संसद्को पाँचौँ विघटन र नियति
१६ पौष २०७७
•
१० मिनेट पाठ
संसद्को पाँचौँ विघटन र नियति
सत्तरी वर्षमा ६ वटा संविधान, उनन्तीस वर्षमा २४ जना प्रधानमन्त्री, छब्बीस वर्षमा पाँचपटक संसद् बिघटन– नेपालको प्रजातन्त्रको इतिहास सुखद छैन । वर्तमानलाई निराश र भविष्यका पुस्तालाई खिन्न पार्ने यस्तै अरू टिपोट पनि इतिहासका पन्नामा लेखिएका छन् । सत्तासीन पार्टीका नेताहरूको झगडा नै असफलताको मूल कारण बनेको छ । कहिले पनि झगडाको कारण नीतिगत  भएन, राष्ट्रिय हितको मुद्दामा कहिल्यै गम्भीर बहस भएन । फगत राज्यशक्तिको भागबन्डामा मन बाझियो, जग हँसाइ हुनेगरी बाझाबाझ भयो । राजनीति र शासन व्यवस्थालाई व्यक्तिगत हितमा भोग्ने नेताहरूको ब्यसनले प्रजातन्त्रलाई एकपछि अर्को दुर्घटना भोगाएको छ । 




दिउँसो पसिना बगाएर राति पेट पाल्नुपर्ने श्रमिक लकडाउनले कमाउन नसकेर, खान नपाएर छट्पटाउँदा पनि सरकारले नहेरेपछि दयालु दाताहरूले दिएका तातो भात खान सडकमा लाम लाग्दा पनि नेतृत्वमा विवेक पलाएन । कोरोना महामारीको विपत्तिमा राज्यबाट उपेक्षित भएको, आपत् पर्दा पनि सरकारको उपस्थिति महसुस गर्न नपाएको अनुभूति आमजनताले नगरुन् भन्ने न्यूनतम संवेदनशीलता पनि राजनीतिक नेतृत्वले देखाएन । नेपालका मन्त्रीस्तरीय राजदूतहरूलाई नपत्याएर छिमेकीहरूले आन्तरिक राजनीतिको विग्रहमा चासो देखाउन विशेष दूत पठाउँदा पनि कूटनीतिक संयन्त्र र सिपमा खिया परिसकेको होस भएन । देश भिरालोमा पुगिसक्दा पनि  सत्ताको हिस्सा लिने एकसूत्रीय झगडामा नै राजनीति केन्द्रित रह्यो ।

कहिले पनि झगडाको कारण नीतिगत भएन, राष्ट्रिय हितको मुद्दामा कहिल्यै पनि गम्भीर बहस भएन । 
प्रष्ट छ– भागबन्डा मिलेन अनि दुई वर्ष भन्दा बढी कार्यकाल बाँकी छँदै संसद् विघटन भयो । देश फेरि राजनीतिक अस्थिरताको भूमरीमा फस्यो । तर व्यक्तिगत र समूहगतरूपमा जतिपटक ठेस खाए पनि, प्रजातन्त्र जतिपटक दुर्घटनामा परे पनि, राष्ट्रिय राजनीतिको स्वामित्व जति कमजोर भए पनि, जनतामा निराशा जति फैलिए पनि नेतृत्व चेतेन, सुध्रिएन, सुध्रिने लक्षण पनि देखाएन । यसैले पाँचौँपटक पनि संसद् विघटन भयो भन्दा नेपालको प्रजातन्त्रमा काल पल्किएको पल्किएकै छ भन्ने चिन्ताले इतिहास पिरोलिएको छ । संवेदनशील भूस्थापन भएको सानो देशमा राजनीतिक अस्थिरताले दुवै छिमेकीको सुरक्षा चिन्ता थप्छ । भारत र चीनबीच क्षेत्रीय तथा चीन र अमेरिकाबीच भूमण्डलीय नेतृत्वको प्रतिस्पर्धा धारिलो हुँदै गएको वर्तमान अवस्थामा राजनीतिक अस्थिरताले जोखिम बढाउँछ । इतिहास र भूगोल दुवैका लागि यसको दुष्परिणाम पीडादायी हुन्छ भन्ने धेरै दृष्टान्त विश्व इतिहासमा पाइन्छ ।    

प्रजातान्त्रिक अभ्यासको प्रत्येक चरणमा नेपाली मतदाताले प्रजातन्त्रमा आफ्नो आस्था पुष्टि गर्दै निर्णयमा परिपक्वता सावित गरेका छन् । तर जनताको चेतना, इच्छाशक्ति र सही निर्णय क्षमता सुहाउँदो नेतृत्व देशले पाउन सकेको छैन । नेपालमा प्रजातन्त्र कहिले पनि असफल भएन, नेतृत्व सधँै असफल भयो । क्रान्ति, प्रतिक्रान्ति र आन्दोलनबाट देखापरेका अगुवाहरू नेता सावित हुन सकेनन् । परिणामस्वरूप नेपालको राजनीतिक शब्दकोशमा नेताको अर्थ जनतालाई प्रेरित गर्ने व्यक्ति हैन, अलङ्ककारिक उपाधि बनेको छ । नेता, उपनेता र वरिष्ठ नेता जस्ता खोक्रा शब्दमा सीमित पदवी जन्माउने र राजनीतिक गणित मिलाउन बाँड्ने गरिएको छ । इतिहासले नेता बनाउँदैन, नेताले इतिहास बनाउँछ भन्ने तथ्य नेपालको राजनीतिले हेक्कामा राखेको छैन ।

प्रष्ट छ–भागबन्डा मिलेन अनि दुई वर्ष भन्दा बढी कार्यकाल बाँकी छँदै संसद् विघटन भयो । देश फेरि राजनीतिक अस्थिरताको भूमरीमा फस्यो । 
प्रश्न छ– राजनीतिको बजारमा अहिले देखिएकामध्ये कति जना इतिहासको कुनै एउटा पानामा अर्धविराम अथवा पूर्णविरामको रूपमा भए पनि उल्लेख हुनेछन् ? दोस्रो विश्वयुद्धकालीन प्रधानमन्त्री तथा विख्यात लेखक विन्स्टन चर्चिल एकमात्र विदेशी नेता थिए जस्लाई नेपालको मानार्थ नागरिक र उच्च तक्मा ‘नेपाल तारा’ प्राप्त भएको थियो । सात करोड पचास लाख भन्दा बढी शब्द लेखेका चर्चिलको बहुचर्चित भनाइ थियो– ‘इतिहास मप्रति दयालु हुनेछ किनभने त्यो इतिहास म आफैँ लेख्नेछु ।’ यसो भन्ने आत्मविश्वास र इतिहास लेख्ने ल्याकत भएको नेता नेपालले पाउन सकेको छैन । प्रजातन्त्र पटक पटक दुर्घटनामा पर्नुको मूल कारण यही हो । इतिहास असफल शासक वा राजनीतिज्ञप्रति दयालु  हुँदैन । चन्दादाताहरूसँगको निकटतामा मग्न रहने, राजनीतिक गणित मिलाउन भ्याइनभ्याइ भएको वर्तमान नेतृत्वले फेरि कोल्टे फेर्ने तयारीमा लागेको नेपालको इतिहास लेख्न सक्दैनन् । यसैले विवेकको भित्तामा ठूलो अक्षरमा लेखिएको छ– देश राष्ट्रिय नेतृत्वको खोजीमा छ । यो खोजी प्रजातान्त्रिक विधिबाट पूरा हुनुपर्छ र यो राष्ट्रिय नेतृत्व प्रजातन्त्रको संस्थागत सुदृढीकरणका लागि सार्थक सिद्ध हुनुपर्छ भन्ने इतिहासको चाहना छ ।

दोहोर्‍याएर ठेस खानु, घाइते हुनु अनि पराईको औंला समातेर उभिनु, नेपाली प्रजातान्त्रिक अभ्यासको नियति बनेको छ । इतिहास साक्षी छ– प्रजातान्त्रिक अभ्यासलाई सार्थक बनाउन नेपाली मतदाताले सामूहिक विवेकबाट सधैं अर्थपूर्ण निर्णय गरेका छन् । प्रजातन्त्रलाई संस्थागतरूपमा बलियो बनाउन एउटा दललाई शासन गर्न बहुमत र अर्कोलाई सशक्त प्रतिपक्ष बन्ने हैसियत दिए । तर मतदाताको यो निर्णय सदुपयोग भएन । यसपछि संयुक्त सरकारको अभ्यासबाट प्रजातान्त्रिक अभ्यासलाई समझदारीमा सार्थक बनाउने अवसर मतदाताले दिए तर सरकार गठन र विघटनलाई नियमित बनाइयो । राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण हुन थाल्यो । दुवै प्रयोग असफल भएपछि एउटै पार्टीलाई करिब दुईतिहाइको बहुमत र अर्को पार्टीलाई गुणात्मकरूपमा सबल प्रतिपक्ष बनाउने फैसला मतदाताले दिए तर यो पनि काम लागेन । सत्तापक्ष भागबन्डाको झगडामा संलग्न भयो, प्रतिपक्ष निष्क्रिय भयो । स्वार्थको भिडन्तले समस्या उब्जिने क्रम रोकिएन । मतभेद सुल्झाउने संयम र फराकिलो छाती देखिएन । समस्या सङ्कट बन्यो अनि दुर्घटनामा प्रजातन्त्र पर्‍यो । यी मूल बँुदालाई ओझेलमा पारेर सुरक्षित भविष्यको रचना गर्न सकिँदैन ।  

अहिले राजनीतिमा रुचि राख्नेहरूबीच संसद् विघटनबारे क्रुद्ध र सामसुम पार्ने तर्क/वितर्क चलिरहेको छ । संविधान के भन्छ, के भन्दैन भन्ने शास्त्रार्थ पनि चलिरहेको छ । कानुन व्यवसायीहरूका लागि यो पेसागत विषय हो । तर राजनीतिकर्मी र चेतनशील नागरिकका लागि यो विशुद्ध राजनीतिक विषय हो । नेपालको सन्दर्भमा यो नयाँ विषय होइन ।  विवाद र कमजोरी नहटाइएकाले समस्या बल्झिरहेको र सङ्कट दोहोरिइरहेको मात्र हो । तर अहिले पनि यो मूल पक्षमा ध्यान दिइएको छैन । सरकार चलाउने र सडकमा जाने दुवैथरी ताजा चुनाव र संसद्को पुनस्र्थापनामा अड्किएका छन् । २०५१ सालमा संसद्को विघटनलाई अदालतले ठीक भनेपछि नौ महिनापछि नै किन नवनिर्वाचित संसद् विघटन भयो ? तत्कालीन नेकपा एमालेले गरेको संसद् विघटनलाई अदालतले बदर गरेपछि किन प्रजातन्त्रको संस्थागत सुदृढीकरण सुरु हुन सकेन ? २०५८ सालमा फेरि किन संसद् विघटन भयो ? नेपालमा संसद् विघटन सत्तारुढ पार्टीभित्रको झगडाकै परिणाम हुने गरेको तीतो सत्य इतिहासमा लेखिएको छ । आखिर प्रजातन्त्रलाई किन दोहोर्‍याएर भिरमा घचेटिन्छ ? किन संसद्मा बहुमत भएर पनि सरकार संसद् विघटन गर्न अघि सर्छ ? यी गम्भीर प्रश्नहरूको जवाफ नखोजी नेपालको प्रजातन्त्रमा पल्किएको काललाई निषेध गर्न सकिँदैन । रोग पत्तो नलगाइ उपचार हुन सक्दैन ।  पाँचौँपटक भएको संसद् विघटनलाई अदालतले सदर वा बदर जे गरे पनि प्रजातन्त्र सुरक्षित हुँदैन । विगतमा जस्तै टालटुले निकास लाद्न खोजियो भने विघटित संसद् पुनस्र्थापना भए पनि नभए पनि नेपाल लामो समयका लागि राजनीतिक सङ्कटमा फस्नेछ । यो सङ्कटबाट निस्कने नुस्खा एक भन्दा बढी राजधानीहरूमा तयार हुनेछ । यसको लक्षण देख्न थालिसकेको छ । यो नुस्खाले नेपालको इतिहास र भूगोललाई अक्षुण्ण राख्ने छैन । यसैले नेपालको प्रजातन्त्रविरुद्ध पल्किएको काल नेपालीले नै चिन्नुपर्छ, नेपालीले नै निषेध गर्नुपर्छ । राजनीतिक पार्टीहरू, बुध्दिजीवीहरू र देशको नेतृत्व लिन तत्पर भइसकेको युवा वर्गले सोच्नुपर्ने यो नै सर्वाधिक महत्वको विषय हो ।

सरकारमा पुगेपछि प्रधानमन्त्री र पार्टी नेतृत्वबीचको झगडा नेपालको राजनीतिको पुरानो रोग हो । मातृकाप्रसाद कोइराला पहिलो नागरिक प्रधानमन्त्री भएदेखि पार्टी नेतृत्व र सरकारबीचको सम्बन्धमा सुरु भएको विवाद निरन्तर प्रजातन्त्रलाई दुर्घटनामा पार्दै दोहोरिइरहेको छ । विधि वा प्रचलनको आवरण लगाइए पनि मूलतः यो सत्ता संघर्ष हो । सार्वजनिक खपतका लागि नीति, कार्यक्रम र पद्धतिलाई आवरण बनाइए पनि यथार्थमा राज्यशक्तिको प्रयोग तथा सुविधा भोगको तृष्णा, इष्र्या र राजनीतिक गणितमा आशक्ति हो । मातृका र बिपी, गिरिजा र कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा र गिरिजा, अनि अहिले केपी ओली र पुष्पकमल दाहाल तथा माधव नेपालबीचको कलहको कारण समान छ । २०१० सालमा नेपाली कांग्रेस पहिलोपटक फुट्यो, मातृकाले राष्ट्रिय प्रजा पार्टी बनाए । 

बिपी कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा आफ्नो सामूहिक उत्तराधिकारी तोकेका गणेशमान सिह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच पनि कलह भयो । आफैँले स्थापित गरेको नेपाली कांग्रेससँग सम्बन्ध बिच्छेद गरेर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले बाहिरिनुपर्‍यो । गिरिजाको एकलौटी नेतृत्व कायम भयो । प्रधानमन्त्री देउवा र पार्टी सभापति गिरिजाबीच झगडा भएपछि नेपाली कांग्रेस तेस्रोपटक फुट्यो । तर पटक–पटक दुर्घटना भोगे पनि नेपाली कांग्रेसले द्वन्द्वका कारण हटाउन सकेको छैन । फुटको व्यवस्थापनमा अल्मलिएर चाउरिँदै गएको छ । फुट्ने जुट्ने अनि फेरि फुट्ने परिचय बनाएका कम्युनिस्टहरू सत्तामा भएका बेला पहिलोपटक फुटेका छन् । सत्तामा नहुँदा पहिले धेरैपटक फुटेका थिए । अहिले पनि नेपालमा उन्नाइसवटा कम्युनिस्ट पार्टी सक्रिय छन् । यस्तै रोग भारतीय प्रजातन्त्रले पनि भोगेको थियो । इन्दिरा गान्धीको कार्यकालमा पार्टी नेतृत्व र प्रधानमन्त्रीबीचको मनमुटावले भारतीय राष्ट्रिय कांग्रेस फुटेको थियो । भारतको पहिलो गैरकांग्रेसी सरकार बनाएको जनता दल यही रोगले फुट्यो । समानता सरकार र पार्टी नेतृत्वमा मनमुटाव थियो । भिन्नता के थिए भने राजनीतिक योगदानको दृष्टिमा सङ्गठनको नेतृत्व प्रधानमन्त्री भन्दा वरिष्ठ भयो भने व्यक्तित्वको द्वन्द्व हुन्छ, अनि समान भयो भने इष्र्याले उकुसमुकुस भएर बिष्फोट हुन्छ । पहिलोपटक प्रधानमन्त्री हुँदा इन्दिरा गान्धी पार्टी अध्यक्ष कामराज र नेताहरू मोरारजी देसाई, एसके पाटिल र अतुल्य घोष  सामुन्ने कनिष्ठ थिइन् । सरकार र पार्टी नेतृत्वबीच द्वन्द्व सुरु भयो । स्वतन्त्रता आन्दोलनदेखि भारतको प्रजातन्त्रको मियो रहेको कांग्रेस पहिलोपटक फुट्यो । 

फुटेको कांग्रेस, जनसंघ, समाजवादी दलहरू मिलेर जयप्रकाश नारायणको प्रेरणामा एक भएको जनता दलले इन्दिरा गान्धीलाई पराजित गरेर सरकार बनायो । तर दुई वर्षमा दुई जना प्रधानमन्त्री भए अनि संसद् विघटन भयो । अर्कोतिर जवाहरलाल नेहरु प्रधानमन्त्री रहँदा पार्टी र सरकारबीच द्वन्द्व भएन । विगत सात वर्षदेखि सरकारमा रहेको भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एकताबद्ध छ । मोदी भन्दा शीर्षस्थ नेताहरू लालकृष्ण आदबानी र मुरलीमनोहर जोशी आशीर्वाद दिने भूमिकामा सम्मानपूर्वक बसेका छन् । यी दुई दृष्टान्तले के बताउँछन् भने सरकारको नेतृत्वमा धरहरा जत्रो प्रभावशाली व्यक्ति भयो भने दल सरकारको सहयोगी हुन्छ, दल र सरकारको नेतृत्वमा समान हैसियतका अथवा सरकारको नेतृत्वमा कनिष्ट र पार्टीको नेतृत्वमा वरिष्ठ भएपछि द्वन्द्व सुरु हुन्छ, पार्टी फुट्छ अथवा सरकार भङ्ग हुन्छ । यो निष्कर्ष नेपालका सबै पार्टीमा पुष्टि भइसकेको छ ।

संयोगवस, वैशाखमा चुनाव गराउने भनेर नेपालमा संसद् विघटन भएकै हप्ता आगामी चैत महिनामा आमचुनाव हुनेगरी इजरायलमा पनि संसद् विघटन भयो । दुई वर्षमा चौथोपटक संसद् विघटन हुँदा इजरायलको प्रजातन्त्रलाई विश्व जनमतले जीवन्त ठहर्‍यायो । तर नेपालमा तीन वर्षमा पहिलोपटक संसद् विघटन हुँदा विश्व जनमत एक स्वरले किन ‘हिमाली देश राजनीतिक सङ्कटमा’ (अल जजेरिया), ‘नेपाल अराजनीतिक अस्थिरतामा फस्यो’ (वासिङ्गटन पोस्ट) भनिरहेका छन् ? यसको मूल कारण प्रजातान्त्रिक निकायहरू संस्थागतरूपमा नै कमजोर रहनु हो, नेतृत्व व्यक्तिवादी मनोवृत्तिबाट ग्रस्त रहनु हो । तर दुर्घटनाका शृंखलाहरू लम्बिरहे पनि नेतृत्वको सोच, प्रवृत्ति र चरित्रमा सुधार भएको छैन । प्रजातन्त्रलाई बलियो तुल्याउन यसका आधारस्तम्भ संवैधानिक निकायहरूलाई संस्थागतरूपमा बलियो बनाउने, राज्य र नागरिकबीचको सम्बन्ध सुधार्ने तथा राजनीति र शासन व्यवस्थामा जवाफदेहीपन कायम गर्ने चाहना पनि देखाइएको छैन । 

चन्दादाता अथवा आसेपासेका लागि दक्षता, अनुभव र युवा प्रतिभालाई निषेध गर्ने शासकीय शैली, सबैलाई सधैं उल्लु बनाउन सक्छु भन्ठान्ने चलाखी अथवा सत्ताको अहङ्कार छोड्न नसक्ने र सच्चिन नमान्नेका लागि कार्ल माक्र्सको भनाइ स्मरणीय हुन्छ– ‘इतिहासले आफैँलाई दोहोर्‍याउँछ, पहिले दुखान्तका रूपमा अनि प्रहसनका रूपमा ।’ नेपालको प्रजातन्त्रको इतिहास यसपटक दुखान्तका रूपमा दोहोरिएको हो कि प्रहसनका रूपमा भन्ने खुलस्त हुन केही महिना लाग्नेछ । तर भारत, चीन र अमेरिकाको सामरिक राडारमा परेर त्यसको रापले पोल्न थालिसकेको नेपालसँग समय धेरै छैन ।  

(पूर्वपरराष्ट्रमन्त्री)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस