अपराधको सामाजिक परिप्रेक्ष्य
०१ असोज २०७०
•
१४ मिनेट पाठ
अपराधको सामाजिक परिप्रेक्ष्य
अपराधशास्त्री रोबर्ट आग्निउ बढी तनाव झेल्ने व्यक्ति अपराधमा संलग्न हुने बढी सम्भावना रहने तर्क गर्छन्। अपराधको कारणबारे भिन्न तर्कमध्ये उनको तर्कले सामाजिक र मनोविज्ञान दुवै पक्ष समेटेर विश्लेषण गरेको छ। अपराधको कारण नकेलाई अपराधीको सत्तोसराप गर्ने र अपराधीलाई कडा दण्ड सजाय दिएर समस्या समाधान निस्कने देख्नुले थप समस्या सृजना गर्न सक्छ। पीडक र पीडित हुर्के/बढेको सामाजिक र आर्थिक वातावरण र त्यसले जीवनमा पार्ने मनोवैज्ञानिक असर केलाएरमात्र समस्याको गहिराईमा पुग्न सकिन्छ।
प्रसंग उठाऔं– नयाँ दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा भएको बलात्कार घटना। त्यसयताको घटनाक्रम केलाउँदा अपराधलाई बुझ्ने प्रयासमा भएको बहसले परिवर्तनको मार्ग समातेको छ। अपराधको विश्लेषणमा कानुनका शब्दावली मात्र हावी नभई समाजिक, आर्थिक र मनोवैज्ञानिक परिप्रेक्ष्यले बहसका लागि स्थान बनाउन सफल भयो। नयाँ दृष्टिकोणहरूसहित समस्या र समाधानको उपायबारे छलफल जोडतोडले भयो। भारतीय विज्ञहरू अपराधलाई कानुनी दृष्टिकोणमा मात्र सीमित नराखी अन्य कोणबाट समेत हेरिनुपर्ने पक्षमा उभिएका छन्। तद्नुरूप समस्याको गहिराइमा पुग्ने र अपराध कम गर्ने उपायबारे बहस बढेका छन्।
दिल्ली बलात्कार काण्डले विश्वभर चर्चा पायो। साथै भारतभित्र लुकेको सामाजिक समस्या र चुनौती उजागर हुने परिस्थिति सृजना भयो। बलात्कारविरूद्ध कडा कानुन तर्जुमा भएको छ। निरभया नाम दिइएकी २३ वर्षीया युवतीलाई सामूहिक बलात्कार गर्नेमध्ये चार जनालाई फाँसीको सजाय सुनाइएको छ। नौं महिना लामो न्यायिक कारबाहीका क्रममा बलात्कारविरूद्धको कानुन संशोधन मात्र भएको छैन, बलात्कारका कारण केलाउने प्रयास पनि भएका छन्। पुरूषको तुलनामा महिलाको घट्दो संख्याको तथ्याङ्कले भारतमा लैङ्गिक अनुपातको असन्तुलनले पुर्‍याएको असरबारे ध्यान खिचियो। हरियाणा, दिल्लीलगायत् आर्थिकरूपमा समृद्ध प्रान्त र क्षेत्रहरूमा लैङ्गिक अनुपातको तथ्याङ्क झनै झस्काउनेखालको छ। सन् २०११ को जनगणनाले प्रतिहजार पुरूष बराबर ८७७ महिला संंख्या हरियाणामा र ८६६ महिला दिल्लीमा देखाएको छ। दिल्लीसँग जोडिएको हरियाणाका कतिपय स्थानमा विवाहका लागि योग्य पुरूषले महिला नपाउने अवस्था प्रकाशमा अयो। बाह्य प्रान्तहरूबाट युवतीहरू खरिद गरेर भए पनि वरलाई वधूको व्यवस्था गर्ने परिपाटी चल्तीमा आइसक्यो। धनीले पैसाको बलले खरिद गरेर भए पनि ल्याउला तर गरिबका लागि युवती पाउन मुस्किल छ। समयमै विवाह नहुँदा वा केटी साथी नभेट्दा पुरूषहरू यौनजन्य अपराधमा लाग्ने सम्भावना बढी हुन्छ। बलात्कारको कारणमध्ये लैङ्गिक अनुपातको असन्तुलित अवस्था एउटा कारणका रूपमा लिन सकिन्छ।
निश्चय पनि बलात्कारलाई निरूत्साहित पार्न कडा कानुन र कार्यान्वयन एउटा पक्ष हुन सक्छ। तर त्यो मुख्य अस्त्र होइन। कानुन कडा पार्दैमा बलात्कारको घटना कम हुँदैन। दिल्ली बलात्कारको घटनापछि पनि बलात्कारको घटनामा कमी आएको छैन। घटनाका दोषीमध्ये चार जनालाई फाँसीको सजाय सुनाइएको छ। फाँसीको माग राख्नेहरूले खुसी मनाए। जसमध्ये पीडितका परिवारसमेत थिए। बलात्कारीलाई फाँसीको माग गर्नेहरू विजेताको शैलीमा प्रस्तुत भए। बलात्कारीविरूद्धको सजाय कडा पारिएकाले अब उप्रान्त अपराध गर्नेले पीडितमाथि थप अपराध गर्ने खतरा उत्तिकै छ। त्यसबारे तर्क/वितर्क भइरहेछ। त्यसो त बलात्कारीलाई सिधै फाँसी दिनुपर्ने माग नउठेका होइनन् तर त्यसले पीडितमाथि बलात्कार मात्र नभई हत्यासमेत हुन सक्नेतर्फ बहस चलेको थियो। कडा कानुन प्रत्युत्पादक हुनसक्छ। अपराधलाई कठोर कानुनले काबुमा मात्र नराखी बढावा दिने खतरा उत्तिकै रहन्छ।
सञ्चारमाध्यमले दिल्ली घटनालाई दिएको स्थानले अपराधबारेको लेखन र प्रस्तुतिमा उत्तिकै प्रभाव पार्‍यो। सतहीमात्र नभई गहिरो अनुसन्धानमूलक लेखहरू आए जसले बलात्कारको सामाजिक, आर्थिक, राजनीतिक, कानुनी र मनोवैज्ञानिक पक्ष केलायो। सञ्चारमाध्यममा प्रकाशन र प्रसारणका क्षेत्रमा विगतभन्दा फरक ढंगले महत्त्व पाउनु सकारात्मक पक्ष हो। पीडितको मात्र नभई पीडकको पृष्ठभूमि छलफलमा आयो। घटनास्थल र पीडितमा केन्द्रित हुने परिपाटीमा केही परिवर्तनको संकेत देखियो। पीडकहरू बस्ने गरेको झुपडी बस्तीबारे गहिरो अध्ययनतर्फ ध्यान गयो। कानुनको चश्मामा सीमित भएर अपराधमाथि व्याख्या, अपराधीमाथि व्यवहार र अपराध रोक्ने योजना तर्जुमा गर्ने विगतका प्रवृत्तिबाट मुक्त हुने पहल भएका छन्। पीडित र पीडकलाई कानुनका शब्दावलीबाट मात्र व्याख्या गरेर नपुग्ने निर्क्यौलका साथ तिनको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्ष केलाएर हेर्नेतर्फ प्रयास भएका छन्।
कुनै पनि घटनामा पीडकको महत्त्वपूर्ण भूमिका रहन्छ। बलात्कार जस्तो घटनामा पीडितभन्दा पीडकको भूमिका प्रधान रहन सक्छ। त्यसो त कुनै पनि अपराधमा पीडकको सामाजिक अवस्था र मनोविज्ञान केलाउन जरूरी हुन्छ। नत्र अपराधबारे विश्लेषण र अध्ययन एकपक्षीय र सतही हुन जान्छ। दिल्ली बलात्कारका दोषीमध्ये सबैजसो आर्थिकरूपमा विपन्न परिवारका छन्। उनीहरू आफैँ र परिवार गाउँबाट सहर पसेकाहरू छन्। गरिबी र बेरोजगारीबाट मुक्तिका लागि सहरको कोलाहलमा मिसिएका थिए। पीडकमध्ये तीनजना दिल्लीको झुपडी बस्तीमा बसोबास गर्नेहरूमाझ समावेश भएका छन्। जो दिनभर काम गरेर बेलुकीको गास जुटाउँछन्। सहरले विलासी जीवन बाँच्न सिकाउँछ तर सबैलाई त्यसको प्रबन्ध गर्न सक्दैन। न त आवश्यक खर्चबर्चको अवसर सृजना गर्न सक्छ। यसबीच व्यक्तिमा मनोवैज्ञनिक असर पर्छ। आवश्यकता पूरा हुन नसक्दा व्यक्तिमा तनाव बढ्न गई अपराधतर्फ उन्मुख गराउँछ। अपराध गर्न डर मान्दैन।
अपराध गर्नेहरूको पृष्ठभूमि उत्तिकै महत्त्वपूर्ण पक्ष हो। दिल्लीमा भएको बलात्कारको घटनामा छ जना दोषीको पृष्ठभूमि केलाउने उत्सुकता अध्ययनकर्तादेखि सञ्चारकर्मीसम्मले गरे। पीडित र पीडकको आर्थिक र सामाजिक अवस्थाबारे तुलना गरे। शैक्षिकरूपमा चिकित्साशास्त्र अध्ययन गरिरहेकी पीडित युवती पीडकभन्दा माथिल्लो स्तरमा रहे पनि आर्थिक स्तरमा खासै फरक देखिएन। पीडकमध्ये एक जनाले मात्र अध्ययन जारी राखिरहेका थिए। बाँकी पाँच जना कम शैक्षिक योग्यता भएकाहरू हुन्। गाउँमा पढ्दापढ्दै बीचैमा छाडेर कमाईधमाईका लागि सहर पसेका थिए। विगतमा समेत छिटफुट आपराधिक क्रियाकलापमा संलग्न रहेको तथ्य भेटियो। समाजको मूल्य र मान्यता नाघेर हिँड्न बानी परिसकेकामध्येबाटै बलात्कारको घटना भयो।
दोषीहरूको उमेर केलाउँदा तीनजना २० वर्षमुनिका छन्। जसमध्ये एक जना घटना हुँदा १७ वर्षका थिए। उनलाई नाबालिग कानुनअन्तर्गत तीन वर्षको सजाय सुनाइसकिएको छ। बाँकी तीन जना २६, २८ र ३५ वर्षमुनिका छन्। किशोरावस्था चाँडो प्रतिक्रिया देखाउने, जोसिने र विचलित हुने समय हो। परिवार, बसेको क्षेत्र र राज्यले उचित वातावरण दिन नसके चाँडै आपराधिक क्रियाकलापमा लाग्ने सम्भावना हुनसक्छ। आफूभन्दा ठूलाबाट आपराधिक क्रियाकलाप छिट्टै सिक्न सक्छन्। अपराध अरूबाट सिक्ने विषय पनि हो। बलात्कार गर्नेहरूले बलात्कार अरूबाट नसिके पनि अपराधलाई सघाउ पुर्‍याउने जस्तो गतिविधि आफूभन्दा उमेरदारहरूबाट सिकेको देखिन्छ। दिल्ली घटनामा संलग्न किशोरहरूको अन्य तीन जनासँगको संगतले उनीहरू समाजको मूलधारभन्दा अलग प्रकारले बाँचिरहेको देखिन्छ। आफू जन्मे/हुर्केके वातावरण, त्यहाँपछि रोजगारीको सिलसिलामा बसेको थलो र त्यहाँ बाँच्ने क्रममा परेको प्रभावले व्यक्तिमा मनोवैज्ञानिक असर पर्छ। जसले उसलाई अपराधी बनाउने सम्भावना रहन्छ। दोषीहरूको पारिवारिक पृष्ठभूमि, घटनाको समयमा आर्थिक र सामाजिक पृष्ठभूमि केलाएपछि मनोवैज्ञानिक असर बुझ्न सहज हुन्छ। त्यसबाहेक बाह्य प्रभाव केलाउनु उत्तिकै सान्दर्भिक हुन्छ।
अपराधलाई गहिराइमा बुझेपछि मात्र त्यसलाई काबुमा राख्ने वा कम गर्ने उपाय निस्कन्छ। अपराधको सत्तोसराप गरेर वा कडा कानुन तर्जुमा गर्दैमा समाधानको उपाय निस्कँदैन। कानुन तर्जुमा गर्दा सामाजिक पक्षलाई नदरअन्दाज गर्न मिल्दैन। अपराध गर्नेको अपराधतर्फ कसरी मनोविज्ञान विकसित भयो भन्ने जान्न जरूरी छ। बलात्कारी समाजको पात्र हो र सामाजिक परिस्थितिले उसलाई बलत्कारी बनाउने यथार्थलाई लुकाएर समस्याबाट पार पाइँदैन। दिल्ली बलात्कार घटनापछि भारतमा बलात्कारलाई फरक फरक कोणबाट विश्लेषण गर्ने जागरूकता देखापरेको छ। नेपालमा बलात्कारलगायत् अपराधका अन्य पक्षलाई सामाजिक र मनोवैज्ञानिक कोणबाट केलाउने र चियाउने परिपाटी विकास गर्न अपरिहार्य छ। अपराधलाई कानुनको धारा र शब्दावलीभित्र अलमलाइराखेमा समस्या समाधानको ठोस आधार तयार हुन सक्दैन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस