वैद्यलाई किन छुटाइयो?
३० असोज २०७०
•
१३ मिनेट पाठ
वैद्यलाई किन छुटाइयो?
यस पालिको दसैँ चुनावमय भयो। हरेकजसो शुभकामना र जलपान कार्यक्रममा चुनावकै आकलन भयो। नेता र उमेदवार जनताको घरदैलो पुगे। तिनले आफू र आफ्नो पार्टीलाई जिताए नयाँ संविधानमार्फत् 'रामराज्य' ल्याइदिने आश्वासन दिए। विजयादशमीलाई लंकाका राजा रावणमाथि अयोध्याका राजकुमार रामको विजयको प्रतीक मानिन्छ। यस अवसरमा 'रामराज्य' को चर्चा हुनु अस्वाभाविक होइन। रामराज्यलाई आदर्श राज्य मानिन्छ। खासमा रामराज्य आदर्श थिएन। यसबाट हाम्रा राजनीतिक दल र नेताको सामाजिक बोध तथा राजनीतिको धरातल कति खोक्रो छ भन्ने प्रस्ट हुन्छ।रामायण कथाअनुसार रावणले आफ्नी बहिनी शूर्पणखामाथि रामलक्ष्मणले गरेको अत्याचारको प्रतिशोध लिन सीता अपहरण गरेका थिए। अपहरण गरे पनि सीताप्रति उनले बिहेको आग्रहबाहेक कुनै जबर्जस्ती गरेनन्। सीतालाई सीधै अन्तःपुर नलगी अशोकवाटिकामा राख्नु र उनको इच्छाविरुद्ध कुनै काम नगर्नु रावणको उच्च नैतिक व्यवहार थियो। रावणकै भाइ विभीषणको सहारा लिएर रामले रावणको हत्या गरे र सीतालाई मुक्त गराए। रावणको दरबारमा त्यत्रो समय बसेकी सीताप्रति रामलाई शंका थियो। 'कुनै तुच्छ नारीका लागि नभई शत्रुसँग बदला लिन' लंका आक्रमण गरेको भन्दै रामले सीता वरण गर्न अस्वीकार गरे। कतिसम्म भने सीतालाई उनले 'लक्ष्मण, भरत वा शत्रुघन जोसँग मन लाग्छ बस' भनेका थिए। आखिर सीताले अग्निपरीक्षा दिनुपर्‍यो। उनी सफल भइन्। पछि फेरि एक धोबीको आक्षेप स्वीकार्दै गर्भवती सीतालाई उनले बाघभालुको दयामा घना जंगलमा छाडिदिए। अन्ततः सीताले आत्महत्या गर्नुपर्‍यो। बाली बध, सीता परित्याग, शम्बुक बधलाई मर्यादा पुरुषोत्तमको कार्य मान्न सकिन्न। सुग्रीब र बालीको मल्लयुद्ध भइरहेका बेला सात रुखको छेको लागी वाण हानेर रामले बालीको हत्या गरेका थिए। तपस्या गरिरहेका शूद्र शम्बुकलाई स्पष्टीकरणको मौकासमेत नदिई तपस्यास्थलमै हत्या गर्नु अर्को नकाम थियो।
रामको उद्देश्य ब्राह्मण जातिको पोषण र तिनका विरोधीको उन्मूलन गर्नु देखिन्छ। विश्वामित्रको यज्ञ रक्षार्थ ताडक वनमा गरेको उनको कारबाहीले प्रस्ट हुन्छ, ब्राह्मण हित उनका लागि न्याय र औचित्यभन्दा महत्त्वपूर्ण कुरा थियो। यक्ष जाति ब्राह्मण प्रभुत्वविरोधी थियो। अगत्स्य नामका ब्राह्मणले यक्ष जातिकी ताडकाको पतिलाई मारेका र छोरालाई श्राप दिएका थिए। यसबाट अवसादग्रस्त ताडका ब्राह्मण जातिसँग बदला लिन चाहन्थिन्। विश्वमित्रबाट यो सुनेपछि राम र लक्ष्मणले क्रूरतापूर्वक ताडकाको हत्या गरे। न्यायप्रेमी हुँदा हुन् त रामले क्रूरताका लागि अगत्स्यलाई पहिला दण्ड दिनुपर्थ्यो। ब्राह्मण भएकाले अगत्स्यको सारा क्रूरता माफ भयो। रामायण रचयिता वाल्मीकि स्वयंले ताडकालाई यशस्विनी र उनका पिता सुकेतुलाई सदाचारी मानेका छन्। रामायणमा यस्ता प्रसंग धेरै छन् जहाँ ब्राह्मण वा राजकुलको हितका लागि अरुको अन्यायपूर्ण हत्यालाई न्याय भनिएको छ। यति भएर पनि हाम्रा कतिपय नेता आदर्श राज्यका रूपमा रामराज्य ल्याउने परिकल्पना गर्छन्।
इतिहास र समाजप्रतिको यही निम्छरो दृष्टि हाम्रो राजनीतिमा प्रतिविम्बित भएको देखिन्छ। यस्तै गलत बुझाइ वा अहंकारका कारण देशव्यापी संगठन भएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिर राखेर संविधान सभा चुनावका नाममा संविधान सभालाई नै असफल पार्ने खेल हुँदैछ। आफ्ना मागहरुको नाकमात्र जोगिए वैद्य माओवादी चुनावमा भाग लिन तयार भइसकेको थियो। अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी राष्ट्र संघको कार्यक्रमबाट फर्केपछि वार्ता हुने अपेक्षा गरिएको थियो तर भयो उल्टो। उनले वैद्यको आवाजलाई पूरै अवहेलना गरेर 'मंसिर ४ को चुनाव कसैले रोक्न नसक्ने' अभिव्यक्ति दिए। वार्ताको कुनै पहलै नगरी असोज १७ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता सम्पन्न भयो। यो बेग्लै कुरा हो, मनोनयनमा वैद्य माओवादीले कुनै अवरोध गरेन। विरोध पनि शान्तिपूर्ण तरिकाले गर्ने वैद्यले उल्लेख गरेका छन्। त्यसो भन्दैमा चुनाव निष्कलंक हुन्छ र शान्तिप्रक्रिया पूर्ण हुन्छ भन्ने ठान्नु गलत हुन्छ। फूलपातीका दिन म्याग्दीमा एनेकपा (माओवादी)का कार्यकर्तामाथि भएको आक्रमणले यसको संकेत गरिसकेको छ।
वैद्य माओवादीले निर्वाचनलाई निरपेक्षरूपले अस्वीकार गरेको थिएन। सर्तहरु पूरा भए ऊ चुनावमा भाग लिने पक्षमा थियो। यस्तो स्थितिमा उसलाई पन्छाएर गरेर, सेना परिचालन गरेरै चुनाव गराउन खोज्नुको अर्थ के हो? संविधान सभाको चुनावलाई युगान्तकारी घटना मानिन्छ। त्यो हरेक देशको जीवनमा एक जुगमा एकचोटि मात्र आउँछ। यस्तो चुनाव देशका हरेक असन्तुष्टिलाई निमिट्यान्न पार्नेखालको हुनुपर्छ। शाही सरकारविरुद्ध आन्दोलन सफल पार्ने र संविधान सभा चुनाव गर्ने सर्तमै जंगलबाट सत्तामाथि आक्रमण गरिरहेको माओवादी बाह्रबुँदे सम्झौता र शान्ति प्रक्रियामा आएको थियो। संविधान सभाबाट बन्ने समतामूलक संविधानले मात्र अशान्तिको आगो निभाउन सक्ने निष्कर्षसहित सबै राजनीतिक दल २०६४ सालको संविधान सभा चुनावमा सहभागी भएका थिए।
 एनेकपा (माओवादी) बाट नब्बे जना पूर्वसभासद्को समर्थन लिएर बनेको वैद्य माओवादीसँग देशव्यापी संगठन छ। अर्कातिर ऊ शान्ति सम्झौताकै एउटा पक्ष हो। विसं २०५२ साल फागुन १ गते थालिएको माओवादी वि्रद्रोहको आगो अभाव र अत्याचारको जगमा भर्भराएर देशव्यापी हुन पुगेको थियो। त्यतिबेला माओवादी जंगल छिर्नुपरेका आर्थिक र सामाजिक परिस्थिति यथावत् छन्। वैद्य माओवादीसहित ३३ दलीय मोर्चाले यी परिस्थिति अन्त्य गर्न संविधान बन्ने ग्यारेन्टी हुनुपर्छ भनी उठाएको आवाज सर्वथा जायज थियो। मोर्चा आफ्ना १८ बुँदे मागबाट तीन बुँदामा ओर्लेको थियो। अन्त्यतिर त रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा गरे चुनावमा सहभागी हुने विनम्र वचन उसका नेताहरुले दिइरहेका थिए। यसमा लोकतान्त्रिक दलहरुले सैद्धान्तिक असहमति जनाउनुपर्ने कुनै कारण थिएन। चुनाव सार्ने माग वैद्य माओवादीको प्राविधिक अप्ठेरोको परिणाम थियो। अन्तर्राष्ट्रिय समुदायले चाहँदैमा चार दलले मंसिर ४ लाई पितृको सराद्धेजस्तै यताउता गर्नै नहुने कुनै कारण थिएन। किनभने यो चुनाव हाम्रो हो, भारत, चीन, अमेरिका वा युरोपेली समुदायको होइन। द्वन्द्वको समस्या पनि हाम्रै हो। त्यसको घाउमा मलम लगाउने र फेरि कुनै घाउ लाग्न नदिने जिम्मा पनि हाम्रै हो। हाम्रो समस्यालाई बेवास्ता गरेर अरुको हाहामा लाग्दा समस्या यथावत् रहन्छ। हो, चुनाव वैद्य माओवादीले भनेकै मितिमा पुर्‍याउनु अनिवार्य थिएन। तर, मंसिरभित्रै वा पुसको पहिलो हप्ताभित्र गराएर उसलाई नाक जोगाउने अवसर दिन सकिन्थ्यो। पुरानै परिस्थितिमा संविधान बन्न सक्दैन, त्यसैले संविधान बन्ने ग्यारेन्टीको आधार खोजौँ भन्नु वैद्य माओवादीको कुनै गल्ती थिएन।
उसलाई बाहिर राखेर गराइएको संविधान सभा चुनावले द्वन्द्वको घाउ निको हुँदैन, उल्टै बल्भि्कन्छ भन्ने सबैलाई थाहा छ। माओवादीले शक्ति प्रदर्शन नगरे पनि नयाँ बन्ने संविधान एक हिसाबले अधुरै हुन्छ। त्यहाँ सत्ता सुखबाट वञ्चित, आँसु र आक्रोशमा जीवन बिताउन बाध्य एउटा समुदायको प्रतिनिधित्व हुँदैन। अर्कातिर पुरानै अवस्था र विवाद यथावत् रहेको स्थितिमा संविधान सभाले संविधान बनाउन सक्दैन। बनाएछ भने पनि त्यो सर्वस्वीकार्य हुँदैन। त्यसकै कारण मधेस विद्रोहजस्तै अर्को विद्रोह हुन सक्छ। माओवादीले शक्ति प्रदर्शन गर्‍यो भने एक खालको गृहयुद्धबीच चुनाव गराउनुपर्ने हुन्छ। त्यस स्थितिमा फेरि जनताको शान्तिपूर्ण तरिकाले बाँच्ने हक हनन हुन्छ। यी सब बुझ्दाबुझ्दै किन वैद्य माओवादीलाई बाहिरै राखेर चुनाव गर्न खोजियो? चुनावी परिणामको हिसाबकिताब गरेर वा आफूबाट अलगिएको पार्टीलाई एमाओवादीले बहिष्कृत गर्न खोज्नु अनौठो होइन। यो सामान्य मानवीय कमजोरी हो। तर, किन कांग्रेस र एमाले पनि त्यही हाहामा लागे? के यो देशमा संविधान सभा असफल पार्ने खेल त होइन? होइन भने पूर्वसभाध्यक्ष सुवास नेम्वाङले दसैँअघि इलाममा गएर भनेझैँ अहिले पनि वैद्य माओवादीलाई भित्र्याउन सकिन्छ। प्राविधिक अप्ठेरा होलान्। चुनाव तालिका हेरफेर होला। चुनाव अलि पर सार्नुपर्ला। तर, चुनावको प्राविधिकताभन्दा द्वन्द्वको निदान खोज्नु महत्त्वपूर्ण हुन्छ। चार दल र सरकारले राजनीतिक सहमतिमार्फत् त्यसलाई सुल्झाउन सक्छन्। त्यसका लागि विदेशी समुदायको अनुमति जरुरी छैन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस