यस्तो पनि सरकार!
२५ असोज २०६६
•
११ मिनेट पाठ
यस्तो पनि सरकार!
महिना दिनजसोअघि हाम्रा माधवश्री लौहचरीमा सवार भई नेपालगन्जतिर गएका थिए। कसैबाट तिनले सुनेछन् - माथि दुर्गम र विकट पहाडी भेगमा एक नारी सुत्केरी व्यथाबाट आक्रान्त भएकी छिन्।
माधव लौहचरीमा हुइँकिदै हत्तपत्त माथि पुगे। तिनले कालसँग जुधिरहेकी ती महिलालाई काठमाडौं ल्याए। दुर्भाग्यवश, सन्तान बिग्रियो तर ती नारीको ज्यान भने जोगियो। माधवको यो नाटकीय करुणा प्रदर्शनलाई छापाको शीर्षक बनाउन भयङ्कर होडबाजी चल्यो। कतिपय ढ्याके दैनिकले त यसबारे सम्पादकीय नै ठोके। जब प्रधानमन्त्री माधव एक पीडाग्रस्त नारीको उद्धार गर्दै थिए, ठीक त्यही क्षणमा मुलुकभरि प्रसूति सेवा नपाएर सके हजारौँ नारीहरू आहत चित्कारसाथ छट्पटाइरहेका थिए। सके कति त अकथनीय पीडा झेल्दै एकबारको जुनीबाट अकालमै बिदा हुन अभिशप्त थिए। तर, अपवादलाई छाडेर सञ्चारका अधिकांश गुरुजीका नजरमा यो वृहत्तर सत्य पर्दै परेन। माधवकुमार नेपाल मुलुकका प्रधानमन्त्री हुन्, जसका हातमा सामान्य नागरिकको नियतिको बागडोर छ। तर, तिनले रोगी व्यवस्थाको वृक्षमा चढेर एउटा पहेँलो पात टिपेका के थिए, तिनको हाई-हाईले समस्त गगनमण्डल गुन्जियो। मानौँ तिनको यो करुणामा तीन करुणामयी महापुरुष बुद्ध, अशोक र गान्धीको एकमुष्ट उपस्थिति हुन गयो।
सञ्चारको लघुदृष्टियुक्त तारिफको लहरबाट माधवबाबु उत्पात फुर्किए। तिनलाई लाग्यो होला, चर्चामा छाइरहने र अमरत्व प्राप्त गर्ने काइदा त यो पो रहेछ बा! बस्, ती अर्को नाटक मञ्चन गर्न उत्ताउलिए। ती टुरिस्ट बसमा चढेर राजधानी नगरको परिक्रमामा निस्के। साथमा आफू सुहाउँदा यात्री उपप्रधानमन्त्री विजयकुमार गच्छदार र गृहमन्त्री भीमबहादुर रावल थिए। माधवश्रीगणको यो करुणामयी र कृपापूर्ण परिक्रमाको पावन उद्देश्य थियो - सहरको ट्राफिक व्यवस्थाको दशा, फोहोरमैला व्यवस्थापनको अवस्था र नागरिकको अमनचैनको स्थिति प्रत्यक्ष नजर गर्नु। तिनले नजर गरे र देखे - सबै कुरा गजप छ। अफ्नो छोटो शासनकालमा चौतर्फी चामत्कारिक सुधार भएको छ। तब न माधव सरकार!
बसविहारी शासकहरूको यस चर्तिकलाले मलाई राणा र शाह शासकका सोचाइ र संस्कृतिको याद दिलायो। राणा शासकका छोराहरू आमाको गर्भबाटै जर्नेलको फुली लगाएर निस्कन्थे। शाह शासकको जेठो छोरो निधारमा युवराजाधिराजको र बाँकी छोरा अधिराजकुमारको छाप ठोकेर धरतीमा झर्थे। सिङ्गै मुलुक लुटेर ती सबै सुविधा, सुरक्षा र सुखले भरिपूर्ण दरबारमा हुर्कन्थे। शोषित र उत्पीडित प्रजाको जीवनका अभाव, दुःख र हुर्मतहरूको तिनलाई एक पित्कोसम्म पनि ज्ञान हुँदैनथ्यो। तिनलाई लाग्थ्यो, हामी अखण्ड चैनमा बाँचेका छौँ, तसर्थ प्रजाको हालचाल पनि यस्तै दिलखुस होला। प्रजाहरूको जीवनबारे सर्वथा अज्ञानी राजा त्रिभुवनले एक प्रजालाई 'तिमीहरूले दूध-भात पनि पेटभरि खान पाएका छैनौ त?' भनी सोधेको हरिप प्रश्न लोकलाई कंठै छ।

कुन लोकका मानव हुन् यी माधव, गच्छदार र रावल, जसलाई काठमाडौंको ट्राफिक, फोहोरमैला र सुरक्षाको हालत बुझ्न नगर परिक्रमै गर्नु जरुरी भइसक्यो? के यिनका शासक बन्नुअघिका सम्झना यति छिटै मेटिएर गइसके? गइसके भने राजधानीको चौतर्फी भद्रगोल, कुइगन्ध, कोलाहल र दुर्दशा बुझ्न उच्च दर्जाका यी मानवहरू माइक्रो भ्यान वा बसको ढोकाबाहिर झुन्डिएर दिनभरि राजधानी घुमून्। यिनले ट्राफिकको भद्रगोल भोगून्, सडकको कुइगन्ध सुँघून् र जनजीवनको कष्टकर यथार्थबोध गरून्। यी वातानुकलित वाहनमा साइरन आतंक अघि लाएर सडकमा सवार हुन्छन् र ठान्छन् - मलाई मोज छ, तसर्थ ममार्फत् अरूलाई पनि मोजै होला। यी गगन मार्गमा हेलिकप्टरमा सवार हुन्छन् र ठान्छन् - मेरो यात्रा अवरोधमुक्त छ, तसर्थ मेरो यात्रामार्फत् अरुहरूको यात्रा पनि यस्तै होला। कडा सुरक्षापङ्क्तिभित्र यी सुरक्षित छन् र ठान्छन् - मेरो सुरक्षामार्फत अरुहरूलाई पनि सुरक्षाबोध भएकै होला। ठीकै हो, पहिले राणा र शाह शासकहरू पनि त यस्तै ठान्थे।
पर्यटक बसमा मस्ती मुद्रामा नगर परिक्रमा गरेपछि गृहमन्त्री रावलले सगर्व उद्घोष गरे - अहा! ट्राफिक व्यवस्थामा भव्य सुधार भएछ। हेक्का रहोस् पाठकवृन्द! त्यसै दिन साँझपख गृहमन्त्री रावलको हवाइ कल्पनामा सुध्रिएको ट्राफिक व्यवस्था भोग गर्दै खानीखोलाबाट चाबेल आइपुग्न मलाई पूरापूर चार घन्टा लाग्यो। नगरपरिक्रमापछि प्रधानमन्त्री माधवबाट सगौरव आज्ञा भयो - मेरो कार्यकालमा हर चीज द्रूततर गतिमा ठीकठाक हुँदो छ। स्मरण रहोस् पाठकवृन्द! मानौँ देश-दुनियाँ अमनचैनको अखण्ड आनन्दमा डुबेको अनुभूत गर्दै माधवबाबु कानसम्म मुख च्यातिने गरी हाँस्दै राजधानीमा घुमिरहँदा नेपालको पश्चिम भेगमा के हुँदैथियो? बाढी-पहिरोको व्याधीले नरनारी आतंकित भएका थिए। कति पहिरोमा पुरिएर स्वर्गे भइसकेका थिए, कति त्यसमा च्यापिएर उद्धारका लागि करुण पुकार गरिरहेका थिए, कति भेल उर्लिएको नदीकिनारको रुखमा अड्किएर कुनै देवदूत आओस् र आफूलाई बचाओस् भनी रातभरि रोइकराई गरिरहेका थिए।

दायित्वबोध, अन्तर्दृष्टि र दूरदृष्टि हुने प्रधानमन्त्रीले मुलुकका समस्याहरूको समाधान प्रणालीमा खोज्छ। संस्थागत संरचनामा खोज्छ। समग्रतामा खोज्छ। तर प्रधानमन्त्री माधव नाकअगाडि भन्किने झिँगोलाई मात्र देख्छन्, त्यसैको गुनगुनमात्र सुन्छन्। लाग्छ, हाम्रा माधवश्री समस्याको टुत्रे समाधानकारी उस्ताद हुन्। यिनको टुत्रे समाधान विधिले गति लिँदा विचित्रको झाँकी देख्न सकिने छ। मानौँ कुनै किसानले प्रम माधवछेउ आफ्नो बालीमा रोग लागेको गुनासो गर्‍यो। प्रमजी अब के गर्छन्? माधवबाबु कीटनाशक विखादिको सिलिन्डर भिरेर आफैँ बालीमा हाजिर हुन्छन्। यात्रुले बसमा भद्रगोल भएको दुखेसो पोखोस्, ती आफैँ खलासी कर्म गर्न तम्सिन्छन्। नागरिकले बस चालकको लापर्वाहीबारे उजुरी गरोस्, ती आफै स्टियरिङ समात्न पुग्छन्। निरक्षरतापीडित गाउँलेले दुःख पोखोस्, ती आफैँ खरी र पाटी बोकेर गाउँतिर हानिन्छन्। नगरवासीले फोहोरमैलाबारे गनगन गरोस्, ती आफैँ साबेल र डोको बोकेर फोहोर उठाउन हाजिर हुन्छन्। एवंरीतले खलासी आफैँ , चालक आफैँ, जेटीए आफैँ, मास्टर आफैँ, सफाइकर्मी आफैँ, सकल सेवाका आपूर्तिकर्ता आफैँ। एउटै माधवबाट यो बहुआयामिक भूमिका सम्पन्न गर्न असम्भव हुने हुँदा क्लोनिङ प्रविधिको माध्यमले कम्तीमा पनि पचास लाख माधवहरूको सृष्टि गर्नु जरुरी छ। प्रमका सल्लाहकारहरूले कुरो बुझून्।

शान्ति-प्रक्रियामा धाँजा फाटे फाटून्, प्रधानमन्त्री माधव र मातहतका मन्त्रीहरू चिन्तामुक्त छन्। रक्षामन्त्री भण्डारी शान्ति सम्झौताको लिखतमा आगो झोस्दै सेना भर्तीको फर्मान जारी गरून् अथवा माओवादी लडाकु आआफ्ना घर जाऊन् भनी गृहयुद्धको उपासना गरून्, यिनलाई कुनै चिन्ता छैन। चिन्ता छ त आआफ्ना धनदायी एवं सुखदायी कुर्सीहरूको दिर्घायुको मात्र। चिन्ता छ त असन्तुलित र दिग्भ्रान्त मनोदशामा नौटंकी अभिनय गर्दै सञ्चारको संसारमा समाचार बन्नुको मात्र।
हे हरि, यस्तो पनि सरकार!
अर्को समाचार
‘मेरो सरकार’ को सन्देश
२३ वैशाख २०७६
•
१५ मिनेट पाठ
‘मेरो सरकार’ को सन्देश
सरकारको नीति तथा कार्यक्रमबारेको बहस स्वाभाविक हो। सरकारका तर्फबाट मुलुकलाई कुन दिशामा लैजाने भन्ने मूल आधार नै उसको नीति तथा कार्यक्रम हो। संसदीय अभ्यासमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रप्रमुखबाट संसदमा जानकारी गराउने बेलायती परम्परा गणतन्त्र भएका मुलुकले पनि अंगीकार गर्दै आएका छन्।  त्यो परम्परा धान्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। यो स्वाभाविक प्रक्रियामा यसपटक एउटा प्रश्न उठ्यो– सरकार राष्ट्रपतिको हो कि नेपाली नागरिकको ? यसको एउटै कारण थियो– राष्ट्रपतिले सम्बोधनका क्रममा पटक–पटक ‘मेरो सरकार’ शब्द प्रयोग गरिन्। यो प्रश्न उठ्नाको अर्को कारण के पनि हो भने राजतन्त्र अन्त्यसँगै राष्ट्रपतिले महाराजले भन्ने गरेका ‘मेरो सरकार’को सट्टा नेपाल सरकार वा सरकार मात्रै भन्ने गरेका थिए। यसपटक किन राष्ट्रपतिलाई पनि मेरो सरकार भन्न लगाइयो ?

नेपालमा राष्ट्रपति संवैधानिक हो। अमेरिकाका राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अस्वाभाविक होइन। किनकि त्यहाँ सरकार प्रमुख नै राष्ट्रपति हुन्छ। अहिले अमेरिकाको सरकार भनेकै डोनाल्ड ट्रम्पको सरकार हो। यसकारण मुलुकभित्र सम्बोधन गर्दा उनले मेरो सरकार भन्नु अत्युक्ति हुँदैन। तर मुलुकबाहिर ट्रम्पलाई मेरो सरकार भन्ने अधिकार रहन्न। यद्यपि अमेरिकामा कतिपय सन्दर्भमा परराष्ट्र नीति पनि राष्ट्रपतिअनुसार फरक हुने गरेका छन्। नेपालमा तत्कालीन माओवादीले चाहेको राष्ट्रपतिकै सरकार हो। तर तत्कालीन एमालेले चाहेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हो। यतिबेलाको सरकार तत्कालीन एमाले–माओवादीको वर्णशंकर सरकार हो। राष्ट्रपतिले ‘मेरो सरकार’ देखिरहने यो कुन रूपको शासनशैली हो ? नागरिकले सोधेको यति मात्रै हो। राष्ट्रपतिलाई महारानीका रूपमा हेर्ने सरकारको चाहना हो ?

राष्ट्रपतिले ‘मेरो सरकार’ देखिरहने यो कुन रूपको शासनशैली हो ? राष्ट्रपतिलाई महारानीका रूपमा हेर्ने सरकारको चाहना हो ?

यो प्रश्नको जवाफमा प्रधानमन्त्रीका सल्लाहकार समूह नै खनिएर बचाउमा लाग्यो। यो स्वाभाविक जिम्मेवारी पनि थियो। एक सल्लाहकारले सरकारले सोच– विचार गरेरै सो शब्द सम्बोधनमा राखेको दाबी गरे। यसले सरकार वा राष्ट्रपति स्वयम् झुक्किएर वा असावधानीवश ‘मेरो सरकार’ भनाउन वा भन्न पुगेका हैनन् भन्ने प्रस्ट भयो। मुलुकको पहिलो राष्ट्रपतिका सल्लाहकारले भने ‘मेरो सरकार’ भन्ने अभ्यास नभएको र नगरिएको बताए। उनले एउटा मिडियासँग भनेका छन्– ‘म सल्लाहकार हुँदा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्नुअघि पटक–पटक पढ्नुहुन्थ्यो र हरेक शब्द लेखाजोखा गर्नुहुन्थ्यो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यस्तो सम्बोधनलाई सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भन्ने शब्दावली प्रयोग गर्नु सैद्धान्तिक रूपमा गल्ती भएको उसको ठहर छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको यो भाषा संशोधनका लागि प्रस्ताव नै दर्ता गराएका छन्।

प्रधानमन्त्री ओलीलाई, यस्तो प्रश्न उठाउनेहरू छिचरा, हलुका र मूल विषयवस्तुमा चिन्तन नभएका नागरिक भन्ने लागेको छ। यस विषयमा प्रधानमन्त्रीको जवाफ छ– ‘मैले मेरो देश भन्छु। मैले मेरो देशभन्दा तपार्इँहरूको हैन भन्या हो र ? अरूको हैन भन्या हो र ? मेरो देश, मेरो राष्ट्र, मेरो राष्ट्रिय गान। मैले बनाको हो र राष्ट्रिय गान ? मैले मात्रै गाउने हो र राष्ट्रिय गान ? मेरो मात्रै हो र राष्ट्रिय गान ? तर मैले मेरो राष्ट्रिय गान भन्छु। मेरो राष्ट्रिय गौरव भन्छु। मेरो भनेको बृहत् अर्थमा, सामूहिक अर्थमा बुझ्ने प्रयास गर्नुपर्छ। राष्ट्रपति देशको, राष्ट्रको प्रमुख हो। म व्यक्तिको कुरा गरिराखेको छैन, संस्थाको कुरा गरिराख्या छु। राष्ट्रको प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो। राष्ट्रपतिले गरिमायम संसदलाई मेरो सरकारको नीति यो छ, कार्यक्रम यो छ भन्ने यो अन्तर्राष्ट्रिय अभ्यास हो।’

म वा मेरो शब्दले सामूहिकता जनाउने व्याकरण प्रधानमन्त्री ओलीले कुन भाषामा सिके, मौका पर्दा उनले यसको पनि सार्वजनिक मञ्चबाटै पक्कै जवाफ दिने नै छन्। यो मुलुकका प्रधानमन्त्रीलाई बोल्न कुनै तर्क चाहिँदैन भन्ने धेरैलाई थाहा छ। जहाँसम्म अन्य देशमा पनि मेरो सरकार भन्ने प्रचलन छ भन्ने कुरो छ, त्यो हो– राजतन्त्रात्मक मात्र होइन, कतिपय गणतन्त्रात्मक मुलुकमा पनि छ। खासमा संसदीय अभ्यासको जननी बेलायतबाटै अरूले यो सिकेका हुन्। बेलायतको यो प्रचलन बेलायती औपनिवेशबाट मुक्त भएर पनि भारतले निरन्तरता दियो। हामीले राजतन्त्रलाई निरंकुश, तानाशाही र अलोकतान्त्रिक मान्यौँ र ठूला सडकलाई राजमार्गसमेत भन्न छाडेर लोकमार्ग भन्न थाल्यौँ। राजमार्गले दिने अर्थ लोकमार्गले दिन्छ कि दिँदैन, अहिलेसम्म यो बहस भएको छैन। तर हामीलाई मेरो सरकारले हिजो किन बिझाएको थियो र गणतन्त्रसँगै किन फेरियो ? र, आज किन फेरि उनै महाराजले प्रयोग गर्दै आएको ‘मेरो सरकार’ प्रिय भयो भनेर नागरिकले सोध्न पनि नपाउने ? र, यस्तो प्रश्न गर्ने नागरिकमाथि प्रधानमन्त्रीका सल्लाहकारहरू अरिंगालको गोलो  झैँ खनिने ? हामीले कस्तो लोकतन्त्र सुरु गरेका हौँ भनेर बुझ्न मिल्ने कि नमिल्ने ?

राणा शासनमा श्री ५ र श्री ३ हरू थिए। राणाहरूले अनुकूल हुँदा आफूले आफैँलाई मेरो सरकार पनि भने। तत्कालीन महाराजले राणा प्रधानमन्त्रीलाई मेरो सरकार भन्नुपर्ने बाध्यता थियो। राणा कालपछि कसको सरकार भन्ने अन्योल थियो। यद्यपि राणाकालको अन्त्यदेखि प्रजातन्त्र कालसम्म सरकारको नाम नेपाल सरकार नै थियो। महाराज त्रिभुवनले आफ्ना पछिल्ला भाषणमा मेरो सरकार नै भन्न सुरु गरे। महेन्द्रले सुरु गरेको सक्रिय राजतन्त्रसहितको पञ्चायत कालमा ‘श्री ५ को सरकार’ भन्ने गरियो। त्यसैले तत्कालीन श्री ५ अर्थात् राजाले यसलाई ‘मेरो सरकार’ भन्ने गर्थे। संवैधानिक राजतन्त्रमा रुपान्तरित भइरँहदा समेत यही प्रचलनले निरन्तरता पायो। जब मुलुकमा गणतन्त्र स्थापना भयो, ‘श्री ५ को सरकार’ को ठाउँमा ‘नेपाल सरकार’ भन्न थालियो। त्यसपछि राष्ट्रपतिले सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्ने गरेका थिएनन्।

नागरिकले म कुन शासन प्रणालीअन्तर्गतको मुलुकमा बसिरहेको छु भनेर सोध्न नपाउने लोकतन्त्र ओली राजले दिन खोजेको हो ? अथवा आफूलाई चित्त नबुझेको कुरा सोध्न अब नपाइने भएको हो ? होइन भने प्रश्न गर्ने नागरिकलाई अबुझ भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?

नागरिक जिज्ञासा यो भन्दा पर होइन। सरकारले आक्रोशित भएर न प्रतिवाद गर्न जरुरी थियो न नागरिकलाई बेबकुफ भन्दै आफू मात्र जानकार भएको प्रतिक्रिया जनाउनुपथ्र्यो। हामीले महाराज शासनसँगै व्यक्तिवादी सोच अन्त्य गरेका होइनौँ र ? हो भने किन फेरि मपाईँवाद सुरु भयो ? नागरिकको यो प्रश्न कसरी अतिशयोक्ति बन्न पुग्यो ? यो प्रश्न सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट नागरिकको ध्यान अन्यत्र मोड्न गरिएको हँुदै होइन। यदि यसले नागरिकको ध्यान मोड्थ्यो भने सरकारले नीति तथा कार्यक्रममा आँखा चिम्लिएर साथ र समर्थन पाउँथ्यो। तर अवस्था त्यस्तो पनि होइन। सरकारका कार्यक्रम लोकप्रिय बनाउने नाममा अव्यावहारिक भएको टिप्पणी त सत्तारुढ पार्टीकै सांसदले समेत गरेका छन्। सरकारको नीति तथा कार्यक्रम वाचनलगत्तै सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले ‘घोषणामुखी कार्यक्रमहरू’ आएको टिप्पणी गरेका छन्। उनले यो पनि प्रस्ट रूपमा भनेका छन्– ‘घोषणाका हिसाबले कार्यक्रमहरू राम्रा छन्। तर यी सबै कार्यक्रम कार्यान्वयन गर्न २०० खर्बभन्दा बढी बजेट चाहिन्छ। तर यो वर्षको बजेट १५÷१६ खर्बभन्दा बढी लैजाने अवस्था छैन।’

सांसद तामाङको यो टिप्पणी नै काफी छ। तपसिलमा गएर कुन कार्यक्रम कस्तो भनेर थप टिप्पणी गरिरहनुपर्ने आवश्यकै छैन। कोसीमा स्टिमर चलाएर पानीजहाज चल्न सुरु भयो भन्नेदेखि एक मिटर सुरुङ नबनेको मुलुकमा पहाडी राजमार्गमा सुरुङ मार्ग बनाइनेसम्मका गफ नागरिकले सुनिसकेका छन्। यस्ता धेरै उदाहरण सरकारको नीति तथा कार्यक्रमले समेटेको छ। एक वर्षको नीति तथा कार्यक्रम बनाउँदा धेरै आयोजना चार वर्षमा पूरा गरिने भनेर बोलिएको छ। चार वर्षका योजना बनाउनु आफैँमा गलत होइन। तर ती चार वर्षमध्ये यो वर्ष त्यो योजनामा कति काम हुन्छ भनेर जानकारी गराउनु जरुरी हुन्थ्यो, जुन सरकारलाई थाहै नभएको जस्तो देखियो। 

जहाँसम्म ‘मेरो सरकार’ को प्रश्न छ, नागरिकले म कुन शासन प्रणालीअन्तर्गतको मुलुकमा बसिरहेको छु भनेर सोध्न नपाउने लोकतन्त्र ओली राजले दिन खोजेको हो ? अथवा आफूलाई चित्त नबुझेको कुरा सोध्न अब नपाइने भएको हो ? सरकारमा पक्षमा अभिव्यक्ति दिए मात्र मान्य हुने संस्कार विकास गर्न लागिएको हो ? होइन भने प्रश्न गर्ने नागरिकलाई अबुझ भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ? बरु सरकारमा रहनेहरूमा अरूका अभिव्यक्ति पचाउन नसक्ने मानसिक दरिद्रता बढ्दै गएको त होइन ?
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस