समाधान आयोग गठनमा
०८ माघ २०६९
•
११ मिनेट पाठ
समाधान आयोग गठनमा
पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तसँग बयान सुरु गर्दा सत्ता सञ्चालकहरुमा अनौठो छटपटी देखिएको छ। यो छटपटीले हाम्रो राजनीतिक नेतृत्व कति भय र त्रासमा बाँचेको रहेछ भन्ने कुराको अनुभूति सबैले गर्न पाएका छन्। सरकारको एउटा महत्त्वपूर्ण सहयोगी निकाय नेपाल प्रहरी हो। त्यो संगठनको एउटा इकाईले हत्या घटनाका अभियुक्तलाई बयान लिन थाल्दा सरकारको नेतृत्व गर्नेहरुमा ठूलै छटपटी देखिनु आफैंमा आश्चर्यजनक कुरा हो। प्रधानमन्त्री बाबुराम भट्टराई आफंैले अनुसन्धान अघि नबढाउन निर्देशन दिनुभयो। त्यस्तै महान्यायाधिवक्ताको कार्यालयबाट बयान नलिनका लागि लिखित आदेश नै दिइयो। यसले पनि राज्य सञ्चालकहरूमा देखिएको भय र त्रासको मनोविज्ञान छर्लङ्ग पारिदिएको छ।
प्रधानमन्त्री भट्टराईले आजकल दिनहुँजसो गर्ने भाषण र त्यसमा व्यक्त भाषा शैली उहाँको पद र व्यक्तित्व दुवैलाई सुहाउँदैन। ती अभिव्यक्तिले उहाँको कद आफंै घटाइरहेको छ। जब कुनै मान्छेले आफूलाई भयभित र त्रसित महसुस गर्छ, तब उसले सुरक्षित हुन खोज्छ। आफ्नो सुरक्षामा विश्वास नभए छटपटाउँदै कोलाहल मच्चाउँछ। यही 'मानवीय गुण' यतिबेला प्रधानमन्त्रीले देखाइरहनुभएको छ। उहाँले विस्तृत शान्ति सम्झौताको अपव्याख्या गर्दै अपराधीलाई उन्मुक्ति दिने दस्तावेजका रूपमा शान्ति सम्झौताको चर्चा गरिरहनुभएको छ। कार्यकारीणीको सर्वोच्च पदमा बसेर अपराधमा अभियुक्तको बयान लिनसमेत रोक्न लगाई अख्तियारको दुरुपयोग गर्नुभएको छ। लोकतन्त्र र जनताको शक्तिमा विश्वास भएकाहरुले विधिको सम्मान गर्छन्, आदेशको भरमा शासन चलाउँदैनन्।
डेकेन्द्र हत्याका अभियुक्तलाई कारबाही गर्दा राजनीतिक नेतृत्वमा देखिएको छटपटीका आधारमा भन्नुपर्दा राजनीतिक संक्रमण लम्बिनु र सहमति बन्न नसक्नुको कारण भनेको नेतृत्व तहमा रहेको भय र त्रास नै हो। भयभित र त्रसित मनले कसैलाई विश्वास गर्न सक्दैन। सत्ता सञ्चालकहरुले यसै कारण कसैको विश्वास गर्न सकिरहेका छैनन् र सत्ताबाहिर जाने कुरामा सहमत हुनै सक्दैनन्। सत्ताबाहिर रहँदा आफू असुरक्षित रहने निष्कर्ष निकाल्ने सत्ताधारी नै तानाशाही हुने गर्छ। नेपालका वर्तमान राज्य सञ्चालकहरु अहिले यही बाटोमा उन्मुख छन्। त्रासले शंकित बनाउँछ, शंंकित मनले सही निर्णय गर्न सक्दैन। यही कारण संविधान सभा विघटन भएको सात महिना पुगिसक्दा पनि राजनीतिक सहमति बन्न सकिरहेको छैन।
युद्धपछि राज्यको नेतृत्व गर्दासमेत माओवादी त्यो समयको संक्रमणकाललाई व्यवस्थित गर्न असफल देखिएको छ। यही व्यवस्थापन अभावमा उसको नेतृत्व पंक्तिमा भय र त्रास कायमै छ। क्रान्ति र संघर्षपछि त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै परिस्थितिलाई व्यवस्थित गर्न सक्ने नेतृत्व भएन भने क्रान्तिको उपलब्धि पनि गुम्छ र नेतृत्वको उचाई पनि घट्छ। त्यतिबेला क्रान्तिमा होमिएका जनताप्रति पनि सम्मान हुँदैन। नेपालको माओवादी युद्धपछिको अवस्थालाई व्यवस्थित गर्न र युद्ध पीडितहरुलाई न्यायको अनुभूति दिन युद्ध अपराधीलाई कानुनी कारबाही गर्न अनिवार्य हुन्छ। युद्धकालीन अन्यायको आधारमा समाजमा कसैप्रति पनि बदलाको भावना हुन नदिने अपेक्षाका साथ सरकार र तत्कालीन विद्रोहीबीच शान्ति सम्झौता भएको थियो। शान्ति सम्झौतामा ६ महिनाभित्र सत्य निरुपण र मेलमिलाप आयोग गठन गरी युद्धको अवशेष समाप्त गर्ने उद्देश्य लिइएको थियो। तर यति लामो समय बित्दा पनि बनाउन नचाहने र आयोग बनेको छैन भन्दै युद्ध अपराधीलाई कारबाहीको दायरामा ल्याउन नदिने नीति माओवादी नेतृत्वले लिँदै आयो। स्वतन्त्र र अधिकार सम्पन्न आयोग बनाई युद्धपछिको परिवेशलाई व्यवस्थित गर्ने र कोही पनि सधैँ भयमा बाँच्नुपर्ने परिस्थिति अन्त्य गर्नतर्फ जिम्मेवार नबनेकाले अहिले माओवादी नेतृत्व स्वयम् त्रसित हुनुपरेको हो।
माओवादी नेतृत्वले युद्धको जिम्मा लिनसमेत सकिरहेको छैन। जबकि बीपी कोइरालाले आफूले नेतृत्व गरेको क्रान्ति र संघर्षको जिम्मेवारी लिएका थिए। कोइरालाले आफूविरुद्ध फाँसीको सजाय माग गर्दै अदालतमा दायर मुद्दामा बयान दिँदा 'परिवर्तनका लागि मैले आह्वान गरेको क्रान्ति र संघर्षको अपिलबाट प्रेरित भई क्रान्तिमा होमिएका मैले चिने/नचिनेका सबै नेपाली नागरिकको सबै गतिविधिको मैले सम्पूर्णरूपमा जिम्मा लिन्छु' भन्ने अभिव्यक्ति दिएका थिए। उहाँको यो निडर र जनताप्रति उत्तरदायी अभिव्यक्तिले उहाँको आह्वानमा क्रान्ति र संघर्षमा होमिएका सबै नेपालीलाई गौरवान्वित बनाएको छ। क्रान्ति र संघर्षमा होमिएका जनताको सम्मानमा एउटा नेताले प्रकट गर्ने उच्च तहको साहस हो, यो। यता पोखरामा भाषण गर्दै प्रचण्ड र बाबुराम भट्टराईले युद्धमा मारिएकाको जिम्मा कांग्रेस र एमालेले लिनुपर्ने 'चुनौती' दिनुभयो। आफ्नो आह्वानमा भएको युद्धको जिम्मा लिनसमेत तयार नभएर युद्धमा होमिएका सबैप्रति लज्जाबोध हुने अभिव्यक्ति उहाँहरुले दिनुभएको छ।
युद्धपछि उत्तरदायी बन्न नसक्ने नेताहरुलाई 'क्रान्ति नायक' भन्न सकिँदैन। भट्टराई अहिले युद्ध अपराधीलाई कारबाही गर्दा लहरो तान्दा पहरो जाने भयले छटपटाइ रहनुभएको छ। युद्ध वा क्रान्तिपछिको परिस्थितिलाई सम्याउँदै लैजानु नै क्रान्तिकारी नेताको असली चरित्र हो। ००७ साल पछिको परिस्थितिलाई व्यवस्थित गर्न उच्च नैतिक साहस देखाउनतर्फ नलागेको भए बीपी कोइरालालाई प्रधानमन्त्री बन्न ८ वर्ष लाग्दैनथ्यो। गणेशमानको त्यो उचाई हँुदैनथ्यो। युद्धको अवशेष समाप्त पार्ने लक्ष्यसहितको संयन्त्र बनाउन गम्भीर नहुने, आयोग नबन्दै युद्ध अपराधीलाई कारबाही गर्नै हँुदैन भन्ने तर्क गरिरहने, अनि किटानी उजुरीका आधारमा कुनै युद्ध अपराधीमाथी कारबाही हुँदा त्यसको विरोधमा हप्तौं खर्चने प्रधानमन्त्री भट्टराई र उहाँका पार्टीका नेता तथा कार्यकर्ताको चरित्रले शान्ति सम्झौताको अपमान भएको छ। शान्ति सम्झौताको अपमान गर्नेहरुबाट राजनीतिक संक्रमणकाल अन्त्य हुन सक्दैन। शान्ति सम्झौताको अपमान गर्दै भयका साथ सत्तामा बसेको नेतृत्वले राजनीतिक शक्तिबीच विश्वासको वातावरण बनाउन सक्दैन।
परिस्थतिले के देखाइरहेको छ भने सत्ता सञ्चालकहरु अझ अनुत्तरदायी, अधिनायकवादी तथा क्रुर हुँदै जानेछन्। मुलुकमा दण्डहीनता अझै फस्टाउँदै जानेछ। अब स्वतन्त्र र अधिकार सम्पन्न मेलमिलाप आयोग गठन गर्न विलम्ब गर्नुहुँदैन। त्यो आयोग युद्ध अपराधीलाई माफी दिने संयन्त्र बन्न हुँदैन। युद्धपीडितलाई न्याय दिने अधिकारसहितको आयोग बन्नुपर्छ। यो कुरामा विपक्षीहरु पनि गम्भीर बन्न जरुरी छ। संविधान सभाको चुनावपछि एमालेको नेतृत्वमा दुईवटा सरकार बनेका हुन्। एउटा सरकारमा कांग्रेस पनि सहभागी भएको हो। ती दलहरुले पनि आयोग गठनमा अग्रसरता देखाएका होइनन्। बाबुराम प्रवृत्तिको सर्वत्र विरोध भइरहँदा विरोधको पछिल्लो पंक्तिमा उभिनुमा मात्र विपक्षीहरुले आफ्नो भूमिकालाई सीमित गर्नुहुँदैन, आयोग बनाउन अग्रसरता लिनुपर्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस