सहमतिको राग र वेस्टमिन्स्टर पद्धति
०३ पौष २०६९
•
२० मिनेट पाठ
सहमतिको राग र वेस्टमिन्स्टर पद्धति
सत्ता साध्य हो कि साधनमात्रै हो? सरकार उद्देश्य हो कि माध्यममात्रै हो? प्रधानमन्त्रीको कुर्सी आफैंमा कुनै लक्ष्य हो कि लक्ष्य प्राप्त गर्ने भर्यासङमात्रै हो? हुन त 'जोगी हुन राजनीतिमा नआएको' दाबी गर्ने राजनीतिक नेताहरूलाई यस्ता प्रश्न गर्नुको कुनै तुक नुहन सक्छ। तर, उनीहरूले सत्तालाई नै सर्वस्व ठान्दै, त्यसको प्राप्तिका लागि खेल्दै आएको 'सत्ताको खेल' को रहस्य खोतल्नुको आफ्नै महत्ता छ। उनीहरूको सत्ताको खेलको मुख्य नियम हो : माछा आए दुलोभित्र हात, सर्प आए दुलोबाहिर हात। विपक्षीहरूको सरकार छ भने सहमतीय सरकारको सुमधुर राग अलाप, आफ्नो पक्षको सरकार छ भने बहुमतीय सरकारको कर्कश संगीत सुनाउँदै बस।
माओवादी-मधेसवादी नेतृत्वको बहुमतीय सरकार जारी रहेकाले सहमतीय सरकारको सुमधुर राग अलाप जारी छ, कुनै पनि मुद्दामा सहमति नगर्ने सुशील कोइरालाको अस्पष्ट 'र्या प' सँगै। बहुमतका आधारमा चुनिएका राष्ट्रपतिदेखि बहुमतीय शासन पद्धतिका प्रवक्ता र प्रयोक्ता भइखाएका विपक्षी राजनीतिक दलहरू यस्तो राग अलाप्नमा मग्न छन्। र, त्यसले जनतामा वैधता पनि प्राप्त गर्न थालेकाले उनीहरू अब सत्ता प्राप्तिको कल्पनामा मस्त छन्। आफ्ना विपक्षीलाई सत्ताच्युत गर्ने र आफ्नो पक्षलाई सत्तासीन बनाउने सम्भावना देखेरै सहमतीय सरकारको सुमधुर राग अलाप्न थालेका ती संसद्वादी दलहरूले आफैंले वकालत गर्दै संसदीय शासन पद्धतिको पुरातन मर्म मरेको तथ्यलाई भने बेवास्ता गर्दैछन्। पहिले बहुमतको सरकार र अल्पमतको विपक्षको अवधारणामा चल्ने पुरानो संसदीय शासन पद्धति लागु भएन भने लोकतन्त्रै मर्ने हौवा फैलाउने ती दलहरू एकाएक सहमतीय सरकारको च्याम्पियन भएका छन्। र, जसरी भए पनि सरकारको कुर्सी पाउने भएपछि संसदीय शासन पद्धति त्याग्न पनि तयार हुनु अवसरवादको नेपाली संस्करणभन्दा नयाँ केही नहुन सक्छ।
'सत्ताको खेल' मा बहुमतीय पद्धति
नेपालमा 'डेमोक्रेसी' भनेकै प्रजातन्त्र ठान्ने र प्रजातन्त्र भनेकै बेलायती ढाँचाको संसदीय शासन पद्धति (वेस्टमिन्स्टर सिस्टम) मान्ने संसद्वादी दल र नेताहरूको संख्या कम छैन। प्रजातन्त्रलाई लोकतन्त्रसम्म पनि भन्न नरुचाउने संस्कार र लोकतन्त्रलाई वेस्टमिन्स्टर सिस्टमभन्दा बाहिर हेर्नै नसक्ने दृष्टिकोण भएका संसद्वादी नेताहरूले नै २०६२/६३ को जनआन्दोलनपछि नेपालको शासन पद्धतिलाई फेरि पनि बहुमतीय पद्धतिकै खाडलमा पुर्या०एका थिए, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जारी मिलीजुली सरकारको अभ्यासलाई तोडेर। लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने हो भने अन्तरिम संविधानमा सहमतीय सरकार निर्माणको प्रावधानसँगै बहुमतीय पद्धतिको पुच्छर पनि गाँस्नैपर्ने दबाबका कारण सहमतीय पद्धति भताभंुग भएको जगजाहेर छ। संविधान सभा निर्वाचनमा आफूले बहुमत पाएको भए बहुमतीय पद्धतिमै टाँसिरहने संसद्वादी दलहरूले माओवादी र मधेसवादी दलहरूको उदय र बहुमतीय सरकारतिर यात्रापछि सत्ताको खेलको नियममात्रै होइन, मैदानै फेर्न बाध्य पारेका थिए।
हुन त संविधान सभाबाट नयाँ लोकतान्त्रिक संविधान लेखनका लागि बहुमतीय नियमले अधोगतितिर लाने र सहमतीय नियमले मात्रै संविधान लेखनका लागि सम्झौता, सम्झौताका आधारमा सत्ता साझेदारी तथा सत्ता साझेदारीका आधारमा राज्य सञ्चालन सुनिश्चित गर्ने तथ्य कसैलाई थाहा नभएको होइन। तर सत्ता नै सबथोक हो, संविधान सभा भंग भए होस्, संविधान नबने नबनोस्, संघीयतासहित राज्य पुनर्संरचना नभए नहोस् भन्ने दुर्मतिले सहमतीय सरकारका आधारमा संविधान लेखनको मिसनलाई एकातिर पन्छाइयो र चार वर्षमा चार वटा सरकार बनाउने/बिगार्ने खेलका लागि मैदान बनाइयो। यस अर्थमा चार वर्षमा पनि संविधान सभाबाट संविधान लेखन सम्भव नहुनुमा सहमतीय पद्धतिको साटो बहुमतीय पद्धतिकै आधारमा सरकार निर्माण र सञ्चालन हुनु तथा सत्ता साझेदारीको सट्टा सत्ताको छिनाझपटीमा वृद्धिसँगै बाह्रबुँदे समझदारी र अन्तरिम संविधानले निर्दिष्ट गरेका जनआन्दोलनको मर्मलाई बिर्सिनु नै राजनीतिक अभिशाप सिद्ध भएको छ।
त्यसो भए संविधान लेखनविना नै संविधान सभा विघटन र सत्ताको छिनाझपटीका कारण पैदा भएको राजनीतिक गतिरोधबाट पाठ सिकेरै संसद्वादी दलहरूले अहिले आएर सहमतीय सरकारको राग अलाप्न थालेका हुन् त? उनीहरूले बहुमतको सरकार, अल्पमतको विपक्ष हुने सनातनी वेस्टमिन्स्टर शैलीबाट नयाँ संविधान लेखन सम्भव नहुने ठानेरै 'सहमतीय सरकार'को माग गरेका हुन् त? उत्तर सकारात्मक पाइएको छैन। आफूले वकालत गर्दै आएको वेस्टमिन्स्टर शैलीको संसदीय लोकतन्त्रबारे उनीहरूले मौनव्रत लिएकाले सहमतीय सरकारको मागमा प्रधानमन्त्रीको कुर्सीबाहेक अरु पक्षको कुनै मूल्य देखिएको छैन। कुर्सी पाइने भएकाले मात्रै 'सहमतीय सरकार'को माग गरिएको तथ्य लुकाउन नै 'प्रधानमन्त्रीय पदसँग सिद्धान्त नसाटिने' उद्घोष ठूलठूलो स्वरमा गरिएको हो। होइन भने बहुमतको सरकार, अल्पमतको विपक्ष हुने संसदीय पद्धतिबारे पछिल्लो अडान के हो, उनीहरूले प्रष्ट्याउनु जरुरी छ। त्यस्तै बाह्रबुँदे समझदारीदेखि संघीयतासम्मको विपक्षमा रहेका र माओवादीसँग सहकार्यको विरोधमा मोर्चाबन्दी गर्ने सुशील कोइरालाको नेतृत्वमा बन्ने सरकारको कार्यसूची के हो; पराजित नेताहरूको नेतृत्वमा अनिर्वाचित सरकार गठन कुन संविधान र कुन पद्धतिअनुसार गर्ने हो; अहिलेको राजनीतिक गतिरोधको निकाससम्बन्धी उनको मत के हो, खुलस्त राखेर अन्य दलको समर्थन लिनु जरुरी छ। तर आफ्नो कुनै विशिष्ट मतै नभएका र माओवादीविरोधी मतमा मात्रै ल्याप्चे लगाउँदै आएका कोइरालाले आफ्नो नेतृत्वमा 'सहमतीय सरकार' गठन गर्नुअघि पदसँग 'नसाटिने आफ्नो सिद्धान्त र राजनीतिको खाका' भने सार्वजनिक गर्नु आवश्यक छ। यसका साथै, सत्तापक्ष र विपक्षको सनातनी विभाजन र तानातानीबारे, निर्वाचनमा जित्नेले सबै लिने विषयमा र चुनावमा हार्ने वा पछि पर्ने विपक्षी दललाई वैकल्पिक सरकार वा प्रतीक्षारत् सरकार भन्ने मान्यताबारे पनि उनी र उनको दलले आफ्नो मत जनसमक्ष राख्नु आवश्यक छ। किनभने पछिल्लो सात महिनामा ती सबै संसदीय परम्परालाई पनि राष्ट्रपति र उनलाई उक्साउने संसद्वादी दलहरूले पोलेर खाइसकेका छन्।
मुखमा राम-राम, बगलीमा छुरा
संविधान सभा र त्यसको व्यवस्थापिका-संसद्लाई समेत संसदीय शैलीमा ढाल्ने संसद्वादी शक्तिहरूले चुनाव घोषणा गर्ने सरकारै चुनावी सरकार हुने, चुनावी सरकारले गर्ने निर्वाचनमा भाग लिएर तिनले बहुमतका लागि प्रतिस्पर्धा गर्ने संसदीय पद्धतिलाई कुर्सीसँग साट्न खोजेको हो कि सहमतीय पद्धतिसँग लेनदेन गर्न खोजेको हो, स्पष्टीकरण दिनु जरुरी छ। होइन भने बहुमतीय पद्धतिबाट निर्वाचित चुनावी सरकारलाई हटाएर संसद् सदस्यसमेत नरहेका तथा आफ्नै दलभित्र र बाहिर कुनै सहमति गर्न नसकेका नेता सुशील कोइरालालाई सहमतीय सरकारको नाममा प्रधामन्त्रीय पदमा स्थापित गर्न खोज्दा उनीहरू आफैंले दाबी गर्दै आएको संसदीय पद्धति बाँकी नरहने निश्चित छ। र, उनका पूर्व महामन्त्री एवं वर्तमान राष्ट्रपति डा. रामवरण यादवसँगको मिलेमतोमा लोकतान्त्रिक गणतन्त्रसमेत उदार तानाशाहीको भीरतिर गुल्टिन सक्छ।
त्यसो त नेपालमा सनातनी संसदीय पद्धति असफल भइसकेको सही निष्कर्षसहित मिलीजुली सरकारका लागि दाबी गरिएको हो भने नयाँ सम्झौताको गुञ्जायस रहन्छ र त्यसले केही अग्रगति पनि दिनसक्छ। तर, त्यस गुञ्जायसलाई मत्थर पार्नेगरी अन्तरिम संविधानमा चोरबाटोको रुपमा राखिएको ३८(२) अनुसार बहुमतीय सरकार बनाउन राष्ट्रपतिले आह्वान गर्नुपर्ने माग घरीघरी उठ्ने गरेको छ, जुन संसद्वादी दलहरूको दोहोरो चरित्रकै परिचायक हो। माओवादी-मधेसवादी दलहरूको चुनावी सरकारलाई जसरी भए पनि ढाल्ने र कुर्सीमा आफू आसीन हुने नियतले 'सहमतीय सरकार' को माग गरिएको होइन भने नयाँ सम्झौतामा अब वेस्टमिन्स्टर शैलीको संसदीय लोकतन्त्रमा नफर्कने कुरा पनि उल्लेख हुनु जरुरी छ। राज्य पुनर्संरचनाको गम्भीर राष्ट्रिय मुद्दाका अतिरिक्त बहुमतीय शासन पद्धतिका कारण पनि संविधान सभा, संविधान लेखन र सत्ता साझेदारी असफल भएको घटनाबाट पाठ सिकिएको हो भने नयाँ सम्झौताले संविधान लेखनसम्म मिलीजुली सरकारको ढोका खोल्न सक्छ।
विडम्बनाको कुरा, 'सहमतीय सरकार' को नेतृत्वका लागि सुशील कोइरालाको नाम भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित त भएको छ तर प्रस्तावकहरूमा सहमतिको भन्दा पनि असहमतिको सरकार बनाउन हतारो देखिएको छ, मुद्दालाई रछ्यानमा फ्याँकेर त्यही रछ्यानमा मान्छेलाई आसनमा बसाइहाल्ने चटारो पाइएको छ। जसरी भए पनि छिटो प्रधानमन्त्री बन्ने तर त्यसका लागि कुनै पनि सहमति, सम्झौता र समझदारी नगर्ने जिद्दीले असहमतीय सरकारसमेत बन्न दिँदैन। सकेसम्म एकले अर्काेलाई निषेध गर्ने राजनीतिक छुरा बगलीमा हाल्दै मुखले 'राम राम' बक्दै गरेका दलहरूमा तत्काल कुनै 'सहमति' हुने सम्भावना देखिएको छैन, अब धेरै भए 'सम्झौता' मात्रै हुने हो। एकले अर्काेलाई विश्वास गर्दै, एउटै राय वा मत कायम गर्नेखालको सहमतीय राजनीति पुनः सञ्चालन गर्न नसकिने द्वन्द्वात्मक स्थितिको साटो शक्ति-सन्तुलनका आधारमा नयाँ सम्झौतामात्रै गरियो भने पनि ठूलो बुद्धिमानी हुने देखिन्छ।
'सहयोगात्मक ढाँचा' को सरकार
संसद्वादी नेताहरूको बुद्धि फिरेकै हो भने संविधान सभा निर्वाचन प्रयोजनका लागि चुनावको मिति, बाधा अड्काउ फुकाउने विधिमार्फत् संविधान संशोधन, मिलीजुली सरकारको नेतृत्व र संविधान सभाको आकारसँगै व्यवस्थापकीय दायित्वबारे सम्झौता गर्दा शासकीय प्रणालीसँगै सहमतीय शासन पद्धतिबारे पनि समझदारी गर्नु उपयुक्त हुन्छ। संविधान सभा र त्यसका विभिन्न समितिमा भएका निर्णयलाई आत्मसात् गर्ने कामसँगै संविधान निर्माण नभएसम्म सत्ता साझेदारी गर्ने र मिलीजुली सरकार बनाउने जिम्मेवारीबारे पनि लिखितमै गर्नु उचित हुन्छ। किनभने राष्ट्र प्रमुख र सरकार प्रमुख एकै दलका नेता हुँदा २००७-२०१५ सालमा जस्तै संविधान सभाको निर्वाचनै नहुने, भए पनि दलगत द्वन्द्वका कारण २०६४-२०६९ सालमा जस्तै संविधान सभै भंग हुने र संविधान लेखनै स्थगित हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन। अहिले नै नागरिक आन्दोलनको पर्यवेक्षणमा प्रधानमन्त्रीको कुर्सी लिने पार्टीले गृह, रक्षा र अर्थ मन्त्रालय नलिने तथा पार्टीगत हैसियतअनुसार ती पद बाँडफाँट गर्नेखालको सत्ता साझेदारी गरियो भने त्यो साझेदारी निर्वाचनपछिको मिलीजुली सरकारका लागि पनि नजिर बन्छ भने संविधान लेखनलाई प्रत्याभूत गर्ने संरचना पनि हुन्छ।
सात दसकदेखि एउटा सरकार वर्ष दिन पनि नटिक्ने झेली बहुमतीय खेलको साटो अब लोकतन्त्रमा सबै समूह र अल्पसंख्यक समुदायको पनि समानुपातिक प्रतिनिधित्व हुने र सरकारमा ती सबै समूह, समुदाय र दलहरू सामेल हुने 'सहयोगात्मक सरकार' तिर उद्यत हुन सकिएन भने सत्ता र मुद्दाको द्वन्द्वले नै लोकतान्त्रिक गणतन्त्रलाई पनि खान सक्छ। संसदीय बहुमतमा आधारित प्रधानमन्त्रीय प्रणालीको प्रयोगले पटक-पटक हावा खाइसकेको तथा त्यसले राजनीतिक र अन्य सामाजिक द्वन्द्वलाई पनि गहन पारेको स्थितिमा सरकारसम्बन्धी 'सहयोगात्मक ढाँचा' बारे समझदारी बनाउन सकिन्छ। राजनीतिशास्त्री आरन्ड लेपार्थले प्रस्ताव गरेको 'सहयोगात्मक ढाँचा' (कन्सोसिएसनल मोडेल)अनुसार अगाडि बढियो भने राज्य सञ्चालनमा एकल जाति, वर्ग, दल र संस्कृतिको प्रभुत्व निरुत्साहित हुन्छ भने विविधताबीच राष्ट्रिय एकता पनि वृद्धि हुन्छ र द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण पनि हुनसक्छ।
समानुपातिक प्रतिनिधित्व पनि गराउने अनि पहिलो स्थानमा आएर जित्नेले सबै पाउने मिश्रित निर्वाचन प्रणालीसँग बहुमतीय शासन पद्धतिको अन्तरविरोध देखिएकाले संघात्मक राज्यतिरको यात्राको क्रममा फेरि पनि संसदीय गोलचक्करमा नफस्ने हो भने सहयोगात्मक ढाँचा विचारणीय पद्धति हुनसक्छ। प्रश्न के हो भने सहमतीय सरकारको राग अलाप्दै प्रधानमन्त्री पदबाट माओवादीलाई हटाउने र जसरी पनि आफू आसीन हुने नियतसहित प्रधानमन्त्रीय कुर्सीसँग संसदीय पद्धति साट्न लागिएको बेला यस्ता प्रश्न नेताबीच विमर्शको मुद्दा हुन्छ कि हुन्न, शंकाकै घेरामा छ। तर यस्तो साटफेरलाई पनि सैद्धान्तिक-राजनीतिक व्याख्यासहित लिखितम रूप दिँदै सहयोगात्मक ढाँचाको सरकारमा जाने काम भयो भने अहिलेको राजनीतिक लेनदेनसमेत फलदायी हुनसक्छ, तबमात्रै यो लेनदेन शंकाको घेराभन्दा बाहिर पर्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस