संकटमोचनका दश सूत्र
१० पौष २०६९
•
१५ मिनेट पाठ
संकटमोचनका दश सूत्र
सन् १८१६ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीसँगको युद्ध समाप्त भयो। त्यो लडाइँलाई इतिहासकारहरूले साम्राज्यवादी शक्तिको नेपालमाथि आक्रमण हो भन्ने अर्थमा नेपालीहरूको त्याग र बलिदानबारे थुप्रै कथा लेखे पनि किन युद्ध भएको थियो, युद्धले के असर पार्योो र त्यसबाट देशले भोगेको परिणाम के थियो भन्ने समालोचनात्मक विवरण नेपालको इतिहास विधामा विरलै पढ्न पाइन्छ।

खोजिनीति गर्नेहरूले भने जानेकै कुरा हो, सन् १८१६ को सुगौली सन्धिपछाडि नेपालको राष्ट्रियता अत्यन्त कमजोर र थिलथिलो भएको थियो। ब्रिटिस उपनिवेशवादले अब देशको अस्तित्व समाप्त पार्नेछ भन्ने डर र त्यसबाट निःसृत उदासिनता र निराशा शासकदेखि आमजनतासम्म व्याप्त थियो। लक्ष्यहीन दोबाटोमा अड्किएको अवस्थामा थियो। हिजो साम्राज्यवादी शक्तिसँग लड्नुपर्छ भन्ने भीमसेन थापा र उनका सहयोगी पराजित भएको अनुभूतिमा अपमानको विष पिइरहेका थिए। उनका विरोधीहरू भीमसेन थापाको पतनका लागि षडयन्त्रमा सरिक थिए र उनलाई सत्ताच्युत गर्ने 'ब्रिटिस रेसिडेन्स' (बेलायतका राजदूत) को खेलमा संलग्न थिए। उनीहरूको स्वार्थी राजनीति राष्ट्रमा एकता कायम गरेर राष्ट्रियता, राष्ट्रिय अखण्डता र मानसम्मानको पक्षमा होइन, सत्ता कब्जामा केन्द्रित थियो। पराजयले सिर्जना गरेको यस कठिन अवस्थामा नेपालको सत्तामा बसेका राजा, भारदार, चौतारिया सबै राष्ट्र होइन, आफ्नो स्वार्थमा तल्लीन भएर, एक अर्काविरुद्ध षड्यन्त्रमा संलग्न थिए। आफ्नो जीवनको सुनिश्चितताका लागि उनीहरूको प्रतिस्पर्धा 'ब्रिटिस इस्ट इण्डियाको रेसिडेन्स' लाई खुशी पार्न र आफूलाई सहयोग गर्न चाकडी गर्ने प्रतिस्पर्धामा तल्लीन थिए। यसै क्रममा १०४ वर्षको निरंकुश राणाशाही र बेलायती अधिनको बीउ रोपिँदै थियो। नेपालको आजको अन्धकार, विकासविहीनता, गरिबी, पराधीनता र कमजोरीको बीउ रोपिँदै थियो।
२०६३ सालको आन्दोलन, त्यसपूर्वको द्वन्द्व र राजा ज्ञानेन्द्रको अदूरदर्शी कदमले नेपालको इतिहासमा एउटा युग समाप्त भयो। द्वन्द्व सकियो, खुसीको कुरा थियो। गणतन्त्र स्थापित भयो, त्यो पनि गौरवको कुरा थियो। संविधान सभा निर्वाचन भयो, त्यो सुखद् भविष्यको आशाको धरोहर थियो तर संविधान बन्न सकेन। संविधान सभाको निर्वाचन भएका दिनदेखि देशभित्र विदेशीका खेल सुरु भयो। कसैले संविधान बनाउन सहयोग गर्ने नाममा संविधान सभालाई राजनीतिक दलका नाममा, ठूला र साना पार्टीका नाममा, जातका नाममा, लिङ्गका नाममा, भूगोलका नाममा, पूर्व र पश्चिमका नाममा, उत्तर र दक्षिणका नाममा विभाजित गरिदिए। माओवादी जो परिवर्तनको एउटा सशक्त पक्ष थियो, त्यसभित्र विचलन ल्याउने खेल भए। राजनीतिक दलहरूमा अविश्वास निर्माण गर्ने खेल भए। नागरिक समाजलाई शिथिल बनाउने खेल भए। अर्कातिर नेपालका छिमेकीलाई भड्काउने खेल भए। अनि नेपाली राजनीतिकर्मीलाई उत्तरका सहयोगी र दक्षिणका सहयोगीमा विभाजित गर्ने खेल भए। संविधान बनाउन बुद्धि र विवेक आवश्यक थियो। वैज्ञानिक, चिन्तनशील वस्तुपरक छलफल आवश्यक थिए। यो हरेक राजनीतिक दल, हरेक समूह र हरेक वर्गले त्याग गर्दै नयाँ नेपालको निर्माण गर्ने समय थियो तर छलफल/विचारको बहस होइन, समूहको निर्माण र आन्दोलनको लहर ल्याइयो देशमा। आन्दोलनलाई हिंसात्मक र प्रतिद्वन्द्वितामा रूपान्तरण गर्ने प्रयास भए। राष्ट्र मानसिकरूपमा विभाजित भयो। विचार, वर्ग, जाति, लिङ्ग, भूगोल सबै विशेषताका मानिसबीच शंका र विभाजनका रेखा कोरिए।
संविधानका कतिपय विषयमा मत मिल्न सकेनन्। माथिका पृष्ठभूमि त्यसका कारण थिए। त्यसतर्फ ध्यान केन्द्रित गरेर बुद्धि र विवेक निर्माण गर्नुपर्ने थियो। यसका लागि नागरिक समाजको भूमिका ठूलो थियो। फर्पिङ्गको एउटा रिसोर्टमा राजनीतिक दलहरूले एउटा सहमति निर्माण गरे। उनीहरूले पटकपटक वार्ता गरे। एउटा निष्कर्ष निकाले। तर त्यसको समर्थनमा नागरिक समाज बाहिर आउन सकेन। त्यसलाई जोगाउन सकेन। राजनीतिक दलहरूले निर्माण गरेको त्यो सहमति भत्काउन अनेक शक्ति खनिने छन् भन्ने कुरा न नागरिक समाजले बुझ्यो, न त मिडियाले। सबैले एकोहोरो राजनीतिक दलका नेतालाई सिस्नुपानी लगाइरहे। अदालत म्याद थप गर्न तयार भएन। नागरिक समाजले राजनीतिक दलका नेतालाई गाली गरे पुग्ने देख्यो। मिडियाले सबै कमजोरी राजनीतिक दल र तिनका नेतामा मात्र देख्यो। राजनीतिक दलभित्र बसेर राष्ट्रको विरोधमा काम गर्नेहरू, सत्ताका लागि विदेशीको तावेदारी गर्नेहरू र नेपाललाई कमजोर पार्न पर्दापछाडि खेलिरहेका खेलहरूको अनुसन्धान गर्ने आवश्यकता महसुसै गरेन। नेताहरूको विरोध र गृहका पछाडि कुदेर आफ्नो भविष्य निर्माणमा लागेका युवा नेताहरूले आफ्ना कार्यकर्ता र जनतालाई सचेत पार्दै भविष्यको योग्य नेता निर्माण गर्नुपर्ने आवश्यकता नै महसुस गरेनन्। राष्ट्रका राष्ट्रसेवकहरूले सरुवा र बढुवाको धन्दामा आफूभित्र कसकसले घुसपैठ गरिरहेका छन् भन्ने थाहा नै पाएनन्। यस अन्धकारमा संविधान सभा विघटित भयो। प्रतिक्रियावादीहरू खुशी भए। असफल मान्छे पनि नजानी नजानी खुशी भए होला। परिवर्तनको प्रक्रिया टुहुरो भयो। निर्वाचन घोषणा भयो। सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने आवश्यकता नै देखेन। वकिलहरूले 'प्रधानमन्त्रीले एउटा निर्वाचन पनि घोषणा गर्न नसक्ने? निर्वाचन गर्न कुनै अवरोध छैन' भनेर उल्याउने कार्य पनि गरे। अन्ततः निर्वाचन पनि हुन सकेन। अहिले देश राजनीतिक स्थिरता र विभाजनको डसाईमा छ। लोकतन्त्र, गणतन्त्र, परिवर्तन र जनताका आशा सबै तुषारापात हुने खतरामा छन्। राजनीतिक नेताहरूको निर्णय गर्ने मानसिकता कमजोर छ। देशको परराष्ट्र सम्बन्ध कमजोर बनेको छ। देशमा भइरहेका विदेशी खेल देखेर जनता निरास बनेका छन्। राजनीति गर्ने केही मानिसका सत्तालोलुपता प्रखर छन् र त्यसबाट देशको राजनीति क्षतविक्षत्रूपमा विभाजित छ। इतिहास अध्ययन गर्दा 'सुगौली सन्धि' पछाडिको अवस्था ठीक यस्तै देखिन्छ। भीमसेन थापाको हत्या हुन्छ। पाँडेहरू सत्ता लिन बुर्कुसी मार्छन्। जनता दिग्भ्रमित हुन्छन्। सेना कमजोर हुन्छ। कमजोर मानिस षड्यन्त्रको सहाराले राजनीतिमा उदय हुने प्रयास गर्छन्। कोतपर्व हुन्छ। जंगबहादुरको उदय हुन्छ। नेपालमा राणाहरूका नाममा ब्रिटिस इन्डियाको राज्य सुरु हुन्छ।
देश अहिले ठीक त्यस्तै अवस्थामा छ। राजनीति भूमिगत भएको छ। पर्दा पछाडि अनेक खेल भइरहेका छन्। यस खेलमा विजय चाहनेहरू प्रचण्ड, सुशील, झलनाथ र पर्दाबाहिर राजनीति गरिरहेका राजनीतिक पुस्ताको असफलता चाहन्छ। हाम्रा छिमेकीहरू उनीहरूका स्वार्थको संरक्षण चाहन्छन्, नेपालको हित उनीहरूको सहायक एजेण्डा हो। हाम्रा मित्रहरू उनीहरूका स्वार्थको संरक्षण चाहन्छन्। हाम्रो विकासप्रतिको प्रतिबद्धता उनीहरूको बाध्यतामात्र हो। देशको संरक्षण केवल हाम्रो चाहना हो, हाम्रो कर्तव्य हो।
राजनीतिक दल र तिनीहरूका नेतालाई कमजोर पारेर लोकतन्त्र बाँच्दैन। राजनीतिक दलहरूलाई कमजोर बनाएर राजनीतिक अस्थिरताको सम्बोधन हुन सक्तैन। चेतना, विवेक अनि बुद्धिलाई छाडेर भावनाबाट समाज परिवर्तन हुन सक्तैन। अहिले देश संकटमा छ। प्रचण्ड, सुशील, झलनाथ र वैद्य अनि उनीहरूका सहयोगीलाई खुइल्याएर यहाँ भइरहेको विदेशी खेलबाट देशलाई निकाल्न सकिन्न। यसबेला नागरिक समाज र मिडियाले राजनीतिक दलका नेताहरूलाई खुट्टा टेकेर उभिने र राष्ट्रका लागि बोल्ने अनि एकजुट हुने हिम्मत दिनुपर्छ। महन्थ ठाकुर, उपेन्द्र यादव र अशोक राईलाई अरुसँग नजिक पार्ने, छलफल गर्ने र एक ढिक्का भएर राष्ट्रका समस्या समाधान गर्ने वातावरण बनाइदिनुपर्छ। जसका लागि यी काम जरुरी हुन्छन्- (१) राष्ट्रिय सहमति निर्माणद्वारा नयाँ राष्ट्रिय सरकार निर्माण गर्नु अहिलेको आवश्यकता हो किनकि अब राष्ट्रलेे निर्वाचनमा जानुपर्छ। (२) निर्वाचन निश्पक्ष र शंकारहित ढंगबाट हुनुपर्छ र त्यसका लागि सबैखाले शक्ति सरकारमा सामेल हुनुपर्छ (३) राष्ट्र एकजुट हुनुपर्छ र त्यसका लागि सत्ता राजनीतिको केन्द्र होइन, राष्ट्रलाई उद्दार गर्ने दायित्व राजनीतिको केन्द्र हुनुपर्छ। (४) सबै दल संलग्न भएको उच्च नेताहरूको समूह निर्माण गरी भारत र चीनको शिर्षस्थ नेतृत्वसँग तत्काल कुराकानी थाल्नुपर्छ र उनीहरूको सरोकारलाई तत्काल सम्बोधन गर्नुपर्छ। (५) उनीहरूका सरोकार के हुन् अब उनीहरूलाई प्रकट गर्न लगाउनुपर्छ। (६) राजनीतिक दल, सरकारी निकाय र अंगहरूमा अरुको निर्देशन र मनोमानी बन्द हुनुपर्छ। (७) संविधानका निर्णित विषयलाई राष्ट्रले ग्रहण गर्नुपर्छ र ती कुरामा फरक मत छन् भने जनतालाई बोल्न दिनुपर्छ, त्यसका लागि निर्णित कुरा प्रकाशित गरिदिनुपर्छ। (८) संघीयताका विषयमा एकता निर्माण गर्न सरकारले विभिन्न समूहबीचमा सद्भावपूर्ण सम्वादको वातावरण तयार पार्नुपर्छ र यस्तो सम्वादमा नेपाली बौद्धिक वर्गलाई राष्ट्रको खर्चमा संलग्न गराउनुपर्छ। (९) मिडियाले जनतालाई संवादमा उत्प्रेरित गर्नुपर्छ र (१०) राष्ट्रिय सद्भाव कायम राख्दै अब समानता, सहअस्तित्व र समान सहभागिताको सिद्धान्तलाई आधार बनाएर राष्ट्रले परिवर्तनलाई संस्थागत गर्नुपर्छ।
अन्यथा अर्को कोतपर्व हुनेछ। अर्को जंगबहादुरको उदय हुनेछ। अर्को इस्ट इण्डिया कम्पनीको हुकुमत चल्नेछ। अर्को १०४ वर्षको निरंकुशताको पुनरावृत्ति हुनेछ। फेरि अन्धकारमा बिलिन हुनेछ। यो समय प्रचण्ड, सुशील र झलनाथले इतिहास लेख्ने हो। तिघ्रा नकमाउनुहोस् राष्ट्रका हितमा बोल्न र गर्न। सक्दिन भन्ने लाग्छ भने आफ्ना मित्रहरूलाई जिम्मा दिनुहोस् र तपार्इंहरू गोदाबरीतिर बसेर सत्संग गर्ने कृष्णप्रसाद भट्टराई इमानदारिता देखाउनुहोस्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस