लोकतन्त्रको विकल्प हुँदैन
२७ पौष २०७०
•
१४ मिनेट पाठ
लोकतन्त्रको विकल्प हुँदैन
नेपालका अहिलेसम्मका प्रधानमन्त्रीमध्ये सबैभन्दा विद्वान् डा. बाबुराम भट्टराईमा अचानक परिवर्तनका संकेत देखापर्न थालेको छ। भट्टराईका फेरिएका धारणा टेक्स्ट मेसेज, टि्वट, फेसबुक र दैनिक पत्रिकाका लेखमार्फत अभिव्यक्त हुन थालेका छन्।एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का विचारक, सशस्त्र संघर्षका प्रतिपादक, माओवादलाई विश्वमा एक उत्कृष्ट विचार भनेर स्थापना गर्न उद्यत नेता डा. बाबुराम भट्टराई अहिले अचानक आफ्नो धार परिवर्तन गर्ने मनस्थितिमा देखिएका छन्। उदार लोकतन्त्र र समाजवादी लोकतन्त्रबीच सकारात्मक र नकारात्मक भिन्नता केलाउँदै उनी अचानक बुर्जुवा लोकतन्त्रभन्दा उन्नत र श्रेष्ठ लोकतन्त्रको मोडल प्रस्तुत गर्ने र त्यसो गर्न नसके 'कम्युनिस्ट'हरूको कल्याण नहुने निष्कर्षमा पुगेका देखिन्छन्।

पुस २६ गते डा.भट्टराईले आफ्नो सहयोगीमार्फत् पठाएको 'मेसेज' वास्तवमा सकारात्मक छ। सो सन्देशमा अब १ वर्ष उनी संविधान सभाबाट संविधान निर्माणको काममा केन्द्रित हुने, पार्टी भित्र र बाहिर पनि लोकतान्त्रिक विधि बसाल्न पहल गर्ने, संविधान निर्माण नहुँदासम्म संसदीय दलको नेता वा अन्य कुनै पनि पदमा नबस्ने र यो एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्ने काममा केन्द्रित हुने भनिएको छ। त्यस्तै उनले सबै दलहरूभित्रको लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने विश्वास पनि दिलाएका छन्। उनकै दलभित्र चाहिँ लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नसक्ने कस्तो अवस्था छ भन्ने भने थाहा भएन।

डा. भट्टराईको प्रतिबद्धतामा सर्सती हेर्दा केही कमी देखिँदैन। माओवादी नै भोलि रूपान्तरित भएर लोकतान्त्रिक दल बन्यो भने यस देशका सम्पूर्ण समस्या स्वतः समाप्त भएर जानेछन्। जनताको सार्वभौमसत्ता जनताले प्राप्त गर्नेछन् र नेपाल संसारकै एक नमुना लोकतान्त्रिक देश हुनेछ। तर यो संभव हुनका लागि सबैभन्दा पहिला डा. भट्टराईजस्ता विचारकको लोकतन्त्रप्रतिको धारणा दृढ हुनुपर्छ। कुनैबेला वामपन्थी बुद्धिजीवी भनेर चिनिने निलाम्बर आचार्यको लोकतन्त्रप्रतिको प्रतिबद्धताको सिको गर्नसके भने डा. भट्टराई पनि एक नंबरका लोकतान्त्रिक विचारक र नेता भएछन् भनेर यो लेखक घोषणा गर्नेछ। तर माओवादी डा.भट्टराई लोकतान्त्रिक आचार्यजस्ता अहिल्यै भने बनेका छैनन्। उनी अझै पनि मन परिवर्तनको बाटोमै छन् र लोकतान्त्रिक विचार र व्यवहारको उपल्लो विन्दुमा पुगिसकेका छैनन्। यो तथ्य उनको एउटै वाक्यले बुझाउँछ – ' लोकतान्त्रिक आचार व्यवहार अपनाउन सकेनौं भने 'कम्युनिस्ट'हरुको कल्याण हुँदैन।' डा. भट्टराई कम्युनिस्टको कल्याण गर्न चाहन्छन् कि कम्युनिस्ट विचार परिवर्तन गर्न चाहन्छन् भन्ने स्पष्ट आउनु पर्‍यो। डा. भट्टराईका विचारमा साँचै परिवर्तन आएको हो भने भन्न सक्नुपर्‍यो – 'हामी सबै कम्युनिस्टहरू आफूलाई कम्युनिस्ट भन्न छाडौँ र लोकतान्त्रिक बनौ र बुझौँ कि जनताको अधिकार केवल शान्तिपूर्ण बाटोबाट मात्र आउँछ, हतियारनै सबै शक्तिको स्रोत होइन र हुनु पनि हुँदैन।'

डा. भट्टराईले सिधै भन्न नसके पनि घुमाएर भन्न खोनेको भने वास्तवमा त्यही नै हो। हतियारको विद्रोहले नेपाली माओवादी कहीँ पुगेनन् अब लोकतान्त्रिक विधिबाट मात्र अघि बढ्न सकिन्छ भन्ने नै उनको भनाइ र लेखका सार हुन्। तर भट्टराईले बोलेका कुरा सारमा बु‰ने धेरै छैनन्, रूपमै भनिदिन सक्नुपर्‍यो। तिनै कुरा त्यति नै शब्दमा एकैपल्ट भन्न गाह्रो भयो होला। त्यसका लागि उनलाई अझै विचार मन्थन, अध्ययन र केही शोधपनि गर्नुपर्ला। उनको यस कार्यमा विश्व प्रसिद्ध विचारकहरुले सहयोग गर्न सक्छन्। विख्यात अमेरिकी विश्व विद्यालय कर्नल, हार्वड र यलमा अध्ययन गरेका विश्व प्रसिद्ध राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाको किताब 'द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान' (इतिहासको अन्य र अन्तिम व्यक्ति)ले डा.भट्टराईलाई धेरै सहयोग गर्न सक्छ।

फुकुयामाले सन् १९८९ मा नै एक जर्नलमा लेख प्रकाशित गरे जसमा यस पुस्तकका विषय समावेश गरिएका थिए। त्यसपछि सन् १९९२ मा उनले सोही विषयमा थप अध्ययन र अनुसन्धान गरेर एउटा किताबै प्रकाशित गरे। अर्थात्, जुनबेला डा.भट्टराईहरू नेपाल सशस्त्र विद्रोह र माओवादका लागि निकै उर्वर बनेको छ भन्ने निर्णयसहित जंगल पसेका थिए ठीक त्यही बेला फुकुयामा भन्दैथिए, 'हामी शीतयुद्धको अन्त्यमात्र देखिरहेका छैनौ, अथवा युद्धपछिको इतिहासको एक खण्ड पनि हैन, यो त इतिहासकै अन्त्य हो, भन्नुको मतलब मानवाजातिको राजनीतिक व्यवस्थाको वैचारिक उद्भवकै समाप्ति हो। पश्चिमा उदार लोकतन्त्रको विशवव्यापीकरणनै लोकतन्त्रको अन्तिमरूप हो।' अर्थात् उनको भनाइमा अब लोकतन्त्रको विकल्प खोज्ने कार्य समाप्त भयो लोकतन्त्रको सही प्रयोग गर्नमात्र सक्नुपर्छ।

फुकुयामाका अनुसार जाने हो भने नेपाली डा.भट्टराईले सबैभन्दा पहिले कार्ल मार्क्सले भनेका पुँजीवादको पूर्ण विकास भएपश्चात सच्चा कम्युनिज्म आउँछ भन्ने उक्तिलाई बिर्सनु पर्‍यो। लोकतन्त्रनै त्यस्तो व्यवस्था हो जुन सबैभन्दा राम्रो व्यवस्था नभए पनि उपलब्धमध्ये सबैभन्दा उत्तम व्यवस्था हो। यो व्यवस्थामा परिवर्तन गर्छु भनेर वैचारिक विवाद र समय सिध्याउनुभन्दा यही विचारलाई अगाडि बढाउँछु भनेर डा. भट्टराईको मुखारविन्दबाट निस्क्यो भने नेपालको लोकतन्त्र संस्थागत गर्ने बाटो निकै सहज र सरल हुनेछ।

कम्युनिस्ट बन्छु भनेर माटो र रगतको कसम खाएका कार्यकर्तालाई सजिलै विचार परिवर्तन गराउन नसकिएला। तिनैलाई परिवर्तन गर्छु भन्ने सोच पलाएको हो भने बाटो दुरुह छ। जिन्दगीभर गरिबको दल बनाएर गरिबको हित हुन्छ भनेकाहरूले गरिबको दलले गरिबहरूको संख्यामात्र बढाउँछ गरिबको आर्थिक स्थिती सुधार्दैन भन्ने स्वीकार गर्नु त फलामको च्युरा चबाएभन्दा गाह््रो होला। तर लोकतान्त्रिक बाटोमा आउने हो भने आगोमा खाली खुट्टा हिंडेर देखाउन सक्नुपर्छ। रुढिवादी कम्युनिस्ट यो विचारमा एकैपल्ट नआउलान् तर परिवर्तनकामी र जनताको अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्ने सोच भएकाहरूको भिड तुरुन्तै जम्मा भइहाल्नेछ। डा. भट्टराई जत्तिको जनतामाझ चिनिएको व्यक्तिलाई भारतको अरविन्द केजरीवालको जस्तो सफलता पाउन त धेरै समय पनि नलाग्ला।

लोकतान्त्रिक बाटोमा हिँड्ने हो भने केही सजिला प्रश्न छन्, तिनको उत्तर जनतालाई बुझाउन सक्नुपर्छ, देश आफँै लोकतान्त्रिक हुन्छ। स्ट्यानफोर्ड विश्वविद्यालयमा प्रजातन्त्र र विकासका विद्यार्थीहरूलाई ' लोकतन्त्र ( डा.भट्टराईका शब्दमा उदार लोकतन्त्र) कुनैपनि सर्तबिना लागू हुनुपर्छ कि कुनै अवस्थामा सरकार निरकुंश पनि हुनुपर्छ' भन्ने प्रश्न सोधिन्छ। यही प्रश्नले हरेक व्यक्तिको लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको लगाव कति छ भनेर सजिलै मापन हुन्छ।

यस प्रश्नको उत्तरमै डा.भट्टराईको विचार मिल्दैन। उहाँ अझ उन्नत लोकतन्त्रको पक्षधर हुनुहुन्छ। वास्तवमा नेपालका पुँजीवादी भनिने दलहरूले लोकतन्त्रको गलत प्रयोग गरेकाले मात्र हो लोकतन्त्रको गलत अर्थ लागेको नेपालमा। तिनले अवलम्बन गरेकै लोकतन्त्रलाई साँचो मानेर त्यसमा उन्नत बनाउँछु भन्नु पर्दैन। लोकतन्त्र आफैँमा उन्नत व्यवस्था हो। त्यसलाई सही तरिकाले लागु गर्नमात्र सक्नुपर्छ।

त्यस्तै अर्को प्रश्न एउटै राजनीतिक दलले सधैँ राज गर्नु ठीक हो कि होइन भन्नेमा चाहिँ डा. भट्टराईको विचार पनि होइन भन्नेमा पुगेको देखिएको छ। यो प्रश्नको उत्तर भने मिल्छ। निर्वाचन र संसद् सिध्याएर एउटा सक्षम नेतालाई देश बनाउनु दिनु ठीक हो कि होइन भन्ने प्रश्नको उत्तर सबै लोकतान्त्रिक हुन चाहने नेता तथा कार्यकर्तालाई सोध्नु पर्छ, अधिकांशले गलत उत्तर दिने अर्थात् ठीक भन्ने संभावना छ नेपालमा।

निर्वाचन र संसद्का सट्टा बुद्धिमान् केही व्यक्तिलाई शासन चलाउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा पनि धेरै नेपाली बुद्धिजिवी र वामपन्थीहरू असफल हुन्छन्। किनभने उनीहरू शासन गर्न सक्षम जनप्रतिनिधि होइन सक्षम व्यक्ति चाहन्छन्। सेनालाई कहिलेकाहीँ शासन दिनुपर्छ भन्ने विचारमा पनि धेरै वामपन्थीहरू राजी होलान् र यो प्रश्नको गलत उत्तर देलान्। देशमा लोकतान्त्रिक सरकारले काम गर्न सकेन भने निरंकुश सरकार चाहिन्छ भन्नेकै बोलबाला भएको कारणले नेपालमा लोकतन्त्र निर्बल भएको हो। त्यस्तो उत्तर दिनेको संख्या अहिले पनि प्रशस्त छ।

त्यसैले लोकतन्त्रको विकल्प खोज्न छाडेर आफ्ना समर्थक र अन्य जनतालाई डा. भट्टराईले माथिका प्रश्नहरूको सही उत्तर बताउन सक्ने र त्यही कुरामा विश्वास गर्ने बनाउन सके भने उनको लोकतान्त्रिक कदम सही दिशामा अघि बढ्यो भन्ने घोषणा गर्न सकिन्छ। लोकतन्त्रको विकल्प खोज्ने कार्य गरे भने चाहिँ जनतालाई झुक्याउने पुरानै काममात्र गर्न खोजेकोमा शंका रहँदैन।
अर्को समाचार
खस्कँदो कम्युनिस्ट जडता
२७ वैशाख २०७१
•
१२ मिनेट पाठ
खस्कँदो कम्युनिस्ट जडता
लोकतन्त्रको विकल्प हुँदैन भनेर नेपाली कांग्रेसका नेता लोकन्त्रको स्थापना र पुनःस्थापनाका संघर्षमा लागेका बेला कहिले दरवारसँग र कहिले भारतसँग नजिकिएर नेपालको लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाएको उदाहरण नेपालको कम्युनिस्ट आन्दोलनमा थुप्रै भेटिन्छन्। कम्युनिस्टहरू अझै पनि लोकतन्त्रलाई पूर्णतः आत्मसात् गर्न तत्पर भएको देखिँदैन। अहिले दुवै माओवादी (एकीकृत र वैद्य ) दलभित्र यस विषयमा बहस प्रारम्भ भएको देखिएको छ। लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो भन्नेमा विश्वास गर्नेका लागि नेपाली समाजका सबै राजनीतिक दर्शनका पक्षधरहरू लोकतन्त्रको छातामा ओत लाग्नु खुसीकै विषय हो। तर, लोकतन्त्रलाई सैद्धान्तिकरूपमा स्वीकार गर्दैमा त्यस पद्धतिबाट समाज सिधै लाभान्वित हुने त होइन। त्यसका लागि लोकतान्त्रिक संस्कार प्रदर्शन गर्नु अनिवार्य हुन्छ। सैद्धान्तिकरुपमा लोकतन्त्रलाई स्वीकार गरे पनि ‘रुपान्तरित कम्युनिस्ट’ले लोकतान्त्रिक संस्कार कति मात्रामा देखाइरहेका छन् भन्नेलाई यतिबेला नेपाली समाजले गंभीरताका साथ हेरिराखेको छ। 
वीपी कोइरालाले कुनै बेला भन्नुभएको थियो – ‘पञ्चायत नामसँग हामीलाई कुनै असहमति छैन, असहमति त त्यो व्यवस्थाभित्रका चरित्रसँग हो।’ त्यस्तै नेपाली समाजले पनि अब नेपाली कम्युनिस्टहरुको लोकतन्त्रप्रतिको सैद्धान्तिक समर्थन संस्कारमा कसरी प्रतिविम्बित हुन्छ त्यही आधारमा तिनको मूल्यांकन गर्नेछ। 
सन्दर्भ एनेकपा (माओवादी)भित्र बाबुराम भट्टराईले थालेको नयाँ शक्तिको बहस र विराटनगरमा देखिएका घटनासँग पनि जोडिन पुग्दछ। एउटा सशस्त्र आन्दोलनको नेतृत्व गरी त्यस आन्दोलनलाई एउटा तहसम्म पु¥याएर सत्ताको नेतृत्वसम्म गर्न सफल नेताले हतियार बोकेको १८ वर्षमै र युद्धलाई एउटा परिणाममा पु¥याएको ७ वर्षमै सत्तामा पुगी बाहिरिएको दुई वर्षभित्रै किन नयाँ शक्तिको आवश्यकता महसुस गरे त ? नेपाली समाजको जुन चरित्र, विशेषता र स्वरुप छ त्यहाँ बहुलवाद अनिवार्य हुन्छ र कम्युनिस्टले अपनाउने जनवादी केन्द्रीयताको एकांगी पद्धतिबाट समाजको लोकतान्त्रिक परिवर्तन सम्भव हुँदैन भन्ने एउटा तहमा पुगिसकेका कम्युनिस्ट नेताले पनि बुझेका छन्। आफ्नो कदम वा तर्कमा मौलिकता देखाउने मोह हुनु पनि स्वाभाविकै हो। हिजो मदन भण्डारीले त्यही मौलिकता देखाउने प्रयास गर्दै थिए। आज बाबुराम पनि त्यसै गर्दैछन्। तर, त्यहाँ मौलिकता त छैन। त्यो त नेपाली समाजको परिवर्तन एकांगी व्यवस्था वा जनवादी केन्द्रीयतामार्फत हुनसक्दो रहेनछ भन्ने स्वीकारोक्तिमात्र हो। लोकतान्त्रिक समाजका लागि यो सकारात्मक विषय भने हो। तर, नेपालको आधुनिक राजनीतिमा यो मान्यता स्थापित भएको आज त होइन। बरु, आधुनिक राजनीतिको जग नै यही मान्यतामा आधारित भएर थालिएको थियो। 
बाबुराम भट्राईले फटाफट नयाँ शक्तिको कुरा गरेका छन्। आफ्नो पार्टीको सम्मेलनमा नयाँ नेतृत्व निर्माण भइरहदाँ समेत उनको पक्ष उपस्थित रहेन। ‘बहिष्कार गरेको’ समाचार आए। बहिष्कार हैन भनेर ती समाचारको प्रतिवाद न त बाबुराम आफैँले गरे न पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नै गरे। यस आधारमा बहिष्कार नै हो भन्न सकिने देखियो। आखिर बाबुराम यतिबेला सैद्धान्तिकरूपमा कहाँनेर छन् त ? किन उनी अर्को कोल्टो फेर्न बिाध्य भएका हुन ? किन उनी फरक संस्कृतिको नजिक हुन चाहिरहेका छन् त ? हजारौं नरसंहारको नेता म हुँ भनिरहने तर त्यस नरसंहारका क्रममा उनले गर्वका साथ स्वीकारेको जनवादी केन्द्रीयताको संरचनामाथि नै अहिले किन अप्रत्यक्षरुपमा प्रश्न उठाउँदै छन् त ? एउटा पार्टीमा एउटामात्रै विचार मान्ने नीतिको विपक्षमा उभिनु भनेको जनवादी केन्द्रीयतामात्र हैन कम्युनिस्ट दर्शनको मूल पक्षसँगै विमती राख्नु हो। बाबुरामले बिराटनगरबाट फर्कदै गर्दा दिएको अन्तरवार्तामा यही आशय व्यक्त गरेका छन्।
कुनै पार्टीको नेतृत्वमा रहेर हजारौं नेपालीको नरसंहार गर्दा विकल्प नदेख्ने र अझ चर्कोरुपमा नेपाली युवालाई बलिदान दिन भन्दै युद्धको भुमरीमा होम्ने नेतामा आएको यो चमत्कारी परिवर्तनको पार्टी पंक्तिभित्र तीव्र आलोचना हुनु स्वाभाविकै हो। अझै पनि जनवादी केन्द्रीयताको संरचना र एकांगी व्यवस्थाका पक्षमा नै आपूmलाई उभ्याउनेहरुले त बाबुरामलाई विचलनवादी भनेर आलोचना गर्न थालिसकेकाछन्। नेपाली कम्युनिस्ट आन्दोलनमा जडता त्याग्न चाहनेलाई कट्टरपन्थीले सधैँ विचलनवादी, गद्धार, संशोधनवादी भनेर चर्को आलोचना गर्दै आएका छन्। मोहन वैद्यहरुको नजरमा आजका दिनमा बाबुराम तिनै परम्परागत विशेषणले युक्त देखिएका छन्। तर, नेपाली समाजको वस्तुगत बिश्लेषण गरेर यसको स्वभाव, चरित्र र बहुलवादी संस्कृतिबाट परिचित भएमा र कम्युनिस्ट पद्धतिले नेपाली समाजलाई सम्बोधन गर्न सक्छ की सक्दैन भन्ने वस्तुपरक विश्लेषण गर्न थाल्ने हो भने मोहन बैद्यलाई उमेरले साथ नदिए पनि उनका अनुयायीहरू मदन भण्डारीकै पंक्तिमा आउने अग्रसर आजका बाबुरामकैे अवस्थामा पक्कै पुग्नेछन्।
अहिलेको बाबुरामको अवस्थालाई लोकतन्त्रवादीले भने स्वाभाविकरूपमा लिएका छन्। तर बाबुरामले लोकतन्त्रको सिद्धान्तमात्र स्वीकार्छन् कि लोकतान्त्रिक संस्कृति प्रदर्शित गरेर त्यसको प्रबद्र्धनमा सहयोगी बनेर आउँछन् भन्ने चाहिँ प्रतीक्षाकै विषय रहेको छ। हिजो सत्तामा रहदाँको उनको कार्य शैली र न्यायालयले उनका पार्टीका कार्यकर्ताविरुद्ध मुद्दा हेर्दा न्यायालयलाई नै ललकारेर अपराधलाई प्रोत्साहन गर्ने चरित्र हेर्दा उनीबाट तत्काल लोकतान्त्रिक संस्कृति प्रदर्शन र आत्मसात् हुनेमा सहजै विश्वास गर्न भने सकिँदैन। सिद्धान्तमा लोकतन्त्रवादी हुनु व्यवहार लोकतान्त्रिक संस्कारबाट निर्देशित हुनु हो। बाबुराममा आएको लोकतान्त्रिक चेत शक्ति हत्याउने खेल हो कि लोकतन्त्रको शाश्वत मूल्यप्रतिको प्रतिबद्धता हो भन्ने निर्णय पनि भविष्यमा उनको व्यवहारले गर्नेछ। 
दार्शनिक अरस्तुले भनेका छन् – ‘प्रजातन्त्रमा मात्र गरिब बलिया हुन्छन्। किनभने हरेक समाजमा गरिब धेरै हुन्छन् र तिनले आफ्ना माग चर्कोरूपमा उठाउँछन्।’ अर्थात्, प्रजातन्त्र बहुसंख्यकको पक्षमा उभिन्छ र जनताको मागको सुनुवाइ गर्दै अगाडि बढ्छ। जनताको सम्बृद्धि लोकतन्त्रको विशेषता हो भन्ने अरस्तुको भनाइले प्रष्ट्याउँछ। लोकतन्त्रले आर्थिक समानताको विषयलाई कम महत्व दिन्छ भन्ने भ्रम नेपालका सन्दर्भमा कम्युनिस्टले फिँजाएका छन्। हिजो मदन भण्डारीले पनि लोकतन्त्रप्रतिको मोह प्रकट गर्दागर्दै आफ्नो औचित्य सिद्ध गर्न यही विषय उठाएका थिए। उनी आर्थिक समानतासहितको लोकतान्त्रिक पद्धति भन्ने गर्थे। अब बाबुरामले पनि यस्तै कुरा उठाउलान्। यो तिनको आफ्नो अस्तित्व देखाउने खेलमात्र हो। लोकतन्त्रमा जनताको समृद्धि नहुने भएकाले हामी आर्थिक समानताको सिद्धान्त बोकेर लोकतन्त्रमा मिसिन आएका हौँ भन्नु लोकतन्त्रलाई आत्मसात गर्न हिचकिचाउनु हो। मौलिकता देखाउने मोहमा लोकतन्त्रका विशेषतालाई गौण तुल्याउन खोज्नु पाखण्ड हो।
नेपालको लोकतान्त्रिक आन्दोलनको प्रारम्भ नै राजनीतिक स्वतन्त्रता र आर्थिक समानतासहितको लोकतन्त्रको जगमा भएको हो। बीपी कोइरालाले यही मान्यतालाई नेपाली धर्तीमा २००७ साल अगाडि नै उद्घोषित गरिसकेका छन्। आर्थिक समानताबिना शोषणमात्र हुन्छ र राजनीतिक स्वतन्त्रताबिना जनताको अधिकारको हत्या हुन्छ। त्यसकारण हामी लोकतान्त्रिक समाजवादका पक्षधर हौं भन्ने नारा पनि बीपीले स्थापित गरिसकेका छन्। सम्पन्न र समृद्ध मुलुकको सूची बनाउँदै ती देशका चरित्र हेर्दै जाने हो भने जुन मुलुकमा कम्युनिस्ट दर्शनको प्रभाव कम पर्दै गयो त्यही मुलुक चाडो चाडो विकासको गतिमा हिड्न थालेको देखिएको छ। के हामी पनि अब क्रमशः कम्युनिस्ट प्रभावबाट मुक्त हुँदै लोकतान्त्रिक अर्थात् समृद्धिको मार्गमा हिँड्न थालेकै हौँ त ?
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस