कालो कोट र कलम
१९ फागुन २०६९
•
१३ मिनेट पाठ
कालो कोट र कलम
'विग एण्ड पेन' अर्थात् 'कालो कोट र कलम' ठूला लोकतान्त्रिक देशले लोकतान्त्रिक व्यवस्था सुसञ्चालनका लागि अपरिहार्य तत्त्वका रूपमा मान्यता दिएका दुई महत्त्वपूर्ण बौध्दिक व्यवसाय हुन्। दुवै व्यवसायको मौलिक स्वरूप फरक भए पनि कानुनी राज्यको अवधारणालाई सक्रिय र जीवित राख्न यी दुवै व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छ। कानुन व्यवसायी र पत्रकारका बीच नङ र मासुको सम्बन्ध हुन्छ। कानुनचीले राज्यका सिध्दान्तहरुका आधारमा देशमा उठेका संवैधानिक र शासनका समस्यामा विषयको मीनमेख निकालेर पक्ष र विपक्षमा तर्क गर्छ, कलमचीले ती तर्कको विश्लेषण र समीक्षा गर्छ। जनमत तयार हुने वातावरण निर्माणको पहिलो कडी यही नै हो। पत्रकारितालाई व्यवसायका रूपमा अपनाएको पहिलो चरणमा नै गणेशराज शर्मा, कुसुम श्रेष्ठ, मोतीकाजी स्थापित र मुकुन्द अर्याल जस्ता नेपालका सुप्रसिद्ध कानुन व्यवसायी तथा संविधानविद्हरुको संगत पाएको यो स्तम्भकारलाई यसमा कुनै द्विविधा छैन। यो एउटा परम्परा हो, जसलाई लोकतान्त्रिक व्यवहारमा भन्दा लोकतन्त्रको नारामा रमाउने हामी र हामीजस्ता 'विकासशील लोकतन्त्र' हरुले धेरथोर धान्ने प्रयत्न गरेका छन्। लोकतन्त्र आजसम्म हाम्रा लागि यथार्थ बन्न सकेको छैन। तैपनि यसका भावनात्मक प्रभाव समृद्ध देशहरुमा मात्र सीमित नरहेर विश्वव्यापीरूपमै विस्तारित छन्। कानुनी राज्यको अवधारणा हाम्रो सर्वप्रिय नारा हो, जुन अहिलेसम्म पनि अवधारणामा नै सीमित छ। यो कर्णप्रिय नाराको व्यावहारिक रूपान्तरणमा भने हाम्रो विश्वास मजवुत भएको छैन।
तीन दशकअघिसम्म नेपालमा कालो कोट जति शक्तिशाली थियो, त्यति नै कमजोर थियो कलम। प्रजातान्त्रिक आन्दोलनका नेताहरुलाई राजतन्त्र र प्रचलित व्यवस्थाका विरुद्ध छड्के हानेर अभिव्यक्ति दिएकादेखि राज्य विप्लव गराउने प्रयत्न गरेको अभियोगमा राज्यले दिएको सजायका विरुद्ध त्यतिबेलाका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा गरेको बहस देशभर अनुगुञ्जित हुन्थ्यो। कानुनका शब्द शब्दलाई केस्रा केस्रामा केलाएर उहाँहरु निरंकुश राज्यलाई नंग्याउनु हुन्थ्यो। कालो कोट आज पनि त्यत्तिकै शक्तिशाली छ र त्यत्तिकै चम्किएको छ। यो खुम्चिएको पनि छैन। कलमको शक्ति अपेक्षाकृत बढेको छैन र पनि यो त्यति निरीह पनि छैन। र पनि सामाजिक रुपान्तरणको प्रक्रियामा कालो कोट र कलमको त्यो शक्ति त्यति संगतिपूर्ण र प्रभावशालीरूपमा प्रयोग हुन सकेको छैन भन्न लाज मान्नुपर्दैन। प्रवृत्ति बदलिएका छन्। कानुनचीहरु समाजका आवश्यकता र जनताका चाहनासँग निरपेक्ष रहेर आफ्नो सुविधाजनक कार्यालयमा रमाउन थालेका छन् भने कलमचीहरु राजनीतिको आत्मकेन्द्रित वृत्तबाट आउने सूचनामा नै अल्झिएका छन्। जनता अन्योलमा परेका बेला निष्पक्ष र कठोर तर्कहरुका आधारमा दूधको दूध पानीको पानी छुट्याउने दायित्व पाएका काला कोटहरुमा टाँस्सिएका विभिन्न पार्टीका रंगीन झण्डाका प्रतिकृति र कलमबाट बगिरहेका विभिन्न रंगका मसीले यो देशको कथा आफैं कहिरहेका छन्।
दलहरु आफ्नै अकर्मण्य, असहिष्णु र अविवेकी चरित्रका कारण पहिलो निर्वाचित संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्र नेपालका लागि संविधान लेख्न असफल भएपछिको हाहाकारका बीचमा भट्टराई सरकारको चुनावी प्रस्ताव तुहियो। दलहरुले समय छँदैन चुनावका लागि सहमति गर्न सके, न सहमतिका आधारमा चुनावी सरकार निर्माण नै। संविधान सभाको अवसानपछि जनताले ताजा चुनाव माग गर्दा परिवर्तित समयको संकेत नबुझेका दलका नेताहरु संविधान सभा पुनर्स्थापनाको प्रस्तावमा अल्झिएका थिए। त्यतिखेर, कानुनची र कलमचीहरु पुनर्स्थापना र चुनावका बीच ध्रुवीकृत भएर सडक-बजारमा आ-आफ्नो तर्कको बिस्कुन सुकाउँदै थिए। दलहरु वाद-प्रतिवादमा अल्झिएर समय खेर फालिरहेको अवस्थामा सम्माननीय राष्ट्रपतिले दलका नेताहरुको नाममा पूर्जी काटेर घच्घच्याउन थाल्नुभएपछि उहाँको कदम अति-आलोचित भयो। ठूला कानुनची र कलमचीहरुले राष्ट्रपतिमाथि अलोकतान्त्रिक हस्तक्षेप गर्न खोजेको आरोप लगाए। दलका नेतामध्ये माओवादीले राष्ट्रपतिले काट्नुभएको पूर्जीलाई कागजको खोष्टोमा परिणत गर्न भरमग्दुर प्रयत्न गर्यो भने कांग्रेसले आफ्ना सभापतिलाई राष्ट्रपतिले नै प्रधानमन्त्री तोकिदिनुपर्ने आशय प्रकट गर्यो।
ती दुवै ठूला दलका प्रयत्न र आशयका विकल्पमा प्रधान न्यायाधीशलाई निर्वाचन गराउने सरकारको दायित्व दिने प्रस्ताव आएपछि बल्लतल्ल दलहरुको घैंटोमा घाम लाग्यो। यस्तो प्रस्ताव एकाएक कहाँबाट आयो? यसमा पनि अनेकन तर्क-वितर्क भए। दलीय सहमतिमा सरकार गठन हुने सम्भावना नरहेको र चुनावका सबै विकल्प परास्त भएको निर्क्योलमा पुगेका जनताले यी तर्क-वितर्कमा कुनै रुचि राखेनन्। प्रधान न्यायाधीश नेतृत्वको सरकारले गराउने चुनाव निष्पक्ष हुनेमा जनताले विश्वास गरे।
प्रधान न्यायाधीशले चुनाव गराउने सरकारको नेतृत्व लिने हलुका आशय व्यक्त गरेपछि कानुनचीहरु त्यसको विरोधमा खनिएका छन्। कार्यपालिका र न्यायपालिकाबीच शक्ति पृथकीकरणका ठूल-ठूला सिध्दान्तको व्याख्या सुरु भएका छन्। जुन घरको दलिन भाँच्चिएको छ र बुर्जाहरु भत्किइसकेका छन्, त्यो घरको कुनै पनि कोठा र बुइगल सावुत रहँदैनन्। यो सामान्य सत्य हो। थिति नबसेको, नियम कानुन मिचिएको, सरकार नै शून्य अवस्थामा पुगेको देशमा कुन न्यायपालिकाको संरक्षणका लागि कानुनचीहरु बहस र विवादमा छन्? सम्पूर्ण शासन पद्धतिको अनुपस्थितिमा के न्यायपालिका एक्लैले देश सञ्चालन हुन सक्छ? सर्वोच्च अदालतमा धेरै न्यायाधीशको कुर्सी खाली छ। के सर्वोच्च अदालत एक्लैले ती कुर्सीमा न्यायाधीशहरुलाई विराजमान गराउन सक्ने हैसियत राख्छ? कि देशका कहलिएका कानुनचीहरु आफैँ गएर ती कुर्सीमा विराजमान हुने हो? प्रश्न अनन्त छन्। तर यी सबैको विवेकपूर्ण जवाफ खोज्ने प्रयत्न कतैबाट भएको छैन। यो विसंगत अवस्थामा कानुनचीहरु प्राविधिकरूपले नै पंगु सावित भइसकेको अन्तरिम संविधानको पुच्छर समातेर कानुनी शासनको ज्ञान-गंगामा हेलिन जनतालाई प्रेरित गर्न चाहन्छन् भने कुरा बेग्लै हो। होइन भने एक जना पनि कानुनचीले प्रधान न्यायाधीशको नेतृत्वको विकल्पमा अर्को विकल्प प्रस्तुत गर्न सकेका छैनन्। हो, दलहरुको सहमतिमा सर्वदलीय चुनावी सरकारको गठन एउटा मजवुत विकल्प थियो। त्योभन्दा मजवुत विकल्प भट्टराई सरकारलाई नै चुनाव गराउन दिनु थियो। ती दुवै विकल्प विफल भएर दलहरुले हात गोडा छाडिसकेको अवस्थामा प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउनेबाहेकका अन्य विकल्प के त?
तर्कका लागि तर्क गर्नु कुनै पनि व्यवसायीका लागि ग्राह्य होइन। अझ बौद्धिक व्यवसायमा लागेका विद्वान् व्यक्तिहरुका लागि त यो कुनै पनि अवस्थामा ग्राह्य हुनै सक्दैन। देश अनिष्ट, अस्थिर र असुरक्षित अवस्थामा रहेका बेला पत्रपत्रिकामा तस्बिर छपाउनकै लागि तर्कका नाममा कुतर्कहरुको खेती गर्नु पेशागत मर्यादाबाहिरको कुरा हो। संकटका बेला संकटमोचन नै एकमात्र प्राथमिकता हुनुपर्छ। अहिले त हाम्रा काला कोट लगाएका र कलम बोकेका बौद्धिक समुदाय आगो लागिरहेको घरमा बसेर कुन पोखरीको पानीले आगो निभाउनुहुन्छ र कुन पोखरीको पानीले हुँदैन भन्ने हास्यास्पद तर्कमा अल्झिइरहेका देखिन्छन्।
संविधान र कानुनका ज्ञाताहरुले यतिखेर चुनावी सरकार गठनमा आइपरेका बाधा र व्यवधानहरुलाई कसरी हटाउन सकिन्छ? स्वच्छ र निष्पक्ष चुनाव गराउन कस्तो व्यवस्था हुनुपर्छ? प्राकृतिक विग्रहका कारण जेठमा चुनाव हुनै नसक्ने परिस्थिति आयो भने जेठदेखि चुनाव हुने नयाँ तिथिसम्मको अवस्थालाई कसरी नियन्त्रणमा राख्न सकिन्छ? जस्ता महत्त्वपूर्ण विषयमा आफनो राय दिनुपर्ने हो। त्योभन्दा पनि महत्त्वपूर्ण विषय नाम र नारामा मात्रै सीमित 'लोकतान्त्रिक गणतन्त्र' को संस्थागत संरचनाहरुको विकास कसरी गर्ने हो? यसबारे जनताका बीचमा नयाँ विचार प्रक्षेपण गर्नु हो। यी शाश्वत र सर्वमान्य हुने विषयमा कसैलाई पनि रुचि छैन। सुगाले सीता-राम रटे जस्तो खुद्रा तर्क रटेर पोखरीको संगलिन लागेको पानी धमिल्याउनुको कुनै अर्थ छैन।
कालो कोट र कलमको समन्वयमा लोकतान्त्रिक गणतन्त्रलाई मजवुत बनाएर जनताको हातमा आएको सार्वभौम शक्तिको सर्वाधिक प्रयोगका लागि मौलिक विचारहरुको निर्माण आजको सबभन्दा ठूलो आवश्यकता हो। यसका लागि कानुनची र कलमचीहरुले दिमाग खियाउन थाल्ने हो भने भविष्यमा देश राजनीतिक भ्रमहरुमा अल्झनुपर्दैन। परिपक्व तर्क र सन्तुलित विचारबाट मात्र देशले फाइदा पाउन सक्छ। दलीय वा व्यक्तिगत फाइदाका लागि मात्र व्यवसायीहरुले आफ्नो शक्ति दुरुपयोग गर्नु देशका लागि दुर्भाग्य सावित हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस