बीपी र कांग्रेस
०८ साउन २०७०
•
१० मिनेट पाठ
बीपी र कांग्रेस
'बीपी आउँदैछन् रे'– कक्षाका एक सहपाठीबाट सुनेको खबरले शरीर रोमाञ्चित भएको थियो। घरमा बीपीबारे बेलाबेलामा भइरहने चर्चाबाट थाहा पाइसकेको थिएँ– बीपी नाम गरेको कुनै व्यक्तिले ठूलो लडाइँ लड्दै छ। र, उसलाई खुलारूपमा तथा भित्रबाट धेरैले साथ दिइरहेका छन्। निकै पहिलेको कुरा हो यो। ७–८ कक्षाको विद्यार्थीका लागि बीपीको लडाइँबारे पूर्णरूपमा जानकारी हुने कुरा पनि थिएन। तर पनि उनको नेपालगन्ज आगमनको खबरले रोमाञ्चित गराएको थियो।त्यसैले बीपीलाई हेर्ने रहरले स्कुलबाट भाग्ने निर्णय गरायो। अनि म मेरा एक जना दाजु नाता पर्नेसँग हिँडे। बीपी नेपालगन्जमा आइसकेका थिए। उनलाई हालको विद्युत् प्राधिकरणछेउको घरमा लगिएको थियो। मैले पनि अलि परबाट हेरें। थुप्रै मानिसबाट घेरिएको एउटा आकर्षक व्यक्ति सोफामा बसेको थियो।
त्यसको अर्को दिन हुनुपर्छ, नेपालगन्जको महेन्द्र पार्कमा आमसभा थियो र त्यसलाई बीपीले सम्बोधन गर्दै थिए। कार्यक्रम सुरु हुने बेलामा त्यही आकर्षक व्यक्तित्व निकै फूर्तिसाथ छिटोछिटो कदम चाल्दै मञ्चतर्फ उक्ले। बीपीलाई घाँटीमा क्यान्सर भएको खबर मैले सुनेको थिएँ। हँसिलो मुद्रामा मञ्चमा उक्लेका बीपीको बोली निकै मसिनो थियो। तर त्यो मसिनो स्वरमा निहीत दृढतालाई मेरो किशोर मस्तिष्कले अनुभव गरेको थियो। उनले आफ्नो त्यस सम्बोधनमा पनि नेपालमा समाजवादको सन्दर्भको परिभाषा दिएका थिए। जसलाई अहिले पनि कांग्रेसका नेता/कार्यकर्ता सुनाउने गर्छन्। उनले त्यतिबेला प्रजातन्त्र सम्पूर्ण नेपालीका लागि अपरिहार्य भएको र यसबाट राजसंस्था पनि अलग नरहेको भनेको सम्झना छ।
त्यसपछिका दिनमा किशोर उमेरको ममा पनि देशको परिस्थितिप्रति जानकारी राख्ने मोह जागेर आयो। अनि कम उमेर भए पनि जनमत संग्रहमा बहुदलीय व्यवस्थाले पाएको निलो रंगको प्रचारमा ठूला उमेरका दाजुहरूसँग लागियो। रातिराति घरवरपर पोस्टर टाँस्ने काम गरियो।
त्यसपछि जनमत संग्रहको परिणामबारे नेताहरूको विचार छापिएको पत्रिका त्यही महेन्द्र पार्कको एउटा कुनामा साथीहरूसँग बसेर पढ्दै थिएँ। गणेशमान सिंहले जनमत संग्रहमा व्यापक धाँधली भएकाले यसको परिणाम मान्न जरुरी नभएको विचार प्रकट गरेका थिए। त्यो पढेर हामी सबैले रगत तातेको अनुभव गरेका थियौँ। एउटा अर्को आन्दोलन चाहिन्छ भन्ने चर्चाबीच बीपीको विचार पढियो। जनतमत संग्रहमा धाँधली भएको भए पनि त्यसको परिणामलाई आफूले स्वीकार गरेको विचार उनको थियो। उनको त्यो विचारले ती महामानवप्रति नतमस्तक बनाएको थियो।
२०४६ सालको आन्दोलनपछि बीपीबारे अझ धेरै कुरा थाहा पाइयो। त्यो पनि नेताहरूको भाषणबाट। बीपीले यसो भन्नुहुन्थ्यो, बीपीले उसो भन्नुहुन्थ्यो। योजना आयोगको कोठामा गरिब किसानको तस्बिर राख्न भन्नुभएको थियो। अनि लाग्यो– मुलुकले अब फड्को मार्नेछ, विकासमा हाम्रो मुलुक पनि अगाडि बढ्नेछ।
तर बीपीका सन्देश भाषणका क्रममा जनतालाई सुनाउने कथामा सीमित भए। जसलाई स्वयं नेताहरूले नै दन्त्य कथामा खुम्च्याए। बिस्तारै बिस्तारै त्यो क्रम पनि कम हुन थाल्यो र बीपीसम्बन्धी प्रसङ्ग बीपी स्मृति दिवसका लागि सुरक्षित रहन पुगे। त्यसपछिको नेपाली राजनीति हेर्दा पञ्चायतकालमा पढाइने पञ्चायत विषयको एउटा पाठको सम्झना आउने गर्छ। जसमा बहुदलीय व्यवस्था असफल हुनुका कारणहरू भनेर बुँदागतरूपमा दिइएको थियो। जसमध्ये एउटा बुँदा लगभग यस्तो थियो– त्यतिबेलाको बहुदलीय व्यवस्थामा नेपालमा शान्ति कायम हुन सकेन। सबै राजनीतिक दल सत्ताका लागि लुछाचुँडी गर्न व्यस्त रहे। जनताका पीर मर्का र आवश्यकताबारे कुनै राजनीतिक दल र त्यसका नेताको ध्यान गएन। देशमा राजनीतिक कलह व्याप्त भयो। जनतामा राजनीतिक दल र नेताप्रति वितृष्णा व्याप्त हुँदै गयो।
राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको हत्या गर्न देखाएको त्यो कारण त्यतिबेला थियो/थिएन थाहा भएन। तर २०४६ सालपछिको स्थिति भने नेपालमा अहिले पनि त्यही पञ्चायत विषयको पुस्तकमा लेखिएजस्तै छ। अरु त अरु बीपीको सिद्धान्त बोकेको दलको अवस्था पनि दयनीय छ। सैद्धान्तिक विचलनपछि चौबाटोमा पुगेको कांग्रेस आफ्नो गन्तव्यप्रति आफैँ आश्वस्त हुन सकेको छैन। बीपीको विचारलाई सर्वोपरि ठानेको पार्टीले केही गर्ला भनेर जनतामा ठूलो विश्वास थियो। तर २०४६ सालपछिको कांग्रेसको स्थिति हेर्दा लाग्थ्यो– यही पार्टीले नै बीपीसँगै उनको सिद्धान्तलाई सती जान बाध्य पारेको रहेछ।
हँुदाहँुदा बीपीका विचारलाई दलका लागि नभई व्यक्तिगत स्वार्थ सिद्ध गर्न प्रयोग गर्न थालियो। उनका ती अमूल्य विचारलाई फगत चुनाव प्रचारका लागि प्रयोग गर्न थालियो। अहिले बीपी स्मृति दिवसका अवसरमा पनि कांग्रेसका नेताहरूबाट उनका सिद्धान्तबारे, उनले अर्थ्याएको समाजवादबारे, उनले देखेको नेपालको कल्पनाबारे चर्चा हुन थालेको छ। कसैकसैले त बीपीबारे अनुसन्धान हुनु आवश्यक भएको विचार पनि प्रकट गरेका छन्। उनीहरूको विचार पढ्दा त्यो राजनीतिक 'स्टन्ट' जस्तै लाग्छ।
बीपीबारे अनुसन्धान त आवश्यक नै छ। तर पहिलो त्यो स्वयं कांग्रेसले गर्नुपर्छ। पटकपटक राजाबाट धोका पाएर जेलमा कोचिँदा पनि किन बीपीले 'राजाको र मेरो घाँटी जोडिएको छ' भनेका थिए? यस कुराको अनुसन्धान कांग्रेसबाट उहिल्यै हुनुपर्थ्यो तर भएन। राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको भन्ने नेताको पार्टीले कहिले कुन बेला कसरी गणतन्त्रको आवश्यकता महसुस गर्यो ? त्यसैगरी नेपालका लागि राजतन्त्र आवश्यक छ भन्ने बीपीको विचार कहाँनेर गएर पुरानो हुन पुग्यो? संस्थापक नेता कृष्णप्रसाद भट्टराईले किन अन्तिम समयमा आफूलाई पार्टीबाट अलग राखे?
कांग्रेस अहिले सैद्धान्तिकरूपमा कुन कुन प्रसङ्गमा बीपीसँग नजिक छ र कुन प्रसङ्गमा टाढिएको छ भन्ने छिनोफानो पनि त्यो अनुसन्धानबाट हुनुपर्छ। हैन भने आवश्यकता परेको बेला बीपीका सिद्धान्तलाई थोकमा अँगाल्दा वर्तमानमा पार्टीले मिल्क्याएका उनका सिद्धान्तका बुँदा पनि पर्न सक्छन्। आफू प्रधानमन्त्री हुँदा नेपालको सुरक्षाका सन्दर्भमा बोलेका कारण भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई माफी माग्न बाध्य पार्ने बीपीका अनुयायीहरू अहिले भारत भ्रमणमा जाँदा त्यहाँको सत्तारुढ दल कांग्रेसकी नेतृ सोनिया गान्धीलाई भेट्न पाएको विषयलाई स्वदेश फर्केर किन गर्वसाथ सुनाउँछन्? यसको पनि अनुसन्धान हुन आवश्यक छ। मुलुकको विकासका लागि योजना बनाउने अवसर कांग्रेसले नपाएको होइन तर किन बीपीको सिद्धान्तले मूर्त रूप लिन सकेन? यस कुराको अनुसन्धान पनि हुन आवश्यक छ। अनि बीपीका सबै विचार अहिले सान्दर्भिक छन् अथवा कुनै कुनै पुराना भइसके, जसलाई पार्टीले बोकेर हिँड्न सक्दैन भन्ने तथ्य पनि अनुसन्धानबाट बाहिर आउनु आवश्यक छ।


अर्को समाचार
बीपी र आजको कांग्रेस
२४ भदौ २०७०
•
१६ मिनेट पाठ
बीपी र आजको कांग्रेस
हिजो भदौ २४ गते बीपी जयन्ती। आधुनिक नेपाली राजनीतिका शिखर पुरुष, महान् प्रजातन्त्रवादी नेता विश्वेश्वरप्रसाद (बीपी) कोइराला बाँचिरहनु भएको भए हिजो भाद्र २४ गतेबाट ९९ वर्ष पूरा गरी सयौं वर्षमा प्रवेश गर्नु हुन्थ्यो। यसैले २४ भाद्र २०७० देखि २३ भाद्र २०७१ सम्मको वर्ष दिन बीपी जन्म शतवार्षिकी पनि हो। संविधान सभा उमेदवारी महात्य चलिरहेको बेला नेपाली कांग्रेस पार्टी र टिकटको मोहमा लठि्ठएका कार्यकर्तालाई भने यसको कुन्नि कतिको हेक्का छ?
नेपाली राष्ट्रियताको प्रवर्द्धन र प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइरालाको योगदान तथा उहाँको गौरवमय जीवनगाथाको स्मरण गरेर उहाँप्रति सम्मान प्रकट गर्नु औपचारिकता पुर्‍याउने विषयमात्र हैन। उहाँले स्थापना र लामो नेतृत्व गरेको नेपाली कांग्रेस भने दोस्रो पटक हुने भनिएको संविधान सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकका लागि उमेदवार छनोट प्रक्रियामा बढी नै व्यस्त देखिएको छ। यो पंक्तिकारको पुस्ता जे सोचेर राजनीतिमा होमिएको थियो राजनीति त्यसको ठीकविपरीत बाटोमा गएको छ। उतिबेला राजनीति सेवा, निष्ठा, त्याग र समर्पणको पर्याय मानिन्थ्यो भने आज राजनीतिबाट यी सबै हराउँदैछन्। पार्टीको गत महाधिवेशन र अहिलेको उमेदवार छनोट प्रक्रियामा अपनाइएका जिल्लागत अभ्यासको सूचना विश्लेषण गर्ने हो भने निष्ठाको राजनीति, विचार र क्रियाशीलता समाप्त भएको देखिन्छ। बीपीको समयमा जस्तो कार्यकर्तामा सदाचार, नैतिकता, अनुशासन र पारदर्शिता जस्ता प्रजातान्त्रिक मूल्यको अब कुनै स्थान नरहेको स्पष्ट हुन्छ। लाग्ट, पार्टी अहिले अराजक भिडमा रूपान्तरित हुँदैछ। पैसा र बाहुबलका आधार पार्टी कब्जा गरी उमेदवारी सिफारिस प्रक्रियालाई आफ्नो नियन्त्रणमा राख्ने डरलाग्दो कुसंस्कारले कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा पनि जरो गाड्दै गएको यसपटक राम्रैसँग देखिएको छ। यो कुसंस्कार नेपाली राजनीतिकै हो तर यो पंक्तिकार कांग्रेसको सानो कार्यकर्ता भएकोले कांग्रेसका बारेमा धेरै चिन्ता व्यक्त गरेकोमात्र हो। यस्तो अराजक अवस्थामा बीपी विचार र सिद्धान्तको कुरा  कसले सुन्ला र? पार्टी नेतृत्वले बेलैमा सोचेर नीति, विचार, सिद्धान्तका साथ अनुशासन, मर्यादा र सदाचारपूर्वक पार्टीलाई सही बाटोमा हिँडाउन नसके भोलि पार्टी त रहला तर कांग्रेस कांग्रेसजस्तो रहने छैन।
नेपाली कांग्रेसले आफ्ना संस्थापक नेताको शतवार्षिकीलाई महान् राजनीतिक पर्वका रूपमा वर्ष दिनभर भव्यताका साथ मनाउनुपर्थ्याे तर पार्टीबाट त्यस्तो कुनै कार्यक्रम अहिलेसम्म सार्वजनिक भएको छैन। सरकारले चाहिँ अलिकति भए पनि बजेट छुट्याएर यस वर्ष बीपी कोइरालाको शतवार्षिक वर्ष हो है भनेर कांग्रेसजनलाई स्मरण गराइदिएको छ। बीपीका नाममा स्थापित केही संस्थाका बाहेक शतवार्षिक समारोहका कुनै कार्यक्रम सार्वजनिक नहुनु नेपाली समाज, नेपाली राजनीति र सबैभन्दा बढी बीपीकै पार्टीमा व्याप्त 'बैगुनी’ संस्कारको परिचायक हो।
विगतमा बीपीलाई भारतीय दलाल भनेर आरोप लगाएरे राजनीतिक धन्दा चलाउने नेपालका कम्युनिस्टहरूले पनि उहाँलाई अहिले महान् राष्ट्रवादी नेता भनेर उच्च सम्मान प्रकट गर्न थालेका छन्। त्यसरी नै बीपीलाई अराष्ट्रिय तत्व भन्दै फाँसीको माग गर्ने र्‍यालीको नेतृत्व गर्ने पूर्व पञ्चहरू पनि अहिले बीपी कोइरालालाई महान् राष्ट्रवादी नेता भन्दै प्रशस्ति गाउन थालेका छन्। बीपीले स्थापना गरी जीवनभर नेतृत्व गरेको नेपाली कांग्रेसले भने उहाँलाई कति सम्मान र न्याय गर्न सकेको छ?
स्मृति दिवस वा जन्मजयन्तीमा तस्बिरमा दुई थुङ्गा फुल चढाउनु र ओठे भक्ति देखाउँदै श्रद्धाञ्जलीका भाषण छाँट्नु बीपीलाई सम्झनु पक्कै होइन। महान् प्रजातन्त्रवादी नेता एवं विचारक बीपी कोइरालाले राष्ट्रिय राजनीति र पार्टीमा स्थापित गरेको विचार, सिद्धान्त र कार्यक्रमलाई व्यवहारमा अपनाउनु पो उनीप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हो त।
बीपीको सिद्धान्त र नीतिविपरीत कम्युनिस्टहरुसँग कांग्रेसले सहकार्य गरेकै कारण २०१५ सालकोमा संसद्मा मुस्किलले ४ सिट जितेका कम्युनिस्ट २०४८ को संससदीय निर्वाचनमा सम्मानजन सिट जितेर प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगे। लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियाका नाममा सशस्त्र माओवादीलाई समेत काखीमा च्यापेपछि त संविधान सभा निर्वाचनमा सबै प्रकारका कम्युनिस्ट मिलाउँदा दुई तिहाई स्थान नै हत्याउन सफल भए।
नेपाली राष्ट्रियता माथि यसै पनि थुप्रै चुनौती त छँदै थिए। पृथ्वीनारायण शाहले नेपाल राष्ट्र स्थापना गरेदेखि नै नेपाली राष्ट्रियता, अखण्डता र सार्वभौम सत्ताले विभिन्न काल खण्डमा अनेक चुनौतीसँग जुध्दै आउनु परेको छ। विभिन्न कमी कमजोरी हुँदाहुँदै पनि शाह र राणा शासकले नेपाली राष्ट्रियता जोगाउँदै यो पुस्तासम्म ल्याइपुर्‍याएका हुन्। यो ऐतिहासिक यथार्थलाई स्वीकार नगर्दा अन्याय हुन्छ। पछिल्लो चरणमा माओवादीको कथित 'जनयुद्ध’, राजा ज्ञानेन्द्रको निरंकुश कदम, तत्कालीनसंसदीय सात राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे राजनीतिक समझदारी, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रिया, पहिलो संविधान सभा निर्वाचन र यसको असफलतापछि दोस्रो संविधानसभा निर्वाचनतर्फ मुलुक उन्मुख भएको अहिलेको बेला जति निम्सरो नेपाली राष्ट्रियता कहिल्यै भएको थिएन। प्रधानमन्त्री पदमा टिकिरहनका लागि हुनेनहुने सम्झौता गर्दै विदेशीका सामु लम्पसार पर्ने प्रवत्ति निकै डरलाग्दो हुन्छ। अहिले विदेशी नियोगका प्रतिनिधि राजनीतिक दलको बैठकमै उपस्थित हुन थालिसके। सामान्य राजनीतिक नियुक्तिमा समेत विदेशी हस्तक्षेप हुन थालेको चर्चाे छ। राष्ट्रिय सार्वभौमिकतामा खुल्ला चुनौती देखिँदा पनि प्रतिकार गर्न नसक्ने राजनीतिक दल र शक्तिले गणतन्त्रप्रति गर्व गर्नुको कुनै अर्थ छैन। मुलुकको अहिले यस्तो जर्जर अवस्थाको अनुमान बीपीले भने तीन दशकअगाडि नै गरिसक्नु भएको थियो।
दर्शन, स्वभाव र चरित्रले सामन्तवादी राजा निरंकुश भए पनि राजसंस्था जति राष्ट्रवादी दुनियाँमा अरू हुँदैन थियो। दुर्भाग्य, बीपी र नेपाली कांग्रेसले जति प्रयास गरे पनि राजसंस्था लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न तत्पर भएन। यही अस्वीकारले अन्ततः राजसंस्थालाई पतनको खाडलमा पुर्‍यायो। तर, बीपीको विचार, दर्शन र सिद्धान्तविपरीत कम्युनिस्टहरूसँग हात मिलाउन पुग्दा मुलुकको लोकतान्त्रिक आन्दोलनको पर्याय बनेको, बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता राजनेताले नेतृत्व गरेको नेपाली कांग्रेस पनि इतिहासमै सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको छ।
जननेता स्व. बीपी कोइरालाले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, स्वतन्त्र देश सिक्किम भारतमा विलय भएको सन्दर्भ, अफगानिस्तानमा रुसी हस्तक्षेपलगायतको राजनीतिक परिस्थितिको विश्लेषण र मूल्याङ्कन गरेर नेपालको राष्ट्रियता खतरा परेको निष्कर्ष निकाल्नु भयो। पञ्चायती शासनले लगाएका मुद्दाका कारण आफ्नो राजनीतिक एवम व्यक्तिगत जीवन समाप्त हुनसक्ने जोखिमको पनि पर्वाह नगरी राष्ट्रियताका जोगाउन निर्वासनबाट सहकर्मी गणेशमान सिंह र सयौं नेता कार्यकर्तासहित 'राष्ट्रिय मेलमिलापको नीति’ लिएर २०३३ सालमा स्वदेश फर्किनु भयो। त्यस नीतिमा प्रजातन्त्रका मूल्यमा राजासँग सम्झौता नगर्ने तर राष्ट्रियताका सबालमा मिलेर जाने उद्देश्यस्पष्ट थियो। साथै, कांग्रेसले लिएकोे सशस्त्र क्रान्ति वा हतियारको राजनीतिको त्याग पनि त्यसमा थियो।
राष्ट्रिय मेलमिलापको नीति र यसको महत्वको चर्चा गर्दा बीपीले राष्ट्रियताको विषयमा राजामा राष्ट्रियताको जुन तत्व छ त्यसै कारणले राजा पनि चाहिन्छ भन्नुभएको थियो। यसको तात्पइ निरंकुश राजा भए पनि चाहिन्छ भनेको चाहिँ होइन भनेर बीपीले नै स्पष्ट पार्नुभएको छ। बीपीले प्रतिवादन गरेको राष्ट्रिय मेलमिलाप राष्ट्रियताका पक्षधर शक्तिसँग मेलमिलाप थियो। तर, अब राजसंस्थाको पतन भई मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ। यस अवस्थामा मेलमिलापको नीतिलाई वर्तमान राजनीतिक परिवेशमा परिमार्जन गर्न जरूरी हुन्छ।
कुनै पनि नीति, सिद्धान्त अथवा विचार कालजयी हुँदैन। राजनीतिक नीति वा सिद्धान्त कहिल्यै परिवर्तन नहुने धर्मग्रन्थ होइनन्। विचार र दर्शन मानव सभ्यताको विकाससँगै परिवर्तन, परिमार्जन वा संशोधन हुन सक्छन्। उन्न्ाइसौ शताब्दीको मध्यतिर कार्ल मार्क्स (सन् १८१८ — १८८३) ले प्रतिपादन गरेको मार्क्सवादले बीसौं शताब्दिभर दुनियाँ हल्लायो। तर समाजको परिवर्तन र विकास गर्न असफल भएपछि अहिले मार्क्सवादी दर्शन पुस्तकमा मात्र सीमित हुन पुगेको छ। गान्धीवाद त जन्मस्थल भारतले नै स्वतन्त्रतापछि कहिल्यै अपनाएन। भारतले खुला बजारमुखी आर्थिक व्यवस्था अँगालेको पनि आज दुई दशक नाघिसक्यो। बीपीको विचार र दर्शनको गाथा चाहिँ गाइरहने तर व्यवहार त्यसको ठीकविपरीत आचरण गर्नु उचित हैन। बीपीका राजनीतिक व्याख्या वा दर्शन, विचार र सिद्धान्त पनि कालजयी हैनन्। वर्तमान राजनीतिक परिवेशमा तिनको जस्ताको तस्तै प्रयोग पनि संभव नहोला। त्यसैले पार्टीले रामायण पाठ गरेजस्तै बीपीवादको जप गरिरहनुभन्दा  त्यसलाई समयानुकूलसंशोधन, परिमार्जन एवम् विकसित गर्दै व्यावहारिक बनाउन सकेेमात्र बीपीप्रति न्याय हुनेछ।
शतवार्षिकीका अवसरमा बीपीका विचार र दर्शन, राजनीतिक एवं साहित्यिक योगदानलाई समसामयिक राजनीति र सामाजसँग जोडेर वर्ष दिनसम्म विमर्श, छलफल र अन्तर्त्रि्कया गरी परिमार्जन, संशोधन तथा विकसित गरेर समृद्ध बनाउन सकिन्छ। यसलाई जनजनसम्म पुर्‍याएर राष्ट्रियताको भावना जगाउन र प्रजातान्त्रिक संस्कृतिको विकास गर्नमा प्रयोग सकिन्छ। यसबाट कांग्रेसलाई सही बाटोमा हिँडाउन, बिग्रेको छवि सुधारेर प्रजातान्त्रिक आन्दोलन र मुलुककै पुनः नेतृत्व लिनसक्ने सामर्थ्य हासिल गर्न प्रयोग गर्न सकिन्छ।  राष्ट्रियता र जनताको स्वाभिमानलाई उँचो बनाउँदै देशलाई प्रगतिको बाटोमा हिडाउने मार्ग पहिल्याउने उपयुक्त राजनीतिक अवसरका रूपमा पनि बीपीका विचारलाई उपयोग गर्न सकिन्छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस