संवैधानिक निकाय : अनिर्णयको बन्दी कहिलेसम्म ?
०५ पौष २०७७
•
६ मिनेट पाठ
संवैधानिक निकाय : अनिर्णयको बन्दी कहिलेसम्म ?
अहिले सम्पूर्ण देशको राजनीति ओली र प्रचण्डबीचको झगडामा घुमिरहेको छ । समाचारका सबै स्रोत तथा माध्यमले यी दुईबीचको झगडालाई मसला हालेरसमेत प्रस्तुत गर्ने हुँदा देशमा योबाहेक अन्य कुनै विषय नै नभएको जस्तो देखिन्छ जबकि अहिले संसारलगायत नेपाललाई समेत कोभिड–१९ ले आक्रान्त पारेको छ । विकसित देशले तथा हाम्रो छिमेकी देश चीनले आफ्ना नागरिकलाई त्यसविरुद्धको खोप दिन सुरु गरिसके तर हामीकहाँ कहिले आउने हो त्यसको कुनै टुंगो छैन । भारतीय प्रधानमन्त्री मोदी आफैँ खोप निर्माण गर्ने प्रयोगशालामा गएर त्यसको कार्यकारी अधिकृतसँग परामर्श गरिरहेका र त्यसलाई जनतासमक्ष ल्याउन दबाब दिइरहेका दृश्य टेलिभिजनको पर्दामा हेर्न पाइन्छ । तर नेपालमा भने ओलीको त कुरा छाडौँ, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले समेत खोप कहिले नेपालमा आइपुग्छ भनेर जनतालाई आश्वस्त पार्ने काम गरेका देखिँदैन ।




अहिलेको अध्यादेशलाई लोकतान्त्रिक मूल्य/मान्यताअनुरूप नभएको भनी धेरैले टिप्पणी र विरोध गर्ने गरेका छन् तर लोकतान्त्रिक आचरण गर्ने जिम्मेवारी केवल प्रधानमन्त्रीको मात्र हुन्छ ?  
सुनिन्छ त केवल छिटफुटरूपमा स्वास्थ्य मन्त्रालयका कनिष्ठ कर्मचारीहरूले भारतको खोप निर्मातासँग संवाद अगाडि बढाइरहेका छन् त्यो पनि सो कम्पनीले नेपाललगायत यसका छिमेकी देशहरूलाई पनि प्राथमिकताका आधारमा खोप उपलब्ध गराइने कुरा सार्वजनिक गरेकाले । आफ्नो घरमा आगो लाग्दा पनि त्यसलाई निभाउन पहल नगर्ने शासकहरू भएको देशमा अन्य कुराको अपेक्षा गर्न त त्यति स्वाभाविक देखिँदैन तर अहिले प्रधानमन्त्रीले जुन अध्यादेश बाहिर ल्याएका छन् त्यसविरुद्ध रिटसमेत दर्ता भइसकेको, सत्तारुढ दलभित्र रहेको स्थायी प्रतिपक्ष तथा मुख्य प्रतिपक्षले समेत विरोध जनाइसकेको अवस्थामा के फेरि ओली र राष्ट्रपतिले त्यस्तो अध्यादेश ल्याएर महाभियोगसम्म लाग्नेखालको गल्ती गरेकै हुन् भन्ने कुरालाई ध्यानमा राखेर यो आलेख तयार पारिएको छ ।  

नेपालको संविधानले ९ वटा संवैधानिक आयोगको व्यवस्था गरेको छ । खासगरी दलित आयोग, महिला आयोग, मुस्लिम आयोग, मधेसी आयोग, थारू आयोग, जनजाति आयोग तथा समावेशी आयोगहरू स्थापना खासगरी सामाजिक बहिष्करणमा हजारौँ वर्षदेखि परेका समुदायको समस्यालाई मानव अधिकार तथा राजनीतिक हिसावले संबोधन गर्नका लागि परिकल्पना गरिएको हो । २०६३ सालमा माओवादीले १० वर्षे सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रियालाई आत्मसात गर्दै मूलधारको संसदीय राजनीतिमा आउँदा समावेशीको मुद्दालाई प्रमुखरूपमा सम्बोधन गरिने भनेपछि आएको हो । महिला आयोग र दलित आयोग २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चरम उत्कर्षमा पुगेको माओवादी विद्रोहलाई सम्बोधन गर्न ल्याएका हुन् । बाँकी अन्य आयोग २०७२ को संविधानमा उल्लेख गरेर व्यवस्था गरिएको हो । यहाँ उल्लेख गरिएका सबै आयोग या पूर्णरूपमा रिक्त छन् या त अध्यक्ष मात्रै नियुक्त गरेर त्यसलाई अपुरो छाडिएको छ । त्यसरी अपुरो छाड्दा कसैले पनि राम्रोसग काम गर्न पाइरहेका छैनन् ।

संविधानकै कुरा गर्दा यी गठन भएका आयोगको औचित्य हरेक १० वर्षमा पुनरवलोकन गरिने र त्यसका आधारमा यसलाई निरन्तरता दिने/नदिने कुरा निक्र्योल गरिनेसमेत भनेको छ तर संविधान जारी भएको ५ वर्ष पूरा भएको छ, अहिलेसम्म ती आयोग गठन नहुँदा वा अपुरो हुँदा यो खाली भएको ५ वर्षे अवधिलाई गणना गर्ने कि नगर्ने भन्ने एउटा ठूलो संवैधानिक प्रश्न खडा हुने नै छ ।  

अहिले न सामाजिक सञ्जालमा न त आमरूपमा ओली र उनको शासकीय शैलीको समर्थन गर्ने मान्छे भेट्टाउन गाह्रै पर्छ । अहिले उनले जारी गरेका संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको समर्थन गर्ने व्यक्ति तथा समूह कमै होला र पनि यसलाई संवैधानिक भूमिकाबारे चर्चा गरेपछि आफ्नो धारणा र तर्क दिनुपर्ने हुन आउँंछ । खासगरी मेरा लागि सबैभन्दा महत्वपूर्ण निकाय भनेको राष्ट्रिय दलित आयोग हो किनभने नेपाली दलित आन्दोलनको एउटा सर्वोच्च उपलब्धिमध्ये एक हामीले मानेका छौँ । त्यसमा व्यक्ति जोसुकै पुगे पनि त्यसले गर्ने काम हाम्रा लागि महत्वपूर्ण छ ।  

रुकुममा गत साउनमा नवराज बिक र उनका अन्य ५ जना साथीको प्रेमविवाह गर्ने क्रममा नरसंहार भयो । यो घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान तान्यो । धेरै वादविवाद र आन्दोलनपछि संसदीय छानबिनसमेत भयो तर दलित आयोगमा पदाधिकारी भएका भए घटना भएको भोलिपल्टै उसले छानबिन गथ्र्यो र न्यायका लागि पहल गर्न ऊ बाध्य हुन्थ्यो । उसको प्रतिवेदनलाई नकार्ने हिम्मत पनि कसैले गर्दैनथे । पदाधिकारीविहीन भएको आयोगका कर्मचारीले त्यत्रो घटनाको छानबिन गरी प्रतिवेदन तयार गर्नु त कता हो कता, सामान्य त्यहाँका सिडिओबाट जानकारी लिएर बस्यो । कोभिड महामारी सुरु भएपछि मात्र हालसम्म २६ जनाको हत्या भएको छ । त्यसमध्ये २२ जना प्रदेश २ का छन् । चाहे त्यो विजयरामको हिरासतमा भएको हत्या होस् वा राजु सदाको उपचार नपाएर भएको मृत्यु होस्, चाहे त्यो बलात्कारपछि हत्या गरिएकी अंगिरा पासी हुन् । यस्ता जघन्य अपराधको उचित छानबिन गरी दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउन आयोगको भूमिका अग्रणी हुन्थ्यो तर यी सबै कुरामा अहिले आयोग टुलुटुलु हेर्नेबाहेक अन्य काम भएको छैन ।  

अहिले मधेसी आयोग र मुस्लिम आयोगमा अध्यक्ष मात्रै र समावेशी आयोगमा सदस्य मात्रै छन् । उनीहरूको कुरा सुन्दा तथा काम हेर्दा विरक्त लाग्ने अवस्था छ किनभने धेरैजसो काम एक जनाको निर्णयबाट मात्र हुन सक्दैन तर त्यसका लागि पदाधिकारी चाहिन्छ जुन संवैधानिक परिषद्ले उपलब्ध गराउन सकेको छैन ।

ओलीलाई समावेशी, धर्म निरपेक्षता तथा संघीयता विरोधी नेताका रूपमा चित्रित गरिन्छ र मैले पनि त्यही बुझ्थेँ तर केही साताअगाडि उनी निकट एक जना दलित नेतालाई आफ्नो गुनासाको पोको खोलेको थिएँ । उनका केही भनाइ र तर्क सुनेपछि सबै कुरामा ओलीलाई मात्रै जिम्मेवार ठम्याउनु न्यायसंगत नहुने लाग्यो । अहिले संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष, अन्य सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष रहने व्यवस्था छ । प्रतिपक्षी दलका नेताको त्यहाँ उपस्थिति गराउनुको मतलव उनलाई त्यसमा भाग दिनु भन्ने होइन, उनले सरकार वा प्रधानमन्त्रीबाट प्रस्तावित उम्मेदवारहरू योग्य छन् कि छैनन्, प्रक्रियागत ढंगबाट आएका छन् कि छैनन् भन्ने हेर्ने हो । तर सुन्नमा आएअनुसार उनले त्यसमा केही कोटा मात्रै नभई ठूलै भाग खोज्ने गरेका छन्, त्यसले पनि अप्ठ्यारो पारेको बताए ।  

प्रतिनिधिसभाका सभामुख भन्दा एउटै पार्टीको भए पनि उनी प्रचण्ड खेमाको भएका र प्रचण्डले लिने भाग उनीमार्फत त्यहाँ प्रस्तुत हुने मात्र नभई उनले पनि ठूलै भाग खोज्ने गरेका छन् । उपसभामुखको पद रिक्त रहेको हुँदा त्यसको कुरै भएन । अब बाँकी प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष तथा स्वंय प्रधानमन्त्री भए । उनीहरूका पनि आआफ्ना भाग तथा राजनीतिक स्वार्थ हुने नै भए । यसो गर्दा सबैको मोलमोलाइमा पर्दा प्रधानमन्त्रीले भाग पुर्‍याउन नसक्ने अवस्था भई निर्णय नै हुन नसक्ने अवस्था भएको हुँदा संवैधानिक परिषद्को बैठक नबसेको हो । यसमा बाहिर आए जस्तो ओली मात्र दोषी नभई त्यसका सबै सदस्य प्रतिपक्षी जस्तो हुँदा समस्या परेको हो भनेका थिए ।  

अहिलेको हाम्रो संसदीय तथा संवैधानिक व्यवस्थाअनुसार कार्यकारी प्रधानमन्त्री हो र यस्ता संवैधानिक परिषद्मा सिफारिस गर्ने पहिलो अधिकार उनकै हो । अन्य सदस्यको भूमिका भनेको योग्यतम तथा विधिसंगत तरिकाले आएका छन् कि छैनन् भनी हेर्ने हो ।  

अहिलेको अध्यादेशलाई लोकतान्त्रिक मूल्य÷मान्यताअनुरूप नभएको भनी धेरैले टिप्पणी र विरोध गर्ने गरेका छन् तर लोकतान्त्रिक आचरण गर्ने जिम्मेवारी केवल प्रधानमन्त्रीको मात्र हुन्छ ? अन्यको आचरणलाई सम्मान गर्ने हो भने संभवतः यो सरकारको पालामा कुनै पनि संवैधानिक निकायले पदाधिकारी प्राप्त गर्ने संभावना छैन । यस्तो अवस्थामा लोकतान्त्रिक आचरण र व्यवहारका नाउँमा ती निकायलाई अनिर्णयको बन्दी मात्र बनाइरहने कि निकास पनि दिने ? ताकि ती निकायले आफ्नो घोषित संवैधानिक दायित्व पनि पूरा गरुन् ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस