राजनीतिक अस्थिरता र प्रधानमन्त्रीय पद्धति
१७ फागुन २०७०
•
१३ मिनेट पाठ
राजनीतिक अस्थिरता र प्रधानमन्त्रीय पद्धति
मन्त्रिपरिषद् विस्तार हुनु अघिल्लो दिन रेडियोमा समाचार सुनियो – ‘प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो तर्फबाट मन्त्रीमण्डलमा सहभागी गराउने ५ जना मन्त्रीको नाम छान्न छलफल सुरु गर्नुभएको छ।' वर्तमान राजनीतिक विसंगतिका बीचमा यो समाचार स्वाभाविकै पनि लाग्छ तर, यसको पछाडिका कारण खोतल्ने हो भने हाम्रो राजनीतिको दिशा, दशा सबै बुझ्न सहज हुनेछ।नेपालमा अभ्यासमा रहेको राजनीतिक प्रणाली प्रधानमन्त्रीय पद्धती हो। बलियो प्रधानमन्त्रीले आफ्नो सांच र कार्यनीतिअनुसार मुलुकलाई अगाडि बढाउन सक्छ भन्ने यसको मर्म हो। प्रधानमन्त्रीबाट हुनसक्ने त्रुटि र कमजोरीको रचनात्मक आलोचना गर्ने वा सुझाव दिने काम प्रतिपक्षीको हुन्छ। त्यो प्रतिपक्षी पार्टीभित्र र बाहिर दुवैतर्फ हुन्छ। जानेर वा नजानेर प्रधानमन्त्रीले बाटो बिराए र पदच्युत गर्नुपर्ने अवस्था आयो भने प्रतिपक्षी नेताले प्रधानमन्त्रीको दायित्व बहन गर्नुपर्ने हुन्छ। त्यतिबेला पहिलेका प्रधानमन्त्रीको भूमिका रचनात्मक हुनुपर्छ। प्रधानमन्त्रीय पद्धतिको आधारभूत सिद्धान्त यही हो। राजनीतिक स्थायित्व, सरकारका जनमुखी काम सम्पादन गर्ने वातावरण, अति महत्वाकांक्षी र अति सुस्त गति चरित्रको अन्त्य, लगातार क्रियाशीलता र प्रतिस्पर्धीसँग पनि न्यूनतम समझदारीको निरन्तरतालाई प्रधानमन्त्रीय पद्धतिका विशेषता मानिन्छ। प्रधानमन्त्रीय पद्धति बलियो हुँदा प्रतिपक्षीसमेत रचनात्मक हुन्छन्। 




आफ्ना प्रतिबद्धता पूरा गर्न र आफ्नो कार्यकाल बलियो बनाउन प्रधानमन्त्रीलेसहयोग जुटाउन राजनीतिक सन्तुलन मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने हो। यसरी मन्त्रिपरिषद् विस्तार गर्दा सबै पक्षबीचको शक्ति सन्तुलन मिलाउनु राजनीतिक कौशलको विषय हो। नेतृत्वमा कला पक्षको अनिवार्यता यस्तै बेला महसुस हुने हो। यस बेलामा कौशल नदेखाए प्रधानमन्त्री कमजोर हुन्छन् र उनले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न सत्तै्कनन्। प्रधानमन्त्रीय पद्धतिको सबैभन्दा संवेदनशील पक्ष यही कौशल हो। राजनीतिक शक्तिअनुसार सन्तुलन मिलाउन सफल भए प्रधानमन्त्रीय पद्धतिको सकारात्मक पक्षबाट मुलुक लाभान्वित हुन्छ भने नसके यसको नकारात्मकता बलियो हुँदै अस्थिरताको जनक बन्नपुग्छ। 

विडम्बना, हाम्रो देशमा प्रधानमन्त्रीय पद्धति बलियो बनाउन राजनीतिक नेतृत्व कहिल्यै गंभीर भएको देखिएन। यसपटक पनि मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्रीय पद्धतिको अनुसरण गर्नुको साटो प्रधानमन्त्रीलाई कसेर कमजोर बनाउने काम गरियो। गृहमन्त्रालयको दाबा गर्ने क्रममा एमालेका नेतासमेत रहेका वर्तमान गृहमन्त्री वामदेव गौतमले त सार्वजनिकरूपमै प्रधानमन्त्रीलाई ‘चेक एन्ड ब्यालेन्स' गर्न गृहमन्त्रालयको दाबी गरेको भने। प्रधानमन्त्रीय पद्धति नबुझेको र सरकार अस्थिर होस् भनेर चाहनेले मात्र प्रधानमन्त्रीलाई ‘चेक एन्ड ब्यालेन्स'को अत्तो थाप्छ। ‘चेक एन्ड बयालेन्स' त प्रधानमन्त्रीका गलत नीतिलाई कार्यन्वयन हुन नदिएर संसद्ले पो गर्ने हो। मन्त्री नै प्रधानमन्त्रीलाई ‘चेक एन्ड ब्यालेन्स' गर्न सक्रिय हुने हो भने सरकार अस्थिर र कमजोर हुन्छ। त्यस परिस्थितिमा स्वार्थी समूहको सक्रियता बढ्छ र भ्रष्टाचारका लागि ऊर्वर भूमि तयार हुन्छ। हालैका घटनाक्रमले पनि के देखाउँछ भने हाम्रो राजनीतिक नेतृत्व प्रधानमन्त्रीय पद्धतिलाई बलियो बनाउने पक्षमा छैन। यस चरित्रको ‘साइड इफेक्ट' त्यही राजनीतिक अस्थिरता हो जुन हाम्रो राजनीतिको सबैभन्दा प्रमुख चरित्र भएर आइरहेको छ। हामीले संझनेमात्र होइन पढेर बुझ्नेसम्मको इतिहास हर्दा पनि कुनै सरकारलाई पूरा अवधि काम गर्न दिइएको छैन। यसैलाई देखाएर निरंकुशतावादी अथवा एक दलीय पक्षधरले नेपालमा संसदीय व्यवस्था असफल भएको दाबी गर्छन्। तर यो संसदीय व्यवस्था असफल भएको नभएर नेतृत्वको चरित्र बहुलवादी र संसदीय हुन नसकेको प्रमाण हो। आफूमा बहुलवादी चरित्रको विकास गरेर संसदीय पद्धति र त्यसअन्तर्गतको प्रधानमन्त्रीय पद्धतिलाई बलियो बनाउनेतर्फ राजनीतिक नेतृत्व गंभीर नहुने हो भने मुलुक अझै अस्थिर भइराख्ने छ। 

राजनीतिमा प्रधानमन्त्री पदका लागि दलहरुभित्र वा बीचमा प्रतिस्पर्धा हुनु स्वाभाविकै हो। प्रतिस्पर्धाबाट आएको नेतृत्व नै सक्षम मानिन्छ। तर, प्रतिस्पर्धाका लागि निश्चित सीमा हुन्छ। प्रतिस्पर्धाबाट प्रधानमन्त्री छानिनेबित्तिकै कामै गर्न नदिई कमजोर बनाउने, ढाल्ने मानसिकता लिएर प्रस्तुत हुने चरित्र संसद्वादी वा प्रधानमन्त्रीय पद्धति अनुकुलको चरित्र होइन। प्रतिस्पर्धामा आफू पछि परेपछि त अर्को प्रतिस्पर्धाका लागि सबल हुनेतर्फ लाग्नुपर्ने हो। जिम्मेवारी पाएको व्यक्ति कमजोर होस् भन्नुभन्दा आफू बलियो हुने विषय सोच्नुपर्ने हो। प्रतिस्पर्धामा आफूभन्दा अगाडि गएको व्यक्ति वा शक्तिमाथि लगातार राजनीतिक अनुशासनभन्दा बाहिर गएर प्रहार गर्नु अराजनीतिक पूर्वाग्रह हो। पूर्वाग्रही प्रवृत्तिले देशको नेतृत्व गर्न सक्दैन।  प्रतिस्पर्धाबाट निश्चित भूमिकामा पुगिसकेको व्यक्तिलाई रचनात्मक सहयोग गर्ने संस्कृतिको अभाव नै नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष हो। 

सुशील कोइराला प्रधानमन्त्री बन्न लागेका बेला जुन परिस्थिति देखियो, त्यसले हामी अझै पनि स्थिर सरकार निर्माण र बलियो प्रधानमन्त्रीय पद्धतिको पक्षमा उभिन सकेका रहेनछौ भन्ने प्रष्ट भएको छ। प्रधानमन्त्री कोइराला स्वयंले एक वर्षमात्र प्रधानमन्त्री हुन्छु भनेर सहमति खोज्नु, मन्त्रालय भागबन्डाका नाममा खुलारूपमा प्रधानमन्त्रीलाई बलियो हुन नदिने चाहना प्रकट हुनु, पार्टीभित्रैबाट भागबन्डाका लागि हिसाबकिताब गर्नु र सर्त राख्नु अनि अन्त्यमा गएर २१ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको कोटामा ६ जनामात्र पारिनुले हाम्रो शासन व्यवस्था कसरी कमजोर बन्दो रहेछ भन्ने जानकारी राजनीतिशास्त्रका विद्यार्थीलाई दिएको छ। 

सुशासन कायम गर्न, भ्रष्टाचार उन्मूलन गर्न, विधिको शासनको अनुभूति दिलाउन विभिन्न स्वार्थी समूहसँग जु‰नु पर्ने हुन्छ, कडा कानुन निर्माण गर्नुपर्ने पनि हुनसक्छ। त्यसका लागि ‘एक वर्षे' प्रधानमन्त्रीले कानुन बनाउनै नसक्ने अवस्था उत्पन्न हुनसक्छ। नीति निर्माणको प्रक्रियालाई केही समय ढिलो गरिदिने खेल खेलिन सक्छ। कर्मचारीतन्त्र र सुरक्षा निकायले एक वर्षे प्रधानमन्त्रीको निर्देशनको कडाइका साथ पालना नगर्न सक्छ। फलस्वरूप, शासन व्यवस्था कमजोर हुनपुग्छ। भागबन्डामा मन्त्रालय विभाजन हुँदा मन्त्रीहरू व्यावहारिकरूपले प्रधानमन्त्रीभन्दा बढी उत्तरदायी आफ्नो मन्त्रालयको सौदावाजी गर्ने शक्तिप्रति हुनेछन्। एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा ६ जनामात्र आफ्ना हुँदा प्रधानमन्त्रीले आँटिलो कदम चाल्नका लागि सधै तर्सिरहनु पर्ने अवस्था बनिरहन्छ। यस्तो सरकार निर्माणका कारक भनेका दलहरु नै हुन्। एक वर्षभित्र संविधान निर्माण गर्दै मुलुकलाई  समृद्धिकेा मार्गमा उन्मुख गराउने वचनबद्धताका साथ भर्खरै चुनावबाट आएका दल नै अस्थिर सरकारका कारक बन्छन् भने मुलुकको अधोगति कसरी हुनसक्छ। सैद्धान्तिकरूपमा पनि प्रधानमन्त्रीय पद्धतिलाई बलियो बनाउने सन्दर्भमा कुनै गंभिरता तथा प्रतिबद्धता नदेखिनु उल्टो प्रधानमन्त्रीलाई ‘चेक एन्ड ब्यालेन्स' गर्न आफूलाई गृह मन्त्रालय चाहिने दाबी गर्नेहरु मन्त्रिपरिषद्मा सहभागी हुँदा त्यो सरकारको स्थायित्व र सक्षमता कतिसम्म अपेक्षा गर्ने? 

यी र यस्तै प्रवृत्तिले नै नेपालको राजनीतिलाई अस्थिर बनाइराखेका छन्। प्रधानमन्त्रीय पद्धतिलाई कमजोर बनाउने र शक्ति सन्तुलनको जगमा उभिएर आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहयोगी हुनेलाई सहभागी गराएर मन्त्रिमण्डल गठन गर्ने प्रधानमन्त्रीको अधिकारका पक्षमा स्वतन्त्र नागरिक समाज उभिनुपर्ने अवस्था देखिएको छ। सिद्धान्ततः सबैले यो स्वीकारेको देखिए पनि व्यावहारिकरूपमा प्रधानमन्त्रीलाई आधारभूत अधिकारसमेत दिइएको देखिँदैन। प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने हो। यस परिस्थितिले त प्रधानमन्त्रीलाई गुटहरुप्रति र अझ स्वार्थ समूहप्रती उत्तरदायी बन्न बाध्य तुल्याउँछ। त्यसकारण हाम्रो अभ्यासमा रहेको राजनीतिक पद्धतिका आधारभूत सिद्धान्तको व्यावहारिक पालना गर्ने स्वतन्त्रता सबैलाई हुनैपर्छ। सिद्धान्तको पालना गर्ने स्वतन्त्रता नभए जस्तै सिद्धान्त पनि काम लाग्दैन। सिद्धान्तप्रदत्त अधिकार प्रयोग गर्न नपाउने परिस्थिति रहेसम्म जतिसुकै प्रधानमन्त्री फेरे पनि मुलुकको हित हुनसक्ने छैन। यस विषयमा सरोकारवाला सबै गंभीरबन्नु पर्ने देखिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस