शकुनी पासाहरू
१७ वैशाख २०७१
•
१३ मिनेट पाठ
शकुनी पासाहरू
सर्वनाम थियटरमा चलिरहेको नाटक ‘शकुनी पासाहरू' मा महाभारतका पात्रहरूलाई नेपालको वर्तमान राजनीतिसँग जोडिएको छ। अशेष मल्लको लेखन, परिकल्पना र निर्देशन रहेको यो प्रयोगपरक नाटकले महाभारत युद्धलाई शकुनीको प्रतिशोधको परिणामका रूपमा व्याख्या गर्छ।हस्तिनापुर जस्तो शक्तिशाली देशका अन्धा राजकुमार धृतराष्ट्रसँग पहाडी मुलुक गान्धारकी राजकुमारी गान्धारीको जबर्जस्ती बिहे गराइएको थियो। त्यसको प्रतिशोध लिन गान्धारीका दाजु शकुनी हस्तिनापुर छिरेका थिए। नाटकमा दुर्योधन र युधिष्ठिर राजनीतिक दलका प्रतिनिधि हुन्। तिनका स्वार्थसँग आफ्नो स्वार्थ जोड्न शकुनी कहिले दुर्योधन त कहिले युधिष्ठिरसँग मिल्न पुग्छ। तिनका अवाञ्छित द्वन्द्वमा देशको शान्ति, स्वतन्त्रता र लोकतन्त्रको अस्मिता ध्वस्त हुन्छ।
जातिवादी युग
‘शकुनी पासाहरू' मा धर्मयुगको अन्त्य भइसकेकाले अब युधिष्ठिरमा पनि दुर्योधनकै आत्माले बास गरिसकेको संकेत छ। महाभारतका रचनाकार व्यासले लगभग पाँच हजार वर्षअघिको त्यस युगलाई धर्मयुग मानेका छन्। भौतिकवादी र समाजशास्त्रीय दृष्टिले हेर्ने हो भने त्यो जातिवादी अर्थात् ब्राह्मण–क्षत्रीको उच्चतावादी युग थियो। त्यसैलाई धर्मयुग भनियो। नत्र सूतपुत्र भनिएका कर्णको बारम्बार अपमान हुने थिएन। धनुर्विद्यामा अर्जुनभन्दा पनि निपुण शुद्र एकलव्यको बूढी औँला काटिने थिएन। असुर र कथित तल्ला जातिका व्यक्तिको हत्यालाई गर्वको विषय मानिने थिएन। बहुचर्चित तास्कन्द भाषणमा महाभारत र रामायणबारे महाकवि लक्ष्मीप्रसाद देवकोटाको टिप्पणीको अन्तर्य पनि यही थियो, ‘वर्णनातीत उत्कृष्टता भए पनि यी कृति पण्डित–पुरोहितका हातमा परेपछि सर्वसाधारण र अनपढ जनसमुदायको उत्पीडनको नयाँ साधन बन्न पुगेका थिए। पुरोहितहरुले काव्यलाई आराध्य वस्तुका रूपमा परिणत गरे र आन्तरिक सारतत्व नबुझी त्यसको बाहिरी तत्व मात्र ग्रहण गरे। यसले गर्दा यी कृतिहरूको भद्दा आदर्शीकरण भयो।' भारतको विश्व बुक्सद्वारा प्रकाशित ‘कितने खरे हमारे आदर्श' का अनुसार महाभारतले वर्णन गरेजस्तो पाण्डवहरू पूरै सही थिएनन्, न त कौरवहरू पूरै गलत थिए। 
नाटकले संकेत गरेभन्दा अलि विस्तृत हुने हो भने महाभारत युद्धमा शकुनीको भूमिका उत्तोलक थियो। कृष्णको कूटनीतिले त्यसलाई अनिवार्य बनायो। हाम्रो वर्तमान राजनीतिमा भने महामहिम राजदूतहरूबाट कृष्ण र शकुनीको त्यो अहम् भूमिका निर्वाह भइरहेको छ। शकुनीको चलखेल नाटकमा त्यसकै सुक्ष्म संकेत हो। नन्द गोपालकहाँ पालिएका देवकीपुत्र कृष्णलाई मार्न मामा कंसले अनेक जुक्ति लगाए पनि सकेनन्। उनी अत्यन्त चलाख र लोकप्रिय थिए। एक दिन उनले बूढा मामा कंसको बध गरे र जेलमा थुनिएका आफ्ना बाबुआमालाई मुक्त गराए। यसले उनको ख्याति र प्रभुत्व बढ्यो। यसपछि उनको महत्वाकांक्षा चुलियो। भारतको प्रमुख सत्ता हस्तिनापुर अत्यन्त समृद्ध, संगठित र व्यवस्थित थियो। अन्धा भए पनि राजा धृतराष्ट्र कुशल र उदार शासक थिए। उनले सय छोरा र स्वर्गीय भाइ पाण्डुका पाँचै छोरालाई द्रोणाचार्यबाट शिक्षा दिलाए। पाण्डुका जेठा छोरा युधिष्ठिरलाई उत्तराधिकारी तोके। कडा मेहनत र गुरुको कृपाले पाण्डुकै साहिला छोरा अर्जुन धनुर्विद्यामा गुरुपुत्र अश्वत्थामाभन्दा पनि निपुण भए। यो देखेर धृतराष्ट्र अत्यन्त खुसी भए। अर्जुनको नेतृत्वमा कौरव–पाण्डवले कुरु राज्यको संरक्षण गर्नेमा उनी विश्वस्त थिए। काका भीष्मपछाडि अर्जुनलाई नै उनी सेनाधिपति बनाउनेवाला थिए। जनता सुखी थिए। विज्ञान र कलाको उन्नति हुँदै थियो। राज्यसभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र विदुर जस्ता अनुभवी, वीर, बुद्धिमान व्यक्ति थिए। अर्जुन, भीम, दुर्योधन, युधिष्ठिर, दुःशासन जस्ता कर्मठ दोस्रो पुस्ता तयार भइसकेको थियो। यस्तो बेला हस्तिनापुरले प्रभुत्व स्वीकार नगरेसम्म कृष्णको महत्वाकांक्षा पूरा हुँदैनथ्यो। 
विश्व बुक्सकै ‘श्रीकृष्ण एन्ड गीता' अनुसार ब्राह्मण र संन्यासी देवताजस्तै पुजिन्थे। राजारानीका खोपीमा समेत उनीहरूले बिनारोकतोक प्रवेश पाउँथे। जनता र राजाबीच उनीहरू नै माध्यमको भूमिका खेल्थे। तिनका हरेक कुरा अन्धश्रद्धाका कारण जनता सत्य ठान्थे। नत्र वनवासमा कंगाल जीवन बिताइरहेका बेला दुर्वासा ऋषिले आफूसहित सय ब्राह्मणलाई भोजन गराउन दबाब दिँदा भीमजस्ता उद्दण्ड व्यक्ति लम्पसार पर्ने थिएनन्। कृष्णले त्यतिखेर पुरोहितका नेता वेदव्यास र संन्यासीका नेता नारदको सहारा लिएर आफूलाई ईश्वर घोषित गरे। मामा शकुनीको सहयोगले जुवा खेलेर दुर्योधनले युधिष्ठिरको राज्य, भाइहरू, द्रौपदी सबैलाई जितिदिए। धृतराष्ट्रले अत्यन्त उदार मन गरेर सबैलाई मुक्त गरिदिए। राज्य पनि फिर्ता दिए। फेरि युधिष्ठिरले जुवामा सबै हारे। भाइहरू र द्रौपदीसहित वनबास गए। अत्यन्त कष्टकर वनबास सकिए पनि जितेको राज्य दुर्योधनले छाडेनन्। कृष्णको कूटनीति यहाँनिर पूरै सफल भयो। उनकै प्रेरणामा पाण्डवहरूले युद्ध घोषणा गरे। युद्धबाट विरत अर्जुनलाई मनोविज्ञानको सहारा लिएर कृष्णले पूरै बदलिदिए।
धर्मयुद्धको दाबी 
युधिष्ठिरले महाभारत युद्धलाई धर्मयुद्ध भनेका थिए। कौरवतर्फका भीष्म, द्रोण, कृपाचार्य, कर्णले पनि यसलाई आचारसंहितामा बाँध्न हरप्रयास गरे। तर, ऐनमौकामा दुवैले त्यसको उल्लंघन गरे। पहिले शिखण्डीलाई ढाल बनाएर अर्जुनले भीष्मलाई शरशैयामा सुताइदिए। त्यसपछि चक्रब्यूहमा पारी अर्जुनका छोरा अभिमन्युलाई कौरवतर्फका महावीरहरू मिलेर युद्ध आचारसंहिताविरुद्ध मारे। अभिमन्यु हत्यामा धृतराष्ट्रका ज्वाइँ जयद्रथको दुष्टता अर्जुनले थाहा पाए। उनले भोलि सूर्य रहुन्जेल जयद्रथको हत्या गर्न नसके आफैँ चितामा जलेर मर्ने उद्घोष गरे। द्रोणको चक्रब्यूह तोडेर जयद्रथसम्म पुग्न अर्जुन सफल भएनन्। घाम डुब्यो। चिता बन्यो। वाण छाडेर अर्जुन चिता चढ्न तयार भए। कृष्णले सम्झाए, क्षत्रीय वीरले चितामा पनि धनुर्वाण छाड्नु हुँदैन। वाण लिएर अर्जुन चिता चढ्न तयार भए। दुर्योधनका मामा शकुनीले भने, शत्रु चितामा जलेर खरानी भएको हेरेर आनन्दित होऊ जयद्रथ। जयद्रथ टुप्लुक्क देखा परे। त्यही मौकामा कृष्णको इशारा पाएर अर्जुनले वाण प्रहार गरी जयद्रथको बध गरे। 
महाभारत युद्धको पन्ध्रौँ दिन द्रोणले पाण्डव सेनालाई सोत्तर पारिदिए। द्रोणको तेज रोक्न उनकै छोरा अश्वत्थामा मारिएको सन्देश उनीसम्म नपुर्‍याए सम्भव थिएन। भीमले कृष्णको आशय बुझेर दशार्थ देशका अश्वत्थामा नामक हात्तीलाई मारे। कृष्णको दबाबमा द्रोणका विश्वासपात्र धर्मराज युधिष्ठिरले अर्धसत्य बोले, ‘मान्छे हो वा हात्ती, अश्वत्थामा मारिए।' ‘मान्छे हो वा हात्ती' भन्ने वाक्यांश बोल्दा कृष्णले बेसरी शंख बजाए, भीमले ठूलो स्वरमा हल्ला गरे। द्रोणले ‘अश्वत्थामा मारिए' भन्ने वाक्यमात्र सुने। उनी हतियार त्यागेर तुरुन्त योगासनमा बसे। धृष्टद्युम्नले द्रोणको शिर काटिदिए। धनुर्विद्यामा कर्ण अर्जुनभन्दा कम थिएनन्। अत्यन्त वीरतासाथ लड्दालड्दै उनको रथको पांग्रा हिलामा भासियो। हतियारविहीन उनी पांग्रा उचाल्न गए। यस्तो बेला विपक्षमाथि प्रहार गर्नु युद्ध आचारसंहिताविरुद्ध थियो। कृष्णको आदेश पाएर यही मौकामा अर्जुनले वाण हानेर उनको बध गरे। तर, तिनै कर्णले भने आमा कुन्तीलाई दिएको वचनअनुसार युद्धमा पक्रेर पनि युधिष्ठिर, भीम, नकुल र सहदेवलाई नसिहत दिएर जिउँदै छाडिदिए। दुःशासन, मामा शकुनी, शल्यसहित कौरव पक्षका सबै मारिए। अन्त्यमा गदा युद्धमा दुर्योधनले भीमलाई धरासायी पारिसकेका थिए। कृष्णको इशारामा भीमले नियमविपरीत जाँघमा प्रहार गरी दुर्योधनको कम्मर भाँचिदिए। यो अत्याचार देखेर कृष्णका दाजु बलराम स्वयं गदा उचालेर भीमलाई मार्न तयार भए। कृष्णले थुम्थुम्याएपछि दिक्क हुँदै बलराम तीर्थयात्रामा हिँडे। उता कृपाचार्य र कृतवर्माको सहयोगमा अश्वत्थामाले सुतिरहेका बेला पाण्डव पुत्र र सेनाको आमहत्या गरे। धर्मयुद्धका रूपमा थालिएको महाभारत यसरी पापै पाप, षड्यन्त्रै षड्यन्त्रको युद्धमा परिणत भएको थियो। विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदीआइन' ले यसलाई मानवताकै महाविनाश भनेको छ।
‘शकुनी पासाहरू' मा शकुनी, दुर्योधन र युधिष्ठिर तीनै जना खलचरित्रको प्रतीक भएका छन्। धर्मयुद्ध भनिएको महाभारत युद्धलाई नियाल्न समाजशास्त्र र इतिहासको दुर्बिन लगाउनु जरुरी छ। त्यसपछि नायक ठानिएका पात्रहरू क्रमशः खलनायकमा बदलिँदै जान्छन्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस