पहिला शान्ति कि लोकतन्त्र ?
१५ मंसिर २०७०
•
१३ मिनेट पाठ
पहिला शान्ति कि लोकतन्त्र ?
निर्वाचन हुनुभन्दा केही साताअघि रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूमा एउटै प्रश्न बारम्बार सोधिइरहेको थियो, – 'के नेकपा–माओवादीलाई बाहिर राखेर निर्वाचन संभव होला?' धेरै वरिष्ठ पत्रकार, राजनीतिक विश्लेषक र राजनीतिज्ञहरूलाई त्रसित पारेको थियो माओवादीको निर्वाचन बहिष्कारले।कतिपय वरिष्ठ मानवाधिकारवादी नेता त यस निर्वाचनमा ३० प्रतिशतभन्दा कम मत खस्ने डर देखाउँदै अन्तिम समयसम्म निर्वाचन स्थगित गराउन प्रयासरत थिए र सम्बद्ध निकायलाई तर्साउँदै थिए। दुई दिन बाँकी छँदासम्म पनि चिनिएका मानवअधिकारवादी निर्वाचन रोक्नका लागि दौडधुपमा व्यस्त थिए। निर्वाचनको ठीक अघि एक विदेशी कूटनीतिज्ञको निवासमा जम्मा भएका वरिष्ठ पत्रकारहरू भन्दै थिए – 'देशको प्रमुख दलको ठुलो चोइटोलाई बेवास्ता गरेर अघि बढ्न मिल्दैन।' हामी फेरी हिंसाको भूमरीमा पर्न सक्छौं भन्ने तिनको शंका थियो।

निर्वाचन सम्पन्न भएलगत्तै पनि केही विद्वत् वर्ग र राजनीतिज्ञहरू थवाङको एउटा निर्वाचन क्षेत्रमा शून्य मत खसेको प्रसङ्ग दोहो¥याउँदै आजको एक झिल्को भोलि आगो बन्नसक्ने आकलन गर्दै त्यस्तो शक्तिलाई मूलधारमा समाहित गरेर लग्न नसके देश फेरि गृहयुद्धको विभीषिकामा फस्ने चेतावनी दिइरहेका छन्।

त्यतिमात्र होइन। निर्वाचन परिणाम आएर एनेकपा (माओवादी) ले ८० स्थानमात्र जित्न सके पनि उसलाई संविधान निर्माण प्रक्रियामा सँगै लग्नुपर्ने जिकिर गर्नेहरूको समेत कमी छैन। नेपाली जनताले अपार उत्साहका साथ ७८ प्रतिशत मतदान गरेर सबैलाई आआफ्नो स्थानमा राखी सकेपछि पनि जनमतको कदर गर्नुको सट्टा जनताको निर्णयको विपरीत गएमा भोलि हिंसा र राजनीतिक चलखेल समाप्त हुन्छ भन्ने कुतर्कमा व्यस्त छन् केही बुद्धिजीवी र राजनीतिकर्मी।

के यी तर्क सही छन् ? के नेकपा–माओवादीले निर्वाचन बिथोल्न नसकेको पुरस्कार स्वरूप उसले चाहेको संख्यामा सरकारमा र संविधान सभामा आसीन गराउनु पर्ने हो? एनेकपा (माओवादी) साम, दाम, दण्ड, भेद प्रयोग गरेर पनि सानो दल भएको छ। के उसले धम्क्याएझैँ अब दुई तिहाईको बलमा केही गर्न नपाइने र सम्पूर्ण संविधान निर्माण प्रक्रियामा सहमतीय रूपमा अघि बढ्नु पर्ने हो?

उनीहरूको अलोकतान्त्रिक माग सुनिनु पर्छ भन्नेमा थोरै उनैसँग वैचारिक सहमति राखेका व्यक्ति छन् भने धेरै नेपालमा अब हिंसा भएको सुन्नु नपरोस् भन्ने पवित्र सोच पालेका भलादमीहरू छन्।

विसं २०५२ सालदेखिको दसवर्षे सशस्त्र विद्रोह, मधेस आन्दोलन र २०६४ पछिको राजनीतिक विशृंखलताले नेपाली जनमानसमा हत्या र हिंसाको त्रास गहिरिएर बसेको छ। अब फेरि यस्तो त्रासदी देख्न नपरोस् भनेर सोच्नेहरू जस्तो सम्झौता गरेर पनि नेपाली जनतालाई शान्ति र स्थिरता प्रदान गर्नुपर्ने जिकिर गर्छन्। तर लोकतान्त्रिक पद्धतिलाई पाखामा राखेर अघि बढेको शान्ति 'मुर्दा शान्ति'मात्र हुन्छ। कसैले पनि जायज कुरा उठाउँदा तातो गोली खानुपर्ने डरले सबैजना चुपचाप बस्न बाध्य भए भने निरंकुशतन्त्र जन्मनेबाहेक वैकल्पिक पथ बाँकी रहँदैन।

अहिलेको अवस्थामा लोकतन्त्रप्रति समर्पित दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) मिलेरै दुई तिहाइ मत हुन्छ र त्यसले लोकतान्त्रिक संविधान बनाउने जनमतको रक्षा पनि गर्न सक्छ। विभिन्न किसिमका डरलाग्दा जोखिम देखाएर देशलाई दिग्भ्रमित गर्नुको अर्थ छैन। वास्तवमा राप्रपा नेपालका कमल थापाले जस्तै एनेकपा (माओवादी)ले पनि आफ्नो दल सरकारमा समावेश हुनेछैन भनेर घोषणा गरिदिए हुने अवस्था छ। थापाको दलले चाहेको संवैधानिक राजतन्त्र र धर्म सापेक्ष राष्ट्र अहिलेको संविधान सभाले बनाउँदैन भन्ने स्पष्ट भइसकेको अवस्थामा ऊ सरकारमा सामेल भएर आफ्ना मतदातालाई रुष्ट गराउन चाहँदैन भन्ने प्रष्ट छ।

दोस्रो संविधान सभाले एनेकपा (माओवादी)ले चाहेको जस्तो जातीय संघीयता र मौका पर्दा सत्ता कब्जा गर्ने प्रकारको संविधान पनि बनाउँदैन। न त उसले भनेजस्तो बहुदलका नाममा साम्यवादीहरूमात्र रहने व्यवस्थानै अहिले बन्नसक्छ। विसं २०६४ सालको संविधान सभाले जस्तो संविधान निर्माण गर्नसक्ने अवस्था सिर्जना गरेको थियो त्यस्तो अवस्था समेत अहिले छैन। यो यथार्थ अहिलेका ठूला र संविधान बनाउन सक्ने दलहरूले मनन् गर्नुपर्छ।

यद्यपि, एनेकपा (माओवादी) सानो दल पनि होइन र उस्को शक्ति पनि सकिएको छैन। उसले धेरै बबन्डर मच्चाउन सक्छ। भोलिका दिनहरू सधै बन्द र त्रासदीयुक्त बनाउन पनि सक्छ। यति कुरा सही हो। तर, एमाओवादी लोकतान्त्रिक व्यवस्थामा विश्वास नगर्ने हो, बहुलवाद र बहुपहिचानको संघीयतालाई स्वीकार नगर्ने हो भने उसलाई सरकारमा ल्याउनु खुट्टामा बन्चरो हान्नुबाहेक अरू केही हुनेछैन। उसलाई सरकारमा नल्याई उसको सहमतिमा संविधान बनाउँछु भन्नु पनि उही 'बीरबलको खिचडी' पकाउनु बराबर हुनेछ। किनभने उसले बहुलवाद र लोकतान्त्रिक संविधान स्वीकार्न सक्ने देखिँदैन।

त्यसोभए नेकपा–माओवादी र एनेकपा (माओवादी)लाई बेवास्ता गरेर देश र व्यवस्था चलाउन सकिन्छ? यो पक्कै पनि सजिलो प्रश्न होइन। एउटाले निर्वाचन रोक्न नसक्नु, अनि, अर्कोले निर्वाचनमा सोचेभन्दा धेरै कम मत ल्याउनु र संविधान निर्माणको प्रक्रियामा संलग्न हुने भूमिका घट्नुले उनीहरू दुवै मिलेर वा एक्ला एक्लै विग्रह र वितण्डा मच्चाउन उद्यत हुनसक्ने अवस्थालाई नकार्न सकिन्न । यसैले सरकारमा बस्ने दलले त्यसको सामना गर्न तयारी गर्नुपर्छ। जनताको मत लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि हो भने गैरलोकतान्त्रिक दलहरूसँग मिलेर संविधान बन्न सक्तैन। संविधान निर्माण गर्न नसक्ने हो भने नेपाली कांग्रेस र एमालेले आआफ्नो ढङ्गले सरकारका समीकरण बनाएर अघि बढे हुन्छ। तर त्यसो गर्नु भनेको आगामी निर्वाचनमा आत्महत्या गर्नु बराबर हो भनेर दुवै दलले बुझेकै हुनुपर्छ। यसैले, त्यस्तो कदम चाल्न नसक्लान्।

यसैले स्पष्ट हुन्छ, पहिले लोकतन्त्र संस्थागत नगरी कुनै पनि हालतमा देशमा शान्ति स्थापना हुनसक्ने संभावना छैन। विश्व राजनीतिमा शान्ति र लोकतन्त्रका बारेमा 'चल्ला र अण्डा' जस्तै कुन पहिला भन्ने छलफल चलिरहेको देखिन्छ। यस्को कारण के हो भने गृहयुद्धमा रहेका देशहरूमा शान्ति पहिलो जरुरत हुन्छ। किनभने गृहयुद्धको कारण राजनीतिकमात्र नभएर जातीय, धार्मिक, आर्थिक पनि हुन सक्छन्। यस्ता कारण भएको देशमा शान्ति स्थापना पश्चात लोकतन्त्रले जग हाल्न गाह्रो हुँदैन। तर देशको राजनीतिक व्यवस्था कस्तो हुन्छ भन्ने मान्यतामै द्वन्द्व छ भने शान्तिमात्र स्थापना गरेर स्थायित्व आउँदैन। किनभने राजनीतिक लडाईं त सकिएकै हुँदैन। नेपालमा २०६४ सालमा विस्तृत शान्ति सम्झौता हुँदा तत्कालीन विद्रोहीहरूले लोकतान्त्रिक मूल्य र मान्यताप्रति विश्वास जनाएको भए संविधान सभाको दोस्रो निर्वाचन गर्नुपर्ने अवस्था आउने थिएन। त्यसैले नेपालको राजनीतिमा शान्ति हाँगा हो भने लोकतन्त्र रुखको फेद हो। जबसम्म फेद बलियो बन्दैन हाँगामात्रै बलियो हुँदैन र भइहाले पनि त्यो हाँगालाई रुखले थाम्न नसकेर भाचिन्छ।

अहिलेको अवस्थामा लोकतान्त्रिक संविधान नबनी अन्य विषयमा जान सकिँदैन। एकपल्ट संविधान जारी गरेर लोकतन्त्रलाई संस्थापन गर्न सकियो भने शान्ति आफँ आउँछ। त्यसबेला उग्र वामपन्थी दलहरूलाई पनि हिंसामा नउत्रँदासम्म निषेध गरेर जानु नपर्ने हुन सक्छ। वामपन्थी दलहरूसधैँ सशस्त्र विद्रोह नगरी आफ्नो प्रकारको व्यवस्था नआउने जिकिर र्गछन् तर लोकतन्त्रम हतियार त सरकारसँग मात्र हुन्छ। लोकतन्त्रमा कुनै पनि राजनीतिक दलले हतियार प्रयोग गर्न खोज्यो भने सरकारले कठोर भएर त्यसका विरुद्ध कानुनी प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ। तर उग्र वामपन्थी दलहरूले शान्तिपूर्णरूपमा आन्दोलन गरेरै अर्को निर्वाचनमा दुई तिहाईभन्दा बढी मत ल्याएर लोकतन्त्रलाई उल्टाए भने त्यस अवस्थामा तिनका विरुद्ध केही गर्न सकिन्न। त्यसबेला लोकतन्त्रमा विश्वास गर्ने दलहरूले फेरि जन समर्थन खोजेर निरंकुश सत्ता समाप्त गर्ने कोसिस गर्नुपर्ने हुन्छ।

अहिले बुझ्न नचाहेको विषय भनेको भूईं कटहर रुखमा फल्दैन र रुख कटहर जमिनमुनी बढदैन भन्ने शाश्वत सत्य हो। शान्ति र स्थायित्व प्राप्त गर्ने उद्देश्यमा दुवै थरीका कटहर एकै हुन् भनेर अघि बढ्नु जनअधिकारको उल्लघंन गर्नु हो र अहिलेको जनमतको उपेक्षा गर्नु हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस