बेवारिसे सरकार
२८ असार २०७८
•
५ मिनेट पाठ
बेवारिसे सरकार
बेवारिसे सरकार भन्ने शब्द झट्ट सुन्दा त अलि अबुझ र अचम्मको लाग्न सक्छ तर शान्त दिमागले यस्तो गमेर विचार गर्दा दुईवटा कथित ठूला कम्युनिस्ट पार्टीको एकीकरणपश्चात निर्माण भएको झण्डै दुईतिहाइ सांसद संख्याको विशालकाय नेता÷कार्यकर्ता पंक्तिको पार्टीको सरकारको बेवारिसे हालत देख्दा दया लाग्नुको सट्टा यी दल र सरकारलाई दसा लागेको हो कि भन्न सकिन्छ।

एकीकरणपश्चातको विशालकाय पार्टी झण्डै दुईतिहाइ सांसदको समर्थनमा गठित बलियो सरकार, आफ्नै खोपीको राष्ट्रपति, सभामुख, संवैधानिक अंग र राज्यका प्रत्येक निकायमा आ–आफ्नै खल्तीका मान्छे, हरुवा/चरुवाको बाहुल्यतालगायत के के जाति हो के के जाति? मुलुकको कुनै लिखित ऐन, कानुन संविधान आदि मान्नु नपर्ने, आदेश/निर्देशन कानुनसरह हुने, कुनै पनि मन्त्री, राजनीतिक कार्यकर्ता हरुवा/चरुवा र पार्टीगत दलाल वा तस्करले जतिसुकै संवेदनशील विषयमा जस्तोसुकै जघन्य अपराध र भ्रष्टाचार गरे पनि ‘त्यो होइन, त्यो पर्दैन’ भन्न सक्ने बलिया आधार र प्रावधानबाट सुसज्जित सरकार अहिले एकाएक बेवारिसे अवस्थामा आइपुग्दा देशको राजनीतिक र कूटनीतिक मथिङ्गल त खलबलिएको छ नै, आफैँ खोपीका शक्तिशाली अंग प्रत्यङ्गहरूमा पनि शिथिलता छाएको अनुभूति भइरहेको प्रतीत हुन्छ।  

यो बेवारिसे सरकार बलियो अवस्थामा छँदा उत्तर र दक्षिण सीमावर्ती क्षेत्रबाट यो सरकारसँग सहकार्य गर्ने नाममा राजनीतिक अरिगांलहरूको ताँती लागिरहन्थ्यो। सरकारको पहिलो वर्ष उत्तर र दक्षिण दुवैतर्फका राजनीतिक अरिगांलहरू सिंहदरवार बालुवाटार हुँदै शीतल निवाससम्मै छयाप्छ्याप्ती भेटिन्थे। सरकार बनेको दोस्रो वर्षमा उत्तरतिरबाट अझ ठूल–ठूला अरिगांलको बाक्लै ताँती लाग्न थालेपछि दक्षिणी सीमा क्षेत्रबाट आवतजावत पातलो हुँदै गयो। सरकार गठन भएको तेस्रो वर्षमा उत्तरी अरिगांलहरूसंँगको सहकार्यमा मतभेद भएपछि केही समय अन्योल स्थिति छाइरह्यो।  

यसरी उत्तरी र दक्षिणी दुवै अरिगांलसँग रमाउन सकने देखिएपछि हाम्रो सरकारले त्यतिञ्जेलसम्म आफूलाई सशक्त भिर माहुरी देख्न थालिसकेको थियो। जसरी भिर माहुरीको मह बढी खाँदा मात लाग्छ, त्यसरी नै हाम्रो सरकारलाई पनि सत्ताको मात चढ्न थालिसकेको थियो। प्रतिपक्षीमा झिङ्गा पनि भिर माहुरीले चाकामा छाडेको महको जुठो चाटेरै मख्ख थिए।  

यसरी सत्ताको मात चढ्दै जाँदा सरकारले प्रतिपक्षलाई त जुठो चटाएकै थियो मुलुकका अन्य राजनीतिक दल र स्वयं आफैँ विशालकाय नेतृत्व एवं कार्यकर्ता पंक्तिलाई पनि लछारपछार गर्न थालिसकेको थियो।  

हाल बेवारिसे बनेकाहरूले तत्कालीन अवस्थाको बलियो सरकारमा छँदा मुलुकको अस्मिता लुट्न र जनताको छातीमा लात हान्न छाडेनन्। आफ्ना आसेपासे र सुसारेहरूको भरणपोषणका लागि पनि कुनै कसर बाँकी राखेनन्। सत्ताको मातमा यिनीहरूले बालुबाटार शीतल निवास र सिंहदरवार पेरिफेरीलाई मात्र देश सम्झे र यिनै तीन स्थान वरिपरि भाका फेरी फेरी गीत गाइरहे।

एकातर्फ उत्तरी राजनीतिक अरिगांलसँग असमझदारी उत्पन्न भइ उनीहरूको आवागमन पातलिएको छ। अर्कोतर्फ नेपाली सरकारी भिर माहुरीहरू सत्ताको मातमा आफ्नै घर चाका (राजनीतिक दल) भत्काउन अग्रसर भइरहेको र बालुवाटार शितल निवास तथा सिंहदरवार केन्द्रित लुटतन्त्रमा बढी केन्द्रित भइरहेको स्थितिलाई सूक्ष्म ढंगले नियालिरहेका अरिगांलहरूका लागि नेपाल प्रवेश गर्ने यो सुवर्ण अवसर थियो। अतः दक्षिणतिरबाट क्रमशः अरिगांलसँगै सलहका ताँतीहरूको म्याराथन सुरु भयो।  

यसरी प्रारम्भमा आएका अरिगांलले बालुवाटार र शीतल निवासका शयन कक्षभित्र स्थायी गोला (चाका) निर्माण गरिसकेपछि अरिगांलसँगै पछि पछि पटक पटक भित्रिएका सलहका ताँतीले प्रारम्भमा नेकपा नामको बलियो वृक्षका हाँगा, पात, डाँठसमेत केही नराखी सखाप पारेपछि त्यो नेकपा नामको वृक्षलाई नै दुई फ्याक पारिदिए।  

त्यही फ्याकभित्र रहेको एमाले नामक हरियो वृक्षलाई पनि सखाप पारे। यसरी दुई फ्याक भएको वृक्षका केही डाँठमा नेपाली भिर माहुरीले आफ्ना लागि हाल छुट्टाछुट्टै चाका (घर) निर्माण प्रारम्भ गरेका छन्। नेपाली भिर माहुरीले आफ्नो दुर्गतिको कारक अरिगांल र सलह हुन् भन्ने स्पष्ट बुझ्दा बुझ्दै पनि आपसमा एकजुट हुनुको सट्टा तिनीहरूकै आडमा एकअर्काको घर भत्काउन तल्लीन हुनु मुलुकका लागि निकै कष्टदायक हुने देखिँदैछ।  

यसरी आफूलाई भिर माहुरी संम्झिने हाम्रा राजनीतिक दलहरू जसले आफूलाई विगतमा अरिगांलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने ठानेका थिए, आज तिनीहरू तिनै अरिगांल र सलहका षडयन्त्रमा परेर नांगा डाँठ माथिबाट टुलुटुलु हेरेर बस्नुपरेको छ। सखाप पारिसकेपछि अरिगांल र सलह पनि अर्को चरणको पर्खाइमा छन्।  

यसरी दुईतिहाइको विशालकाय पार्टीको सरकार विदेशी भुसुनाहरूको भर पर्दा आफैँ असहाय बन्नुपरेको छ। सुझबुझपूर्ण विवेक र कूटनीतिक कौशलको अभावमा पार्टी टुक्रियो, आफ्नै दलकाले छाडेर गए, विरोधी खेमा एकजुट भयो। अझै पनि आफ्नालाई समेट्नु भन्दा विरोधीहरू अझ कसरी बलियो पार्ने भन्दै छुद्र भाषा र शब्दावली प्रयोग गर्न नछाड्दा एक्लिँदै जानुपरेको छ। आफ्नालाई गलहत्याएर सलहहरूलाई सरकारमा ल्याउँदा एउटै अदालती स्प्रे (आदेश) बाट सलहको झुण्ड बेहास भएको छ  भने अरिगांलहरू सीमापारिबाट चियाएर बसिरहेका छन्।

आर्थिक र सामाजिक समस्या समाधान गर्ने भन्ने त प्राथमिकताका थिएन वा रहेन तर राजनीतिक र कूटनीतिक दृष्टिले समेत पूर्ण असफल र राजनीतिक छुवाछूतको दलदलमा भासिँदै गइ एक्लिँदै एक्लिँदै चार जनाको सरकारमा सीमित हुन पुगेको छ।  

यसरी चौतर्फीरूपमा एक्लिएको र दुत्कारिएको हाम्रो सरकार बेवारिसे अवस्थामा पुगेको छ। शीतल निवास, बालुवाटारका दुलालाई मात्रै देश सम्झिने हो भने कुन दिन यो सरकारका दुई जना नाइके एउटा शीतल निवास र अर्को बालुवाटारको मझेरीमा मुर्छित अवस्थामा भेटिने छन्। तसर्थ उहाँहरूको उद्धारका लागि तयार रहन सबैलाई आग्रह गर्छौँ। (राष्ट्रिय संयोजक: नेपाल नागरिक अभियान तथा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक)
अर्को समाचार
कामचलाउ सरकारका सीमा
१९ असार २०६९
•
१८ मिनेट पाठ
कामचलाउ सरकारका सीमा
संविधान सभाको बेवारिसे अन्त्येष्टिपछि अहिलेको सरकार कामचलाउ हैसियतमा पुगेको छ। संविधान सभाको निर्वाचनपछि चारवटा कामचलाउ सरकार भोगिसकेका नेपाली वास्तवमा यस्ता ‘लेमडक' बाट वाक्क भइसकेका छन् ।
स्व. गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपालको र हाल बाबुराम भट्टराई नेतृत्वमा कामचलाउ सरकारको विगत ४ वर्षमा अनुभव गरिसकेको छ। हाम्रो नियति सधैं संक्रमणकाल र यस्तै राजनीतिक वैधानिकता गुमाएको सरकार स्वीकार्नु भएको छ। बारम्बार यस्तो हैसियतको सरकार बन्नु बिग्रिएको राजनीतिको संकेत हो। कामचलाउ सरकार भनेको अर्को वैधानिक सरकार नबन्दासम्म सरकारी दायित्व धानिदिने निकायमात्रै हो। तर सरकार बन्दाको परिस्थिति, नियन्त्रण र सन्तुलनको स्थिति र राजनीतिक वातावरणले कामचलाउ सरकारको हैसियत फरक पार्छ। संसद्को विश्वास वा वैधानिकता गुमाउँदा राजीनामा दिएको सरकार, संसद्को पदावधि समाप्त भई निर्वाचन सम्पन्न नहुँदासम्मको सरकार, संसद् विघटन भई अर्को निर्वाचन नभएसम्मको सरकार र विशेष राजनीतिक वा अन्य संकटबाट हट्नुपरेको सरकार अर्को वैधानिक सरकार निर्माण नभएसम्म कामचलाउ हैसियतका मानिन्छन्। यी सबै प्रकारका सरकारका वैधानिक र नैतिक सीमा हुने गर्छन्।

विश्वका लोकतान्त्रिक मुलुकले अवलम्बन गर्ने गरेका कामचलाउ सरकारका लागि केही सिद्धान्त र परम्परा छन्। त्यसमध्ये प्रमुख हो- संयमको सिद्धान्त (प्रिन्सिपल अफ रेष्ट्रेन्ट)। सबैखालका कामचलाउ सरकारले संयम अपनाएर आफ्ना कामलाई अति आवश्यक सार्वजनिक काममा सीमित गर्नुपर्छ भन्ने मान्यता स्थापित भएको छ। निर्वाचन घोषणा भइसकेको अवस्थाको कामचलाउ सरकार भने अझ सीमित हुने गर्छ किनभने ऊ नैतिकमात्र होइन, कानुनीरूपमा नै बाँधिएको हुन्छ। स्वतन्त्र र निष्पक्ष निर्वाचनको प्रत्याभूति गर्न कमचलाउ सरकारले निर्वाचन आचारसंहिताभित्र काम गर्नुपर्छ। सरकारलाई कानुनी अधिकार त हुन्छ तर संसद्को नियन्त्रण हुन नसक्ने अवस्थाले गर्दा ‘संयमको सिद्धान्त' अनुसार दैनिक अति आवश्यक ठानिएका काममा मात्र सीमित हुनुपर्छ।

नेपालमा भने सबै कामचलाउ सरकारले कार्यकारी अधिकार आफूमा रहेको कुतर्क दिने गर्छन्। संविधानमा कामचलाउ सरकारको अधिकार क्षेत्र उल्लेख नभएको र संविधानअन्तरगत जारी गरिएका कानुनद्वारा प्रदत्त अधिकार यथावत् रहेको अवस्थामा यस्ता दलिल दिने गरिन्छ। आफ्नो नेतृत्वको सरकार कामचलाउ हुँदा जे पनि गर्ने र अर्काको नेतृत्वमा हुनासाथ कडा विरोध गर्ने रोग दलका नेतामा छ। यही मौका हो हुने/नहुने सबै काम सम्पन्न गर्ने भन्ने कुत्सित अभिप्रायले निर्णय गर्ने गरिन्छ। आफ्ना दल निकटकालाई सरकारी ढुकुटीको रकम वितरण गर्ने, आफ्नो निर्वाचन क्षेत्र प्रभावित गर्न गैरबजेटरी रकम छुट्टयाउने, आफ्ना दल समर्थकको मुद्दा फिर्ता, कैद माफी गर्ने, महत्वपूर्ण पदमा नियुक्ति गर्ने, आकर्षक कार्यालयमा सरुवा गर्ने जस्ता काम कामचलाउ सरकारका प्राथमिकतामा पर्दैआएका छन्। यस्ता काम कसको पालामा कति भयो? उल्लेख गर्न जरुरी छैन, सबै तथ्य सञ्चार माध्यममा सार्वजनिक भएकै छन्। अहिलेको बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकार यस्तै कामबाट आलोचित भइरहेछ। जेठ १४ मा नयाँ निर्वाचन घोषणा भइसकेपछि पनि यो सरकार पूर्ण कार्यकारी अधिकार सम्पन्न सरकारको रूपमा प्रस्तुत भयो। राष्ट्रपतिले ‘कामचलाउ सरकार' को हैसियत सम्झाइदिएपछि पनि महत्वपूर्ण निर्णय गर्दैछ। निष्पक्ष निर्वाचन सम्पन्न गर्ने संवैधानिक अधिकार पाएको निर्वाचन आयोगले कानुनी अधिकार प्रयोग गरी आचारसंहिता पालना गर्न दिएको निर्देशनसमेत पालना नगरी भटाभट निर्णय गर्दैछ। केही प्रमुख जिल्ला अधिकारीको सरुवामै निर्वाचन आयोगले सचेत गराउँदा-गराउँदै नेपाल प्रहरीमा ठूलो संख्यामा उच्च तहका अधिकृतको सरुवा गरिएको छ। विभिन्न विभागमा सरुवा गरिएकोमा निर्वाचन आयोगमा उजुरी परेको समाचार सार्वजनिक भइरहेको छ। ठूला लागतका आयोजना सञ्चालन गर्न लागेको कुरा बाहिर आएको छ। यस्तो हेपाहा प्रवृत्तिले निष्पक्ष निर्वाचन हुन्छ भन्नेमा शंका बढाइदिन्छ भने भविष्यमा बन्ने कामचलाउ सरकारका लागि गलत परम्परा स्थापित हुने हुन्छ।

कामचलाउ सरकार छाडा हुँदै जानुमा सबै राजनीतिक दल उत्तिकै जिम्मेवार छन्। संविधानमा नै अधिकार नतोकिनु, कामचलाउ सरकारसम्बन्धी कुनै राजनीतिक सहमति बनाउन नसक्नुमा एक दलमात्र दोषी हुन सक्दैन। आफू विपक्षमा रहँदा कडा विरोध गर्ने दलहरू किन गैरराजनीतिक चुनावी सरकार माग गर्दैनन्? उत्तर स्पष्ट छ- राजनीतिक दलका नेतामा पछि आफैँ बाँधिने काममा रुचि छैन। होइन भने विश्वका लोकतान्त्रिक भनिने देशहरूले लागु गरेका व्यवस्था नेपालमा अवलम्बन गर्न किन सकिंदैन? कामचलाउ सरकारले के गर्न हुन्छ र के गर्नुहुँदैन भन्ने लोकतान्त्रिक मुलुकहरूले केही सिद्धान्त र परम्परा स्थापित गरेका छन्। गैरराजनीतिक सरकार गठनदेखि यसका सिद्धान्त, गर्न हुने र नहुने काम उल्लेख गरिएको सहमति वा संवैधानिक व्यवस्थासमेत विभिन्न देशमा लागु गरिएको देखिन्छ। यी सिद्धान्त र मार्गदर्शन मुख्य दुई कुरामा आधारित गरिने प्रचलन छ- नियन्त्रण अंकुशको सिद्धान्त र समान हैसियतको प्रतिस्पर्धा। संसद् विघटन भएको अवस्थामा सरकारलाई अंकुश लगाउने र हटाउन सक्ने संस्था नहुने भएकाले सरकारले अति आवश्यक पर्ने काममात्र गर्नुपर्छ। त्यस्तै निष्पक्ष निर्वाचनका लागि सबै प्रतिस्पर्धी समान हैसियतमा चुनाव लड्न पाउनुपर्छ भन्ने मान्यतामा यी सिद्धान्त विकसित भएका देखिन्छन्।

संसद्को निर्वाचन घोषणापश्चात् निर्वाचनलाई प्रभावित गराउन सत्ता र सरकारी स्रोत साधनको दुरूपयोग नहोस् भन्ने उद्देश्यले गैरराजनीतिक चुनावी सरकार गठन गर्ने प्रचलन केही मुलुकमा छ। बंगलादेशमा सेवानिवृत्त न्यायाधीशको अध्यक्षतामा कामचलाउ सरकार गठन गरिने व्यवस्था छ। ग्रिसमा पनि सेवानिवृत्त न्यायाधीश र कर्मचारी रहेको गैरराजनीतिक कामचलाउ सरकार गठन गर्ने गरिन्छ। यसको पक्षमा के तर्क दिने गरिन्छ भने चुनावमा भाग नलिने व्यक्ति रहेको सरकारले मात्र निष्पक्ष निर्वाचनको वातावरण निर्माण गर्न सक्छ। राजनीतिक व्यक्तिको सबभन्दा अवगुण भनेकै मतको राजनीति गर्नु हो भन्ने गरिन्छ। यसका लागि तत्काल देखिने र आफ्नो निर्वाचन क्षेत्रलाई फाइदा हुने निर्णय गर्न प्रेरित हुन्छन्। केही देशमा भने संसद् विघटन हुनुअघिकै सरकार कामचलाउको रूपमा परिणत हुने व्यवस्था भए पनि सिद्धान्त, परम्परा र सहमतिबाट निर्माण हुने मार्गदर्शनभित्र रहेर काम गर्नुपर्ने प्रचलन छ।

अस्ट्रेलियामा कामचलाउ सरकारका लागि ‘गाइडेन्स अन केयरटेकर कन्भेन्सन' जारी गरिएको छ। यसअनुसार सरकारले गर्न नहुने कामहरूमा महत्वपूर्ण नीतिगत निर्णय, महत्वपूर्ण नियुक्ति, ठूला ठेक्कापट्टा, अन्तर्राष्ट्रिय सम्झौता अन्तर्राष्ट्रिय भ्रमण र नागरिक प्रशासन र चुनावलाई प्रभावित गर्नेगरी परिचालनलाई उल्लेख गरिएको छ। क्यानाडामा कामचलाउ सरकारले पालना गर्नुपर्ने सिद्धान्तका साथै गर्न हुने र नहुने काम उल्लेख भएको ‘कन्भेन्सन' प्रचलनमा छ। यस्तो सरकारले अति आवश्यक काम मात्रमा सीमित भई संयमताका साथ काम गर्नुपर्छ र त्यस्तो निर्णय गर्नुहुँदैन, जसले आउने सरकारको निर्णय स्वतन्त्रतालाई सीमित गरोस् भन्ने सिद्धान्त देखिन्छ। त्यस्तै सरकारले गर्न हुने काममा दैनिक प्रशासनिक काम, प्रकोप व्यवस्थापन जस्ता अति जरुरी मानिएका कार्य र पछि आउने सरकारले विना लागत उल्टाउन मिल्ने (रिभर्सिवल) कार्य स्वीकारिएको देखिन्छ। यसबाहेक रोक्नै नमिल्ने कुनै काम भए राजनीतिक सहमतिमा मात्र गर्नुपर्ने क्यानाडाली परम्परा छ।

न्युजिल्यान्डमा गर्न मिल्ने काम उल्लेख गरिएको राजनीतिक सम्झौता कार्यान्वयनमा रहेको देखिन्छ। यसअनुसार सामान्य दैनिक प्रशासनिक कार्यको निरन्तरता, अघिका निर्णय कार्यान्वयन, राज्य सञ्चालनमा निकै अप्ठेरो परेको अवस्थामा अस्थायी व्यवस्थापन गर्न सक्ने र अन्य निर्णय गर्नुपर्ने अवस्थामा राजनीतिक परामर्शमा मात्र गर्नुपर्ने व्यवस्था देखिन्छ। यसबाहेकका महत्वपूर्ण निर्णय, नीति परिवर्तन र नयाँ नीति लागू गर्ने काम पछि सार्नुपर्ने सम्झौतामा उल्लेख भएको पाइन्छ। आफूलाई लोकतान्त्रिक भन्ने देशहरूले लामो अनुभवबाट विकसित गरेका यी केही उदाहरण मात्र हुन्। अन्य लोकतान्त्रिक मुलुकमा वैधानिक प्रावधान वा लिखित समझदारी, सहमति नभए पनि परम्पराका रूपमा केही मान्यता प्रचलित देखिन्छन्, जसलाई सबै कामचलाउ सरकारले पालना गर्नुपर्छ। शान्ति सुरक्षा, दैवी प्रकोप, सीमा सुरक्षा जस्ता रोक्नै नमिल्ने काम (रुडिमेन्टरी ड्युटिज) भने गर्न मिल्छ। कामचलाउ सरकारको अर्को दायित्व भनेको भण्डारको सुरक्षा (माइन्डिङ स्टोर) हो। सरकारी सम्पत्ति, कोषलाई अर्को सरकार नबनेसम्म सुरक्षित राखिदिने र पछि बन्ने वैधानिक सरकारलाई हस्तान्तरण गर्ने कर्तव्य यसको हो भन्ने गरिन्छ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रतर्फको संक्रमणमा छ। लोकतन्त्र आफैँमा जटिल प्रक्रिया र अभ्यासबाट परिपक्व हुने प्रणाली हो। नयाँ लोकतन्त्रमा प्रवेश गरेको नेपालको कस्तो परम्परा विकसित गर्ने? जनताको मतलाई प्रलोभन, गलत प्रभाव र दबावबाट मुक्त राखी निर्भिकतापूर्वक कसरी अभिव्यक्त हुन दिने हो भन्ने सबै राजनीतिक दलका नेताले सोच्ने विषय हो। लोकतन्त्रको मुख्य विशेषता निष्पक्ष निर्वाचन हो। त्यसका लागि सबै प्रतिस्पर्धी समान हैसियतमा चुनावको मैदानमा सहभागी हुन पाउनुपर्छ। सरकारमा रहनेले राज्यका स्रोत, साधन र शक्तिको दुरूपयोग हुने स्थिति रह्यो भने निष्पक्ष निर्वाचन हुनै सक्दैन। अहिलेसम्म राजनीतिक दलबीच कामचलाउ चुनावी सरकारको अधिकार क्षेत्रबारे कुनै सहमति बन्न सकेको छैन, न त संविधानमा नै कुनै प्रावधान छ। यस्तो स्थितिमा कामचलाउ सरकारले आफू कार्यकारी अधिकार सम्पन्न छु भन्ने दाबी गर्ने गर्छ। नेपालमा मात्र होइन, परिपक्व लोकतन्त्र भएका मुलुकका कामचलाउ सरकारसमेत विवादमा आउने गरेको छ। अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनले आफू कामचलाउ राष्ट्रपति हुँदा आलोचकलाई जवाफ दिएका थिए- ‘लेमडक् इज् वन्ली फर वर्डस्।' नेपालमा पनि कामचलाउ सरकारबारे कुनै संवैधानिक व्यवस्था वा राजनीतिक सहमति भएन भने भविष्यमा थप राजनीतिक विवाद र जटिलता सिर्जना हुन सक्छ।

राजनीतिक व्यक्तित्वहरूको चरित्र चित्रण गर्न अंग्रेजीमा एउटा शब्द छ - ‘डेमागोगरी।' नेताहरू यस्तो अभिव्यक्ति दिन्छन्, जसको पछाडि कुनै तर्कले काम गर्दैन भन्ने यसले बुझाउँछ। प्रधान मन्त्रीले हालै रियो सम्मेलनबाट फर्कंदा पत्रकार सम्मेलनमा दिएका अभिव्यक्ति यस्तै छ। नेपालको अन्तरिम संविधान, २०६३ आफैँमा राजनीतिक सहमतिको दस्तावेज थियो भन्ने उनलाई राम्रै ज्ञान छ। यो बुझेर पनि उनले नयाँ निर्वाचन नभएसम्म राजीनामा दिन्नमात्र भनेनन्, विपक्षीहरूको मागलाई बालहठको संज्ञासमेत दिए। यो अभिव्यक्ति उनैको छवि र बौद्धिक व्यक्तित्व सुहाउने थिएन। यस्तै हो भने त भोलि उनले लेमडकले पनि सुनको अण्डा नेपालीलाई दिनसक्छ भन्ने तर्क दिन सक्छन्। तर, यहाँ के बु‰न जरुरी छ भने जुन धरातलमा सरकार बनेको थियो, त्यो क्रमशः भत्किँदैछ। यस्तो अवस्थामा उनको सरकार ‘लेमडक' होइन कि ‘सिटिङ डक' मा रूपान्तरित भइसकेको छ। बरु प्रधान मन्त्रीलगायत् सबै राजनीतिक दलले गैरराजनीतिक व्यक्तित्व रहने चुनावी सरकार गठन गर्न सहमति गरे भविष्यका लागि राम्रो परम्परा बस्न सक्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस