चुनावमा विलम्ब भए क्षति
१५ असार २०७०
•
१३ मिनेट पाठ
चुनावमा विलम्ब भए क्षति
सरकारले मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेको भए तापनि अझै चुनावी वातावरण बन्न भने सकेको छैन। देशलाई चाँडो निर्वाचनमा लगेर एउटा गति दिनुको भने विकल्प छैन। चुनावलाई जति आलटाल गरियो, देशले त्यति बर्बादी भोग्दै जानुपर्नेछ। यस धारणामा राजनीतिक दलहरु असहमत पनि देखिँदैनन्। तर पनि निर्वाचनको वातावरण निर्माण गर्ने काममा उनीहरुको भूमिका भने कमजोर प्रतीत भइरहेको छ।
दलहरु यतिबेला निर्वाचन परिणाम कस्तो होला भन्ने विश्लेषण गरिरहेका देखिन्छन्। आफ्नै विश्लेषणका आधारमा समेत आफू बलियो हुन नसक्ने निष्कर्ष निकालेरै हुनुपर्छ, उनीहरुमा चुनावका लागि बलियो इच्छाशक्ति देखिएको छैन। दलहरुको आसन्न निर्वाचनलाई मात्र हेरेर विश्लेषण गर्ने चरित्र र कमजोर इच्छाशक्तिका कारण चुनावको सुनिश्चिततामा अझै प्रश्नचिह्न उब्जिरहेको छ। राजनीतिमा एउटा चुनावको परिणामको मात्र आंकलन गरेर निर्णय गरिन थालियो भने समग्र लोकतान्त्रिक प्रक्रिया कमजोर हुँदै जान्छ। दलहरुको पछिल्लो चरित्रले नेपालको लोकतान्त्रिक प्रक्रियालाई अझै कमजोर बनाउने खतरा देखिँदैछ। विसं २०३६ सालको जनमत संग्रह घोषणापछि तत्काल त्यसको परिणामको आंकलनमात्र गरेको भए बीपी कोइरालाले चुनावका लागि सर्त राख्थे होलान्। ती सर्तका कारण चुनाव सर्दै जान्थ्यो र लोकतान्त्रिक पद्धतिको पक्षमा कति प्रतिशत नेपाली छन् भन्ने आधिकारिकता स्थापित हुँदैनथ्यो। त्यो आधिकारिकताले लोकतन्त्रवादीलाई हौस्याएको इतिहास हाम्रासामु छ। तत्काल चुनाव हारिए पनि राजनीतिमा हार हुँदैन भन्ने स्पष्ट मान्यता जनमत संग्रहको परिणामले स्थापित गरिदिएको थियो।
विसं २०५९ सालमा घोषित  संसदीय निर्वाचन स्थगित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयका कारण शाही शासन सुरु भएको ताजा इतिहासका साक्षीका रूपमा हामी छौं। चुनाव स्थगित हँुदैनथ्यो भने राजाको त्यस प्रकारको उदय सम्भव थिएन। चुनाव नहँुदा देशले कुन गति लिन्छ भन्ने विश्लेषण गर्दा सम्झनैपर्ने विगतका रूपमा यो प्रसंग रहेको छ। गिरिजाप्रसाद कोइरालाले २०६४ को संविधानसभाको चुनाव परिणामको विश्लेषण गर्न थालेको भए सायद अझै चुनाव हुन्नथ्यो होला। चुनावमा विलम्ब भएको भए हामी लोकतान्त्रिक गणतन्त्रको मार्गमा प्रवेश पाउनबाटै वञ्चित हुने थियौं। सबै परिवर्तनलाई वैधानिकता दिँदै थप परिवर्तनका लागि अग्रसर हुन निर्वाचन अनिवार्य प्रक्रिया हो भन्नेमा हामी स्पष्ट हुन जरुरी छ। निर्वाचनमा नजाँदा उपलब्धिको वैधानिकतामै प्रश्न उब्जन्छ। सिद्धान्तले मात्र होइन, हाम्रै नेपालमा भएका राजनीतिक अभ्यासहरुले पनि चुनावको अपरिहार्यता पुष्टि गरिरहेका छन्। तसर्थ चुनावका लागि केन्द्रित भएर आफूलाई प्रस्तुत गर्नु दलहरुको अनिवार्य दायित्व हुन आउँछ। यो दायित्व निर्वाह गर्नका लागि उनीहरुले सर्वप्रथम राजनीति भनेको एउटा चुनावमात्र होइन, यो निरन्तर चलिरहने लामो प्रक्रिया हो भन्ने बुझ्नुपर्छ, अनि यही मान्यतामा टेकेर बलियो इच्छाशक्तिका साथ प्रस्तुत हुनुपर्छ। दलहरुलाई यसतर्फ ध्यानाकर्षण गराउन बौद्धिक वर्ग, सञ्चार माध्यम, नागरिक अगुवा तथा अधिकारकर्मीहरुको भूमिका पनि यतिबेला अपेक्षित छ। किनभने लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक संस्कृति सबैको सरोकारको विषय हो। पञ्चायती प्रक्रियाले पञ्चहरुसँग मात्र सरोकार राखेको जस्तो हुँदैन, लोकतान्त्रिक संस्कृतिको दायरा। यो त नागरिकको जीवनशैलीसँग प्रत्यक्षरूपमा जोडिन पुग्ने संस्कृति हो। तसर्थ नागरिक समुदायका सबै पक्षबाट लोकतन्त्र प्रवर्द्धनका लागि भूमिका खेलिनुपर्छ। चुनावमा विलम्ब भए क्षतिमात्र हात लाग्नेछ।
एकीकृत नेकपा (माओवादी)ले आफूमा आएको विभाजन, झाँगिदो गुटबन्दी  र २०६४ मा ठूलो दल भएर के उपलब्धि दिन सक्यो त? भन्ने मतदाताहरुको सम्भावित जवाफजस्ता तीन कुराबाट झस्किएर चुनावका लागि बलियो इच्छाशक्ति प्रकट गर्न सकिरहेको छैन। नेपाली कांग्रेसले आन्तरिक गुटबन्दीलाई व्यवस्थापन गर्न आफू सफल भइनसकेको निष्कर्षका कारण इच्छाशक्ति बलियो बनाउन सकिरहेको छैन। नेकपा (एमाले)ले जातीयताका नाममा अशोक राईहरुको बहिर्गमनदेखि एमाओवादीले आफ्ना कार्यकर्ता चोरिरहेको अवस्थाका कारण चुनावका लागि इच्छाशक्ति देखाइरहेको छैन। मधेसी दलहरु विभाजनको पीडाको आहालबाट उठ्न सकेका छैनन्। अन्य दलले त खुलेरै चुनावको विरोध गरिरहेका छन्। वैद्य माओवादीले आफूलाई २०६४ सालको चुनावमा वामदेव नेतृत्वको मालेको अवस्थासँग दाँजिरहेको छ भने साना दलहरु समानुपातिकमा सिट संख्या बढाउन पाए अस्तित्वमा आइन्थ्यो कि भन्ने चाहनाभन्दा माथि उठ्न सकेका छैनन्। संविधान सभाको चुनावजस्तो महत्वपूर्ण मोडमा उभिँदै गर्दा दलहरुले आफूलाई दलीय दायराभन्दा माथि उठाउन नसक्नु र आफ्नो कमजोरीका आधारमा मुलुकलाई नै बन्धक बनाउनु राजनीतिक बेइमानी हो। उनीहरु चुनावी वातावरणका लागि दत्तचित्त भएर लाग्नुपर्ने समय हो यो।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको जिम्मेवारीमा रहँदा कांग्रेस सभापति सुशील कोइरालाले वैद्य माओवादीलगायत् अन्य दलसँग संवाद सुरु गरेका थिए। उनको यो प्रयास सबै दललाई चुनावमा ल्याउने वातावरण निर्माण गर्नमा केन्द्रित थियो। प्रधान न्यायाधीश पदबाट खिलराज रेग्मीलाई राजीनामा गराएर वातावरण बन्छ भने त्यो पनि गर्नुपर्छ भन्ने तर्कका साथ उनको प्रयास जारी थियो। तर त्यो प्रयासले अरुको साथ पाउन सकेन र अझै सार्थक भएको छैन। प्रधान न्यायाधीशबाट खिलराजको राजीनामाको विपक्षमा उनकै पार्टीका नेता पनि देखिए। 'सहमति विपरीतको कुरा' भनेर पार्टीकै नेताले आलोचना गरे। मुख्य सहमति संविधान सभाको निर्वाचन हो कि खिलराजको प्रधान न्यायाधीशको पदको संरक्षण हो भन्नेमा दलहरु स्पष्ट नदेखिनु अहिलेको दुर्भाग्य हो। कोइरालाको यस प्रयासलाई त्यसपछिका संयोजकहरुले पनि निरन्तरता दिएको भए सायद यतिबेला चुनावको वातावरण बनिसकेको हुन्थ्यो होला। यस्ता प्रयासलाई महत्त्व नदिएर अर्को दललाई आरोपमात्रै लगाउँदा चुनावी वातावरण निर्माण हुँदैन।
संविधान सभाको निर्वाचनका लागि देखिएका केही विवादित विषयलाई छिटो टुङ्गो लगाउन दलहरुले सरकारलाई रचनात्मक दबाब दिनुपर्ने हो। निर्वाचन क्षेत्रको टुङ्गो चाँडो लगाउनुपर्ने हो। समानुपातिकको संख्याको पनि टुङ्गो लगाइसक्नुपर्ने हो। थ्रेसहोल्डको विवाद साम्य पार्नुपर्ने हो। यसका लागि सरकार र निर्वाचन आयोगलाई ताकेता गर्ने काम पनि दलहरुले नै गर्नुपर्ने हो। तर यसतर्फ उनीहरुले ध्यान दिएको पाइँदैन। यी सबालमा र चुनावको वातावरण निर्माण गर्ने कुरामा केन्द्रित भएर महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको उच्चस्तरीय संयन्त्रको बैठकले निर्वाचन आयोगका आयुक्तहरु र मन्त्रीहरुको भाषणको समीक्षा गर्छ र त्यस्तो भाषण गर्दै नहिँड्न 'सुझाव' दिन्छ। आफूले आफ्नो दायित्व निर्वाह नगर्ने र 'दायित्व निर्वाह भएन, चाँडो होस्' भन्ने आग्रहलाई पनि ग्रहण गर्न नसक्ने चरित्रका साथ दलहरुले देखाएको यो 'दादागिरी' ले पनि चुनावी परिवेश निर्माण हुन सक्दैन। दलहरुले विवादित विषयको चाँडो टुंगो लगाउन सरकारलाई सघाउनुपर्छ। चुनावका लागि भइरहेका प्राविधिक काममा सहयोग पुर्‍याउनुपर्छ। मतदाता नामावलीमा सबैको नाम संकलन गर्न आयोगलाई सघाउनका लागि कार्यकर्ता परिचालन गर्नुपर्छ। निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नका लागि संयुक्तरूपमा यी दायित्व बहन गर्न दलहरु तयार हुनैपर्छ।
त्यसबाहेक दलहरुले आन्तरिक नारा र संविधान सभाबाट संविधान बनाउने सुनिश्चितताका लागि जनतामा विश्वास जगाउन जनपरिचालन अभियान थाल्नुपर्छ। चुनाव निष्पक्ष र स्वतन्त्र बनाउन कार्यकर्ता तहमा प्रतिरोधात्मक क्षमता विकास गर्ने ढंगको कार्यक्रम लैजानुपर्छ। यसो गर्दा त्यो पूर्णतः शान्तिपूर्ण हुनुपर्छ। वैद्यहरुले गाउँठाउँमा लाठी घुमाइरहे पनि अरु दलले कार्यकर्तामा आत्मबल थप्न सके त्यो लाठीको अर्थ रहने छैन। राष्ट्र र राष्ट्र सञ्चालनका लागि संविधान निर्माण प्रक्रियाप्रति प्रतिबद्ध कार्यकर्ता पंक्ति निर्माण गर्नसके चुनाव स्वतन्त्र हुनेमा विश्वास बढ्दै जानेछ। तर दलहरु अझै यी दायित्व बहन गर्नतर्फ नलागेर कमजोर इच्छाशक्तिका साथ एकअर्कालाई आक्षेप लगाउनमात्रै केन्द्रित हुनु देशकै लागि विडम्बना हो। मंसिरको चुनाव फेरि सर्‍यो भने नयाँ प्रधानमन्त्रीको खोजीदेखि त्यतिबेला उब्जने तमाम नयाँ समस्याले चुनावलाई नै धेरै पर धकेलिदिन सक्नेछ। चुनाव नहँुदा तानाशाहको जन्म हुन्छ भन्ने त हाम्रा राजनीतिक दलका नेतालाई पक्कै हेक्का छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस