मायालोकमा आतंक
०९ पौष २०६९
•
१९ मिनेट पाठ
मायालोकमा आतंक
'सुयोग्य र अयोग्य पीडित'




'ला क्रोनिका देल प्युब्लो' नामक पत्रिका एल साल्भाडोर नामक मध्य अमेरिकी देशको कुनै ठूलो अखबार पक्कै थिएन। तर यसका तथ्यपरक सूचना र प्रतिपक्षीय विचार देखेर तर्सिएका सुरक्षा फौज र डेथ स्क्वाड (हत्यारा दस्ता) ले भने उसमाथि ठूलै हमला गरे। सन् १९८०-८१ मा दुआर्तेको सैन्य सरकार, सुरक्षा फौजले र उससँग निकट रहेको हत्यारा दस्ताले त्यस अखबारमाथि गरेको हमलाको शंृखला देख्दा आङै सिरिङ्ग हुन्छ। ६ महिनाभित्र ४ वटा बम हमला, उसका एक सम्पादक र फोटोग्राफरमाथि राजधानी सान साल्भाडोरको कफीहाउसबाट अपहरण अनि धारिलो हतियारबाट शरीर छियाछिया पार्नेगरी काट्दै हत्या। हरर मुभीका दृश्यभन्दा भयानक देखिने यी हमलाका शंृखला पनि मिडियामाथि आक्रमणको अन्त्य थिएनन्, थालनीमात्रै थिए। अखबारको कार्यालयमाथि छापा मार्ने, बम प्रहार गर्ने क्रम नरोकिएकाले प्रकाशक डा. जर्ज नेपोलियन गोञ्जालेज अमेरिकातिर भाग्न विवश भएपछि अन्ततः पत्रिका पूरै नष्टै गरियो।

'ला क्रोनिका देल प्युब्लो' का प्रकाशक डा. गोञ्जालेजले त्यस्तो देशमा शरण लिएका थिए, जुन देशले दुआर्तेको सैन्य सरकारलाई टेवा दिँदै आएको थियो। सैन्य सरकारले त्यस पत्रिकाको हत्यामा गोहीको आँसु बगाउनु पनि जरुरी नठान्नु अनौठो होइन। तर आफूलाई प्रेस स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रको मसिहा ठान्ने अमेरिकाले पनि आक्रमणको शंृखला, हत्या र पत्रिकाको गलाघोटाइमा चुँसम्म बोल्नु आवश्यक मानेन। हुन त अमेरिकी अखबार 'न्युयोर्क टाइम्स' ले अन्तिम हमलाबारे ४० शब्द लेखेर प्रेस स्वतन्त्रताको 'वकालत' गर्योो। त्यही 'न्युयोर्क टाइम्स' ले एल साल्भाडोरकै छिमेकी देश निकारागुआको 'ला प्रेंसा' अखबारका समस्यालाई ४ वर्षमा २६३ पटक उठाएर प्रेस स्वतन्त्रताका लागि जेहादै छेड्यो। र, अमेरिकाले 'ला प्रेंसा' लाई सिआइएमार्फत् लगानी गर्ने र उसलाई अन्तर्राष्ट्रिय राजनीतिक संरक्षण दिने काम जारी राख्यो।
यसको अर्थ जुनसुकै सरकारको दृष्टिमा पनि 'सुयोग्य पीडित' र 'अयोग्य पीडित' हुँदारहेछन्। भाषाशास्त्रका प्रोफेसर नोम चोम्स्कीका अनुसार 'ला प्रेंसा' 'सुयोग्य पीडित' थियो, किनभने ऊ निकारागुआको वामपन्थी सरकारको विपक्षी गठबन्धनको मुखपत्रजस्तै थियो। 'ला क्रोनिका देल प्युब्लो' चाहिँ अमेरिकाबाट पोषित सैन्य सरकारको विपक्षमा उभिएको थियो। दक्षिणपन्थी आतंकवादीहरूले हमला गर्न थाल्नुमा 'ला क्रोनिका देल प्युब्लो' को एकमात्र अपराध थियो- भू-सम्पत्तिमा सुधारको माग गर्नु।
नेपालको नागरिक दैनिक र साप्ताहिक शुक्रबारले राजा वीरेन्द्रको राष्ट्रियकरण गरिएको सम्पत्ति दुरुपयोगबारे समाचार बनाएपछि ती दुवै अखबारका प्रकाशक नेपाल रिपब्लिक मिडियामाथि हमला भएको छ। मिडियाको कार्यालय नै कब्जा गरी शिव सेना नेपाल नामक संगठनका गुण्डाहरूले प्रधान सम्पादक किशोर नेपाल र उनका सहकर्मीहरूमाथि हातपात गरेपछि प्रश्न उठेको छ : लामो समयसम्म हिंसात्मक द्वन्द्वले ग्रस्त एल साल्भाडोरको प्रतिपक्षीय मिडियाले ब्यहोरेको जस्तै संकटतिर नेपाल पनि जान लागेको हो कि?

तानाशाह र 'हाइटेक टेररिस्ट'
मिडियामाथि एकाधिकारका लागि राज्य, निगम (कर्पाेरेट) र गैरराज्य पक्षबीच संघर्ष जारी छ। मिडियाबाट प्रवाहित हुने सूचना र विचारमाथि प्रभुत्वबाट आफ्नो स्वार्थ सिद्धिका लागि द्वन्द्व चलिरहेको हो। यस्तो प्रभुत्वविरुद्ध नागरिकस्तरमा, सम्पादक र पत्रकारस्तरमा पनि आन्दोलन भइरहेको छ। अस्ट्रेलियाका पुराना ह्याकरदेखि पत्रकार र सम्पादकसम्म बनेका जुलियन असान्जले विकिलिक्स नामक वेबसाइट थालनी गर्दै एउटा विश्वस्तरीय मिडिया आन्दोलन थालेको पनि ६ वर्ष भइसक्यो। विकिलिक्सले अमेरिकालगायत् एक से एक शक्ति र महाशक्तिहरूका गोप्य दस्तावेज सार्वजनिक गर्दै पत्रकारितामा नयाँ अध्याय र आयाम थप्दै आएको छ। यही क्रिसमसको पूर्वसन्ध्यामा पनि सन् २०१३ मा थप अमेरिकी दस्तावेज सार्वजनिक गर्ने उद्घोष गरिएको छ। ती महाशक्तिले अन्य देशमा गरेका अपराधको फेहरिस्त उनीहरूको दस्तावेजकै आधारमा सार्वजनिक गर्न थालेपछि असान्जलाई स्वीडिस महिलाहरूसँगको यौनकाण्डमा फसाइएको छ। उनको र उनको सम्पादकत्वमा चलिरहेको विकिलिक्सको आर्थिक स्रोत ठप्प पारिएको छ। र, प्रेस स्वतन्त्रतालाई सत्ताशक्ति र सम्पत्तिको पिँजरामा कैद गर्ने प्रयास तेज पारिएको छ।
असान्ज र विकिलिक्सको मुख्य अपराध हो : अमेरिकी गोप्य दस्तावेज र कूटनीतिक पत्र व्यवहारका लाखौं कागजपत्र सार्वजनिक गर्नु। यसबाट अन्य देश र जनताप्रति अमेरिकी नीति र व्यवहार नराम्ररी उजागर भएकाले अमेरिकाले उनलाई 'अमेरिकाकै शत्रु' घोषणा गरेको छ र अमेरिकी अदालतले पनि उनलाई कानुनी कारबाही गर्न खोज्दैछ। अमेरिकाको मित्रराष्ट्र बेलायतले पनि स्वीडेन प्रहरीको आग्रहमा असान्जलाई समात्ने र स्वीडेनलाई सुपुर्दगी गर्ने तयारी गरेपछि उनले लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका छन्। उनले इक्वेडरबाट राजनीतिक शरणार्थीको दर्जा पाएपछि दूतावासमा बस्ने सुविधा त पाएका छन्, तर बेलायती सरकार भने दूतावासमाथि धावा बोल्ने हदसम्मको धम्की दिँदै उनलाई जसरी पनि स्वीडेन प्रहरीलाई बुझाउने कसरत गर्दैछ।
विगतमा हतियार बित्रे्कता कम्पनीका सेल्सम्यानदेखि टेलिभिजन उद्योगको फेरिवालको काम गरिसकेका बेलायती प्रधानमन्त्री डेविड क्यामरुनलाई थाहा हुनुपर्ने हो- कुनै पनि कूटनीतिक नियोगमाथि धावा बोल्नु अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादाको घोर उल्लंघन हो। त्यसमा पनि जीवनै संकटमा परेका एक पत्रकार र सम्पादकलाई शरण दिनुको साटो गिरफ्तार गरेर अन्य देशलाई बुझाउनु त अपराधै हो। उनीहरूलाई याद हुनुपर्ने हो, चिलीमा तीस वर्षसम्म मानवता विरोधी अपराध गर्ने सैनिक तानाशाह अगस्तो पिनोशे सन् १९९८ मा उपचारका लागि लण्डन आउँदा स्पेनले उनको सुपुर्दगीको माग गरेको थियो। तर वृद्ध पिनोशको शारीरिक अवस्थालाई कारण देखाएर बेलायतले त्यस मागलाई अस्वीकार गरेको थियो। तीस वर्षे सैन्य शासनलाई टेवा दिएको बेलायतले अर्जेन्टिनाविरुद्ध फकल्याण्ड युद्ध लड्दा पिनोशेले भरपर्दाे सहयोगीको भूमिका खेलेका थिए भने असान्जचाहिँ त्यस्ता युद्ध, युद्ध अपराध र मानवता विरोधी अपराधको पोल खोल्ने 'हाइटेक टेररिस्ट' परे।
यसको अर्थ पिनोशे सुयोग्य पीडित परे, असान्ज अयोग्य पीडित परे, जसले गर्दा उनीहरूसँग गरिने व्यवहार पनि भिन्नाभिन्नै भयो। त्यसैले अमेरिका, क्यानडा र बेलायतका दक्षिणपन्थी शक्तिहरू र सरकारकै मुख्य पदाधिकारीहरू 'हाइटेक टेररिस्ट' असान्जलाई गिरफ्तार गर्नेमात्रै होइन, ओसामा बिन लादेन र तालिबान आतंकवादीहरूलाई जस्तै मार्नुपर्ने घोषणा गर्दै हिँडेका छन्। एउटा वेबसाइट र त्यसका प्रधान सम्पादकमाथि प्रभुत्व जमाउन जारी रहेको संघर्षले सत्ताशक्ति र मिडियाको द्वन्द्वको अन्तर्कथा उजागर गरेको छ। यसबाट नेपालको मिडिया पनि अछूतो नरहेको तथ्य नेपाल रिपब्लिक मिडियामाथि भएको हमलाले पनि देखाएको छ।

मिडियामा हमलाको अर्थ
जुलियन असान्जको बाँच्ने र लेख्ने स्वतन्त्रताको पक्षमा उभिँदै आएका विद्वान् नोम चोम्स्कीले मिडिया उद्योगबारे खरो टिप्पणी गर्दै आएका छन्। पुँजीवादी समाजमा सक्रिय मिडिया उद्योगले यथार्थ उजागर नगरी एउटा विचित्रको मायालोक सिर्जना गर्दै आएकोमा उनको टिप्पणी निकै चर्चित छ। यसै क्रममा उनले घरीघरी ब्राजिलका विशपहरूबाट प्रस्तुत मिडियाका तीन वटा मोडलबारे बहस गर्दै आएका छन्। ती मोडल हुन्- १) निगम (कर्पाेरेट) नियन्त्रित २) राज्य नियन्त्रित र ३) लोकतान्त्रिक सञ्चार नीति अधीनस्थ मिडिया। पुँजीवादी समाजको स्वाभाविक प्रणालीका रुपमा विकास हुने निगम नियन्त्रित मिडिया यस्तो मायालोक सिर्जना गर्नमा सबैभन्दा प्रभावशाली भएको उनको निष्कर्ष छ।
यथार्थभन्दा कोसौं टाढाको मायालोक निर्माणले राज्य र समाजको लोकतन्त्रीकरण कसरी गर्छ, उनको सबैभन्दा ठूलो सरोकारको मुद्दा हो। नेपाल पनि राज्य र समाजको लोकतन्त्रीकरणको दिशामा छ र चोम्स्कीको सरोकारले यहाँ पनि अहम् महत्त्व राख्छ। नेपालमा पनि निगम नियन्त्रित मिडिया सबैभन्दा बलियो छ। यसले निर्माण गर्दै आएको मायालोक र लोकतन्त्रबीच कस्तो अन्तर्सम्बन्ध र अन्तर्द्वन्द्व छ, पर्गेल्नुपर्ने सवाल हो। यस्ता मिडियामा पुँजीको एकाधिकार लोकका लागि चिन्ता र लोकतन्त्रका लागि चिन्तनको विषय हो कि होइन, छिचोल्नुपर्ने विषय हो। तर, अचेल त यस्ता मिडियामाथि गैरराज्य पक्षको हस्तक्षेप पनि हुन थालेको छ, जुन चिन्ता र चिन्तन गर्नुपर्ने मुद्दा हो।
हुन त पहिलेदेखि राज्यमाथि हालीमुहाली गर्दै आएको वर्गको पुरानो राजनीतिक नेतृत्व गद्दीच्युत भएपछि मिडियाबाट केही हदसम्म बहिष्कृत र सीमान्तकृत भएको थियो। पुरानो राजनीतिक नेतृत्वको रुपमा रहेको राजतन्त्रको छहारीमा बसेर राज्यको ब्रह्मलुट गर्दै आएकाहरू विभिन्न राजनीतिक दलमा बाँडिएका छन् र विभिन्न सेना, संगठन र मोर्चाका रूपमा पनि क्रियाशील छन्। राज्य नियन्त्रित मिडियामा हालीमुहाली हुन नपाएपछि, राज्य नियन्त्रणभन्दा बाहिर रहेका मिडियामा पनि निगम र पुँजीको प्रभुत्व कायम भएपछि, तिनले राजतन्त्र, हिन्दु अधिराज्य र राजतन्त्रवादी राजनीतिलाई बोक्न छाडेपछि उनीहरू नराम्ररी रन्थनिएका छन् र स-साना मिडिया कब्जा गर्ने काममा ब्यस्त छन्। राज्यको शक्ति र पुँजीको बलका आधारमा त्यस्ता ठूला मिडियामा नियन्त्रण जमाउन नसकेपछि उनीहरू बाहिरबाट बल प्रयोगका आधारमा हस्तक्षेप गर्ने तहमा उत्रिएका छन्।
हिजो उनीहरू राज्यकै मिडियाबाट एकात्मक र केन्द्रिकृत राज्यको मात्रै होइन, हिन्दु अधिराज्य र पहाडी भाषा-संस्कृतिको पक्षमा जनताबीच 'सहमति निर्माण' गर्थे। तर आज नेपाली राज्य लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको बाटो हुँदै संघीयता, समावेशिता र भाषिक बहुलतातिर उन्मुख हुन लागेको देखेर उनीहरूको मनमा औडाहा भएको छ। त्यसो त उनीहरू ठूला मिडिया संघीयता र समावेशितासहितको लोकतन्त्रको पक्षमा दृढतापूर्वक नउभिएको देखेर मनमनै खुस पनि होलान्। तर उनीहरूमा मिडियामा राजतन्त्र, हिन्दु अधिराज्य र पहाडी संस्कृतिको वर्चस्व स्थापित गर्न नपाएकोमा खिन्नता र आक्रोश पनि देखिन्छ। अहिले एकातिर पुराना राजतन्त्रवादी कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालद्वारा हिन्दू अधिराज्यका लागि भाजपा शैलीमा गरिएको रथयात्रा जारी छ। अर्काेतिर शिव सेना नेपालद्वारा बजरंग दलको शैलीमा नागरिक दैनिक प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियामा हमला गरिएको छ। यी दुवै प्रकरण प्रभुत्वका लागि थालिएको अभियानकै दुइटा पाटा हुन सक्छन्।
हुन त नागरिक दैनिक र शुक्रबार साप्ताहिकका सम्पादनकर्मीमाथिको आक्रमण छोपछाप पार्न 'नांगो पत्रकारिता' लाई मुद्दा बनाउन खोजिएको छ। तर आक्रमणको अन्तर्यमा भने राजा वीरेन्द्रको सम्पत्तिमाथि जारी लुटको निरन्तरता र ठूला मिडियामाथि पहाडी हिन्दुत्ववादी प्रभुत्वको आकांक्षा रहेको देखिन्छ। त्यसो त मिडियामा मजदुरले हडताल गरेको वा कुनै माओवादीले तोडफोड गरेको भए सडक तात्ने र मिडिया रंगिने काम व्यापक भइसकेको हुन्थ्यो। तर शिवसेना नेपाल नामक राजावादी र हिन्दुत्ववादी शक्तिको आक्रमण भएकाले मिडिया उद्योगदेखि नागरिक समाजमात्रै होइन, सबैजसो राजनीतिक दल र सरकारसमेत मौनता साँधेर बसेका छन्। संगठित र नियोजितरुपमा हमला गर्ने आक्रमणकारीहरूलाई प्रशासनिक प्रभाव र सडक दबाबको बलमा छुटाउन प्रयास भइरहेको बेला सरकारले मिडियाको स्वतन्त्रता बचाउन र आक्रमणकारीमाथि कडा कारबाही गर्न ढिलाइ गर्नु खेदजनक विषय हो। मिडियाकर्मीलाई पनि हिन्दुत्ववादी हमला र प्रभुत्वको महात्त्वाकांक्षासामु झुक्न नदिन पनि धर्मनिरपेक्ष राज्य सञ्चालन गर्ने सरकारले यस्ता धार्मिक राज्य पक्षधर तत्त्वहरूलाई पाठ सिकाएर मिडियाको स्वतन्त्रतालाई व्यापक विस्तार गर्नु लोकतान्त्रिक काम हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस