माओवादी कार्यदिशामा कायाकल्प
२२ माघ २०६९
•
१९ मिनेट पाठ
माओवादी कार्यदिशामा कायाकल्प
चितवनको माडीदेखि मकवानपुरको हेटौंडासम्म दूरी खासै धेरै छैन। तर, एउटा राजनीतिक पार्टीको सांगठनिक जीवनका लागि भने माडीदेखि हेटौैंडासम्मको यात्रा तय गर्न २१ वर्ष लाग्यो। २०४८ सालमा माडीमा भएको नेकपा एकता केन्द्रको छैटौं महाधिवेशनबाट हेटौंडामा जारी रहेको एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनसम्म आइपुग्दा अनेक उथलपुथल भइसकेको छ, जसको मुख्य राजनीतिक एजेन्सी माओवादी नै भएको छ।
छैटौं महाधिवेशनले ४ वटा कम्युनिस्ट पार्टीलाई एउटै पार्टीमा गाभेको थियो र एकता महाधिवेशनको नामकरणलाई सार्थक पारेको थियो। एकता केन्द्रको विभाजनपछि बनेको नेकपा माओवादी २०४८ सालको एकता महाधिवेशनले तय गरेको जनयुद्धपछि एकता केन्द्रसँग पुनः मिलिसकेको छ र ती दुवै पार्टीको एकतापछि फेरि पनि एकता महाधिवेशन हुँदैछ। तर, माओवादीकै उपाध्यक्ष मोहन वैद्य किरणको खेमा भने बाहिरिसकेको छ।
नेतृत्वमा निरन्तरता
माडीदेखि हेटौंडासम्मको दुई दशकभन्दा लामो अन्तरालमा एकीकृत माओवादीले नीतिगतरूपमा धेरै पटक क्रमभंग गरिसकेको छ। उसले संसदीय राजनीतिबाट जनयुद्धतिर फड्को र जनयुद्धबाट शान्तिपूर्ण क्रान्तितिर छलाङ मारिसकेको छ। उसकै अगुवाइमा राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्र स्थापना, धर्मनिरपेक्षताको घोषणा, समावेशिता र संघीयताउन्मुख राज्य पुनर्संरचनातिर मुलुकको अग्रसरता सम्भव भएको हो। माओवादी अध्यक्ष प्रचण्डको भाषामा जनयुद्ध र जनआन्दोलनको फ्युजनविना यी राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन।
यस्ता राजनीतिक परिवर्तनको नेतृत्व गरिरहेको एकीकृत माओवादीको नीतिमा भने पटक-पटक क्रमभंग देखिएको छ तर नेतृत्वमा भने क्रमभंग भएको छैन। नेपाली राजनीतिक डिस्कोर्समा ...क्रमभंग' शब्द चलाउने प्रचण्ड एकता केन्द्र बन्नुअघिदेखि नै नेकपा (मशाल) मा महामन्त्री थिए भने एकता केन्द्रदेखि एकीकृत माओवादीसम्म पनि महामन्त्रीदेखि अध्यक्षसम्मको कार्यभार सम्हाल्दैछन्। र, एकताको सातौं महाधिवेशनबाट पनि अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने प्रचण्डले अबको दशकसम्म पनि प्रमुख नेतृत्व छाड्ने सम्भावना छैन। दुई वटा विचार समूहका नेताका रूपमा रहेका दुई जना उपाध्यक्षबाट समर्थन र सहयोग पाएपछि एउटै राजनीतिक-वैचारिक दस्तावेज प्रस्तुत गर्न सफल भएका प्रचण्डको नेतृत्वमाथि तात्कालिक आन्तरिक चुनौती छैन। दुवै उपाध्यक्षले प्रचण्ड नेतृत्वलाई स्वीकार्ने घोषणा खुलेआमरूपमा पनि गर्दै र त्यसलाई व्यवहारमा पनि अनुवाद गर्दै आएको स्थितिमा उनको ...डायनामिक लिडरसिप' (गतिशील नेतृत्व) को विकल्प पनि देखिएको छैन।
अब उनी र उनको पार्टीसामु तेर्सिएको नेतृत्वसम्बन्धी मुख्य चुनौती हो, पार्टीलाई सबै नेता-कार्यकर्ताका राजनीतिक-वैचारिक ज्ञान, अनुभव र क्षमतालाई अभिव्यक्त गर्नेगरी सामूहिक नेतृत्व पद्धतिमा लैजाने कि व्यक्तिगत क्षमता र करिश्माकै वरपर घुमाइरहने? पार्टीमा नीतिको साटो नेतृत्व हावी हुने, सामूहिक नेतृत्वको सट्टा व्यक्तिगत नेतृत्व नै प्रभावी हुने स्थिति कायम राखियो भने ...प्रचण्ड भनेकै पार्टी र पार्टी भनेकै प्रचण्ड' भन्ने हदसम्म माओवादी पार्टीको निजीकरण हुन सक्छ।




नीतिमा क्रमभंग
महाधिवेशन भनेको नीति निर्माण गर्ने सर्वाेच्च संस्था हो, जहाँ नेतृत्व चयन गर्ने सर्वाेत्तम लोकतान्त्रिक अभ्यास गरिन्छ। तर माओवादीमा सहमतिका आधारमा प्रतिनिधि र नेतृत्व चयन गरिने भएकाले सातौं महाधिवेशनले प्रचण्ड नेतृत्वको एकीकृत माओवादीको मूलतः पुरानै नेतृत्वलाई जनतासामु पेस गर्ने निश्चित छ। तर, नीतिको हकमा भने प्रचण्डले प्रस्तुत गरेको ...नेपाली क्रान्तिको नयाँ संश्लेषण : एक ऐतिहासिक आवश्यकता' नामक राजनीतिक प्रस्ताव पास गरेपछि एकीकृत माओवादीको नयाँ राजनीतिक अवतार देखिने पक्का छ। नयाँ जनवादी क्रान्तिका लागि दश वर्षसम्म जनयुद्ध सञ्चालन गरेको पार्टीले जनयुद्ध र जनआन्दोलनको फ्युजनपछि प्राप्त राजनीतिक उपलब्धि देखेपछि माओवादी स्वयम्को पनि राजनीतिक कायाकल्प हुँदैछ। र, उसले अबदेखि नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै पुँजीवाद र लोकतन्त्रको विकाससँगै समाजवादी क्रान्तिको नयाँ कार्यभार बोक्दैछ। नयाँ कार्यभार बोक्ने क्रममै प्रचण्डले अब ...नेपाल अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक मुलुक हो' भन्ने परम्परा त्यागेका छन्।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा नेपाली समाजको वर्ग-विश्लेषण गर्ने लेठो कहिले पनि गरिएन, बरु माओ त्सेतुङले गरेको चिनियाँ समाजको वर्ग-विश्लेषण सापटी लिएरै काम चलाइयो। नेपाली कम्युनिस्ट नेताहरू माओत्सेतुङको नेतृत्वमा विश्व हल्लाउने गरी सम्पन्न भएको चिनियाँ क्रान्तिबाट अत्यधिकरूपमा प्रभावित थिए। अतः उनीहरूले नेपालमा पनि चीनकै जस्तो नयाँ जनवादी क्रान्ति गर्ने र मुलुकको अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक अवस्थाबाट मुक्त गर्ने सपना देख्नु अनौठो थिएन। साढे ६ दशकदेखि यस्तै सपना देख्दै आएका नेपाली माओवादीका अनेक अवतार देखिइसकेको छ, तर कसैले पनि यतिका वर्षमा पनि नेपाल अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक अवस्थाबाट अगाडि बढिसकेको तथ्य स्वीकार्न सकेको थिएन। आफूलाई खाँटी माओवादी ठान्ने र नयाँ जनवादी क्रान्तिको झन्डा बोक्दै हिँड्न खोजेको नेकपा-माओवादीले यसलाई स्वीकार्न नसक्नु बुझ्न सकिने कुरा हो। तर, साढे दुई दशकअघि नै माओ विचारधारा र नयाँ जनवादी क्रान्ति छाडेर जनताको बहुदलीय जनवाद (जबज) को वकालत गर्दै आएको एमालेले समेत नस्वीकार्नुचाहिँ बुझ्न नसकिने कुरा भएको छ।

वर्ग-विश्लेषणविनाको विश्लेषण
पछिल्लो चरणमा माओलाई पनि आलोचनात्मक कोणबाट हेर्न थालेको एकीकृत माओवादीले भने उनीबाट सापटी लिइएको वर्ग-विश्लेषणको चंगुलबाट मुक्ति खोजेको छ, जुन सकारात्मक छ। तर, अर्थ-राजनीतिको अर्ध-सामन्ती चरित्रलाई राजतन्त्रसँग मात्र जोडेर हेर्ने र राजतन्त्रको समाप्तिपछि अर्ध-सामन्ती चरित्र अन्त्य भएको प्रचण्ड ठम्याइ भने वस्तुसम्मत छैन। राजतन्त्रले पुँजीवादी चरित्रको राज्य, राजनीति र अर्थतन्त्रको पनि प्रतिनिधित्व गरेका वैदेशिक उदाहरण धेरै छन्। नेपालमा पनि आफ्नो सत्ता र पुँजीको स्वार्थ सुरक्षित हुने सर्तमा राजतन्त्रले अर्थतन्त्रको पुँजीवादीकरण गरेको तथा पुँजीवादी साम्राज्यको नेतृत्व गरिरहेको बेलायतसँग केही संघर्ष र धेरै मेलमिलाप गरेको तथ्य बिर्सन सकिँदैन। त्यही मेलमिलापको ज्वलन्त दृष्टान्त थियो, सन् १८१६ मा सुगौली सन्धि गर्दै बेलायती साम्राज्यको छत्रछायाँमा बस्ने र त्यसका विरुद्ध नजाने निर्णय। यस सन्धिले नेपालको अर्ध-औपनिवेशीकरणलाई तेज पारेको थियो। यस्तो अर्ध-औपनिवेशीकरण बेलायतले सन् १९२३ मा राणा शासकहरूसँग सन्धि गर्दै नेपालको स्वतन्त्रतालाई औपचारिकरूपमा नस्वीकारेसम्म जारी रहेको थियो र अनौपचारिकरूपमा भने अनेक रूपरंगमा २००७ सालसम्म पनि निरन्तर कायम थियो।
विडम्बनाको कुरा, २००७ सालपछि नेपाललाई नव-औपनिवेशिक सम्बन्धको जालोमा पारिएपछि पनि धेरैजसो कम्युनिस्ट नेताहरू भने नेपाल अर्ध-उपनिवेशै रहेको दाबी गर्दै बसे। अर्ध-उपनिवेशको दाबीले नयाँ जनवादी क्रान्तिको आवश्यकताबोध गर्न र अर्ध-उपनिवेश कायम गरिराखेको भनी आरोपित भारतसँग ...प्रधान अन्तर्विरोध' कायम रहेको विश्लेषण गर्न सहुलियत पनि दिएको थियो। तर, नेपाली समाजको वर्ग-विश्लेषण र अन्य साम्राज्यवादी मुलुकसँगको सम्बन्धको निरुपणविना ती दाबी, आवश्यकताबोध र विश्लेषण फोस्रा साबित भएका छन्। व्यवहार र ज्ञानका आधार यही वास्तविकता अनुभूत गरेरै प्रचण्डको दस्तावेजमा अहिलेको नेपालको अर्थ-राजनीतिक अवस्था अर्ध-उपनिवेश र अर्ध-सामन्ती नभएको विश्लेषण गरिएको हुन सक्छ, चाहे त्यो दुई-चार वाक्यमा किन नहोस्। यस्तो नवीन पस्काइलाई तथ्यका आधारमा पुष्टि गर्न तथा आफ्नो नयाँ विश्लेषणलाई समृद्ध, व्यापक र गहन पार्न पनि वर्ग-विश्लेषण नगरी धरै छैन।
नेपालमा पुँजीवादीकरण र लोकतन्त्रीकरण
वास्तवमा नेपालमा पुँजीवादीकरण कहिलेबाट सुरु भयो, तिथिमिति तोक्न गाह्रो छ। डा. चैतन्य मिश्रले साढे दुई दशक लामो समयदेखि गर्दै आएको विश्लेषण भने अध्ययनयोग्य छ। ...पुँजीवाद र नेपाल' मा डा. मिश्रले नेपाली अर्थतन्त्र अर्ध-सामन्तीकालबाट पुँजीवादतिर संक्रमण र पुनर्गठन सन् १८८५ बाट सुरु भएको तथ्य पेस गरेका छन्। उनका अनुसार, शाह र राणा शासकहरूले सन् १८८५ बाट कानुनी बन्देज हटाएर नेपाली श्रमिकलाई बेलायत नियन्त्रित भारत र अन्य देशको पुँजीवादी बजारमा लाहुरे, बहादुर, भरिया र श्रमिकका रूपमा निर्यात गरेका थिए, जसले पुँजीवादतिर संक्रमण र पुनर्गठनलाई खुला गरेको थियो। त्यस्तै, स्वदेशमा विदेशी उत्पादनको बजारका लागि ढोका खोल्ने कामसँगै सामन्ती बिर्ता प्रणालीबाट ठेकेदारी, कुतप्रथा र ज्याला प्रणालीमा लाने क्रम पनि तीव्र पारेका थिए। सन् १८९० देखि १९१० सम्ममा नेपालको दक्षिणी सिमानासम्म आइपुगेको भारतीय रेलले पनि पुँजीवादी उत्पादन, वितरण र अन्य प्रक्रियालाई सघाउ पुर्‍याएको थियो।
यिनै पुँजीवादीकरणको प्रक्रियाले गर्दा देशभित्र लोकतन्त्रीकरणको आधारभूमि सुदृढ भएको तर्क गर्दै डा. मिश्रले २०६२ सालमै लेखेका थिए, अर्ध-सामन्ती स्थितिबाट धेरै अघि बढिसकेको नेपालको अर्थ-राजनीति पुँजीवादी लोकतान्त्रिक संक्रमणको चरणमा औपचारिक किसिमले र दृढताका साथ छिर्ने संघारमा छ। सन् १९३० को दशकमा प्रचण्ड गोर्खाको स्थापनादेखि विकसित भएको लोकतन्त्रीकरणको प्रक्रियाको अग्रभागमा नेकपा माओवादीलगायत्का राजनीतिक दलहरू छन्। २०५७ सालदेखि माओवादीको राजनीतिक कार्यक्रम नयाँ जनवादी नभएर बुर्जुवा लोकतान्त्रिक प्रकृतिको बनेपछि नेपाल र विश्वको जनमत यस्तो कार्यक्रमिक परिवर्तनको स्वागत गर्दै राजतन्त्रविरोधी भएको हो।

थप वर्ग-विश्लेषणको चुनौती
नेपालको पुँजीवादीकरण र लोकतन्त्रीकरणकै क्रममा राजतन्त्रको अन्त्यपछि समाजवादी क्रान्तिको नारा दिएका प्रचण्डले नेपालको वर्ग-विश्लेषण गर्न घच्घच्याउँदै आएका डा. मिश्र, श्याम श्रेष्ठ र घनश्याम भुसालका प्रयासलाई नयाँ उचाइ दिने कोसिस गरेका छन्। उनको कोसिसलाई एमालेका नेता भुसालकै दस्तावेजको पुनरुत्पादन र माओवादीको एमालेकरणको अर्थमा होच्याउने कामले न त इतिहासमा मिश्र, श्रेष्ठ र भुसालका प्रयासलाई न्याय गर्छ, न त प्रचण्डको कोसिसको सही मूल्यांकन गर्छ। विश्लेषक झलक सुवेदीको भाषामा उनको कोसिसले वास्तवमा नेपाली कम्युनिस्ट आन्दोलनलाई थिच्दै आएको अर्धसामन्ती र अर्धउपनिवेशको सिङ र पुच्छरलाई मिल्काउन खोजेको छ। सिङ र पुच्छर मिल्काइसकेपछि नेपालको सन्दर्भमा अपरिभाषितै राखिएको ...नयाँ जनवाद' को ह्याङओभरबाट पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्न खोजेको छ।
नेपाली कम्युनिस्टहरूले श्रमिक वर्गको नेतृत्वमा गरिने पुँजीवादी लोकतान्त्रिक क्रान्ति नै नयाँ जनवादी क्रान्ति हो भन्दै माओवादी सूत्र घोक्दै आएका छन्। तर उनीहरूले आफ्नो अगुवाइमा राजतन्त्र समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गरिसक्दा पनि नयाँ जनवादी क्रान्तिका धेरै काम पूरा गरेको अनुभूत गर्न सकेका छैनन्। अतः उनीहरू फेरि पनि चीनमा जस्तै नयाँ जनवादी क्रान्ति गर्ने सपना देख्दै जनविद्रोहको कार्यनीति बनाएर बस्न रुचाए। तर प्रचण्डले भने नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै, उत्पादक शक्ति र उत्पादनको विकासको नाममा पुँजीवादीकरणको तीव्रतासँगै समाजवादी क्रान्तिको नारा दिएपछि भने नेपाली कम्युनिस्टहरू वयस्क हुने क्रममा रहेको संकेत देखिएको छ।
वयस्कता प्राप्तिका लागि जनयुद्ध र जनआन्दोलनका राजनीतिक उपलब्धि के/कस्तोखालको भयो, ती उपलब्धि कति हदसम्म नयाँ जनवादी र कति हदसम्म पुरानो जनवादी भए, ती उपलब्धिको आधारमाथि टेकेर कस्तोखालको राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गर्ने तथा त्यसका लागि कस्तोखालको क्रान्तिकारी राजनीतिक कार्यक्रम आवश्यक हुन्छ भन्ने कुराको सांगोपांगो संश्लेषण गर्नु जरुरी हुन्छ नै। प्रचण्डले पछिल्लो चरणमा चितवनदेखि हेटौंडासम्ममा अबको क्रान्ति नयाँ जनवादी होइन, समाजवादीखालको हुने उद्घोष गर्दै आएको सन्दर्भमा उनीबाट विचारकको हैसियतले थप गहन र व्यापक संश्लेषणको आस गर्नु बेमुनासिब नहोला। दुई जना उपाध्यक्षले पनि घुम्ने मेच वरपरमात्रै चक्कर लाउने कामबाट फुर्सद निकालेर विचारकको भूमिका खेल्नु जरुरी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस