ब्रिटेनले आफ्नो अनुकूलतामा भर्तीको प्रक्रियालाई कडा या खुकुलो पार्ने काम गर्दै आएको तथ्य बिर्सन सकिँदैन। युद्धका लागि सैन्य संख्या बढाउनु जरुरी भयो भने, कैदी र अपराधीदेखि 'लडाकु नस्ल'बाहेकका नस्ल र जातिका कुनै पनि सद्दे मानिसलाई फकाएर, लोभ्याएर अनि राज्यको बल प्रयोग गरेर पनि हतियार बनाएको ब्रिटेनले अहिले आएर निकै ठूलो स्वरमा दाबी गर्दै आएको छ : गोरखा भर्ती स्वच्छ, निस्पक्ष र पारदर्शी हुन्छ।
ब्रिटिस गोरखा सैनिक र आमनेपालीहरूप्रति ब्रिटिस अधिकारी र उनीहरूसँग काम गर्ने नेपाली र भारतीयहरूको व्यवहार कस्तो हुन्छ, डकुमेन्ट्रीमा देखिन्छ नै। तर, डकुमेन्ट्रीमा भन्दा बेसी गहिराइमा धेरैजसो ब्रिटिस अधिकारीहरूको सोचाइ र व्यवहारलाई ब्रिटिस सेनाका क्याप्टन बाइरन फेयरवेलले सटीक भाषामा उल्लेख गरेका थिए। 'दी गुर्खाज'का लेखक फेयरवेलले अत्यन्त तल्लो स्तरको भाषामा ब्रिटिस गोरखा सैनिकहरूबारे व्याख्या गरेका थिए। उनले अनेक दृष्टान्त दिँदै भनेका थिए, नेपालीहरू मूर्ख छन्, अशिक्षित र गँवार छन्। ब्रिटिस सेनामा लागेर उनीहरूले ठूलो मौका पाएका छन्, आफैंलाई उकासेका छन्। उनको मुख्य भनाइ थियो, गोरखालीहरू एउटा यस्तो देशबाट भर्तीमा आएका छन्, जहाँ नगद भन्ने देख्नै पाइँदैन। त्यसैले ती भाडाका सैनिकहरू तुच्छ तलबमा पनि खुसीसाथ काम गर्छन्। किनभने उनीहरू दामका लागि भर्ती हुन्छन्। यस्तो भाषामा लेख्न सक्ने ब्रिटिस सैनिक अधिकारीहरूको बोलाइ र व्यवहार कत्तिको मानवीय हुन्छ, प्रश्न उठ्नु अनौठो होइन।
छातीको नपाइ र लेखाइ
डकुमेन्ट्रीमा भर्तीका लागि छाती नपाउने र छातीमा डब्ल्युओ र नम्बर लेखाउने चलन देखेर डिममिग हुने स्थिति पनि नआएको होइन। हुन त भर्ती हुन लाइन लागेका ती नेपाली युवाहरू हिन्दी फिल्म 'गजिनी'का नायक आमिर खानका क्लोनहरू होइनन्, तर पनि उनीहरूका शरीरमा पोतिएका छन् अंक र चिन्ह। उनीहरूका जिउ कुनै संकेतपाटी पनि कदापि होइनन्, तर पनि उनीहरूमध्ये कसैका जिउमा लेखिएका छन् : डब्ल्युओ टु वान सिक्स टु या यस्तै अरु केही नम्बर। अंग्रेजीमा कोरिएका ती अंक र अंकले के कस्तो संकेत जनाउँछन्? यस्ता अंक शरीरमा कोर्न लागेको दृश्य हेर्नासाथ जोकसैको पनि मथिंगल घुम्छ।
श्वीनफर्थका अनुसार विश्वका सबैजसो भागका आमाहरू आफ्ना बालबालिकाको शरीरमा आफ्नो राष्ट्र (जाति)का बाह्य चिन्ह बेसीभन्दा बेसी मुखर बनाउने कोसिस गर्छन्। तर ती किशोर गोरखालीहरूको कलिलो छातीमा उनीहरूका आमाहरूले आफ्नो जातीय गौरवचिन्ह अंकित गरेको त कदापि होइन। गिओर्गी प्लेखानोभका अनुसार आदिम जनहरूमा आफ्नो शरीरमा अत्यन्त जटिल खालका चिन्ह खोप्ने वा ट्याटु लेख्ने चलन थियो। केही उत्तर अमेरिकी कबिलामा पनि आफ्नो छालामा आफ्ना कबिलाका संस्थापकहरू मानिने जनावरहरूका आकृति कुँद्ने प्रचलन छ। पूर्वजहरूलाई सम्मान गर्न वा ट्याटुमार्फत पूर्वजहरूसँग सम्बन्ध कायम गर्ने माध्यमका रुपमा अँगालिएको यो प्रचलनसँग पनि गोरखाली चिनोको कुनै साइनो छैन। बरु, पूर्वजहरूसँगको सांस्कृतिक साइनो र सम्बन्धबाट अलग्याएर असांस्कृतिकरण गर्ने चिनोको रुपमा खोपिएका छन् ती अक्षर। ती अक्षर त उनीहरूको शरीरमा ब्रिटिस साम्राज्यले आफ्नो एकाधिकार जमाउने क्रममा लेखेका संकेत हुन्। अंग्रेजीका ती अक्षर लेखेर उनीहरूको शरीर र मनमाथि शासन जमाउन खोजिएको हो, सैन्य जागिरको नाममा।
वास्तवमा भर्खर किशोर उमेर पनि नकाटेका गोरखालीहरूका शरीर कालोपाटीजस्तो भएको छ, जहाँ इतिहास लेखिएको छ। हो, त्यस्तो इतिहास, जसमा लेखिएको छ, ब्रिटिस साम्राज्यले सन् १८१५ देखि थालेको गोरखा भर्तीको कथा। अवैध रुपले गरिएको त्यही भर्तीको कथा राम्ररी पढ्न सकियो भने भेटिन्छ, कुनै द्विपक्षीय सन्धि-सम्झौताविना गोरखाली सैनिकलाई युद्धमा होम्ने युद्धअपराधको कहानी। ती कथाकहानी पढेपछि थाहा हुन्छ, नेपालकै मित्रराष्ट्रदेखि छिमेकी देशविरुद्ध गोरखाली सेनाको प्रयोगको आख्यान। अनि ज्ञान हुन्छ, ती युद्धको नेपाली जीवनमा पारेको प्रभावको कथाव्यथा पनि। यस अर्थमा गोरखालीहरूको शरीरमा कोरिएको हो, गोरखाली शरीर र मनलाई काबूमा राख्ने औपनिवेशिक शास्त्र।
औपनिवेशिक सम्बन्धको दुर्गन्ध
फिल्म फेस्टिभलको क्रममा गरिएको बहसमा गोरखा भर्तीबारे अन्तर्क्रिया हुँदा 'ब्रिटिस साम्राज्यका नेपाली मोहोरा' पुस्तकका लेखक झलक सुवेदीले यस्तो औपनिवेशीकरणबारे तर्क राखेका थिए। रोजगारका लागि कुनै देशमा काम गर्न पठाउन म्यानपावर एजेन्सी खोल्नु र कुनै विदेशी शक्तिले नेपालभित्रै भर्तीकेन्द्र खोलेर सैनिक आपूर्ति गर्नु भिन्न हो भन्ने तर्कसहित उनले यस्तो भर्तीको प्रक्रियामा ब्रिटेन र नेपालबीच औपनिवेशिक सम्बन्धको दुर्गन्ध आएको मत व्यक्त गरेका थिए। हुन त त्यहाँ केही व्यक्तिले ब्रिटेन, भारत र नेपालबीच सन् १९४७ को त्रिपक्षीय सहमतिअनुसार भर्ती प्रक्रिया जारी रहेको र त्यसमा केही प्रावधानमा फेरबदल गरेर भर्ती प्रक्रिया जारी राख्नु जरुरी रहेको मत राखेका थिए। तर, विचारणीय कुरा के हो भने त्रिपक्षीय सहमति ब्रिटेन र नेपालको संसद्मा पेससमेत गरिएको छैन, अनुमोदन त टाढाकै कुरा भयो। यस्तो त्रिपक्षीय सहमतिका आधारमा जारी भर्ती कसरी वैधानिक र जायज हुन्छ? त्यसमा पनि ३० सेप्टेम्बर २००८ मा ब्रिटेनको 'रोयल कोर्ट अफ जस्टिस'ले त्रिपक्षीय सहमति र त्यसका आधारमा बनेका गोरखा पोलिसी नै गैरकानुनी हो भनेर खारेज गरिसकेको छ। ब्रिटिस सरकार र संसद्लाई समानताको सिद्धान्तअनुसार समान नीति ल्याऊ पनि भनिसकेको छ। र, यसअघिका सबै वैध-अवैध सहमति र सन्धि खारेज गरिदिएको छ। विश्वमै चर्चित भएको उक्त फैसलाबारे ब्रिटेन र नेपालको संसद्मा मात्रै होइन, बौद्धिक विमर्शमा समेत कुनै चर्चासम्म पनि भएको छैन। यस्तो मौनताले प्रश्न उठाएको छ, कुनै सहमति, सम्झौता र सन्धिविना नेपालभित्र कसरी गोरखा भर्ती जारी राखिएको होला?
पक्कै पनि गोरखा भर्तीका सकारात्मक र नकारात्मक पाटो अध्ययन र बहसका विषय हुन्। तर, अहिले सय जनाभन्दा कमलाई रोजगार दिने नाममा जारी राखिएको गोरखा भर्तीले राष्ट्रियता र सार्वभौमसत्तामाथि नै प्रश्नचिन्ह उठाउँदै आएको छ। डकुमेन्ट्रीमा नेपाल आमाका लागि बलिदान दिन तयार रहेको गीत बजिरहँदा भर्तीमा जाने युवाहरू ब्रिटिस गोरखा सैनिकको जागिर पाइयो भने ब्रिटेनका लागि रगतको खोलो बगाउन तयार रहेको घोषणा गरिरहेको दृश्य देखाइएको छ। हजारौं प्रतिस्पर्धी युवाबीच छानिएका ८८ जना युवाले ब्रिटिस आर्मी अफिसरहरूलाई साक्षी राखेर नेपाली भूमिमा ब्रिटिस महारानी एलिजाबेथको फोटोमा सलाम ठोकेको मार्मिक दृश्यले नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथि कसिलो व्यंग्य गरेको छ। यस्तो दृश्यले बेलायतका लागि मर्न-मार्न तयार भएका ८८ जना युवाको रोजगार, उनीहरूको रगत, पसिना र आँसु बगाएबापत प्राप्त हुने उनीहरूको समृद्धि र बेलायती नागरिकताको तुलनामा नेपाली राष्ट्रियता र नेपालको सार्वभौमसत्ता निम्छरो भइसकेको तथ्य उजागर गरेको छ। यस्तो मर्मबोध गर्ने क्षमता भुत्ते हुँदै जानु विडम्बनाको विषय हो।