मोदीको जादू र नेपाल
०३ जेष्ठ २०७१
•
१३ मिनेट पाठ
मोदीको जादू र नेपाल
सामान्य चिया पसलेका छोरा र आफैँ पसल चलाएर चियावाला बनेको व्यक्ति विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको सबैभन्दा शक्तिशाली नेताका रूपमा प्रकट भएका छन्।भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदी आफ्नो देशमा मात्र होइन विश्वमै राजनीतिक जादूगरका रूपमा उदाए। सन् २००२ मा मुख्यमन्त्री भएको सात महिनामा गुजरातमा फैलिएको दंगामा करिब हजार जना मुसलमान मारिँदा उपयुक्त सुरक्षा कदम नचालेको आरोपको अहिलेसम्म पनि खण्डन गरिरहेका मोदीले गुजरातमा ल्याएको आर्थिक प्रगतिको आँधीले भारतीय राष्ट्रिय कांग्रेसलाई जरैबाट उखेलेर फालिदिएको छ। यसरी आश्चर्यजनक प्रगति गरेका नरेन्द्र मोदीको दिल्ली दरबार प्रवेशलाई केहीले अनीष्ठका रुपमा हेरेका छन् भने केहीले मौकाका रुपमा। तीनतिरबाट भारत परिवेष्ठित नेपालमा पनि नरेन्द्र मोदी अर्थात् ‘नमो'को विजयले दुई देशको बीचको सम्बन्धलाई कसरी निर्देशित गर्ला भन्ने चासो र चिन्ता जन्मिएको छ। 
भारतीय विदेश विभागका कर्मचारी र भारतीय कूटनीतिज्ञको लालिमायुक्त अन्तर्वार्ताका अनुसार मोदीको उदयले नेपाल–भारत सम्बन्धमा खासै फरक नपर्ने लख काट्न सकिन्छ। तर समाजवादी भारतीय राष्ट्रिय कांग्रेस र गान्धी परिवारको दशकौंको नेपालप्रतिको धारणाले गाँजेको विगत १० वर्षको नेपाल–भारत सम्बन्ध र नेपाललाई हिन्दु राष्ट्रका रुपमा पश्चिम भारतको एउटा राज्यबाट हेरेका भारतीय जनता पार्टीका कट्टर नेता नरेन्द्र मोदीको नेपालप्रतिको धारणा पक्कै एउटै हुँदैन। भारतको कर्मचारीतन्त्र र साउथ ब्लकले केही हदमा अहिलेको सम्बन्धलाई निरन्तरता दिन कोसिस गर्ला तर विगतमा पनि भारतीय जनता पार्टीको सरकार आउँदा यी सम्बन्धमा उतार चढाव आएका थिए र अहिले पनि आउनेछन्। तर सम्बन्ध कस्तो हुनेछ भन्ने निधो धेरै हदमा नेपालले आफ्नो हितमा कति अड्न सक्छ र आफ्नो महत्व कति बुझ्न सक्छ भन्ने विषयमै केन्द्रित हुनेछ। 
सन् १९८४ को भारतको निर्वाचनमा अहिले मोदी नेतृत्वको गठबन्धनले ल्याएको ३३६ सिटभन्दा ६५ सिट बढी अर्थात् ४०१ स्थानमा जितेको भारतीय राष्ट्रिय कांग्रेसका राजीव गान्धीले नेपालमा नाकाबन्दी लगाएर दिएको दुःख नेपाल–भारत सम्बन्धको उतार चढावको गतिलो उदाहरण हो। त्यस्तै इन्दरकुमार गुजराल भारतका प्रधानमन्त्री भएलगत्तै नेपालप्रति उनले देखाएको सद्भाव पनि अर्को उदाहरण हो सम्बन्धको आरोहअवरोहको। भारतीय जनता दल सत्तामा आउँदा विगतमा पनि सरकारले लिएका निर्णयबाट भारतको नेपालप्रतिको दृष्टिकोणमा फेर बदल आइरहेको प्रष्ट्याउँछ। 
अटलबिहारी वाजपेयी प्रधानमन्त्री छँदा तत्कालीन सूचना प्रविधि मन्त्री अरुण शौरीले नेपाल र सिक्किममा भारतीय प्रभाव बढाउन गरेको विशेष प्रयासले गर्दा नेपालमा भारतीय लगानीको दैनिक पत्रिका प्रकाशित हुन सहयोग भएको र शौरीकी बहिनीले दिल्लीबाट नेपालीमा प्रसारण हुने टेलिभिजन आरम्भ गरेको प्रसंग सम्झने हो भने ‘नमो'को शासन कालमा पनि यस्ता घटना दोहोरिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। त्यसैले नेपालले आफ्नो महत्व बुझेर नरेन्द्र मोदीको कार्यकालमा दुई देश बीचको सम्बन्धको डोरी अझ कस्दै दुवै देशलाई र विशेषगरी नेपाललाई फाइदा दिलाउने कार्य गर्न सक्छ। 
मोदीको विजयको प्रमुख कडी हिन्दुत्ववाद नभएर आर्थिक प्रगतिको आधार हो भन्ने सबैलाई थाहा छ। भारतमा अब राम्रा दिन आउनेछन् भनेर निर्वाचनमा बहुमत ल्याउने प्रधानमन्त्रीलाई राम्रो दिन ल्याउन अर्थतन्त्रमा प्रशस्त ऊर्जा खन्याउनु पर्नेछ। अर्थात् ऊर्जा क्षेत्रमा लगानी नगरी भारतको विकास संभव छैन। अहिले भारतमा सबैथरीको ऊर्जाको संकट छ। विश्वमा अमेरिका, चीन र रसियापछी ऊर्जाको सबैभन्दा बढी माग भएको भारतका लागि नेपाल ऊर्जाको महत्वपूर्ण स्रोत बन्न सक्छ। यस्तो ऊर्जामध्ये जल विद्युत्जस्तो नवीकरणीय ऊर्जा सबैभन्दा सस्तो र वातावरणीय दृष्टिले पनि उपयुक्त हुन्छ। त्यसैले नेपाललाई आफ्नो हितमा अडेर भारतलाई सहयोग गर्नसक्ने ठूलो मौका आएको छ। आर्थिक विकासको लहर ल्याउन अडिग मोदीलाई नेपालको सहयोग अत्यावश्यक हुन्छ र उनले यस परिप्रेक्ष्यमा नेपाललाई सही ढंगले हेर्नेछन्। 
अधिकांश नेपाली नेता नेपालको हितका अभिवृद्धि गर्न कुनै देशसँग सम्झौता गर्ने वा नगर्नेभन्दा व्यक्तिगत राजनीतिक स्वार्थ पूरागर्ने ध्याउन्नमा हुन्छन्। सरकारमा भएको दलले देशको हितमा केही सम्झौता गर्न थाल्यो भने पनि अन्य दल मिलेर देश बेचुवाको आरोप लगाएर अन्ध राष्ट्रवाद जगाउँछन्। तर आन्तरिक लडाइँमा नफसी माथि भनिए झैँ नेपालले आफ्नो हित हेर्न जान्ने हो भने मोदीको जादूको छडीका लागि शक्ति वा ऊर्जा नेपाल नै हुन सक्छ। मोदी यसका लागि सही प्रधानमन्त्री किन हुन सक्छन् भने उनको नेपालप्रति लगाव बढी छ तर असन्तुष्टि खासै छैन। 
नेपालले भारतको कुनैपनि सरकारसँग आपसी हितका विषयमा वार्ता गर्दा आफ्नो महत्व बुझ्नु पर्छ र व्यक्तिगत अभीष्टलाई किनारैमा राख्नुपर्छ। केबल २ करोड ६५ लाख जनसंख्या भएको नेपाल भारतीय सामानको प्रमुख उपभोक्ता हो। इन्फोड्राइभ इन्डिया नामक वेबसाइटका अनुसार सन् २०१२ मा नेपालले भारतबाट औपचारिक च्यानलबाट करिब २ खर्ब नेपाली रुपैयाँ बराबरको सामान आयात गरेको छ भने ४६ अर्बको सामानमात्र भारत पठाएको छ। अझ नेपालीले सीमावर्ती भारतीय सहरमा गएर ल्याउने सामानको सही तथ्यांक जुटाउन सक्ने हो भने नेपालले करिब ४ खर्बकै सामान भारतबाट खरिद गर्छ भन्ने अनुमान लगाउन कठिन छैन। अर्थात् सही अर्थमा हेर्ने हो भने भारतको सामान खरिद गर्ने देशमा नेपाल १५औं ठूलो राष्ट्रमा पर्छ। भारतसँग व्यापार गर्ने अन्य ठूला राष्ट्रलाई भारतले जसरी आर्थिक महत्व दिन्छ नेपालले पनि सोही महत्व भारतसँग लिन जान्नु पर्छ। मोदीको शासन कालमा यो संभव छ। किनभने मोदीले व्यापारको महत्व बुझेका छन्। कुनैबेला उनको चिया पसलमा सधैँ आउने र धेरै व्यापार गर्ने व्यक्तिलाई उनले महत्व दिने गरेका थिए भने अहिले आफ्नो देशबाट खर्बौंको सामान बेच्ने र आफूलाई केही अर्बको सामान बेच्ने देशलाई सम्मान दिन उनले जति अरुले पक्कै सत्तै्कनन्। 
राजनीतिक रूपमा हेर्दा मोदीको उदयले नेपालको हिन्दु धर्मावलम्बी समाज र नेपाललाई पुनः हिन्दुराष्ट्र घोषित गर्नुपर्छ भन्ने समूह खुसी हुन सक्छ। तर सत्य के हो भने भारतीय जनता पार्टीलाई अब भारतको राजनीतिमा सशक्त शक्तीका रुपमा कायमै रहनका लागि समेत धर्म निरपेक्षतामा बढी जोड दिनुपर्ने देखिन्छ। त्यसैले नेपालमा कायम भएको धर्म निरपेक्षतामा मोदी सरकारले धेरै अप्ठेरो मान्ने वा त्यसलाई बदल्नका लागि समय र स्रोत खर्च गर्ने कुरा पत्याउन सकिँदैन। यसै पनि धर्म निरपेक्षताले नेपालमा हिन्दुत्वलाई कमजोर पारेको छैन बरु अझ बलियो बनाएको छ। 
कुनैबेला नेपालका राजालाई भाजपाका नेताहरुले ‘हिन्दु सम्राट' भनेको प्रसंगलाई लिएर नेपालमा राजतन्त्रको पुनः स्थापनाको आशामा पनि धेरै बसेका छन्। हुनसक्छ, कमल थापाले नेपालमा भएको निर्वाचनअघि मोदीलाई भेटेको प्रसंगले पनि यस धारणालाई बल दिएको होस्। तर नेपालमा गणतन्त्रको स्थापना नेपाली जनताले गरेका हुन्, कुनै विदेशी शक्तिले होइन, भलै त्यसमा कसैको सद्भाव रहेको होस्। यस सत्यलाई बिर्सेर फेरि कसैले राजतन्त्र भित्र्याउने षड्यन्त्र गर्न खोज्छ भने पनि मोदी सरकारले त्यसमा बल पुर्‍याउने संभावना न्यून देखिन्छ।
भारतमा कुनैपनि सरकार आउँदा नेपालीमा आशा र निराशा एकैपल्ट संचार हुन्छ। एउटा समूह खुसी हुन्छ भने अर्को दुःखी। यसरी छिमेकी देशलाई आफ्नो मालिकको रुपमा पुज्ने वा शत्रुका रुपमा घृणा गर्ने परम्पराले हामीलाई कमजोर बनाएको छ। हामी एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देश हौं र छिमेकीले केही हदमा मात्र सहयोग वा असहयोग गर्नसक्छ भन्ने सधैँ हेक्का राख्नुपर्छ। 
नेपाल वास्तवमा आफ्नो शरीरभित्रको वासना थाहा नपाएर घुम्दै हिँडेको कस्तुरी मृग जस्तै बनेको छ, विदेशीसँगको सम्बन्धमा। मोदीको सरकार भारतमा बनेको छ, नेपालमा होइन। तर सँगसँगै नेपालले त्यसलाई मौकाको रुपमा हेर्नुपर्छ। हामी भारतको ठूलो व्यापारिक साझेदार हौं। हामीसँग भएको जलस्रोतको विकास र उपयोगले दुवै देशलाई फाइदा हुन्छ। त्यसैले हामी मोदी सरकारको विकास अभियानमा सघाउने सशक्त शक्ति हुन सक्छौं भन्ने विश्वासले अघि बढ्नु आवश्यक छ। सरकार यस अभियानमा अघि बढ्छ भने राजनीतिक फाइदा लिने भयो भनेर त्यसलाई भत्काउन खोज्ने अन्य राजनीतिक शक्तिलाई जनताले पनि चिन्नु पर्छ। भारतका लागिमात्र होइन नेपालको लागि पनि मोदीको चमकलाई प्रयोग गर्न जान्नुपर्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस