गन्तव्यविनाको केन्द्रीय बैंक
२९ माघ २०६९
•
१७ मिनेट पाठ
गन्तव्यविनाको केन्द्रीय बैंक
क्युबाको राजधानी हवाना आफ्नो कब्जामा लिइसकेपछि फिडेल क्यास्ट्रोको अध्यक्षतामा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले मुलुकमा खाली भएका उच्च पद पूरा गर्ने निर्णय गर्दै थियो। मन्त्री पदको निर्णय टुंगिएपछि पालो आएछ, केन्द्रीय बैंकको गभर्नर पदमा नियुक्तिको। क्यास्ट्रोले प्रश्न गरेछन्- 'केन्द्रीय बैंकको गभर्नर पदमा कसलाई नियुक्त गर्ने?' उद्योग मन्त्रीको पदमा नियुक्त भइसकेका कमाण्डर चे ग्वेभाराले आफ्नो हात उठाएर भनेछन्- 'म गभर्नर बन्छु।' चे डाक्टरी पढ्दै थिए। क्रान्तिमा होमिनुअघि गभर्नर बन्ने उनको न्युनतम् योग्यतासम्म थिएन। तर आफूले अति मन पराएको व्यक्ति स्वयंले उक्त पद मागेपछि कसरी हुन्न भन्ने? धर्मसंकटमा परेका क्यास्ट्रोले चित्त नबुझे पनि कमाण्डर चेलाई केन्द्रीय बैंकको गभर्नर पदमा नियुक्त गरेको घोषणा गरे।




केन्द्रीय बैंकको गभर्नरमा नियुक्तिको घोषणापछि मात्र चेलाई थाहा भयो- गर्भनर पद कुनै प्रान्तको नभएर क्युबाको केन्द्रीय बैंकको थियो। क्यास्ट्रोेले 'केन्द्रीय बैंक' को गभर्नरमा नियुक्तिको चर्चा गर्दा चेले केवल गभर्नरमात्र सुनेका रहेछन्। अर्जेन्टिनाको नागरिक भएको कारण गभर्नरभन्दा आफू बढी अन्तर्राष्ट्रियवादी भएको प्रमाण हुने भएकाले तिनले आफूलाई कुनै प्रान्तको गभर्नर पदको दावेदार बनाएका थिए। गल्ती भए पनि सच्याउने निकायको अभाव भनौं वा क्यास्ट्रोेले गरेको निर्णयबारे प्रश्न गर्ने हिम्मत नभएको हुनाले चे उद्योग मन्त्री तथा केन्द्रीय बैंकको गभर्नर बन्न पुगे।
हाम्रो मुलुकमा नेपाल राष्ट्र बैंकको संगठनात्मक संरचना बनाउने कार्यको जिम्मा त्यस बखतका अर्थ सचिव हिमालयशमशेर राणालाई दिइएको थियो। बैंक स्थापना भएपछि हिमालयलाई नै गभर्नर पदमा नियुक्त गरियो। हिमालय अर्थशास्त्री हुनुुहुन्थ्यो। उहाँले अर्थ मन्त्रालयमा छोटो अवधिभित्रै कुशल प्रशासक भएको प्रमाणित गरिसक्नुभएको थियो। त्यसकारण उहाँलाई उक्त बैंकको सञ्चालक तथा नेपालको मौद्रिक नीति तर्जुमा तथा कार्यान्वयन गर्ने जिम्मा सुम्पिएको थियो। उहाँ मन्त्री परिषदको अध्यक्ष सुवर्णशमशेरका भाइ भन्ने केवल राजा महेन्द्रलाई मात्र लागेको थियो। यही कारण उहाँलाई २०१७ को काण्डपछि हटाइयो। तर आफ्नो दक्षता र योग्यताका आधारमा हिमालयले संयुक्त राष्ट्र संघमा जागिर खानुभयो। पदोन्नति हुँदै उच्च पदमा पुगेर अवकाश लिनुभयो।
हिमालयपछि पनि नेपाल राष्ट्र बैंकको गभर्नर पदमा गरिने नियुक्ति योग्यता र क्षमताका आधारमा गर्ने कार्यलाई पञ्चायती शासनकालमा पनि कायम राखियो। फलस्वरुप मुलुकको अब्बल दर्जाका प्रशासकहरू प्रद्युम्न राजभण्डारीदेखि कुलशेखर शर्मा, डा. भेषबहादुर थापा, डा. यादवप्रसाद पन्त जस्ता सुयोग्य व्यक्तिलाई यो कार्यभार सुम्पिएको थियो। थापा र पन्तले लामो समयसम्म अर्थशास्त्रीको पद सम्हाल्नुभयो। पञ्चायतको अन्तिम अवस्थामा नेपाल राष्ट्र बैंकको गभर्नर पदमा लामो अवधिसम्म त्यही कार्यरत् डिपुटी गभर्नर गणेशबहादुर थापालाई नियुक्त गरिएको थियो। प्रजातन्त्रको पुनर्स्थापनापछि पनि डिपुटी गभर्नर हरिशंकर त्रिपाठीलाई अन्तरिम सरकारका अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको प्रस्तावमा गभर्नर पदमा नियुक्ति दिइएको थियो। छोटकारीमा भन्नुपर्दा नेपाल राष्ट्र बैंकको गभर्नर पद मर्यादित तुल्याउन प्रतिकूल परिस्थितिमा पनि सरकार चुकेको थिएन। आफ्नो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूलाई मात्र त्यस पदमा नियुक्त गर्ने परम्परा १९५६ देखि १९९५ सम्म कायम गरिएको देखिन्छ।
सन् १९९५ यता भने उक्त पद पाउनका निमित्त हानथाप हुने प्रक्रियाको सुरुवात् हुन थाल्यो। धेरै हदसम्म महत्त्वाकांक्षी 'नेपाली चे ग्वेभारा' ले आफूलाई नेपाल राष्ट्र बैंकको गभर्नर पदको दावेदार सम्झन थाले। अनि पदको मर्यादा क्रमिकरुपले क्षति हुन थाल्यो। समय-समयमा उक्त पदका दावेदारहरू न्यायालयको ढोका ढकढकाउने परिस्थितिमा पुगे। अनि न्यायालयले स्थापित वा विस्थापित गर्नुपर्ने बाध्यतात्मक परिस्थिति उत्पन्न हुन थाल्यो। सन् १९६१ को क्युबा र सन् १९९५ पछि को नेपालमा फरक भएन। केन्द्रीय बैंकको गभर्नर नियुक्तिको सवालमा ग्वेभाराले गलत सुनेका कारण उक्त पद प्राप्त गरेका थिए भने हाम्रा चे ग्वेभाराहरूले राजनीतिक हस्तक्षेप र कृपाका आधारमा गभर्नर पद हात पार्न थाले।
राष्ट्र बैंकको गभर्नरका विषयमा यति लामो चर्चा गर्नाको कारण यो पदको महत्त्वका कारणले हो। धेरै अर्थमा मौद्रिक तथा वित्तीय नीति तर्जुमा तथा कार्यान्वयन गर्ने अभिभारा पाएको हुनाले राष्ट्र बैंकको गभर्नर अर्थमन्त्रीजत्तिकै प्रभावकारी एवं शक्तिशाली हुन्छन्। झन विगत १५/१६ वर्षयता त केन्द्रीय बैंकलाई स्वतन्त्र संस्था बनाएर तथा मौद्रिक वित्तीय नीतिहरूको अभिभारा सुम्पेको हुनाले मुलुकको अर्थतन्त्र सञ्चालनमा उनले महत्त्वपूर्ण भूमिका खेल्न पाउँछन्। तर, नियुक्ति प्रक्रियामा राजनीतिक तिकडमले काम गर्न थालेपछि राष्ट्र बैंकको गरिमा खस्कन थालेको छ। माछाको टाउको सड्न थालेपछि मात्र उसको जिउ सड्छ भन्ने अफ्रिकी उखान हाम्रो मुलुकमा पनि लागु हुन्छ।
नेपाल राष्ट्र बैंकको प्रमुख दायित्व भनेको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले निर्दिष्ट गरेबमोजिम मूल्यको स्थिरता र बाह्य तथा वित्तीय प्रणालीको सम्बर्द्धन गर्ने एवं उच्च तथा दिगो आर्थिक वृद्धिका लागि सहज वातावरण निर्माण गर्ने हो ( स्रोत : आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीति - नेपाल राष्ट्र बैंक) आफ्नो उद्देश्य प्राप्तितर्फ नेपाल राष्ट्र बैंक कति कटिबद्ध छ भन्ने तथ्य दशकौंदेखि नेपाली मुद्राको सटही दर भारतीय मुद्रासँग गाँसिएको तथ्यबाट नै प्रष्ट हुन्छ। विद्यमान व्यवस्थामा अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा सस्तो भयो भने नेपाली रुपियाँ पनि सस्तो हुन पुग्छ। अनि भारतीय रुपियाँ महँगियो भने नेपाली मुद्रा पनि महँगिन्छ। भारतीय मुद्राको सटही अंकलाई एक दशमलव छले गुणा गर्योय भने त्यही नेपाली मुद्राको मूल्य बन्न पुग्दछ। भारतीय अर्थतन्त्र बलियो छ। उसको अर्थतन्त्र विश्व अर्थतन्त्रसँग बलियोसँग गाँसिएको छ तर हाम्रो मुद्रा कमजोर छ। कायम गरिएको मुद्रा नीतिले हामीलाई धेरै हदसम्म हात्तीको आङ्गमाथिको कमिला बनाएको छ। दुःखको कुरा के हो भने हामी जुन दिशातर्फ हिँडे पनि हात्तीले चालेकै दिशातर्फ उन्मुख भएका हुन्छौं।
हामी भारतीय अर्थतन्त्रसँग जेलिएका छौं। हाम्रो मुलुकको ६५ प्रतिशत व्यापार भारतसँग हुन्छ। तर, व्यापार घाटा भने आर्थिक वर्ष २०१०/११ मा १४ हजार २३१ करोड रुपियाँ थियो भने गत आर्थिक वर्षमा यो रकम बढेर १५ हजार ८६८ करोड रुपियाँ पुग्न गएको देखिन्छ। निश्चय पनि व्यापार घाटा अधिक हुनमा पेट्रोलियम पदार्थको ठूलो भूमिका छ। तर यसमा हामीले अख्तियार गरेको मौद्रिक नीतिको भूमिका पनि कम छैन। भारतीय सामानहरु हाम्रो बजारमा सस्तो हुन पुगेको छ भने उनीहरुको बजारमा हाम्रा उत्पादन र पैदावारहरु महँगो छन्, जसले गर्दा हाम्रा उद्योगधन्दा बन्द हुन थालेका छन्। यस तथ्यको परिसूचक बजारमा भारतीय मुद्राको अभाव हुनु हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका नेपाली बैंकको काउण्टरदेखि सिमानामा वा शहरी क्षेत्रका कुनै पनि बैंकबाट सर्वसाधारणले भारतीय रुपियाँ सटही गर्न खोजे पाउँदैनन्। डलर लिन जति सजिलो छ, त्योभन्दा कठिन छ भारतीय रूपियाँ लिन। विडम्बना हो, सीमापारिका भारतीय बैंकहरुमा भएका एटिएमबाट भने दिनको १० हजार र महिनामा एक लाखसम्म भारतीय रुपियाँ झिक्न पाइन्छ। अन्यथा सर्वसाधारणले कालो बजारबाट भारतीय रूपियाँ खरिद गर्नुपर्ने स्पष्ट छ। यो वास्तविकताबारे नेपाल राष्ट्र बैंक भने मौन छ। मुलूकले चुकाउनुपरेको आर्थिक भार तथा जनसाधारणको कष्टप्रति ऊ अनभिज्ञ देखिन्छ।
मुलुकले खुला प्रतिस्पर्धामा आधारित बजार व्यवस्था अनुकूल अर्थ नीति अंगाल्न थालेपछि बैंकिङ्ग क्षेत्रमा थुप्रै बैंक तथा अन्य वित्तीय संस्थाले जन्म लिन थालेका छन्। नेपाल राष्ट्र बैंकले व्यापारिक बैंक तथा अन्य वित्तीय संस्थााहरु सञ्चालन गर्न स्वीकृति दिन्छ, जसको आधारमा उद्योग विभागले इजाजतपत्र दिने गर्छ। बैंक र फाइनान्स कम्पनीहरुको स्थापनाका निमित्त धेरै दरखास्त परेका कारण देखाएर नेपाल राष्ट्र बैंकले आफ्नै किसिमको लाइसेन्स राज्य खडा गरेको छ। हुनुपर्ने प्रावधान भनेको प्रक्रिया र स्थापित मापदण्ड पूरा गर्नेलाई स्वीकृति दिने हो। तर, त्यसको विपरित त्यस्ता आर्थिक संस्थामा कस-कसको संलग्नता छ भन्ने कुराले बढी प्रभाव पार्छ। फलस्वरुप न पारदर्शी र खुल्ला प्रतिस्पर्धाले प्रश्रय पाएको छ, न निर्धारित गरिएका मापदण्डले नै। यसले गर्दा वस्तुस्थितिभन्दा पर्दापछाडिका चलखेलहरूले महत्त्वपूर्ण भूमिका खेल्ने अवसर पाएको देखिन्छ। वित्तीय संस्थाको संख्या वास्तवमा नेपाल राष्ट्र बैंकको कपाल दुखाइ होइन न त मर्जर प्रक्रिया नै उसको समस्या हो। तोकिएको क्षमताअनुरुप सञ्चालन हुन नसक्ने वित्तीय संस्था आफैं डुब्छन्। त्यो बजारको नियम हो। यदि कुनै वित्तीय संस्थामा गैरकानुनी कार्य भएका छन् भने त्यो पत्ता लगाउने र कानुनी कारबाही गर्ने निकायहरू अरु नै छन्। तर, नेपाल राष्ट्र बैंक वित्तीय संस्थाको प्रहरी जस्तो भइरहेको छ। अब त हुँदाहुँदा वित्तीय संस्थाहरूको तलब भत्ता निर्धारणमा समेत राष्ट्र बैंक अग्रसर हुन थालेको छ। बैंकमा खाता खोल्न उसले दिएको नयाँ निर्देशनअनुसार बाबु बाजेको नागरिकतासमेत प्रस्तुत गर्नुपर्ने भएको छ। खाता खोलेका व्यक्तिले पुनः लामो फर्म भर्नुपर्ने प्रावधानको सुरु गरिएको छ। यसबाट प्रष्ट हुन्छ कि राष्ट्र बैंकमा काम नपाएका कर्मचारीको संख्या अत्याधिक बढ्न थालेको छ। यसको नेतृत्व उनीहरूलाई उत्पादनमूलक कार्यभार सुम्पन अक्षम छ।
बैंकको वित्तीय सेवा खाता खोल्ने ढोका थुनेर बढाउन सकिन्न। मुलुकमा भएका अनगिन्ती बचत तथा ऋण सहकारीका विषयमा नेपाल राष्ट्र बैंक अनभिज्ञ छ। उनीहरूले के/कति बैंकिङ कार्य गर्दैछन्। त्यसको सिंहावलोकन गर्ने क्षमता नभएका कारण उनीहरूसँग देशमा भएको तरलताका विषयमा ज्ञानको अभाव छ। वास्तविकताको सिंहावालोकन गर्ने हो भने नेपाल राष्ट्र बैंकले गरेका कार्यहरू धेरै हदसम्म 'काम कुरो एकातिर कुम्लो बोकी ठिमी' तिर भन्ने उक्तिसँग मिल्दोजुल्दो छ। हाम्रो विद्यमान आर्थिक परिस्थिति र नेपाल राष्ट्र बैंकले गरेका कार्यहरू दाँज्ने हो भने कुनै समय प्रतिष्ठित भएको यो संस्था क्रमशः अक्षम बन्दै गएको छ। उसको उद्देश्य के हो र कुन दिशातर्फ उन्मुख हुँदैछ भन्ने विषयमा सम्बन्धित क्षेत्र सजग भएन भने त्यसै पनि संकटग्रस्त हाम्रो अर्थतन्त्र अर्को संकटको भुमरीमा पर्ने निश्चित छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस