राजनीतिक क्षितिजमा सहमतिको किरण
०३ पौष २०६९
•
१५ मिनेट पाठ
राजनीतिक क्षितिजमा सहमतिको किरण
'कालो बादलमा पनि चाँदीको घेरा हुन्छ' भनेझैं लामो अन्यौलता र राजनीतिक शुन्यतापश्चात् दलबीच सहमतिको संकेत देखापरेको छ। राजनीतिक दलबीचको असमझदारी, द्वन्द्व र धु्रवीकरणले अन्धकार बन्दै गएको राजनीतिक वातावरण दलका पछिल्ला संवादका शृंखला सकारात्मक दिशातर्फ उन्मुख भएका कारण नेपाली राजनीतिक क्षितिजमा सहमतिको झुल्के किरण देखापर्दैछ। पछिल्लो समयमा आएर राजनीतिक सहमतिको सम्भावना बढेको छ, जसका कारण सबैतिर उत्साह पलाएको छ। यद्यपि सहमतिले अझै ठोस आकार लिन भने सकेको छैन।
नेपाली राजनीतिको नियति नै भनौं उजेली/अँधेरी भई नै रहन्छ। दलहरु सहमति नजिक पुगेको अवस्थामा प्रधानमन्त्रीले अघि सारेका सर्तका कारण फेरि सहमति भाँडिने जोखिम बढेको छ। प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा काँगे्रस-एमाले सरकारमा सहभागी भई वैशाखमा निर्वाचन मिति तोकिनुपर्ने, कानुनी बन्देज फुकाउनुपर्ने, संवैधानिक निकायहरुमा नियुक्ति गरिनुपर्ने जस्ता सर्त अघि सारेपछि सहमति पुनः अन्यौलमा परेको छ। यी सर्त पूरा गरेपछि मात्र कांगे्रसको नेतृत्व स्वीकार गर्ने भनेपछि फेरि सहमति जोखिममा परेको हो। जबकि अघिल्ल्ाो दिन एमाओवादी अध्यक्ष प्रचण्डले मुलुक सहमतितर्फ गयो भनेका थिए। यसरी एमाओवादीका नेताहरुको कथनी र करणी दुवै विश्वसनीय देखिँदैनन्।
राजनीतिक दलहरु र सबैको एउटै भनाई छ- सहमतिको विकल्प छैन। तर पनि सहमति बन्न किन सकेन? एमाओवादीको सरकार टिकाइरहने र आफ्ना लागि अनुकूल वातावरण निर्माण भएपछि मात्र निर्वाचनमा जाने ध्येय रहेका कारण सहमतिको गाँठो फुक्न सकेको छैन। हिजो सरकारले सहमतिविना असम्भव निर्वाचनको जाल फाल्यो, कुनै वैधानिक प्रबन्धविना नै। विघटित संविधान सभामा रहेका जनताका आधिकारिक प्रतिनिधि राजनीतिक दलहरुको भूमिकालाई कमजोर बनाउने नियतसाथ गरिएको निर्वाचन घोषणा कसरी वैधानिक र आधिकारिक हुन सक्थ्यो? यो आफंैमा सहमतिको बाटो बन्द गर्ने कदम थियो। संवैधानिकता र सत्तामा रहने नैतिकता गुमाइसकेको सरकारले सहमतिका लागि मार्गप्रशस्त गर्नुपर्नेमा एकलौटी निर्वाचनको घोषणा गर्नु सत्ताको रक्षाकवचमात्र थियो। यसरी एमाओवादीको सर्वसत्तावाद नै राजनीतिक निकासका लागि बाधक बन्यो।
यदि अझै पनि सहमति नहुने हो भने देश अनेकौंखाले द्वन्द्वको भूमरीमा फस्ने निश्चित छ। एकातिर राजनीतिक दलबीच, अर्कोतिर राष्ट्रपति र सरकारबीच नयाँ द्वन्द्वको अवस्था सृजना हुनेछ। यसबाट सहमतीय राजनीति संकटमा पर्नेछ, निर्वाचन अन्यौलमा पर्नेछ, संविधान निर्माणको जनचाहना अझै टाढा धकेलिनेछ र देशमा मुठभेड निम्तनेछ। निर्वाचनमा जाने कि अधिनायकवादी शासन चलाइरहने? लोकतन्त्र रोज्ने कि अधिनायकवाद? के एमाओवादी अझै पनि 'कोमा' मा रहेको यही सरकारलाई घिसारिरहन चाहन्छ? अहिलेसम्मको व्यवहारले एमाओवादीको रोजाई निर्वाचन र लोकतन्त्र होइन र ऊ अझै लोकतान्त्रीकरण हुन बाँकी छ भन्ने देखिन्छ। अर्कोतिर पार्टी विभाजित भएको, बाबुराम सरकार जनताबीच बदनाम भएको, कथित राष्ट्रवादी मुकुण्डो उदाङ्गिएको र ऊसँग जनआकर्षणका एजेण्डा पनि नभएको परिप्रेक्ष्यमा एमाओवादीका लागि निर्वाचन प्राथमिकतामा पर्दैन। त्यसैले ऊ सत्ता लम्ब्याउने कसरतमा नै सक्रिय रहँदै आयो।
लोकतन्त्र स्वीकार गर्ने दलहरु निर्वाचनबाट भाग्न मिल्दैन। जननिर्वाचित निकायमार्फत् जनताले शासन गर्नु लोकतन्त्रको आधारभूत विशेषता हो। यतिबेला आफ्नो संविधान बनाउने जनताको चाहना अधुरै छ। जनक्रान्तिका उपलब्धिलाई संस्थागत गर्नका लागि नयाँ संविधान बनाउने चरण हो यो। जननिर्वाचित संविधान सभाबाट जनअधिकारसहितको संविधान बनाउनु लोकतन्त्रको उन्नत अभ्यास हो। अब हुने निर्वाचन दलबीचको प्रतिस्पर्धा कम, संघीयता, शासकीय स्वरुपलगायत्का एजेण्डामा बढी केन्द्रित हुनेछ। एजेण्डाका आधारमा दलबीच समीकरण र धु्रवीकरण हुने सम्भावना पनि छ। हिजोका निर्वाचनहरुमा वामपन्थी र गैरवामपन्थी खेमा देखापर्थ्यो। अबको निर्वाचनमा यो घेरा पनि कायम रहने देखिँदैन। यस आधारमा एजेण्डाकेन्द्रित 'एलाइन्स' र एजेण्डा आधारित 'इलेक्सन' हुनेछ।
यतिबेला एमाओवादी 'प्याकेजमा सहमति' गरिनुपर्ने अडानमा छ। उसले विघटित संविधान सभाले गरेका कामको स्वामित्व लिने र बाँकी मुद्दाहरुमा सहमति कायम गर्ने, त्यसपछिमात्र सहमतिको सरकार बनाउने कुरा गरिरहेको छ। उसले भन्दै आएको 'प्याकेज' को अन्तर्य के हो? यसमा अहिले पनि एमाओवादी र एमाले-काँग्रेसबीच मतभिन्नता देखिन्छ। निश्चितरुपमा हिजो संविधान सभाले गरेका काम र दलबीच भएका महŒवपूर्ण सहमति खारेज गर्ने कुरा आउँदैन। अब नयाँ संविधान सभाले संविधान बनाउँदा ती कामको स्वामित्व लिँदै त्यस आधारमा टेकेर नै अघि बढ्नुपर्छ। तर हिजो भएका सहमतिमा मात्र बाँधिन भने कदापि सकिँदैन।
एमाओवादी संविधानको अन्तरवस्तुमा पनि अहिले नै समझदारी गरौं भनेर अड्डी लिइरहेको छ। संविधान सभाको निर्वाचनमा जाने भन्ने अनि सबै विषयमा अहिले नै सहमति गर्न कसरी सकिन्छ? चार वर्षसम्म नभएको सहमति चार दिनमा कसरी सम्भव छ? अहिले त विधि प्रक्रिया मिलाएर शीघ्र निर्वाचनमा जाने हो। अन्तरवस्तुका विषयमा भोलि बन्ने संविधान सभाले नै निर्धारण गर्नेछ। अहिले नै सहमति गर्ने हो भने संविधान सभा पुनर्स्थापना गरेर संविधान जारी गर्न सकिन्थ्यो। त्यसभन्दा अघि बढेर मुलुक नयाँ संविधान सभाको निर्वाचनमा प्रवेश गरिसकेको छ।
भोलिको संविधान सभा एजेण्डाका आधारमा बन्नेछ र आजको शक्ति सन्तुलन भत्किएर नयाँ समीकरण निर्माण हुनेछ। जननिर्वाचित निकाय नभएको अवस्थामा संघीयता, शासकीय स्वरुपजस्ता जटिल मुद्दासहित संविधानका अन्तरवस्तुमा सहमति गर्ने हो भने किन संविधान सभाको निर्वाचन गराउनुपर्योस? विवादित मुद्दाहरु तत्काललाई टुङ्गयाउने गरी दलहरुका बीचमा जेठ २ गते ऐतिहासिक सहमति भएको थियो। त्यो सहमतिपछि संविधान जारी हुने विश्वास बढेको पनि थियो। तर एमाओवादी र मधेसवादीहरुको अर्घेल्याइँले सहमति तुहाइयो। संविधान पनि आएन, संविधान सभा पनि रहेन।
प्रचण्ड कार्यकारी अधिकारसहितको जननिर्वाचित राष्ट्रपतिको पक्षमा छन्। अन्य पक्ष पनि हिजोको खिचडी मोडेलको शासकीय स्वरुपमा सहमत हुन सक्ने कुरै भएन। नेकपा एमालेले अघि सारेको निरंकुशता र अस्थिरता दुवै खतराबाट राष्ट्रलाई जोगाउन सकिने मोडेल कार्यकारी अधिकारसहितको प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकासहितको आलंकारिक एवं सम्मानित राष्ट्रपतिको प्रस्ताव नै उपयुक्त हुनेछ। अर्कोतिर माओवादी र मधेसवादीहरुले भनेजस्तो एकल जातीय पहिचानसहितको जातीय राज्य र 'एक मधेस प्रदेश' अनुसारको संघीयता कदापि स्वीकार्य हँुदैन। सबै जाति, भाषा, धर्म, संस्कृतिका जनतालाई अधिकारसम्पन्न बनाउने, सबैको पहिचानलाई सम्मान गर्ने र जातीय सद्भाव एवं राष्ट्रिय एकता बलियो बनाउने नेपाली विशिष्टतासहितको संघीयतामा जानुपर्नेछ। यी मुद्दाको फैसला नयाँ बन्ने संविधान सभाले नै गर्नेछ।
अहिले गरिने सहमतिको प्याकेजअन्तर्गत राजनीतिक सहमतिको सरकार निर्माण, निर्वाचनको विधि प्रक्रिया निर्धारण, संविधान सभाको आकार निर्धारण, निर्वाचन आयोगलगायत्का संवैधानिक निकायहरुको पूर्णता, निर्वाचनसम्बन्धी संवैधानिक र कानुनी बाधा अड्चन फुकाउने र संविधान सभा तथा स्थानीय निकायको निर्वाचनको मिति घोषणा पर्नेछन्।
अहिलेको मूल उद्देश्य सहमतिको सरकार निर्माण गरेर संविधान निर्माणका लागि राष्ट्रलाई ताजा जनादेशमा लैजानु नै हुनेछ। राष्ट्रिय निर्वाचन पूर्व छिटै लोकतन्त्रका मेरुदण्ड स्थानीय निकायको अन्तरिम निर्वाचन पनि अनिवार्यरुपमा गरिनुपर्छ। निर्वाचनमा जानका लागि त्यसको पूर्वाधार तयार हुनु जरुरी छ। त्यसका लागि राष्ट्रपतिको पछिल्लो आह्वानअनुसार सर्वप्रथम वर्तमान भट्टराई सरकारको स्थानमा सहमतिको सरकार गठन हुनुपर्छ। राजनीतिक दलहरुको सहमतिमा सरकारले निर्वाचनसमबन्धी सवैधानिक र कानुनी बाधा फुकाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्नुपर्छ। यी सबै प्रबन्ध भइसकेपछि सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ, तब नै सिंगो देश ताजा जनादेशका लागि निर्वाचनमा होमिने वातावरण बन्नेछ।
राष्ट्र अनेकौं समस्याको जन्जीरमा बाँधिदै गएको छ। राजनीतिले बाटो बिराउँदा आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिक सबै क्षेत्र अस्तब्यस्त छन्। यसरी हरेक क्षेत्रमा समस्या बढ्दै राष्ट्र असफलताको डिलतिर धकेलिँदै गएको छ। अब धेरै ढिला भइसक्यो। तत्काल राजनीतिक निकास दिनैपर्नेछ। एमाओवादी इमानदारीसाथ निर्वाचनमा जान तयार भएमा सहमति हुने निश्चित छ। एमाओवादीले धोका नदिए कच्चो अवस्थामा रहेको सहमतिको आधारलाई ठोस बनाउने र प्याकेजमा नै सहमति हुने आशाको किरण देखिएको छ।
राजनीतिक शक्ति सन्तुलन स्थिर रहेको अवस्थामा एउटा पक्षले जित्ने र अर्कोले हारेको अनुभूति गर्नेगरी सहमति हुनै सक्दैन। क्रान्ति वा निर्वाचनको अवस्थामा जितहारको फैसला हुनसक्ला तर यतिबेला नेपालको जे अवस्था छ, त्यसमा सबैले जितेको सन्देश जाने मिलनबिन्दु खोज्नैपर्छ। कसैले गुमाउने र कसैले पाउनेगरी एक ठाउँमा आउन सकिँदैन। यो लामो समयसम्म सहमति नहुनुको खास कारण पनि कसले राजनीतिमा आफ्नो हात माथि पार्ने र सम्भावित निर्वाचनलाई आफ्नो पक्षमा कसरी प्रभावित गर्ने भन्ने होडबाजीले नै हो। निर्वाचनमा जित्नुको अर्थ आफ्ना एजेण्डा सम्बोधन हुनेगरी संविधान बनाउने कुरा जोडिएको छ। त्यसकारण अब सबैले जित्ने 'वीन-वीन' को अवस्थामा सहमति खोजौं र ताजा जनादेशमार्फत् राष्ट्रलाई निकास दिन ढिला नगरौं।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस