संविधान बनाउने आधार
१७ पौष २०६९
•
१५ मिनेट पाठ
संविधान बनाउने आधार
निम्न–पुँजीवादी मनोविज्ञानले राज गरेको मुलुकमा नकारात्मकताको बजार सबैभन्दा माथि हुन्छ। यस्तो मनोविज्ञानले केबल प्रतिशोध, प्रतिक्रिया र तदर्थ राजनीति गर्छ। नेता र दलहरू निषेधको राजनीति गर्छन् र एक–अर्कालाई देश ध्वस्त पारेको आरोप लगाउँछन्।
संवाददाताहरू नकारात्मक खबर भेट्दा संसारै जितेको ठान्छन्। त्यस्तो खबर छाप्न पाउँदा सम्पादकहरू कोलम्बसले अमेरिका भेटेझैँ गर्छन्। ठुटे बुद्धिजीवी, विश्लेषक र स्तम्भकार सर्वसाधारणका आँखामा छारो हाल्दै नकारात्मकतालाई शिरोपर गर्छन्। आफूलाई राजनीतिको विदुर ठान्ने कार्र्टुनिस्टहरू संविधान सभा पुनर्स्थापनाजस्तो सबैभन्दा कम खराब विकल्पलाई नेताले मरेको चौपायाको दूध खान खोजेको रूपमा व्याख्या गर्छन्। यता, नकारात्मक खबर नछापिए पाठकहरू पनि पूरै अखबार 'रित्तो' ठान्छन्। यस्तो लाग्छ, नकारात्मकताविना सबैको बजार ध्वस्त हुन्छ।

सत्ताको यज्ञ
बाबुराम भट्टराईको शासनको विलासी आसनलाई काँध थापिरहनुपर्ने कुनै औचित्य अब बाँकी छैन। तोकिएको समयमा संविधान जारी गर्न नसक्दै उनको पदको राजनीतिक औचित्य सकिइसकेको थियो। त्यसमाथि आफैँले तोकेको समयमा चुनाव गराउन नसकेपछि त्यस आसनमा बस्ने राजनीतिक आधार उनले गुमाइसके। संसद्को अभावमा कामचलाउ सरकारका हिसाबले उनको वैधानिक आधारमात्र बाँकी छ। नैतिक आधार गुमाएर वैधानिक आधारमा मात्र चल्न खोज्दा राजनीति आत्मा झिकिएको शरीरजस्तै हुन्छ। आगामी वैशाखभित्र चुनाव गराउने उनको दोस्रो घोषणालाई पनि नेेपाली कांग्रेस, नेकपा (एमाले) लगायत् प्रतिपक्षले लोप्पा खुवाइसके। चुनाव गराउने हो भने संविधान सभा चुनावमा लज्जास्पद पराजय भोगेका सुशील कोइरालालाई कुर्सी हस्तान्तरण गर्नुपर्ने सर्त राखियो। परन्तु, यस मागमा भट्टराईको जति पनि कोइरालाको राजनीतिक र वैधानिक दुवै आधार छैन। जनताले चाहेको संविधानसभाको दोस्रो चुनावमात्र होइन, संविधान लेखिने ग्यारेन्टी पनि हो। चुनाव होला। तर, पहिलेजस्तै ठूला दलका तीन/चार नेताले संविधान सभा विफल बनाउँदैनन् भन्ने के ग्यारेन्टी छ?
अघिल्लो संविधान सभा कसरी विफल भयो? प्रस्ट छ, ठूला तीन दलका सीमित नेताले संविधान सभा बाहिरैबाट रिमोट थिचेर पूरै संविधान सभालाई कठपुतली बनाए। सभासद् रहेका कतिपय मुख्य नेता संविधान सभा विरलै गए। पराजित भए पनि संविधान सभा बाहिरै बसेर कांग्रेस सभापति कोइराला र एमालेका वरिष्ठ नेता माधव नेपाल, केपी ओलीले संविधान सभालाई मुठीभित्रको माछा बनाए। यिनै रिमोटेले शासकीय स्वरूप, संघीयताका सवाललाई संविधान सभामै मतदानबाट टुंगो लगाउने अभ्यास हुन दिएनन्। माओवादीले ठोस कसरत गरेन। यसरी संविधान जारी नगरी संविधान सभा बलिदान भयो।
प्रस्ट छ, दोस्रो संविधान सभा चुनावपछि पनि राजनीति यहीँ गुजुल्टिन्छ। अनि त्यो पनि असफल हुन्छ। सहमति गर्ने हो भने विवादका सवाल अहिल्यै टुंगो लगाउने र पहिलो संविधान सभाका कामलाई निरन्तरता दिऊँ भन्ने माओवादी प्रस्ताव नितान्त जायज छ। चोखो नियत राख्ने हो भने यसमा विवाद गर्नुुपर्ने कुनै कारण छैन। सबै सवाल अहिल्यै टुंगो लगाएर आगामी संविधान सभाको लोकतान्त्रिक हक खोस्नुहुँदैन भन्ने तर्क सिद्धान्ततः बेठीक होइन। तर, वैधानिक तरिकाबाट टुंगो नलागेका कतिपय महत्त्वपूर्ण सवाल राजनीतिक सहमतिबाटै टुंगो लाग्नुपर्र्ने हुन्छ। जस्तो– गणतन्त्र घोषणा, धर्म निरपेक्ष राज्य, छुवाछुतमुक्त राज्य घोषणा राजनीतिक सहमतिबाटै भएको थियो। संविधानका महत्त्वपूर्ण सवालमा पनि राजनीतिक सहमति हुनैपर्ने देखिन्छ। विवादित सवालमा अहिल्यै सहमति गर्ने कुरामा प्रतिपक्षी दलले ठाडै अस्वीकार गरिसकेका छन्। संविधान सभाबाट टुंगो लागेका सवाल स्वीकारी बाँकी कामलाई निरन्तरता दिने सवालमा पनि गाँजेमाजे कुरा गरिरहेका छन्। कांग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमात्र समर्पण गर्नुपर्ने, उसले संविधान बन्ने ग्यारेन्टी दिनु नपर्ने भएपछि भट्टराईका ठाउँमा कोइराला आउनुको के औचित्य हुन्छ?
जनयुद्धरत् माओवादी संविधान सभा चुनाव हुने सर्तमा शान्तिपूर्ण राजनीतिमा आएको थियो। संविधान सभा चुनाव गरेर अग्रगामी संविधान बनाउने, माओवादी हतियार र सेनाबाट अलग हुने, ऊद्वारा जफत सम्पत्ति फिर्ता गर्ने सर्तसहित २०६४ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो। संविधान सभा चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्यो। प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिएपछि संविधान सभाको सबैभन्दा ठूलो दल संविधान निर्माण प्रक्रियाको सबै नेतृत्वबाट विमुख भयो। राष्ट्रपति कांग्रेसको, उपराष्ट्रपति मधेसी दलको, प्रधानमन्त्री एमालेको, संवैधानिक समिति अध्यक्ष कांग्रेसको, संविधानसभा अध्यक्ष एमालेको।
बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि संविधान बन्ने सर्तमा पार्टी फुटकै मूल्यमा पनि माओवादी सेना र हतियारबाट अलग भयो। ऊ रित्तियो, संविधान बनेन। चित्तजस्तो विशाल कुरा झिँगाको पित्तभन्दा सानो नबनाएको भए संघीयताका नाममा त्यत्रो रडाकै हुने थिएन। खस बाहुन–क्षत्रीलगायत्ले राज्यभित्रका कुनै पनि जातिको लोकतान्त्रिक हक छिनिन्न भने राज्यको नाम जे भए पनि फरक पर्दैन भन्ने आत्मसात गरेनन्। जनजाति र सीमान्तकृत समुदायले पनि भाषिक, सांस्कृतिक र समताको अधिकार नछुट्ने हो भने नाममै अलमलिनु जरुरी छैन भन्ने मनन गरेनन्। माओवादी, कांग्रेस, एमालेलगायत् ठूला दलले यसमा समझदारीका लागि भूमिका खेल्न सक्थे। परन्तु, भोट गुम्ने भयले उल्टै उत्तोलक भइदिए। प्रस्ट थियो, संविधान सभाको विषयगत समितिले एकजातीय राज्यको परिकल्पनै गरेको थिएन। यसले कहीँकतै भुइँचालो जानेवाला थिएन।

सहमतिको राग
संविधान सभा चुनावमा माओवादी ठूलो दल भएपछि अन्तरिम संविधानमा सहमतीयको विकल्प बहुमतीय व्यवस्था कांग्रेसकै जोडमा भयो। निर्विकल्प सहमतीय व्यवस्था लोकतन्त्रविरुद्ध हुने उसको तर्क थियो। भट्टराई तत्कालीन संसद्को बहुमत सदस्यबाट प्रधानमन्त्री चुनिएका थिए। व्यवस्थापिकाको अभावमा उनको बहुमत वा अल्पमत नाप्ने संयन्त्र छैन। अनि घुमाइफिराई कांग्रेस फेरि सहमतीय सरकारको नेतृत्व गर्न तम्सेको छ। परन्तु, ऊ आफैँ विवादित मुद्दामा सहमति गर्न चाहँदैन। सहमति गरे लोकतन्त्र मासिने तर्क गर्छ। उसलाई चुनावी सरकारको नेतृत्वमात्र सहमतिमा हस्तान्तरण गर्नुपर्ने दाबी गर्छ।
समझदारी र सहिष्णुताको अभावमा सहमति हुँदैन। हुने भए सबैभन्दा कम खराब विकल्प विवादित मुद्दामा सहमति गरेर अल्पकालका लागि संविधान सभा बिउँझाउनु र संविधान जारी गर्नु नै हुन्थ्यो। यसलाई विपक्षी दलहरूले ठाडै दुत्कारिसके। उनीहरू संविधान सभाको कामलाई निरन्तरता दिन पनि तयार नहुने। यसको प्रतिफल राजनीति फेरि तिनै विवादित मुद्दामा गुजुल्टिनु र अर्को चार वर्षमा पनि संविधान नबन्नु हो। बरु, कांग्रेस, एमालेले ०४७ सालकै संविधान पुनर्स्थापना गर्ने र आगामी चुनाव संविधान सभाको होइन, व्यवस्थापिकाको मात्र हुने प्रस्ट कुरा गर्नु राम्रो हुन्छ। प्रस्ट छ, यी सबै संविधान सभाबाट संविधान बन्नै नदिने बहानाबाजीमात्र हुन्।

संविधानमा प्राप्ति
संविधान सभाका विषयगत समितिहरूले महिला, मधेसी, उत्पीडित, दलित, उपेक्षित वर्गको पक्षमा महत्त्वपूर्ण व्यवस्था गरेका थिए। संविधान सभामा सर्वसम्मतिले टुंगिएको प्रतिवेदनमा दलितहरू समताको अत्यन्त राम्रो व्यवस्था गरिएको छ। राज्यका सबै अंग, निकाय र क्षेत्रमा क्षतिपूर्तिको व्यवस्थासहित उनीहरूको समावेशी समानुपातिक सहभागिताको संवैधानिक व्यवस्था छ। यसलाई मौलिक हक मानिएको छ। दलितको जनसंख्याको तुलनामा संघीय स्तरमा तीन प्रतिशतभन्दा बढी र प्रदेश स्तरमा पाँच प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ। दलितका लागि शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हकको व्यवस्था छ। छुवाछुत र भेदभावलाई सामाजिक अपराध मानिएको छ। पीडितलाई उचित क्षतिपूर्तिको प्रावधान छ।
महिला, दलित, मधेसी, जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत, मुस्लिम, अपांग, पिछडिएको वर्ग, किसान, मजदुर, उत्पीडित क्षेत्रलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्यका संरचना र सार्वजनिक सेवामा समावेशी सहभागिताको हक व्यवस्था छ। महिलाका पक्षमा अझ उल्लेख्य काम भएको छ। राज्ययन्त्रका हरेक अंगमा अन्तरिम संविधानको ३३ प्रतिशतबाट बढाएर ५१.५ प्रतिशत महिला हुने व्यवस्था छ। मन्त्रिपरिषद्, व्यवस्थापिका र राज्यका सर्वोच्च पदाधिकारी एउटा लिंगको भए दोस्रो पदाधिकारी अर्को लिंगको हुने। पुरुष प्रधानमन्त्री भए महिला उपप्रधानमन्त्री, महिला प्रधानमन्त्री भए पुरुष उपप्रधानमन्त्री। यही कुरा राष्ट्रपति, सभामुखमा पनि लागु हुनेछ।
पहिलो संविधान सभाका विषयगत समितिले सर्वसम्मतिले टुंग्याएका यस्ता धेरै परिवर्तनकारी प्रावधान छन्, जुन न्यायमूलक समाज निर्माणका लागि अनिवार्य हुन्छन्। यी व्यवस्था लाटाका खुट्टा बाटामा पार्ने न्यायमूलक लोकतन्त्रका सत्प्रयास हुन्। विडम्बना, कांग्रेस यस्ता महत्त्वपूर्ण प्रावधान स्वामित्वमा लिने प्रस्तावलाई लोकतन्त्रको दुहाइ दिएर अस्वीकार गरिरहेको छ। के यी लोकतन्त्रका मर्मविपरीत छन्? कि ऊ महिला, दलित र पिछडिएका वर्गलाई माथि उठाउने न्यायमूलक व्यवस्थाको विरोधी हो? के ऊ सधैँ 'बाठाका खुट्टा बाटोमा र लाटाको खुट्टा भाटामा' मात्र पार्न चाहन्छ?
यस्तो लाग्छ, कांग्रेस न्यायमूलक व्यवस्था लत्याएर शासनको विलासी बैकुण्ठ पुग्नमात्र चाहन्छ। यस्तो बतासको पुल बनाएर संविधानको बैतर्नी कसरी तर्न सकिएला?
अर्को समाचार
राष्ट्रिय एकता बलियो बनाउने लोकतान्त्रिक संविधान बनाउनुपर्छ : ओली
२८ मंसिर २०७०
•
२ मिनेट पाठ
राष्ट्रिय एकता बलियो बनाउने लोकतान्त्रिक संविधान बनाउनुपर्छ : ओली
काठमाडौँ - नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले संविधान र सरकारलगायत विषयमा नेपाली काँग्रेस र एमाले जिम्मेवार बन्दै सहकार्यका सही आधार तय गरेर सबैलाई मिलाएर अघि बढ्नुपर्ने बताएका छन्।

“नेपाली जनताले निर्वाचनमार्फत काँग्रेस र एमालेलाई प्रमुख भूमिका खेल्ने जम्मेवारी दिएका छन्, त्यसैले दुवै दल सहमति र सहकार्यका साथ हिँड्नु अनिवार्य छ,” नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाद्वारा आज आयोजित नयाँ संविधान लेखनमा पत्रकारको भूमिका र सुरक्षा विषयक कार्यक्रममा नेता ओलीले जनताका अधिकार सुनिश्चित गर्ने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने तथा मुलुकलाई आर्थिक समृद्धितर्फ लाने गरी लोकतान्त्रिक मूल्यमान्यताअनुसार संविधान बनाइने बताए।

“आफ्नो अनुहार हेर्ने नाममा ऐना टुक्राएजस्तै देश टुक्राउन दिन्नौं, पहिचानको नाममा देश टुक्राउने कोसिस नगरे हुन्छ, सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउने लोकतान्त्रिक मूल्यमान्यताअनुसारको संविधान बनाउनुपर्छ,” नेता ओलीले भने।

महासङ्घ काठमाडौँका अध्यक्ष गोविन्द चौलागाईंको सभापतित्वमा भएको सो कार्यक्रममा सम्पादक समाजका अध्यक्ष देवेन्द्र गौतम, महासङ्घ काठमाडौँ शाखाका पूर्वअध्यक्ष हरि लम्साल, मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलगायतले लोकतान्त्रिक संविधान बनाउनुपर्ने औल्याए।

कार्यक्रममा बिरामी परेका पत्रकार बिके पाल्पालीको स्वास्थ्य उपचारका लागि उनकी पत्नी रेणुका भट्टराईलाई महासङ्घ काठमाडौँ, प्रेस चौतारी ललितपुर शाखा, विदुर गौतम र रामहरि सिलवालले रु पाँच पाँच हजार हजार आर्थिक सहयोग प्रदान गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस