माओवादीका बतासे सपना
०८ भदौ २०६६
•
१२ मिनेट पाठ
माओवादीका बतासे सपना
प्रधानसेनापतिका सम्बन्धमा राष्ट्रपतिले चालेको कदमबाट नागरिक सर्वोच्चताको हनन् भयो भनी अचानक सरकारबाट हटेको माओवादी यही भदौ २५ गते प्रधान सेनापति रुक्माङगद कटवालले अवकाश लिनेगरी एक महिनाअघि नै बिदामा बसेपछि अहिले घर न घाट भएको छ। सदन र सडकबाट आन्दोलनको आँधीबेहरी सिर्जना गरेर सरकारलाई घुँडा टेकाई सत्ता कब्जा गर्ने माओवादी रणनीति पञ्चतन्त्रमा वर्णित सोम शर्माको कथाजस्तो हुन पुगेको छ। दुई चार जनाले नाराबाजी र घेराउ गरेपछि सदन बन्द हुन्छ। तर आन्दोलन गर्न जनता सडकमा उत्रनुपर्छ। अहिले बेमौसमी आन्दोलनमा जनताको चासो र उत्साह देखिएको छैन। माओवादीले आन्दोलनको नाममा २-४ जना मानिस मार्लान्, १०-२० वटा गाडी जलाउलान् तर जनताको मन जित्ने आन्दोलन हुने अवस्था छैन।
मुखले जे भने पनि माओवादी पुनः सत्तामा जान नै कसरत गरिरहेको हो। सत्ताबाट हटेपछि माओवादी नेताले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने कुरा उठाइरहेका छन्। विगतमा पनि माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बनेको थियो। अब पनि उसको वा अरू जो सुकैको नेतृत्वमा बने पनि राष्ट्रिय सरकार नै हुन्छ। एउटै दलको सरकार बन्ने अवस्था छैन।

आफ्नो शासनकालमा माओवादीले सामान्य परिवर्तनको आभाससम्म पनि दिन सकेनन्। जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएनन्। बन्द, हड्ताल, अपहरण र जबर्जस्ती चन्दा असुल्ने काम बन्द नभएपछि देशका करिब ७० प्रतिशत उद्योग बन्द वा विस्थापित भएका छन्। चर्को मूल्य वृद्धिबाट माओवादीलाई भोट दिएर सत्तामा पुर्‍याउने गरिब जनता बढी आक्रान्त भएका छन्। आफ्नो पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन नसकेर सनकको भरमा सत्ता छोड्नेलाई जनताले आन्दोलन गरेर किन पुनः सत्तामा पुर्‍याउने? यसको चित्त बुझ्दो जबाफ माओवादीले दिन सकेको छैन। संविधान लेखन र शान्ति सुरक्षा कायम गर्ने मुख्य कार्यभार पाएको यथार्थको उपेक्षा गरी आफ्नो जिद्दी पूरा नभए संविधान नै लेख्न दिन्नौ भन्ने अध्यक्ष प्रचण्डको भनाइबाट प्रजातन्त्रका प्रतिको उसको प्रतिबद्धतामा गंभीर आशंका उब्जेको छ।

समयमा संविधान नबने मुलुक अस्थिरताको चक्रव्यूहमा फस्नेछ। माओवादी पुनः मुलुकलाई ध्वस्त पार्न चाहन्छ भने आन्दोलन उचितै होला। मुलुकमा स्थिरता र शान्ति चाहने हो भने संविधान लेखनलाई प्राथमिकता दिनुको विकल्प छैन। माओवादीप्रति सहानुभूति राख्ने स्वदेशी, विदेशी कसैले पनि यस्तो बचकना कदमको समर्थन नगरेको हुँदा नै १० दिने विदेश भ्रमणपछि प्रचण्डले 'राष्ट्रिय सरकार गठन गर्न हौसिएको छु' भनेको हुनुपर्छ।

सत्तामा नौ महिना बस्दा सामाजिक, आर्थिक क्षेत्रमा सर्वसाधारण जनताले अनुभूति गर्ने कुनै काम गर्नेतर्फ माओवादी गएन। जुनसुकै माध्यमबाट पनि सम्पत्ति जम्मा गर्नमा नै माओवादीको ध्यान केन्द्रित भयो। माओवादीले आफ्नो पार्टीलाई गरिब सर्वहाराको पार्टी भने पनि व्यवहारमा त्यस्तो देखिँदैन। केन्द्रीय नेताले सयभन्दा बढी महंगा र विलासी गाडी प्रयोग गर्ने, छोराछोरी निजी क्षेत्रबाट सञ्चालित सुविधायुक्त विद्यालयमा पढाउने गरेकाछन्। निजी क्षेत्रमा खुलेका कलेज, अस्पताल र सहरी क्षेत्रको जग्गा र आवासमा लगानी गरेर एकीकृत नेकपा (माओवादी) संसारका कम्युनिष्ट पार्टीमध्ये सबभन्दा धनी बनेको छ। उत्तर कोरिया र क्युवाजस्ता परम्परागत कम्युनिष्ट पार्टीहरूसांग पनि यति सम्पत्ति छैन जति नौ महिनाको शासनमा माओवादीले जोडे। जसरी पनि संपत्ति आर्जन गरी विलासी जीवन बिताउने प्रवृत्ति बढ्यो भनेर उपाध्यक्ष मोहन वैद्यको अध्यक्षतामा छानबिन समिति बनाइएको छ। माओवादीको भनाइ र गराइमा देखिने अन्तर हेर्दा यो छानबिन होइन ढाकछोप समिति बन्नेछ। माओवादी आफ्नो भनाइमा इमान्दार हुँदो हो त १० वर्षे जनयुद्धमा गरिब जनतालाई सपना बाँडेको भूमिसुधारका सम्बन्धमा ठोस निर्णय लिने थियो। आफू सत्तामा रहुन्जेल एक जना आफ्ना कार्यकर्तालाई तलब सुविधा दिएर अध्यक्ष बनाउनु सिवाय भूमिसुधार आयोगलाई पूर्णतासम्म दिएन। भूमिसुधार नेपालका सबै राजनीतिक दलको प्रमुख नारा भएको छ। माओवादीले पनि यसलाई नारामा नै सीमित राखेको छ।

जनयुद्धको प्रारम्भदेखि नै अरू दलका नेता तथा कार्यकर्ताको जग्गा जवर्जस्ती कब्जा गरेर आफ्ना कार्यकर्तालाई बाँडेकाले पनि वैज्ञानिक भूमिसुधारमा माओवादीको चासो नभएको हुनुपर्छ। ऐन बनाएर भूमिको व्यवस्था गर्दा आफ्नै कार्यकर्ताको बन्दुक आफैतिर सोझिने डरले भूमिसुधारलाई नारामा नै राख्ने उसको रणनीति भएको देखियो। माओवादीले उपेक्षा गरेको अर्को विषय 'गरिबी निवारण कोष'को कार्यक्रम हो। करिब ८ अर्ब विश्व बैंकको अनुदान सहयोगबाट गालिएको यो कार्यक्रम प्रथम चरणमा १५ जिल्लामा लागू भएको थियो। यसलाई क्रमशः ७५ जिल्लामा पुर्‍याउने सरकार र विश्व बैंकबीच सहमति भएर ६० जिल्लामा कार्यक्रम लागु गर्न कोषका तर्फबाट कार्यक्रम तयार गरिएको थियो। त्यहीबीचमा माओवादीको नेतृत्वमा सरकार बन्यो। कोषको ऐनअनुसार एक जना उपाध्यक्षलगायत बोर्ड सदस्यहरू नियुक्त हुनुपर्छ। अघिल्लो सरकारले गठन गरेको बोर्डका उपाध्यक्षलगायत सदस्यले राजीनामा दिएपछि माओवादीले पुनः बोर्ड गठन गर्नेतर्फ चासो लिएन।

बैंकसँगको सहमतिअनुसार निश्चित मापदण्ड पूरा गरेका गैरसरकारी संघसंस्थामार्फत मात्र कार्यक्रम संचालन गर्नुपर्ने हुन्छ। गरिबका लागि संचालित र निकै लोकप्रिय यो कार्यक्रम माओवादीको प्राथमिकतामा पर्न सकेन। आफ्ना कार्यकर्तालाई मनपरी रकम बाँडफाँट गर्न नमिल्ने भएकोले पनि एक वर्षदेखि कोषको सम्पूर्ण गतिविधि शून्य राखियो।
आफ्नो शासनकालको असफलतामा माओवादीको तर्क हुन सक्छ नौ महिनाको अवधि छोटो भयो त्यसकारण ठोस काम हुन सकेन। तर विगतमा कतिपय सरकारले छोटो समयमा पनि उल्लेख्य काम गरेका थिए। एमालेको नौ महिने शासनमा वृद्ध भत्तालगायत सामाजिक सुरक्षामा अनुकरणीय काम भएको हो। वी.पी.को प्रथम जननिर्वाचित सरकारको १८ महिने पालामा पनि युगान्तकारी काम भएका थिए। नेपालको सार्वभौम सत्ता र स्वतन्त्र अस्तित्वलाई अन्तर्राष्ट्रिय जगत्बाट मान्यता दिलाउनमा बीपीको सरकारले प्राप्त गरेको सफलता नेपालीले गौरव गर्ने खालका छन्। राम्रो काम गर्न धेरै समय सत्तामा बस्नुपर्छ भन्ने होइन। छोटो समयमा पनि राम्रा काम प्रारम्भ गर्न सकिन्छ। युद्धको धङधङी, प्रतिपक्षप्रतिको असहिष्णुता र जसरी पनि धन आर्जन गर्ने नेता देखि कार्यकर्ताको मानसिकताले नै परिवर्तनको अनुभूति दिन माओवादी चुकेको हो।

नौ महिने शासनकालमा सामाजिक, आर्थिक र वैदेशिक क्षेत्रमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर हठात् आवेशमा राजिनामा दिने माओवादीले अहिले जसरी पनि सत्तामा जान आफ्नो सेना, भातृ संगठन र आफू अनुकूलका दलहरूसमेतको मोर्चा बनाएको छ। चीनमा माओले गरेजस्तै मोर्चा निर्माण गरेर कम्युनिष्ट शासन स्थापना गर्न माओवादी लागेको हुँदा संविधान लेखनको कार्य ओझेलमा परेको हो। 'नागरिक सर्वोच्चता'लाई मोर्चाको गठनको उद्देश्य बताउँदै र "प्रमुख दुस्मन"का रूपमा कांग्रेसलाई मान्दै आएको छ।

आन्दोलनलाई प्राथमिकता दिने माओवादी निर्णयले दलहरूबीचको द्वन्द्व र असमझदारीलाई अझ बढाउने छ। अहिलेको सरकारलाई देशभित्रका माओवादीइतर शक्तिहरू र नेपालमा शान्ति र स्थिरता चाहने अन्तराष्टिर््रय जगत्को समर्थन भएकाले शान्तिपूर्ण आन्दोलनका माध्यमबाट माओवादी सत्तामा आउने संभावना छैन। हिंसा र आतंकबाटै वर्तमान सरकारलाई घुँडा टेकाएर माओवादी सत्तामा जाने कुरा पनि संभव देखिँदैन।
अन्तरिम संविधानअनुसार नयाँ संविधान पारित गर्न सर्वसम्मति हुनुपर्छ। सर्वसम्मत नभए दुई तिहाइको समर्थन आवश्यक हुन्छ। संविधान सभामा दुई तिहाइ पुग्न माओवादीको समर्थन आवश्यक हुन्छ। सेना समायोजन र संविधान लेखन सँगसँगै हुनुपर्छ भन्ने माओवादीको अडानले हलो अड्काएर गोरु चुट्ने काम गरेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस