सीतापाइला पहाडमाथि
१७ माघ २०६९
•
१७ मिनेट पाठ
सीतापाइला पहाडमाथि
सुर्खेत उपत्यकाको उत्तरमा सीतापाइला नामको खैरो पहाड कोतरेर सेतो रफ हरफ टुप्पातिर गएको देखिन्छ। हेर्दा अत्यास लाग्ने ठाडो भीर छिचोल्दै २२ जना विस्थापित पत्रकार त्यही पहाडमाथि बादल लम्किने दिशामा मंगलबार उज्यालोमै गाडीमा फर्किए। क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रिताल र पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको अगुवाईमा दैलेख पुगेका पत्रकारलाई स्वागत गर्ने स्थानीयबासी र राजनीतिक दलका नेतासँगै फूलमाला लिएर उभिएका थिए- एकीकृत माओवादीका प्रतिनिधिहरु।
स्थानीय तीन पत्रिका र दुई एफएम स्टेशन बन्द गरेर रातारात आप र झाप गर्दै ६५ किलोमिटर दक्षिण छिमेकी जिल्ला झरेका पत्रकारले एउटा होटलमा पाँच दिन बिताउँदा झन् असुरक्षा महसुस गरे। छापिएका र फुकिएका समाचार नापेर र गनेर काठमाडौंबाट महिनौंपछि पारिश्रमिक पाउने र त्यही पनि नपाउने ज्यालादारी समाचारदाताको खल्ती झन् निख्रिने त छँदै थियो, उसमाथि पहाडबाट बुबाआमाहरुले फोन गरेर धम्की आएको सुनाउँदा अत्यास बढ्दै गयो। अनि झनझन ख्याल गरे, प्रधानमन्त्रीको सवारी भएकै दिन उनीहरुमध्ये १० जनालाई डेकेन्द्र थापा बनाइदिने चेतावनी पटकपटक दिएका प्रधानमन्त्रीकै दलका कार्यकर्ता अन्तका नभई आफूहरुले शरण लिइरहेको त्यही सुर्खेतका पूर्व नगर इन्चार्ज थिए। भुंग्रोबाट उछिटि्टएर तावामा आएजस्तो भयो।




नारायण नगरपालिका नाम भए पनि नगरोन्मुख भिरालो बजारका माथितिर सत्तासीन माओवादीको नाराजुलुस र तलतिर विपक्षी गठबन्धनको प्रदर्शन आमनेसामने भइरहेका बेला त्यो चेतावनी दिनेलाई कारवाहीको माग गर्दै उनीहरु सिडिओ अफिसतिर दौडिए। सिडिओ अफिसका दुई सहायक आफैं माओवादी कार्यकर्ताबाट पिटाइ खाएको देखेर फर्किँदा 'हाम्रो तेस्रो आँखा' दैनिकको कार्यालय तोडफोड भएको सुने। अधिवेशन उद्घाटनमा शुभकामना मन्तव्य दिन बोलाइएका पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्कर थापाले प्रधानमन्त्रीसँग पत्रकार हत्याको अनुसन्धान किन रोक्ने निर्देशन दिनुभएको, दैलेखलाई जवाफ दिनुहोस् भन्ने तयारी गरिरहेका थिए, पत्रकारलाई चेतावनी र पत्रिका कार्यालयमा तोडफोडपछि सुरक्षा माग गर्दै आफैं प्रदर्शनमा सरिक भए।

उता प्रधानमन्त्री लिएर आएको सेनाको भीभीआइपी हेलिकप्टरतिर स्वागतमा पुगेका सिडिओ उमेशकुमार ढकाल पनि आफैं असुरक्षित हुन पुगे, जब प्रधानमन्त्री बाबुराम भट्टराईले सेनाको ब्यारेकमा दिउसोको खाना खान अडिँदा सबैका अघिल्तिर सातो टिप्नेगरी भने- यहाँको प्रशासन, प्रहरी हाम्रो विरोधमा छ।

अध्यक्ष पुष्पकमल दाहालसहित पार्टी नेताहरु लिएर आएका प्रधानमन्त्री भट्टराईले क्षेत्रका तीनजनै डिआइजी, सेनाका कर्णेललगायत्को समूहमा त्यसरी सातो टिपेपछि सिडिओ ढकाल कुन बेला अब पोको पुन्तरा बोकेर रमाना हुने भन्ने सोच्न विवश भए। उनले अघिल्लो दिन गृह मन्त्रालयमा खबर पठाएर प्रधानमन्त्रीको भ्रमण भयो भने सुरक्षा स्थिति प्रतिकूल हुनसक्छ, हिंसात्मकै हुन पनि सक्छ भनेर होसियारी तुल्याएका थिए। पत्रकार डेकेन्द्र थापाको हत्या अनुसन्धानमा प्रधानमन्त्रीले गरेको व्यवधानबाट स्थानीय जनता रुष्ट भएको र विपक्षी दलहरुले अध्यक्ष दाहाल आए स्वागतै गर्ने तर प्रधानमन्त्री भट्टराई आए विरोध गर्ने जनाउ दिएपछि बसेको सुरक्षा समितिको बैठकले जिल्ला भ्रमणबाट प्रधानमन्त्रीलाई भरसक पन्छाउन खोजेको थियो। महान्यायाधिवक्तामार्फत् हत्या अनुसन्धान र आरोपितहरुको बयान रोक्न निर्देशन दिएका प्रधानमन्त्रीले डलरवादीहरुले दैलेखलाई उचालेको आक्रोश पोख्न आफैं जिल्ला पुग्ने अड्डी कसे।

जिल्लाले थप सुरक्षा बल माग्दा/नमाग्दै सरकारले सशस्त्र र नेपाल दुवैका गरी एसपीको नेतृत्वमा सयौं प्रहरीलाई प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा दैलेख खटायो। विपक्षीले तीन चार ठाउँ ढालेका रुख र खसालेका ढुंगाका तगारा हटाउँदै प्रहरी अघि बढे। सुर्खेतको अधिवेशन एकाएक स्थगित गर्दै बसहरुको लर्को लगाएर माओवादी कार्यकर्ता रातारात प्रहरीको पछिपछि लागे। सुर्खेत अधिवेशनका प्रतिनिधिभन्दा बढी छ सयभन्दा धेरै संख्यामा बहिर्गमित लडाकु र वाइसिएल कार्यकर्तासहितको एकाएक आगमनले स्थानीय विपक्षी दल राँको भए। एउटा बस त काँडाचौरस्थित अधिवेशन उद्घाटनस्थलमै सकीनसकी उकालियो, जसमा हतियार लुकाइएको स्थानीयले शंका गर्न भ्याए। विपक्षीहरुले अधिवेशन बिथोल्दा प्रहरीले गोली चलाउन थाल्यो भने अरु गोली भररर्र त्यही बसभित्रका साना हतियारबाट लडाकुहरुले चलाउने सन्त्रासबाट विपक्षीहरु पछि खैलाबैला गर्न थाले।

डिआइजी टपेन्द्रध्वज हमालले बिहान दैलेख पुगेर सिडिओ ढकाललाई 'कुनै पनि निर्णय लिन साहस गर्नुहोला है' भनेर आवश्यक पर्योग भने गोली चलाउने आदेशको प्रक्रिया खोजे। सिडिओले टियर ग्याससमेत सम्भवतः नभोगेका दैलेखी भीडमा स्थानीय बूढाबूढी, केटाकेटीसमेत मिसिने भएकाले प्रहरीका लाठीले बाटो छेकेर स्थिति सम्हाल्न आवश्यक ठाने। सत्ता र विपक्ष, दुवैथरी नेताहरुको सर्वदलीय बैठक गरेर उनले विपक्षीलाई काला झण्डा देखाउँदै विरोध प्रदर्शन गर्ने सीमासम्म राजी गराएका थिए। तर सुर्खेतबाट थपिएकाहरु स्थानीय कार्यकर्ताभन्दा धेरै देखिएको जोशमा माओवादीले बिहान एकाएक जुलुस निकालेर अधिवेशनस्थल पुग्ने तयारी गर्यो्, हेर्दाहेर्दै जुलुस तयार भयो। प्रशासनको अनुमतिबेगर निस्कन लागेको जुलुसलाई सम्झाउन सिडिओले फेरि दुईथरी प्रदर्शनकारीलाई सम्मुख पर्न नदिने गरी साँध-सीमा सम्झाए। र, प्रधानमन्त्री अवतरण गर्नुअघि माओवादी जुलुसलाई अधिवेशनस्थल पुग्न सुझाए।

प्रधानमन्त्रीको हेलिकप्टर भने निर्धारित समयभन्दा एक घन्टाअघि नै देखिएपछि फेरि रैलाबैला भयो। माओवादी जुलुस अधिवेशनस्थल पुग्नै भ्याएको थिएन, पत्रकारलाई चेतावनी र पत्रिका कार्यालयमा तोडफोडपछि उत्तेजित विपक्षी कार्यकर्ताहरु जुलुसमाथि जाइलाग्न थाले। डिआइजी हमालले अन्य डिआइजी, एसपी तथा बाहिरबाट आएका वरिष्ठ डिएसपीहरु राखेर अधिवेशनस्थल सम्हाल्न थाले, अघिल्लै दिनदेखि सुरक्षाको योजना मिलाइरहेका जिल्लाका डिएसपी शारदाप्रसाद चौधरी भने तलै ओरालोमा राखिए। प्रधानमन्त्रीहरुको खानापछि सिडिओ सभास्थलदेखि केही पर कर्णेलसँगै बसे, केही परे निर्देशन दिनुपर्ने जिल्लाका डिएसपीको ठाउँमा डिआइजी आफैं कमाण्ड लिएको देखे।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बोल्न थाल्दा/नथाल्दै बाहिरिया प्रहरी अधिकृतहरुले थाहै नपाउने अज्ञात बाटो विपक्षी कार्यकर्ताहरु सभास्थलमा कालोझण्डासहित बर्गेल्ती देखिए र हो-हल्ला गर्न थाले। सभा अवरुद्ध हुन पुग्यो। त्यही क्रममा हो, दुईथरीबीच हानाहान र नाराबाजी भएको जतिखेर घाइते हुनेमध्ये एक विपक्षीलाई जोगाउन खोज्दा डिआइजी हमालले समेत सत्तापक्षीय कार्यकर्ताहरुबाट लात्ती र मुक्का खाए। स्थलमा पुगेका केही संवाददाताले नजिकैको पञ्चकोशी एफएमको सटर थोरै खोलेर समाचार टिप्ने, घरि बाहिर निस्केर हेर्ने गर्दा एकजना घाइते माओवादी कार्यकर्तालाई प्राथमिक उपचार गरिएको, घाउ पुछपाछ गरिएको देखे, जसले सभास्थल पछाडिको बसभित्र ठुल्ठूला आँखा भएका हतियार देखेको बताइदिए। अनि पत्रकारहरुले सोझै अनुमान गरे माओवादीले त्यो एउटा बस किन त्यहाँ ल्याएका होलान्। स्थानीय प्रशासन तथा प्रहरीको नाममा आफैं हतियार चलाएर रक्तपात मच्चाउने चालबाजी भएको खासखुस गरे।

'ठूलो रक्तपात हुन्छ भन्ने त्रास देखाएर हामीलाई नआउन भनिएको थियो' भन्दै प्रधानमन्त्री भटट्राईले आफ्नो पालामा प्रहरी र प्रशासनप्रति थप आक्रोश पोखे। अध्यक्ष दाहालले विपक्षी जाइलागेकोतर्फ लक्ष्य गर्दै दैलेखी गुण्डा र स्याल पनि भने। प्रहरीले विपक्षीलाई रोक्न लाठी तेर्स्याएर मात्र पुगेन, अश्रुग्यास प्रहार गरिरह्यो। सभा सकियो। सिडियो गाडी चढेर ब्यारेक पुगेका प्रधानमन्त्रीसहितका नेताहरुले उभीउभी चिया पिएर फेरि हेलिकप्टरको फन्को मार्दै सुर्खेत झरे। डिआइजीहरु पनि हेलिकप्टरमै गए। सिडिओले सुरक्षा समिति बसाए, धन्य ठूलो दुर्घटना हुन पाएन भन्दै राहतको सास फेरिरहेको बेला चुनौती आयो, सुर्खेतबाट ल्याइएका माओवादी कार्यकर्ताका बसहरुलाई कसरी सुरक्षित तवरमा फर्काउने। विपक्षी कार्यकर्ताहरुले ती बस घेरेर राखिसकेका थिए।

सिडिओ ढकाल र डिएसपी चौधरीले कर्फ्यु लगाएर ती बस फर्काइदिनेसम्म छलफल गरे। विपक्षीले मानेनन् भने के होला भन्ने तर्क पनि गरे। विकल्प खोज्दा विपक्षीहरुलाई मनाउनुपर्ने निर्क्यौल गरे। भने पनि, 'उनीहरुलाई जान दिनुहोस्, नत्र दुर्घटना हुन्छ, कसले जिम्मेवारी लिन्छ?' विपक्षीहरुलाई फकाएपछि एक एक गर्दै राति अवेरसम्म २२ वटा गाडी जिल्लाबाट मुक्त भए। ढकाल र चौधरी पनि ढुक्क भए। तर सिडिओकहाँको बैठकबाट आफ्नो अफिस फर्किनासाथ डिएसपी चौधरीलाई काजबाट सुर्खेत फिर्ता बोलाइएको सन्देश आएको थाहा पाएपछि पत्रकार फेरि झस्किए।

भोलिपल्टै सिडिओ ढकालको पनि सरुवाको खबर आयो। मध्याह्नमै उनी जिल्ला छाड्ने भए। स्थानीयबासीले बिदाई कार्यक्रम राख्ने खबर पाइसकेका सिडिओ हतारहतार कसैले नदेख्नेगरी जिल्ला छाड्न गाडीलाई भित्रभित्रै छिराउन लगाए। गार्डसमेत लगेनन्। सोझै सुर्खेत हुँदै नेपालगञ्ज हानिए। भोलिपल्ट काठमाडौं। डिएसपीका साथमा दुई इन्स्पेक्टर पनि सुर्खेत झरे।

सिडिओ र डिएसपीकै अचानकको कारबाही र बहिर्गमनले हतोत्साही भएका पत्रकारले दिनभर छलफल गरे। डेकेन्द्रको हत्या अनुसन्धानका क्रममा स्थानीय प्रहरीले अञ्चल र क्षेत्र हुँदै प्रधान कार्यालयबाट समेत सहयोग नपाएको मात्र होइन, उल्टै दबाब खेप्नुपरेको सम्झिए। उता जिल्ला सरकारी वकिललाई महान्यायाधिवक्ताले 'तीन पुस्ते सिध्याइदिन्छु' भन्दै बयान रोक्न भित्रभित्रै दिएको दबाब पनि सम्झिए। सरकारी वकिल र अनुसन्धान अधिकृत इन्स्पेक्टर विनोद शर्मालाई ढाडस दिने सिडिओको सरुवाले उनीहरुलाई मर्माहत पार्यो। प्रहरी, प्रशासन र वकिल तीनैथरीलाई सरकारले गरेको हतोत्साहको वेलिविस्तार सम्झँदै गर्दा उनीहरुले आफैं असुरक्षित भएको आभाष पाए। डेकेन्द्र हत्या अनुसन्धान गर्ने प्रहरी प्रशासनलाई दबाब दिन प्रधानमन्त्री आफैं दैलेख आएर गर्जेको पनि उनीहरुले केलाए। आफूहरु सुरक्षित हुन एकै ठाउँ बस्दै आएको होटलमै माओवादी जिल्ला नेताले कार्यकर्तासहित आएर अघिल्लो दिन धम्क्याएको पनि विवेचना गरे। आफूहरुलाई अब कसले सुरक्षा देला भन्ने सोच्न थाले।

छलफल गर्दागर्दै साँझ पर्यो। शाही शासनकालमा शाही सेनाका कारण जिल्लाका पत्रकारले यसैगरी त्यही पहाडबाट विस्थापित भएर एक महिना नेपालगञ्जमा शरण लिएका थिए। एउटा बस रिजर्भ गरे। र, जिल्लालाई बाईबाई गरे। त्यही सडक सुर्खेत झरे। त्यही सीतापाइला पहाडको खस्रो हरफ ओर्लिँदै छिमेकी जिल्लाको सुन्दर उपत्यका झर्दा रात घर्किसकेको थियो। त्यो पहाडमाथि एउटा हत्याको अनुसन्धान गर्दा जिल्लामा खटिएको चार महिनामै सिडिओ फालिए, चालीस दिनमै डिएसपी फिर्ता बोलाइए, हत्या अनुसन्धानको मुचुल्का बनाएर सदरमुकाम फर्केकै दिन इन्सपेक्टर सारिए र सात वर्षपछि पत्रकार फेरि विस्थापित हुन बाध्य भए।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस