पहिचान, अधिकार र आत्मसम्मान सबैको चासोको विषय हो। आजको विश्वमा यो सबै मुलुक र नागरिकको सरोकार बनेको छ।
ध्रुवसत्य पनि यही हो– चौरासी व्यञ्जनले मात्र जिब्रोमा स्वाद र पेट परिपूर्ण हुँदैन, ठूलो महल र मखमलको विस्तरामा निद्रा पनि आउँदैन, जबसम्म कुनै नागरिकलाई उसको स्वतन्त्र पहिचान, आत्मसम्मान र अधिकार सुसम्पन्न बनाइँदैन। आजको एक्काइसौं शताब्दीमा आएर पनि नेपाल एउटा यस्तो मुलुक हो, जहा“का एक भाषा, एक संस्कृति, एक धर्म र एक भेषभूषा भएको केन्द्रीकृत शासकीय मनोवृत्तिबाट ग्रसित शासकहरुले पाषण युगलाई सम्झना दिलाउने गरी शासकीय अधिकार प्रयोग गरी बलमिच्याईका साथ गलत निर्णय पटकपटक गरिरहेका छन्।
थारुलगायत थरुहट तराईका सम्पूर्ण मूल आदिवासी र मुस्लिमले आफूहरु मधेसी नभएको भनी पटकपटक संघर्ष गरिआएका छन्, यस दौरानमा थरुहट आन्दोलनका ५ जना सहिदसमेत भएका छन्। नेपाल सरकारले थारुहरु मधेसी नभएको र तराईका मूलबासी भएको भनी लिखित सम्झौतासमेत गरिसकेको छ। यस्तैखाले सम्झौता मुस्लिमसित पनि गरेको छ। तथापि शासकहरुले पुनः बलजफ्त ती लिखित सम्झौता कुल्चँदै नेपालको चौथो जनशक्ति भएको थारुलाई मधेसीकरण गरेको छ। यसैगरी तराईका अरु आदिवासी जनजाति र मुस्लिमहरुको अपमान गर्दै पुनः उनीहरुलाई मधेसी बनाउने ऐतिहासिक भुललाई सच्याउनुको सट्टा निरन्तरता दिने निर्णय गरेको छ।
विश्वमा कहीँ नभएको काम नेपालमा हुने गरेको छ। संविधान सभाको दोस्रो निर्वाचन भयो। तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारले संविधान सभा सदस्य निर्वाचन अध्यादेश २०७० जारी गर्यो। जसअनुसार संविधान सभाको निर्वाचन भयो। यस अध्यादेशमा थारुलगायत तराईका सम्पूर्ण आदिवासी, जनजाति र मुस्लिमलाई पुनः मधेसी सूचीमा राखेको छ। नेपाली कांग्रेस, एमाले र माओवादीबाट समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनै सबै थारु तथा मुस्लिम मधेसी पहिचानबाट सभासद् भएका छन्। यो कानुनी व्यवस्था थारु र मुस्लिमप्रति ठूलो अपमान हो। यसलाई प्रतिस्थापन विधेयकमा संशोधन गर्न/गराउनका लागि थरुहट तराई पार्टी नेपाल, नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका दलका थारु सभासदले खासगरी ठूला दलका शीर्ष नेतासित संयुक्तमा भेटघाट गरी वातावरण सहज बनाउन ठूलो मेहनत भयो। नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधान मन्त्री सुशील कोइरालालगायत नेता, एमालेका अध्यक्ष झलनाथ खनालसहितको नेता, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसहितका नेता र मधेसी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसहित सबैसित संयुक्त भेटघाट सम्पन्न भयो। सबै नेताले सकारात्मक प्रतिबद्धता जनाए, संशोधन प्रस्ताव राख्न सुझाव दिए। सोहीअनुसार संयुक्त संशोधन प्रस्ताव दिने सहमति भयो र एमालेका सभासद् वैजनाथ थारुलाई प्रस्तावक र बाँकी सबै दलका थारु र मुस्लिम सभासद् समर्थक भई संशोधन प्रस्ताव दर्ता भयो।
संशोधन प्रस्ताव दर्ता भएको सूचना पाएपछि गृह मन्त्रीले तुरुन्त मलाई सम्पर्क गरी तपाईँहरुको संशोधन प्रस्ताव हामीले स्वीकार गर्ने भयौँ यसर्थ केही सल्लाहका लागि भोलि बिहान ९ बजे गृह मन्त्रालय मेरो कार्यकक्षमा आउनू भन्नुभयो। भोलिपल्ट बिहान सबै दलका नेतृत्व पंक्तिका थारु सभासद् गृह मन्त्रीको कार्यकक्ष पुग्यौं। त्यहाँ गृह मन्त्री, कानुन मन्त्री, एमाले र कांग्रेसका नेता, एमाओवादीका नेता, मन्त्रालयका सचिवलगायत उच्चपदस्थ कर्मचारी यही प्रस्तावको विषयमा छलफलमा थिए। हामीसित तीन चरणमा छलफल भयो। अन्त्यमा गृह मन्त्रीले सामान्य भाषा संशोधन गरे पनि संशोधन प्रस्ताव स्वीकार्ने जानकारी दिनुभयो।
उक्त दिन २०७० चैत ११ गतेको व्यवस्थापिका संसदको बैठकमा संविधान सभा सदस्य निर्वाचन विधेयक २०७० दोस्रो प्रस्तावमा थियो र सोहीअनुसार प्रस्तुत भयो। प्रस्तावक वैजनाथ थारूले पेश गरेपछि त्यसको विपक्षमा कसैले पनि बोलेन। पक्षमा भने विभिन्न दलका करिव ४० जना थारू, मुस्लिम, बाहुन र मधेसी सभासदले बोल्नुभयो। व्यवस्थापिका र संविधान सभामा ४ वर्षको दौरानमा यस्तो सकारात्मक माहोल कहिल्यै बनेको थिएन। तर यस पटकको व्यवस्थापिका संसद सुरु भएको दुई महिनाभित्रै यस्तो सकारात्मक वातावरण बनेको थियो। तर दुर्भाग्य, जब गृह मन्त्रीको पालो आयो, परिणाम ठीक उल्टो भयो। उहाकै कार्यकक्षमा भएको सहमतिलाई तीन घण्टा नबित्दै हथात कुल्चे र फेरि थारूलगायत थरुहट तराईका सबै आदिबासी जनजाति र मुस्लिमलाई मधेसी बनाउने गल्तीलाई निरन्तरता दिँदै ताजा घाउ बनाइदिए। घाउमाथि महाघाउ बनाउने गल्ती वैजनाथ थारुबाट भयो। उनले संशोधन प्रस्ताव मनोमानी ढंगले फिर्ता लिने काम गरे।
त्यहा“ उपस्थित प्रायः धेरै सभासद् तीन छक्क परे। थारु र मुस्लिम सभासद् एकाएक छा“गोबाट खसेतुल्य भए। आँखा रसाए, आँसु बरर.. झर्यो, आक्रोशयुक्त वातावरण बन्यो। मैले रोस्टममा गएर बोलेँ– ‘नेपालको अन्तरिम संविधान २०६३ को धारा ३ अनुसार नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको तथ्य ठूला दलले स्वीकार्दैनन्। सोहीअनुसार सबै जाति, भाषा, धर्म र संस्कृतिलाई पहिचान, आत्मसम्मान र अधिकार दिन तयार हुँदैनन भने आजैका दिनदेखि एक जाति, एक भाषा, एक धर्म र एक संस्कृति साथै केन्द्रीकृत शासन प्रणालीविरुद्ध थारूलगायत सबै आदिवासी जनजाति, दलित, मुस्लिम र मधेसीको संयुक्त विद्रोह सुरु भएको उद्घोष गर्छु।’ मैले यो वाक्य बोलिरहँदा बोलीमा ओजयुक्त आक्रोश थियो, सन्देशमूलक धम्की थियो र विद्रोहको वैधानिक घोषणा पनि थियो।
पछि बुझ्दै जाँदा नेपाली कांग्रेसको तर्फबाट कानुन तथा संसदीय व्यवस्था मन्त्रीलगायतका केही कांग्रेसी नेता र एमालेको तर्फबाट गृह मन्त्रीलगायतका केही एमाले नेताका कारण थारूलगायतका थरुहट तराईका सबै आदिवासी, जनजाति र मुस्लिमलाई पहिचान र अधिकार दिन नमानिएको रहेछ। त्यसैले पुनः मधेसी बनाउने, आफ्नै पार्टीका प्रस्तावक थारू सभासद्लाई बलीको बोका बनाउने र मधेसी दलहरुलाई खुसी बनाइराख्ने हर्कत भएको रहेछ। यस घटनाले नेपालका आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र मधेसीलाई ठूलो पाठ सिकाएको छ। कथित उच्च जातिका नेतृत्वमा रहेको सत्तासिन दलका नेता र सरकारबाट आफ्नो पहिचान, आत्मसम्मान र अधिकार उनीहरुसित पहल र खुसी बनाएर मात्र पाउन सक्ने अवस्था नेपालमा छैन, जुन आन्दोलन र विद्रोहबाट मात्र सम्भव छ। सत्तासीन दलका सभासद्लाई जुन कुनै विषय व्यवस्थापिकामा प्रस्तावक बनाउने गल्ती गर्नु हुँदोरहेनछ भन्ने अर्को सिकाई हो।
सभासद्, संविधान सभा