विचारको धारमा माओवादी
२० माघ २०६९
•
१२ मिनेट पाठ
विचारको धारमा माओवादी
मकवानपुर जिल्लाको एकमात्र ठूलो शहर हेटौंडाको शहरी अस्तित्व धेरै पुरानो छैन। अहिले पनि यो पूर्ण शहर बनिसकेको छैन। पूर्वाधारको हिसावले यसलाई विकसित मानव बस्ती भन्न सकिन्छ। बरु पृथ्वीनारायण शाहको ससुराली बस्तीका रूपमा मकवानपुर नेपालको इतिहासमा चर्चित छ। भारतीय सहयोगमा काठमाडौँलाई भारतीय सीमा रक्सौलसम्म जोड्ने त्रिभुवन राजमार्गको निर्माणपछि वीरगन्ज र काठमाडौंबीचको पारवहन विन्दुका रूपमा हेटौंडाको महत्त्व हलक्क बढेको हो। हेटौंडा आएपछि महाभारतको पहाडी यात्रा सकिन्छ र मैदान सुरु हुनुभन्दा पहिले चुरेको सानो जँघार तरेपछि समतलको सहज यात्रा सुरु हुन्छ। हेटौंडा जस्तै एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पनि एउटा नयाँ राजनीतिक दल हो। माओवादीले कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यलाई आफ्ना कार्यक्रमहरूमा साक्षी राख्ने गरेको छ। यसबाट माओवादीले नेपाली कम्युनिष्ट राजनीतिको विरासत धान्ने चाहना राखेको स्पष्ट हुन्छ। यो अस्वाभाविक पनि होइन। तापनि राजनीतिक हिसावले नेपालका कम्युनिष्ट आन्दोलनमध्ये माओवादी धारको आफ्नै पहिचानले त्यो विरासतलाई थिचेको छ। दुई दशकदेखि यो फरक ढंगको आक्रामक पार्टीका रूपमा नेपाली राजनीतिको मैदानमा उभिएको छ।
शनिबारदेखि हेटौंडामा सुरु भएको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को महाधिवेशनले पार्टीको 'नयाँ गन्तव्य' खोज्ने दाबी नेताहरूले गरेका छन्। माओवादी अध्यक्ष प्रचण्ड कार्यकर्ताको शक्ति र समर्पणमा टिकेको पार्टीलाई जनसमूहको उर्लंदो भीडमा मिलाउने तानावान बुन्दै हुनुहुन्छ।




माओवादी सहजरूपमा नेपाली राजनीतिको मूल विन्दुमा आएको पार्टी होइन। यसको इतिहास रक्तरञ्जित छ। नेपाली समाजको रुपान्तरणका लागि यसले खेलेको भूमिका महत्त्वपूर्ण छ। संविधान सभाको चुनावद्वारा सबभन्दा ठूलो पार्टीका रूपमा स्थापित भइसकेपछि पनि यसप्रति मानिसका संशय र जिज्ञासा यथावत् छन्। पारम्परिक समाजमा नयाँ विचार प्रारम्भ गर्नु कठिन विषय हो। त्यसमा पनि बन्दुकको नाल देखाएर सत्ताको छेउमा आइपुगेको पार्टी भएकाले मानिसको मनमा यसका प्रति संशय र शंकाले जन्म लिनु असाधारण होइन। माओवादी पार्टीको अहिलेको मूल समस्या भनेको जनताले यसलाई समग्रतामा स्वीकार पनि नगर्नु र इन्कार पनि नगर्नु हो। जनताले यसलाई समग्रतामा स्वीकारेको भए नयाँ नेपाल निर्माणका लागि यसले राखेका प्रस्तावहरूको अनुमोदन सहज ढंगले हुन सक्थ्यो होला।

स्वीकृति र अस्वीकृतिबीचको यो सामाजिक सन्तुलन नै माओवादी पार्टी र यसका अध्यक्ष प्रचण्डको मूल प्राविधिक समस्या हो। जनयुद्धले पार्टीलाई शान्ति स्थापनाका लागि सत्ताको ढोकामा ल्याएर उभ्याइदिए पनि त्यसपछिका घटनाक्रम माओवादीले सोचे जसरी विकसित भएनन्। संसदीय राजनीतिका पक्षधर दलहरूसँगको सहकार्य संविधान सभाको निर्वाचन र गणतन्त्रको स्थापनापछि टुंगियो। राजनीति र सामाजिक परिवर्तनका मूल कार्यसूचीको टुंगो नै नलागी सुरु भएको प्रतिस्पर्धात्मक राजनीतिक खेलका रेफ्री कोही भएनन्। राजनीतिक आकाशमा मडारिएको तुवाँलो न माओवादी एक्लैले चिर्न सक्थ्यो, न संसदीय राजनीतिक दलहरूले। संविधान सभाको गठनसँगै कचल्टिन थालेको राजनीतिको वस्तुगत समस्या यही हो नै हो।

राजनीतिक अन्योलको यो समयमा भइरहेको माओवादीको सातौं महाधिवेशनले नीतिगतरूपमा आफूलाई कसरी प्रस्तुत गर्नेछ? यो अहिलेको अहम् प्रश्न हो। माओवादी अध्यक्ष तथा यसका अन्य जिम्मेवार नेताहरूले पार्टीको लोकतान्त्रीकरण र उदार अर्थतन्त्रका पक्षमा यसको शक्ति प्रयोग गर्ने बताइसकेको अवस्थामा यसबारे विवाद गरिरहनु आवश्यक छैन। मूल कुरा माओवादी पार्टीको लोकतान्त्रीकरणलाई व्यावहारिकरूपमा सम्भव तुल्याउन पार्टीले कुन बाटो अवलम्बन गर्नेछ? अहिलेको चासो यत्ति हो।

महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले युद्धकालमा गोली खाएर मर्न लागेको कार्यकर्ताले 'प्रचण्ड पथ जिन्दावाद' भन्दै प्राण त्यागेको बिर्सिएका छैनन्। प्रचण्ड पथका धेरै सहयात्री मूल पार्टीबाट पाखा लागिसकेका छन्। 'प्रचण्ड पथ' शब्द स्वयं नै अतीत बोधक अवस्थामा पुगिसकेको छ। तैपनि माओवादी कार्यकर्ताको मनस्थिति बदलिइसकेको छैन। प्रचण्डले पार्टीको 'मोनोलिथिक' संरचना भत्काएर यसलाई जतिसुकै उदार बनाए पनि परिणाम तत्काल आउने देखिँदैन। लोकतान्त्रिक राजनीति लामो अभ्यास र व्यवहारले चल्ने कुरा हो। जबसम्म माओवादी कार्यकर्ताको मनस्थितिमा परिवर्तन आउँदैन, तबसम्म यो पार्टी यथास्थितिबाट उम्कन सक्दैन। माओवादी पार्टीका लागि अहिलेको चुनौती यही नै हो।

कम्युनिष्ट पार्टीहरूको प्रचलनमा कार्यकर्ताहरू नेताको मार्गदर्शन र दिग्दर्शनबाट दायाँबायाँ नजाने भएकाले अध्यक्ष प्रचण्डका लागि पार्टीभित्र परिवर्तनको सुरुवात् त्यति असजिलो नहोला। तर बदलिँदो विश्व परिवेश र नेपालका लागि प्रस्तावित संघीय संरचनाको सन्दर्भमा नेताको निर्देशन र दिग्दर्शन मात्रैले विचारहरूको विविध प्रवाह थेग्न सक्दैन। कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वको अवधारणामा चल्न थाल्यो भने त्यो पार्टी नभएर एमाले जस्तो एउटा फोरममात्र बन्छ। यसले गर्दा प्रचण्डका चुनौती अझै बढेका छन्।

निश्चय पनि, माओवादी पार्टी अहिलेकै सुपर स्ट्रक्चरका आधारमा चल्न सक्दैन। युद्धकालीन अवस्थाको सुपर स्ट्रक्चर शान्तिकालका लागि उपयोगी हुनै सक्दैन। तर अहिलेको सुपर स्ट्रक्चर रहेन भने पार्टी गुटवादी प्रवृत्तिबाट विमुख हुन पनि सक्दैन। अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनमा सन्तुलन र लोच कायम राख्दाराख्दै पनि माओवादी पार्टीले आन्तरिक कलहको राप खप्दै आएको छ। संसदीय दलहरूमा जस्तै माओवादीमा पनि सरकार पार्टी वा प्रधानमन्त्री कसको नियन्त्रणमा रहने भन्ने शास्त्रीय विचारले निर्क्यौल पाएको छैन। सत्ता र सरकारकै रडाकोका कारण शान्ति प्रक्रिया सुरु भएदेखि नै माओवादी पार्टीमा विचलन पनि सुरु भइसकेको छ। यो विचलनको विस्तार त्यस पार्टीका लागि निकट भविष्यमा घातक सावित हुन सक्छ।

एक्काइस वर्षपछि सातौँ महाधिवेशनमार्फत् लोकतान्त्रिक मूलधारमा समाहित हुन लागेको माओवादी पार्टीले देशका लागि 'केही त गर्ला' भन्ने अपेक्षा राख्नेहरूको कमी छैन। अहिलेसम्म माओवादी पार्टीले त्यो अपेक्षा आंकलन गर्न सकेको छैन। महाधिवेशनपछि माओवादी लोकतान्त्रिक चोलामा देखापर्ने विश्वास पनि उत्तिकै बढेको छ। महाधिवेशनलगत्तै यसका परिणामहरू देशको राजनीतिमा स्पष्ट देखिन थाल्ने नै छन्।

शान्तिप्रक्रियासँगै सुरु भएको सहमति र सहकार्यको राजनीति नेपाली भूमिबाट विस्मृत हुन थालिसकेको छ। दलहरूका बीच कटुता बढ्दो छ। लोकतान्त्रिक प्रतिस्पर्धाका आधारमा दलहरूले आफ्ना वैचारिक अवधारणाको स्पष्टता र व्यावहारिकता सावित गरेर जनताको मन जित्नुपर्ने समयमा कटुताको राजनीतिले राजनीतिलाई नै खण्डखण्डमा विभाजित गरिदिएको छ। देशको ठूलो दल भएको नाताले एकीकृत नेकपा माओवादीले नै सहमति र सहकार्यको संस्कृतिलाई पुनःस्थापित गर्नुपर्छ। प्रतिपक्षसँगको अहिलेको कटुताको अन्त्य पनि माओवादी पार्टीकै दायित्वभित्र पर्छ। यस स्थितिमा माओवादीको महाधिवेशनबाट माओवादीका कार्यकर्ताले मात्र होइन, सर्वसाधारण जनताले पनि भरोसालाग्दो निर्णय अपेक्षा गरेका छन्।

राजनीतिक दलको महाधिवेशन उसको आन्तरिक सजावटमात्र होइन। लामो अन्तरालपछि भएको माओवादी अधिवेशनले आफ्नो पार्टीका लागिमात्र होइन, देशका लागि समेत दूरगामी निर्णय लिनुपर्छ। त्यसो भयो भनेमात्र महाधिवेशनको सार्थकता सावित हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस