पूर्व राजालाई खुला पत्र
३० भदौ २०६६
•
१५ मिनेट पाठ
पूर्व राजालाई खुला पत्र
सरकार!




मौसुफको दर्जा सामान्य नागरिकमा बदलिसकेको भएपनि यो पत्रमा मैले मौसुफलाई 'सरकार' र 'हजुर' नै भनेर संवोधन गर्ने निर्णय गरेको छु।
म सामन्ती भएर या राजतन्त्रवादी भएर त्यसो गर्न खोजेको होइन। त्यसको एउटै कारण छ : विगतका तमाम कमजोरी हुँदाहुँदै पनि सरकारबाट देशको शान्तिपूर्ण गणतान्त्रिक रूपान्तरणमा निर्वाह गरिबक्सेको भूमिका तथा त्यसपछि कायम राखिबक्सेको इज्जत या 'ग्रेस', जसलाई नेपालको परिप्रेक्षमा असामान्य मान्नुपर्छ। त्यसैले, मुकुट खोसीयो भन्दैमा नितान्त व्यक्तिगतरूपमा लेखिएको यो पत्रमा सरकारलाई 'तपाईं' मा झार्न मेरो मनले मानेन। 'सरकार' भनेर संवोधन गर्दा कतिपयलाई अनुपयुक्त लाग्न सक्छ, त्यस्तो विमतिलाई सम्मान गर्न म तयार छु। मैले चाहेको लेखेपछि, पढ्नेले पनि मनमा लागेको भन्न पाउनै पर्छ। त्यो नै सच्चा लोकतन्त्र हो। म राजतन्त्रवादी, लोकतन्त्रवादी, समाजवादी, साम्यवादी, अधिनायकवादी केही पनि होइन। म पत्रकारका हिसाबले भूमध्यरेखावादी र वैचारिक हिसाबले कल्याणवादी नागरिक हुँ। जे होस्, सरकारबाट पछिल्लो समयमा आएर प्रस्तुत गरिबक्सेको सम्मानजनक आचरणले मलाई बारम्बार प्रसिद्ध अंग्रेजी कवि रूडयार्ड किप्लिङको अत्यन्त चर्चित 'इफ' शीर्षकको कविताको स्मरण गराउँछ जसमा एकजना पिताले आफ्ना छोरालाई प्रतिकूल परिस्थितिमा शिर कसरी उचा राख्ने भन्ने सल्लाह दिएका छन्।

 सरकारको वर्तमान अवस्था देखेर मलाई दुख लाग्छ। सुन्दा अपत्यारिलो लाग्ला तर सरकारको बारेमा सोच्दा म कहिलकाहीँ भावुक हुने गर्छु। त्यतिबेला मलाई हरिभक्त कटुवालले लेखेको 'यो जीन्दगी खै के जीन्दगी' कविता सम्झना हुन्छ। सरकारलाई प्रारब्धले दुई पटक राजा बनायो तर दुवै पटक त्यो अफापसिद्ध भयो। दाइको परिवार र आफन्तहरूको त्यसरी विभत्स हत्या भयो, जनसंख्याको ठूलो हिस्साले दोष आफैँंमाथि लगाइदियो। २ सय ४१ वर्षको राजतन्त्र आफ्नै पालोमा, र धेरैको दृष्टिमा ठूलो हदसम्म, आफ्नै हठ, महत्वाकांक्षा र कूटनीतिक विफलताका कारणले ढल्यो। दाजुभाई कोही छैन। भएका एक जना छोरासँगको सम्बन्ध ठीक छैन, त्यसमा पनि, उनको नाम बदनाम छ। बाहिर जाउँ धेरै सर्वसाधारणले घृणा गर्छन्। केही बोलुँ, अर्थको अनर्थ लाग्छ। बोलेको कुरामा कसैले विश्वास गर्दैन। पहिले आफ्ना भनेकाहरू सब आफैंमाथि दोष लगाउँदै टाढा भैसके। नेपालका राजाहरू कोही ६१ वर्षभन्दा बढी बाँचेका छैनन्, आफ्नो उमेर ६३ वर्ष भैसक्यो। अब जीन्दगीका पाना पल्टिन कति बाँकी छन्, केही थाहा छैन। असीमित जिन्दगी बाँच्नसक्ने भौतिक गच्छे थियो, तर जिन्दगीको मनोवैज्ञानिक र मानसिक सीमा यसरी साँगुरीएला भन्नेसंभवतः मौसुफबाट सपनामा पनि सोचिबक्सेको थिएन होला।

यस्तो अवस्थामा सरकारलाई बाँकी दिन कसरी बिताउने चाहना छ भन्ने मलाई ज्ञान हुने कुरा भएन। तर मैले, पहिले राजा वीरेन्द्र र पछि सरकारबाट गद्दी आरोहण गरिबक्सेपछि बारम्बार आफ्नो कलममार्फत् गरेको बिन्तीलाई म यहाँ दोहोर्‍याउन चाहन्छु। आधुनिक युगमा जनताले राजालाई शब्दमा होइन, कर्ममा अनुभूत गर्न चाहन्छन्। त्यसमा सरकार पूर्णरूपमा चुकिबक्स्यो। मलाई अहिले पनि नेपालगन्ज अभिनन्दनका बेला सरकारबाट बक्स भएको भाषणको संझना छ, जहाँ सरकारबाट 'जनता' शब्द २७ पटक प्रयोग गरिबक्सेको थियो। अनि जनताको 'भावना र चाहना बुझ्न' विकट पहाडी जिल्लाहरू घुम्न सवारी हुँदा मौसुफबाट सानासाना नानीहरूलाई हुकुम हुन्थ्यो, 'राम्रोसँग पढ, स्कुल जानुपर्छ' आदिइत्यादि। त्यतिबेलै मैले जनताको त्यत्रो माया भए राजा वीरेन्द्रको सम्पत्तिबाट पाँच विकास क्षेत्रमा पाँचवटा भव्य स्कुल स्थापना गर्न किन सकिँदैन? भनेर प्रश्न उठाएको थिएँ। आज म फर्किएर पुनः त्यस्तै प्रश्नमा आउँदै छु। त्यतिबेला मैले उठाएको कल्याणको प्रश्नमा गरिबहरूको वास्तविक हीत र राजतन्त्रको भविष्य गाँसिएको थियो भने, मैले अहिले त्यही सन्दर्भ उठाउँदा, त्यसमा गरिबहरूको हीत र सरकारलाई बाँकी जीवनमा आध्यात्मिक शान्ति मिलोस् भन्ने चाहना जोडिएको छ।

सरकारसँग चलअचल गरेर अर्बौं रुपियाँको सम्पत्ति छ। उमेर र अवस्था दुवैका कारण सरकारको बाँकी जीवनमा करोडौं खर्च गरेर मोजमस्ती गर्ने स्थिति रहेन। त्यसो गर्नु उचित पनि हुँदैन। सरकारले आफ्नो सारा सम्पत्ति आफ्ना छोराछोरी र नातिनातिनालाई सुम्पिएर जाने विचार गरिबक्सेको होला। त्यसो गर्नु महाभुल हुनेछ। सम्पत्तिको कुनै सीमा छैन। सरकारका छोराछोरीले जति पाइसके, राम्ररी व्यवस्था गर्न सके भने त्यो नै उनीहरूका लागि काफी छ। अहिले उनीहरूले जे पाएका छन् त्यसमा उभिएर अरू उपलब्धि हासिल गर्न नसक्नेका लागि थप सम्पत्ति दिनु महामर्ख्याईं हुनेछ। सरकारलाई भोलि अमर बनाउने तीनले होइन नेपालीले जनताले हो। दोस्रो कुरा, अलिकति मानवीय चेतना बोकेका अतिधनाड्यहरूले भएभरको सम्पत्ति आफ्ना सन्तानलाई सुम्पेर मर्न छाडिसके। उनीहरूले सम्पतिको थोरै भाग सन्तानका लागि र धेरै कल्याणका लागि छोड्ने गरेका छन्। सरकारबाट मर्जी होला, 'अन्य देशका राजा र राजपरिवारसँग तुलना गर्दा, मसँग के सम्पत्ति छ र, रवीन्द्र...? तर, यो अति गरिब देश नेपालमा सरकारसँग जे छ त्यसलाई अत्यधिक मान्नु पर्छ। मानवीयता चेतनाको हकमा कुरा गर्दा, सरकारले मानवीयताको विकुल धेरै फुकिबक्सियो तर व्यवहारमा सर्वसाधारणले त्यसको अनुभव कहिले गर्न सकेनन्। सरकारले गएको आफ्नो जन्मदिनका अवसरमा 'परिवर्तित परिवेशमा पनि देश तथा देशवासी प्यारा दाजुभाइ र दिदिबहिनीको स्थितिमा सुधार आउन नसकेकोमा म अत्यन्त उद्विग्न, अत्यन्त चिन्तित र अत्यन्त मर्माहत छु,' मर्जी भयो। देश र देशवासीको चिन्ताले सरकार मर्माहत होइबक्सिन्छ भने, त्यो शब्दमा मात्र होइन, कर्ममा प्रतिविम्बित हुन पर्‍यो, सरकार! अनि पो जनताले श्रद्धा र विश्वास गर्छन्।

एकपल्ट, खोक्रो विज्ञप्तिको होइन, कल्याणको बाटो हिँडिबक्सियोस्त, सरकारप्रति मानिसहरूको श्रद्धा कति बढ्छ, अनि देखिबक्सेला। कल्याण भन्दा ठूलो अध्यात्मवाद संसारमा आर्को हुनै सक्दैन। बाँकि सब मिथ्या हो, जसमा हामी सब फसेका छौ। तर एउटा कुरा भनिहालौं, सरकारबाट बिग्रिएको राजनीतिको धमिलो पोखरीमा राष्ट्रवादको बल्छी फ्यांकेर गुमेको मुकुट फर्काउने तिर ध्यान केन्द्रित गरिबक्सियो भने, सरकारको अलिकति भएपनि सुधि्ररहेको छवि पुनः भष्म हुनेछ।
राजनीतिज्ञहरूको कुबुद्धी तन्किँदै गयो भने राजतन्त्र आफैं फर्किने छ तर सरकार स्वयंबाट त्यसका लागि तानबाना बुन्नु देश र सरकार दुवैका लागि हितकर हुनेछैन।
यति लामो भूमिका बाँधेर, मैले सरकारलाई गर्न खोजेको विन्ति एउटै मात्र हो - सरकारको जीवनमा जेजस्ता परिस्थिति आइलागे त्यसका कारण सरकारले अर्बैंको संपत्ति निर्मल निवासको विशाल परिसरमा अर्थहीन ढंगले थुपारेर देह त्याग गरिबक्सियो भने त्यसबाट न त सरकारको आत्मालाई चिर शान्ति मिल्नेछ न त नेपाली जनताले जयजयकार नै गर्नेछन्। सरकारबाट बाँकी जीवन, र संभव भएसम्मको वैभव, कल्याणको काममा लगाइबक्सिए हुन्थ्यो भन्ने मेरो विनम्र आग्रह हो। पहिले मैले राजा वीरेन्द्रको परिवारको संपत्तिबाट पाँच विकास क्षेत्रमा भव्य स्कुल निर्माण गर्न आग्रह गरेको थिएँ, त्यसको सुनुवाइ भएन। यसपटक म सरकारकै व्यक्तिगत संपत्तिबाट त्यस्तो काम होस् भन्ने आग्रह गर्न चाहन्छु। यस पटक पनि मेरो आग्रहको सुनुवाइ होला नै भन्ने विश्वास त छैन तर पनि झिनो आशा छ। तर सरकार पुरातनवादी धर्मकर्ममा अत्यन्त आशक्त व्यक्ति हुनाले, सरकारलाई स्कुलसिस्कुलमा त्यति चाख नहुन पनि सक्छ। त्यसो हो भने, मेरो अर्को आग्रह छ - नेपाल सरकारले वागमती शुद्धीकरण अभियानका लागि १५ अर्ब रुपियाँको एउटा कार्ययोजना बनाएको छ। सो रकम जुटाउन नेपाल सरकारलाई सहज छैन। सरकारबाट त्यस अभियानको एक हिस्सा या वागमती घाट क्षेत्रमात्र सुधार गर्ने जिम्मा लिइबक्सिए पनि विश्वभरका हिन्दुले जुनीजुनीसम्म सरकारको गाथा गाउने थिए। सरकारलाई त्यसभन्दा बढी गरौं जस्तो लागे वागमतीको आसपासमा निर्माण गर्न खोजिएको युएन पार्कलाई पनि सहयोग गर्न सकिबक्सिन्छ। केही समयअघि प्रकाशित एक प्रतिवेदनअनुसार सो पार्क निर्माणका लागि ३५ करोड रुपियाँ लाग्ने अनुमान छ। सो पार्क निर्माणको सम्पूर्ण जिम्मा मौसुफबाट लिइबक्से धेरै कट्टर गणतन्त्रवादीहरू पनि काठमाडौंको मुटुमा निर्माण हुने त्यो सुन्दर पार्क हेरेर सरकारलाई सम्झिँदै एकपटक भावुक हुन बाध्य हुनेथिए। यो सुझावप्रति सरकार अनपेक्षितरूपमा सकारात्मक भइहालिबक्सियो भने, सरकारबाट विगतमा वागमती शुद्धीकरणलाई सघाउन चाहने एकजना संभाव्य दाताले 'मैले सहयोग गर्ने भए वागमतीको पूरै घाट मेरी आमाको नाममा नामाकरण गर्नुपर्छ' भनेजस्तो निकृष्ट सर्त चाहीँ राखिबक्सने छैन भन्ने आशा छ।

कतिबेला 'ऊ' आउने हो टप्प टिपेर लाने हो, थाहा छैन। सामान्यतया मानिसहरूलाई लोभ र मोहको निरर्थकता, घाटमा दन्किएको चिताले बोसो पगालेको र गिदी पड्काएको देखेपछि मात्र अनुभूत हुन्छ, जुन अनुभूति अत्यन्त क्षणिक हुने गर्दछ। तर जसलाई घाटमा जाँदा होइन, घरमैं बस्दा पनि त्यस्तो चेतना आउंछ, तिनले नै समाज रूपान्तरणका काम गर्न सक्छन्। राम्रो कामलाई थाती राखेर कमाएको धनको न त जीवनकालमैं, न त जीवन उप्रान्त कुनै अर्थ रहन्छ। त्यस्तो काम गर्न सरकारसँग अब धेरै समय बाँकी छैन। सार्वजनिकरूपमा यति बिन्ती गरिहालेँ। बाँकी सरकारको जो इच्छा।

शुभेच्छुक
रवीन्द्र मिश्र
rabindra.helpnepal@gmail.com

अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस