कांग्रेसले नबुझेको सत्य
०१ वैशाख २०७०
•
१६ मिनेट पाठ
कांग्रेसले नबुझेको सत्य
गत साता (९ अप्रिल) बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थेचर, जसलाई आइरन लेडी पनि भनिन्थ्यो, ८७ वर्षको उमेरमा देहावसान भयो।
सोही दिन हाम्रो मुलुकको त्रिवेणी धाममा हर्षोल्लाषका साथ नेपाली कांग्रेसले विधानअनुसार प्रत्येक वर्ष गर्नुपर्ने महासमितिको बैठक चार वर्षपछि आयोजना गर्योल। बेलायत तथा समस्त विश्वका मुलुक, जसले थेचर इकोनमिक्स परिमार्जित गरेर अपनाएका छन्, तिनले शोक मनाए। बीपी भौतिकवादी हुनुहुन्थ्यो। विडम्बना नै हो, उहाँको विचारको सान्दर्भिकता खोज्न लागिपरेको पार्टीको बैठक तीर्थ धाममा भजन कीर्तनबाट सुरु भयो। तर पनि नेपाली कांग्रेसका नेताहरु पार्टीलाई दोस्रो संविधान सभाको चुनावमा विजयी तुल्याउने कोसिसमा जुटे।


नेपाली कांग्रेस पार्टीका धेरै नेतालाई पत्तो पनि भएन कि जुन स्थलमा उनीहरु भव्यताका साथ महासमितिको बैठक सञ्चालन गर्दै थिए, त्यो चितवन राष्ट्रिय निकुञ्जको अतिक्रमित जग्गा थियो। अर्को घटना भनेको उक्त बैठक तयारीमा लागेका तीन कार्यकर्ता करेन्ट लागेर घाइते भए। तीमध्ये एकको घटनास्थलमै मृत्यु भयो। त्यस्तै महासमिति बैठकमा सहभागी भएर घर फर्कंदै गरेका जनकपुरका केही नेता र कार्यकर्ताको जीप दुर्घटनामा मृत्यु भयो। आजको वास्तविकता भनेको कांग्रेस पार्टीको नेतृत्व त्यस पुस्तामा गएको छ, जसलाई वैध र अवैधबीच फरक हुँदैन। ऊ आफ्ना निमित्त यति ब्यस्त छ कि उसलाई कार्यकर्ताहरु दुर्घटनामा परेर मर्दा पनि खासै चासो हुँदैन। तिनलाई मुलुक कुन दिशातर्फ उन्मुख भइरहेको छ अथवा कस्तो गुमराहको अवस्थामा छ, त्यस विषयमा पनि सरोकार हुँदैन। यिनलाई त केबल पद र पदसँग आउने स्रोत र साधनकै विषयमा चिन्ता छ। जसले गर्दा देश दुर्घटनातर्फ उन्मुख होस् वा नहोस्, त्यसप्रति पनि ऊ संवेदनशील हुँदैन। बीपीको सान्दर्भिकताका विषयमा चिन्तन हराएको भनेर कपाल दुखाउने नेतागण गोजीमा हिङको टालो बोकेर स्वर्ण अक्षरले लेखिएको पार्टी इतिहासकै चर्चामा मस्त छन्।
जुन बेला (१९७९) थेचरको उदय भएको थियो, त्यसअघि बेलायतको अर्थतन्त्र समाजवादतर्फ उन्मुख हुँदाका पीडाहरुले गर्दा तहसनहस भएको थियो। उच्च बेरोजगारी तथा आकासिँदै गरेको मुद्रास्फीति र बजेटले धान्न नसक्ने व्यापार घाटा तथा औद्योगिक मजदुर आन्दोलनहरुको चपेटामा परेको अर्थतन्त्रको उकासिने सबै सम्भावना हराउँदै गएका थिए। तर लेडी थेचरले अनुशासन कायम गर्दै अपनाएका खुला प्रतिस्पर्धात्मक बजार प्रणाली तथा निजीकरणका नीतिहरुले तहसनहस भएको कन्जरभेटिभ पार्टीलाई सबल हुनमात्र होइन, मुलुकको रुग्ण अर्थतन्त्रको पनि काँचुली फेरेर विश्व अर्थतन्त्रको एउटा सफल सहयात्री बनायो। उनलाई ब्रिटिस जनताले ११ वर्षसम्म एकछत्र शासनभार सम्हाल्ने अवसर दिए। तिनले अपनाएको आर्थिक नीति, व्यक्तिगत स्वतन्त्रताको रक्षा तथा सामाजिक अनुशासनलाई अनुकरण नगर्ने विश्वमा कमै विकसित एवं विकाशशील राष्ट्रहरु भए। उनी परिवर्तनको पक्षधर थिइन्। त्यसका निमित्त सुशासनलाई तिनले अचुक हतियारका रूपमा प्रयोग गरिन्। जसले गर्दा समस्त मुलुक अद्वितीय उन्नतिपथमा अग्रसर हुन पायो।
नेपाली कांग्रेसको जन्म भारतमा भएको थियो। निर्वासित जीवन बिताइराखेका वनारस, कलकत्ता, पटना आदि स्थानका नेपाली मूलका बासिन्दा र विद्यार्थीलाई समावेश गरेर बीपीले पाटीको संगठन गर्नुभयो । नेपाली रैथानेहरुको यस पार्टीमा सुरु प्रवेश गणेशमान सिंहबाट भएको थियो भने पछि गएर सुवर्णशमशेर, महावीरशमशेर, सूर्यप्रसाद उपाध्याय आदिको प्रवेश भएको हो। त्यसैगरी क्रान्तिका निमित्त गठन गरिएको मुक्ति सेनामा पनि वर्चश्व त भारतमा नै रहेका नेपाली मूलका नागरिकको थियो। यति हुँदाहुँदै पनि क्रान्तिको सुरुवात्सँगै यस पार्टीमा मुलुकभित्रका प्रबुद्ध नागरिकको संलग्नता बढ्न थाल्यो। जनसमर्थनको लहर नै चल्यो। त्यसो हुनाको प्रमुख कारण जनताले राणा शासनबाट मुक्ति चाहेका थिए। त्यो मुक्तिको बाहक कांग्रेस थियो। प्रजातन्त्र आएको खण्डमा सबैको उन्नति हुन्छ भन्ने जनविश्वास थियो, अनि कांग्रेस प्रजातन्त्रको पर्यायवाची शब्द नै बनेको थियो।
बीपी र सुवर्णशमशेरको नेतृत्वमा भएको पार्टी परिवर्तनको बाहक थियो। जातभात तथा छुवाछुतको यो पार्टी विरोधी थियो। मुलुक समावेशी हुनुपर्छ, महिलाको अधिकार सुनिश्चित हुनुपर्छ, जसले जमिन जोत्छ, त्यस जमिनको स्वामित्व उसैको हुनुपर्छ, मुलुकमा सबै शिक्षित हुनुपर्छ, स्वास्थ्य सेवाको पहुँच सबैको हुनुपर्छ, कुलो र सडकहरु निर्माण हुनुपर्छ जस्ता कुरा कांग्रेस गर्थ्यो। धेरै अर्थमा कांग्रेस भन्नाले परिवर्तनको सम्बाहक भन्ने बुझिन्थ्यो। त्यही कारण जो कोही पनि मुलुकमा परिवर्तनको पक्षधर थिए, ती सबै कि पूरै कांग्रेस हुन्थे, होइन भने समर्थक। कांग्रेस पार्टी सबैभन्दा ठूलो हुनाको प्रमुख कारण त्यही थियो।
त्यतिबेला पनि कम्युनिष्ट थिए। उनीहरुले नेपाली कांग्रेसविरुद्ध सबै हतकण्डा चलाएका थिए। अर्कोतर्फ राणा शासनका समर्थक पनि थिए। तिनलाई मुलुकभरका शोषक सामन्तहरुको समर्थन थियो। दक्षिणपन्थी तथा वामपन्थीबीचको पार्टी कांग्रेसमात्र थियो। जनता, जो परिवर्तनको पक्षधर थिए, ती सबै कांग्रेस समर्थक थिए। राजा त्रिभुवनको समयदेखि नै दरवारले कांग्रेसलाई कमजोर बनाउन भरमग्दुर कोसिस गरेको हो। राजा महेन्द्रले त कांग्रेसले चुनाव जित्दैन भन्ने पूरा विश्वास भएपछि मात्र २०१७ सालमा आमचुनाव हुन दिन तयार भएका थिए। कांग्रेस पार्टी निर्वाचनमा दुई तिहाई बहुमतले विजयी भयो। राजा तथा तिनका समर्थकहरु कांग्रेसको मन्त्री मण्डल गठन भएको दिनदेखि नै कसरी यसलाई कमजोर बनाउने भन्नेमा लागिपरेका थिए। अन्ततोगत्वा १८ महिनामा नै राजाले शासन आफ्नो हातमा लिए। शासन लिँदा पनि उपप्रधानमन्त्री एवं पार्टी नेता सुवर्णशमशेर बीपीलाई छाडेर आफूतर्फ लाग्छन् भन्ने आशा थियो, राजाको। त्यसकारण कु गरेको चार दिनसम्म तिनले प्रधानमन्त्री बनाउन कलकत्तामा भएका सुवर्णशमशेरलाई कुरे। सुवर्ण प्रधानमन्त्री हुनुको साटो हतियार उठाएर राजाको विरोधमा क्रान्ति गर्न तत्पर भए।
कांग्रेस पार्टीको इतिहासमा गुट/उपगुट पनि थुप्रै बनेका हुन्। तर यस पार्टीभित्रका प्रमुख नेताहरु बीपी, सुवर्णशमशेर, गणेशमान तथा सूर्यप्रसादबीच मतमतान्तर जति भए पनि उनीहरुले पार्टी एकता खल्बलिन दिएनन्। तीमध्ये कसैले पनि एउटालाई विश्वासघात गरेनन्। २०१२ सालमा पार्टीको अध्यक्ष पदका निमित्त चुनाव हुँदा बीपीले सुवर्णलाई जिताउने रणनीति अख्तियार गरे। उहाँलाई विश्वास थियो कि राजाले सुवर्णसँग सहकार्य गर्न सक्छन्। तर आफूभन्दा पनि कट्टर साथीलाई पार्टी अध्यक्ष बनाउँदा पार्टीलाई घाटा पर्ने उहाँको बुझाइ थियो। गणेशमानका निमित्त सुवर्ण त राणा नै हुनुहुन्थ्यो। बीपीले आफ्ना मानिसलाई सुवर्णलाई जिताउन लगाउनुभयो। तर गणेशमानजीले पनि धेरै मतले हार्नुहँुदैन भन्ने नीति लिनुभयो, उहा"ले। उहाँमा दुवैप्रति उत्तिकै सम्मान थियो। केबल कसको राष्ट्रलाई र पार्टीलाई त्यति बेला बढी उपयोगिता छ भन्ने विषयलाई उहाँले महत्व दिनुभएको थियो।
गणेशमानले राजालाई किसुनजीको नाम प्रधानमन्त्रीमा सिफारिस गर्दा मुलुकलाई कसको बढी आवश्यकता छ भन्ने कुरालाई मात्रै महŒव दिनुभयो। उहाँलाई प्रधानमन्त्रीको पदभन्दा बढी मुलुक र पार्टी प्यारो थियो। उहाँलाई आफू प्रधानमन्त्री बन्नुभन्दा किसुनजीलाई सिफारिस गर्दा पार्टी र मुलुकले बढी फाइदा पाउँछ भन्ने विश्वास थियो। चुनाव हारेका किसुनजीले पदमा टिकिरहने उपाय सोच्नुभएन। बरु गिरिजाप्रसाद नै उक्त पदको हकदार भएको सहर्ष घोषणा गर्नुभयो। त्यतिन्जेलसम्म जेलसम्म नेपाली कांग्रेसमा पदलोलुपता थिएन तर त्यसपछि भने सम्पूर्ण पार्टी संस्कृति बदलियोे।
प्रधानमन्त्री भएपछि गिरिजाप्रसाद कसरी पदमा टिकिरहने भन्नेमा नै केन्द्रित हुन पुगे। पैसाले महत्व पाउन थाल्यो। त्यसपछि कांगे्रस पार्टीको ओरालो लाग्ने कार्यले गति लिन थाल्यो। फलस्वरूप नेताहरु पदको पछाडि दगुर्न थाले। मुलुकको विकास भनेको आफ्नो र आफन्तको विकास बन्न पुग्यो। स्रोत र साधन दुरुपयोग भए। कांग्रेसप्रतिको आदर्श, निष्ठा र समर्पण व्यक्तिमा केन्द्रित भयो। मुलुकले १८ महिनाको प्रथम कांग्रेस शासनपछि कहिले पनि सुशासन पाउन सकेन। कांग्रेस सत्तामा त धेरै पटक पुग्यो तर शिरदेखि पुच्छरसम्म नेताहरु कमाउने धुनमा नै लागे। जो मन्त्री बने, तिनको प्रमुख उद्देश्य भनेको श्री सम्पत्ति जोड्नेमा केन्द्रित भयो। यो क्यान्सर जस्तो रोग फैलिएर स्थानीय तहका कार्यकर्तासम्म पुग्यो। जसले गर्दा कांग्रेसका कतिपय पूर्व मन्त्रीहरु भ्रष्टाचारी प्रमाणित भए। जेल सजाय भोगेर छुट्दा पनि फूलमाला लिएर पार्टीको झण्डा फहराउँदै कार्यकर्ता स्वागत गर्न जेलको ढोका पुग्ने संस्कारले प्रश्रय पायो।
नेपालीले परिवर्तन चाहेका छन्। आजका नेपालीलाई आफ्नो हक र अधिकारका विषयमा ज्ञान छ। त्यस कारण सबै वयस्क नेपालीहरु शासन व्यवस्थामा आफ्नो सहभागिता चाहन्छन्। जातीय उत्थानका निमित्त जातीय पहिचान र त्यसको प्रतिनिधित्व शासन व्यवस्थामा भएमात्र निश्चित हुन्छ भन्ने विश्वास सबैमा बढ्न थालेको छ। सबै परिवर्तनको पक्षपाती भएका छन्। तिनले चाहेको परिवर्तन भनेको समाजको आधुनिकीकरण हो, जसको आधार भनेको आर्थिक समुन्नति हो। आर्थिक समुन्नतिका निमित्त सबैभन्दा बढी आवश्यक सुशासन हो। मुलुकको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, आर्थिक-सामाजिक असमानता तथा शासन व्यवस्थामा समावेसीकरण हो। तिनको समाधानतर्फ मुलुक केन्द्रित हुनुपर्ने वास्तविकता हो। जसको निमित्त सृजनशील सोच, नीति र कार्यान्वयनका रणनीतिहरु प्रतिपादन गरिनु आवश्यक देखिन्छ। यो क्षमता न साम्यवादीहरुसँग छ, न त पुराना परम्परावादी शक्तिसँगै छ। यी दुवैले प्रजातन्त्र पुनर्स्थापनापछि आफ्नो किसिमबाट राजा ज्ञानेन्द्रदेखि प्रचण्ड/माधव नेपाल/झलनाथ/बाबुराम सबैले शासनको अवसर पाएका हुन्। तर, यिनीहरुले आफूलाई पृथक सावित गर्न सकेनन्। कमसेकम नेपाली कांग्रेससँग त अझै पनि थुप्रै कार्यकर्ता छन्, जसलाई लोकतन्त्रमा विश्वास छ । अनि सुशासन लोकतन्त्रमा मात्र सम्भव हुन्छ। आधा रित्तोलाई आधा भरी सम्झने हो भने अझै पनि नेपाली कांग्रेससँग क्षमता र प्रतिभा छ, जसले पार्टी र मुलुकलाई मार्गरेट थेचरको बदलामा टोनी ब्लेयरले जस्तै गन्तव्यतर्फ अग्रसर गर्न सक्छ। यो वास्तबिकतालाई अझै कांग्रेसजनले नबुझ्नु दुर्भाग्य नै हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस