छिमेकीको पाहुना
१३ पौष २०७०
•
१३ मिनेट पाठ
छिमेकीको पाहुना
'तपाईँहरूका कुरा सुन्दा हामी नेपाली होइन पाकिस्तानी टोलीसँग वार्ता गरिरहेका छौँ जस्तो लाग्दैछ। नेपाललाई हामीले सकेको सहयोग गरेका छौँ, सुविधा दिएका छौँ, व्यापार र पारवहन सुविधा दिएका छौँ र पनि किन यस्तो गुनासो सुनिन्छ नेपाली टोलीबाट?' भारतीय सरकारको बजेटबाट चल्ने प्रतिरक्षा अध्ययन तथा विश्लेषण संस्था (आईडीएसए) का एक सल्लाहकार सुशान्त सरीनले नेपाली पत्रिकाका सम्पादकको टोलीमाथि आक्रामक ढंगले प्रश्न गरे।




सरीनको यो पुरानै सूत्र हो नेपालीहरूलाई रक्षात्मक अवस्थामा धकेल्ने। सन् २००५ मा सोही संस्थाको आयोजनामा भएको साउथ एसिया समिट शीर्षकको कार्यक्रममा पनि यो लेखक उपस्थित थियो र तिनै सरीनले त्यसैगरी यहाँको कुरा सुन्दा पाकिस्तानको टोली भन्ठानेको त नेपालको टोली पो रहेछ भनेर सातो खाने आवाजमा कुरा गरेका थिए।

संसारमा धेरै कुरा बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिन्न। अझ छिमेकी आफूभन्दा ठूलो, बलियो र प्रभावशाली भयो भने आफ्नो अस्तित्व जोगाउनसमेत गाह्रो हुन्छ। आफूलाई सहयोग गर्ने र चाहिएको बेला उसैको मुख हेर्नुपर्ने अवस्थामा प्रभावशाली छिमेकीले अलिकति सीमा मिच्दा अथवा घरको फोहोर आफ्नो जग्गामा फाल्दा कस्तो व्यवहार गर्ने, कतिसम्म सहने र कुन तहमा विरोध गर्ने भन्ने सुझबुझ पुर्‍याउन मुस्किलै हुन्छ। त्यसमाथि छिमेकीकै घरमा उसकै पाहुना भएर आफ्ना गुनासाहरू सटीक ढंगले सुनाउन र उसको मन नभाँची आफूलाई परेको मर्काको समाधान खोज्नु त झन् सहज हुँदैन। त्यस्तै भयो यसपल्ट भारत भ्रमणमा गएको नेपाली पत्रिकाका सम्पादकहरूको टोलीलाई।

डिसेम्बर १४ देखि २१ सम्मको भ्रमणमा १२ दैनिक तथा दुई साप्ताहिक पत्रिकाका गरी १४ जना सम्पादकको टोली नयाँ दिल्ली, अमृतसर तथा तिरुवनन्तपुरम (त्रिवेन्द्रम)सम्म भारतको आतिथ्यमा घुमेर फर्क्याे। नेपालको ठूलो छिमेकी तथा नेपालको राजनीतिमा प्रभावशाली भूमिका खेल्नसक्ने मानिएको भारतले आफ्नो सानो छिमेकी देशका पत्रकारहरूलाई गर्नुपर्ने स्वागत, सत्कार र खातिरदारीमा कुनै कमी गरेन। अमृतसरमा भारतको एक कागज कारखानाको भव्यता, सिख समुदायको स्वर्ण मन्दिर (गोल्डेन टेम्पल)को सरसफाइ र दसौं हजारलाई दैनिक खाना खुवाउने बन्दोबस्त हेर्दा नेपाली टोली प्रभावित नहुने प्रश्नै रहेन। त्रिवेन्द्रममा अन्य कुराका अतिरिक्त भारतले गरेको रकेट विज्ञानको प्रगतिका बारेमा धेरै कुरा थाहा भयो। भारतको राजनीतिक राजधानी दिल्लीमा भने राजनीतिकै कुरा बढी भए।

भारतले विगत केही वर्षदेखि गराउन थालेको नेपाली सम्पादकहरूको भ्रमण उस्को वैदेशिक नीतिको एक पाटो हो। भारतको क्षेत्रीय पहुँच बढाउने उद्देश्यले सुरु गरिएको यस्तो भ्रमण आदानप्रदान नेपालसँग मात्र होइन दक्षिण एसियाका अन्य छिमेकीहरूसँग पनि चलिरहेको छ। यसरी आफ्ना छिमेकीलाई भारत भ्रमण गराएर उनीहरूको गुनासो सुन्ने र आफूले ती देशमा गरेको र गर्नसक्ने सहयोगका विषयमा जानकारी दिनु उपयुक्त कूटनीतिक अभ्यास हो। यस्तो अभ्यासका क्रममा सुशान्त सरीनजस्ता विद्वान्हरूको तिखो भनाइले पनि आपसी सम्बन्धको बहुआयामिक पाटो बु‰न र समस्या भए सहमति खोज्न सहयोगै गर्छ। सरीन भारत होइनन् भारतको एएटा सानो पक्षका प्रतिनिधि पात्रमात्र हुन्।

नेपालले सधैँ भारतमा सरीनहरू मात्र देख्नु पनि हुँदैन। नेपाल सधैँ भारतले आफूलाई हेपेको र कमजोर बनाएको सोच्छ र भारत विरोधमा नै नेपालीको राष्ट्रियता र देशप्रेम खोज्छ। नेपाल कमजोर भएको भारतले चाहेर होइन बरु नेपाली नेतामा देशभक्ति र स्वाभिमानको भावना साह्रै कमजोर भएर हो। जनतासमक्ष भाषण गर्दा भारतको विरोध नगरी नेपालको स्वतन्त्र अस्तित्व रहँदैन जस्तो गरी कुर्लने र भित्रभित्रै भारतको गुलामी गर्न भरपर्दो सूत्र खोजिरहने नेपाली नेताहरूको बानी भारतीयले पनि राम्रै बुझेका छन्। आईडीएसएको दक्षिण एसिया केन्द्रका संयोजक डा. अशोक मेहोरियाले नेपाली सम्पादकहरूलाई स्पष्ट शब्दमा बुझाइदिए – नेपालले दुःख पाएको अरू कारण केही होइन बरु राजनीतिक नेतृत्वको अक्षमताले गर्दा हो। उनका अनुसार केही नेपाली राजनीतिक दलका नेताहरू आईडीएसएको सम्पर्कमा पनि पुगे रे निर्वाचन पूर्व भारतको आशीर्वाद माग्न।

तर भारत आफ्नो फाइदा नहेरी छिमेकीका लागि मात्र दुहुनो गाई अवश्य बन्दैन। नेपालीहरू भारतका पूर्वप्रधानमन्त्री आई.के. गुजरालले लिएको नीतिअनुसार भारतले व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्छन्। तर 'गुजराल डक्ट्रिन' अब इतिहासमा सीमित भइसकेको छ। अब भारत छिमेकबाट कुनै प्रत्याशा नराखी एकतर्फीरूपमा आफूले सकेको सहयोग गर्ने गुजराल नीतिमा छैन। डा. मेहोरियाले कूटनीतिको विद्यार्थीले पढ्ने पहिलो पाठ दोहोर्‍याए – 'कुनैपनि देश उपकारी भएरमात्र चल्दैन, सबैले आफ्नो हित हेर्नै पर्दछ।'

दुःखको कुरा नेपाली नेताहरूभने भारतसँगको विभिन्न चरणको वार्तामा आफ्नो देशको हितभन्दा आफ्नो व्यक्तिगत स्वार्थ कसरी पूर्तिगर्ने भन्ने विषयमै केन्द्रित रहेको देखिएका छन्। कोही आफ्ना छोराछोरीका लागि डाक्टर वा इन्जिनिएर पढाउन छात्रवृत्ति माग्न तम्सन्छन् भने कोही भारतले आफूलाई नेपालको राजनीतिमा स्थापित गराओस् भन्ने चाहना राखेर वार्तामा बस्छन्। नेपालको कर्मचारीतन्त्र भाषिक क्षमता र विषयको आंशिक ज्ञानको कारणले सकभर कुनै निर्णयमा पुग्नुभन्दा हरेकपल्ट सम्झौता टार्न पाए आफूले कुनै दोष बोक्नु नपर्ने मान्यतामा काम गर्ने गर्छ। त्यसैले वर्षौदेखि भारतका गुनासा पनि कायमै छन् र नेपालको दुःख पनि यथावतै छ।

अत्यन्त सौहार्दपूर्ण आतिथ्यबीच भारतीय विदेशमन्त्री र विदेश सचिवले नेपाली टोलीलाई निकै समय र महत्व दिए। तिनले कुनैपनि त्यस्तो विषय उठाएनन् जस्ले नेपालमा समाचार बनाओस्। भारतले नेपालबाट चाहेको केही कुरा विभिन्न विद्वान्हरूमार्फत् आयो। पहिलो त चीनको नेपालसँगको बढ्दो सम्बन्धका विषयमा भारतको चासो रहेको कुरा नरम बोलीका डा. मेहोरियाले पनि सरल तरिकाले बताए। चीनको बढ्दो प्रभाव भारतको लागि ठूलो हाउगुजी भएको रहेछ। तर उनले पनि के बुझ्नुपर्ने हो भने भारत र चीनबीच आपसमा ३ हजार ३ सय ३८ किलो मटर सीमा जोडिएको छ भने नेपालको चीनसँगको सिमाना केवल १ हजार २ सय ३६ किलोमिटरमात्रै छ। अर्थात्, भारत छिर्न चीनलाई नेपालको बाटो चाहिँदैन। उनीहरु २०१५ सम्ममा दुई देशबीच करिब सय अर्ब अमेरिकी डलर बराबर व्यापार गर्ने सुरसारमा छन्। अर्थात् चीन र भारत दुवै एक अर्काको अर्थतन्त्रमा प्रवेश गरिसकेका छन्। त्यसैले अझै पनि नेपालमा चीनको बढ्दो चासोको विषयमा भारत धेरै चिन्तित हुनु स्वाभाविक देखिँदैन। नेपालले जति चाहेपनि भौगोलिक विकटता र दक्षिणसँगको सांस्कृतिक निकटताले गर्दा भारतनै नेपालको सबैभन्दा नजिकको मित्र हो र आउँदो केही दशक यस्तै अवस्था रहन्छ। यसमा कुनै शंका छैन। तर भारत नेपाललाई पेल्नुपर्दा चीनसँगको मित्रताको कुरा बारम्बार उठाउँछ। चीनको नेपालसँगको बढ्दो मित्रताले त्रिवनन्तपुरसम्म कान ठाडा भएका रहेछन्। केरला अन्तर्राष्ट्रिय केन्द्रका अध्यक्ष पूर्वभारतीय राजदुत टीपी श्रीनिवासन पनि यही कुरा उठाउँछन्। भारतले नेपाललाई सबैकुरा दिइरहेको छ भने नेपाललाई किन चीन उन्मुख हुनुपर्ने भन्ने उनको प्रश्न केही सम्पादकले पचाउन सकेनन्। अझ उनी भारतको राष्ट्र संघ प्रतिनिधि हुँदा कसरी भुटानले संयुक्त राष्ट्र संघको बैठकमा मतदान गर्ने कुरामा बिस्तारै भारतको सहमती लिन छाड्यो भन्ने उदाहरण दिँदै नेपालले पनि भारतलाई बिस्तारै उपेक्षा गर्दैछ भन्ने संकेत दिए जुन सर्वथा गलत थियो।

नेपालले पनि आफ्नो गच्छेले भ्याएसम्म भारतीय बुद्धिजीवीलाई नेपाल ल्याएर वास्तविक स्थितिको जानकारी गराउनुपर्ने जरुरत टड्कारो देखियो। भारतले नेपालको विषयमा बनाउने विचार नेपालमा भएका भारतीय संचार माध्यमका आलाकाँचा टिप्पणी र भारतीय वैदेशिक गुप्तचर संस्था 'रअ' ले चुहाएको थोरै समाचारनै रहेछन्। त्यसैले उनीहरू पाकिस्तानसँग जस्तो शंकालु दृष्टि राख्छन् त्यस्तैगरी शंका गर्छन् नेपालका मदरसा (मुसिलम स्कुल) हरूलाई। भारतीय राजनीतिमा प्रभाव पार्ने विद्वान्लाई नेपाल भ्रमण गराएर मदरसाको वास्तविक स्थिति बताउनु जरुरी देखिन्छ। नेपाल र चीनको सम्बन्धले उसलाई नकारात्मक प्रभाव नपर्ने बताउनैपर्ने भएको रहेछ। सधै छिमेकीको पाहुना भयो भने उसैको कुरा माथि पर्छ। यसैले आफ्नो कुरा बताउन छिमेकीलाई पाहुना बनाउनुपर्ने अवस्था आएको छ। नयाँ सरकार आएपछि सरीन, श्रीनिवासन, डा. मेहोरियाजस्ता विद्वान्लाई नेपाल भ्रमणको निमन्त्रणा दिनुपर्ला कि?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस