दोस्रो पुस्ताको चिन्ता
०२ भदौ २०७८
•
५ मिनेट पाठ
दोस्रो पुस्ताको चिन्ता
मुलुकका तथाकथित राजनीतिक दलहरूको महाधिवेशन र नयाँ नेतृत्व चयनको मौसम सुरु हुन लागेको छ। दलगत वा गुटगत नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि विभाजित मनस्थितिका विभिन्न गुट राजनीतिक दलका रूपमा झन झन भासिँदै गएको प्रतीत हुन्छ।




यस क्रममा सबै राजनीतिक दलभित्र नेतृत्व हस्तान्तरण र दोस्रो पुस्ता भन्ने चर्चा पनि केही समयका लागि व्यापकरूपमा हुने गर्छ। प्रत्येक दलभित्र रहेका यस्ता ६० वर्ष भन्दा माथिका कथित दोस्रो पुस्ता र ५० वर्षमाथिका कथित युवा पुस्ता बार्गेनिङका आधारमा आफ्नो स्थान सुरक्षित गर्न सकिन्छ कि भनेर खुबै सल्बलाउनेसमेत गर्छन्। प्रत्येक पटक क्षमतावानले महत्वपूर्ण स्थान पाएको वा पाइहाले पनि देश, जनता र दलका लागि सुधारात्मक कार्य गरेकै देखिँदैन। तसर्थ यस्ता कथित दोस्रो र युवा पुस्ताले पहिलो अर्थात बूढा पुस्ताको लाचार छायाँका रूपमा बाहेक केही गरेका देखिँदैन।  

अब कुरा गरौँ दोस्रो र युवा पुस्ताको वास्तविक चिन्ताचाहिँ के हो त ? झर्ला र खाउँला भन्ने नै हो कि, बाजे पुस्ताको नेतृत्वको टिमले गरेको भ्रष्टाचार, विकृति र विसंगतिको चारो खाएर दलगत दलदलमा चुर्लुम्मै डुब्न पाइएन भन्ने हो कि, सरकार वा दलगत नेतृत्वका गलत नीतिगत र वैचारिक क्रियाकलापको सशक्त संगठित विरोध गर्ने क्षमता प्रदर्शन गर्दै, त्यसबाट मुलुक र जनताले बेहोर्नुपर्ने दुष्परिणामहरूप्रति जनतालाई सजग पार्दै भरपर्दो नेतृत्व विकास गर्ने हो ?

यस्ता थुप्रै विषय र आकांक्षा हुन सक्छन् जो पहिलो र नयाँ पुस्ताबाट जनताले अपेक्षा गरिरहेका हुन्छन्। तर दुर्भाग्य नै भन्नुपर्छ, आपराधिक र दलाली मनोवृत्तिको स्कुलिङ र प्रशिक्षणबाट प्रशिक्षित यस्ता नेतृत्वबाट जनताका त्यस्ता अपेक्षा पूरा हुने सम्भावना दूरदूरसम्म पनि देखिएको छैन। (स्मरण रहोस्, हाल नेपालमा स्थापित प्रत्येक प्रमुख राजनीतिक दलहरू आपराधिक पृष्ठभूमिबाटै स्थापित भएकाहरूको बाहुल्यता छ।)  

विगतका कुरा कोट्याउँदा निकै धेरै गलत प्रवृत्तिको चर्चा हुन जान्छ तर निकट दुई–चार वर्षयताका आर्थिक र राजनीतिक भ्रष्टाचार एवं विसंगतिका विषयमा मात्र कुरा गर्ने हो भने पनि कुनै दलका युवा तथा दोस्रो पुस्ताका नेताहरूले आफ्नो दलगत एवं सरकारको नेतृत्वले गरेका यस्ता मानवीय संवेदनाहीन भ्रष्टाचारजन्य गतिविधिबारे सशक्त आवाज उठायो त ? कोरोना महामारीको सन्त्रासबीच पनि जनताको जीवनमाथि खेलवाड गरी ‘कात्रोको व्यापारमा कमिसन खाने’ जघन्य अपराधीहरू आज पनि खुलेयाम भाषण गर्दै अर्ती उपदेश दिँदै हिँडिरहेका छन्।  

सेक्युरिटी प्रेस खरिद काण्डमा अडियो–भिडियो रेकर्ड बाहिर आयो तर अनुसन्धान नगर्दै तत्कालीन प्रधानमन्त्रीले त्यो होइन–त्यो पर्दैन भनिदिए। ललिता निवास जग्गा प्रकरण उजागर भयो, त्यसमा संलग्न आफ्ना र आफन्तहरूले झुक्याएर किनाएछन्, फिर्ता गरिदिए मुद्दा नचल्ने निर्णय सुनाइदिए। ओम्नी र भानुभक्त ढकाललाई उन्मुक्ति दिए। सत्तापक्ष होस् वा प्रतिपक्ष, सबै हाइड्रो माफिया, मेडिकल माफिया, व्यापारीहरूको अर्बौँको भ्याट छली प्रकरणका माफिया नाइके भएर मुलुक लुटिरहेको विद्यमान परिस्थितमा यी कथित दोस्रो र युवा पुस्ताले उल्लिखित सबै तीलगायतका भ्रष्टाचारजन्य प्रकरणमा के आफ्नो भागमात्रै खोजिरहेका हुन त ? यस्तो या त्यस्तो होइन भने मुलुकमा यस्ता बेथिति विरुध्द सशक्त आवाज उठेको कहाँ छ ? कुनै पनि नेताले यस्ता भ्रष्टाचारीलाई आजन्म सशस्त्र कारावासको आवाज बुलन्द गरेको खै त ?

युवा पिँढीका नेताका सहभागिता र सक्रियताले अधिनायकवादी शासन ढाल्न, शान्तिपूर्ण समाज निर्माण तथा विकासका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ। इतिहास साक्षी छ। विडम्बना, देशका तथाकथित ठूला दलका दोस्रो तेस्रो पुस्ताका अनुहारबाट समेत भविष्यका आशा जगाउने कुनै भरपर्दो सैद्धान्तिक, वैचारिक गतिविधिको छनक प्रदर्शन हुन सकेका छैनन्। यिनीहरूमा फराकिलो क्षितिजका वैचारिक न्यूनता, गुटगत नेता भक्ति केन्द्र प्रवृत्ति जस्ता नकारात्मक पक्ष प्रबल भएको पाइन्छ। यतिमात्र होइन, दलगत र गुटगत विवाद कलहमा समेत एकताका लागि मध्यस्थकर्ताको भूमिका हुन सकेन। देशका नागरिक नेता, व्यावसायिक वा प्राज्ञ आदि हुनु भन्दा पहिले राष्ट्रवादी देशभक्त हुन जरुरी छ। दलगत तथा गुटगत लालसा भन्दा माथि उठेर आमूल परिवर्तनका लागि अग्रसर हुन सकेमा मात्र दोस्रो तेस्रो पुस्ताका सार्थकता प्रमाणित हुनेछ।

पार्टी नेतृत्वका भ्रष्टाचारजन्य क्रियाकलापबाट चुहिएको दुर्गन्धमै रमाउने र आइएनजिओ तथा लैनचौरतिरकै हुण्डीको स्वाद चाख्ने बानी परेका यी कथित नामधारी पुस्ताहरूबाट मुलुक र जनताले कुनै अपेक्षा नराख्नु नै वेश हो कि ? केही समयपहिले ब्राजिलका राष्ट्रपतिले कोराना महामारी नियन्त्रणमा देखाएको उदासीनता र लापरबाही तथा पीडाबाट आक्रान्त जनताका लागि आवश्यक भ्याक्सिन आपूर्तिमा ठोस कदम नचालेको भन्दै विरोध प्रदर्शन भइरहेका थिए। संसारका अन्य देशमा पनि कोरोनाविरुध्द सरकारको संवेदनशीलता तथा प्रभावकारितालाई लिएर विरोध प्रदर्शन भइरहेका खबर पनि सुन्न र देख्न पाइएकै छन्।  

तर विरोध प्रदर्शन त हाम्रो देशमा पनि भइरहेको छ, त्यो पनि युवा पुस्ताका नेताहरूबाट ? कांग्रेस, माओवादीलगायत पाँच दलीय युवा पुस्ताले आन्दोलन गरे तर आफ्ना नेतालाई प्रधानमन्त्रीको कुर्सी दिलाइदेउ भनेर। सत्ता र प्रतिपक्षीय युवा संघले आन्दोलन गर्‍यो आफ्नो गुटको राष्ट्रपतिको विरोध गर्न पाउँदैनौ भनेर। स्वयम् तत्कालीन प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई मेरो स्वार्थ अनुकूल चल्नुपर्‍यो, अरूको सेटिङमा चल्नुभएन भन्दै विरोध गर्दै धम्क्याउने कार्य जारी राख्नुभएकै हो। 

पाँच–पाँच जना पूर्वप्रधानमन्त्री, पाँच–पाँच जना पूर्वप्रधानन्यायाधीश, पाँच–पाँच जना पूर्वसभामुखलगायत सबैले सरकारको विरोध गरेकै छन। तत्कालीन प्रधानमन्त्रीले पनि आफ्नो र राष्ट्रपतिका तर्फबाट भाका हाली–हाली विरोध गरेको गर्‍यै थिए। कहाँको स्यालले कहाँको कुखुरा चोर्‍यो भन्ने कुरा पनि क्षण भरमै ज्ञात भएर ‘हिजो धादिङमा कराएको स्यालले नै काठमाडौँमा हराएको कुखुरा लगेको हो’ भन्दै घोषणा गरेका गर्‍यै थिए। यी टुक्काप्रसादहरूले कति जानेको, कति तल झर्न सकेको, कति र कस–कसको विरोध कवसम्म गरिरहन्छौ ?

यसरी सम्पूर्ण मुलुकभर नै विरोधका स्वर गुञ्जिरहँदा, मुलुक र जनताका हितका स्वर, आवाज कहाँ छन् ? त्यो कथित दोस्रो तथा युवा पुस्ताले कुन जनता र मुलुकका लागि के आवाज उठाउँदैछन् ? पार्टी र सरकारका भ्रष्ट नेतृत्वका विरुध्द तथा जनता र मुलुकका पक्षमा सशक्त आवाज बुलन्द गरी आफ्नो नेतृत्व स्थापित गर्न छाडेर अझै पनि तिनै भ्रष्टहरूको दुर्गन्धित आहाल वरपर नै रमाइरहने हो भने तिम्रो पुस्ता र सोचलाई पनि मातृभूमिले सराप्ने दिन टाढा छैन। इतिहासले दण्ड दिनेछ। होसियार!(राष्ट्रिय संयोजक: नेपाल नागरिक अभियान तथा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक)
अर्को समाचार
ढिकी-जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
२२ असोज २०८३
•
४ मिनेट पाठ
ढिकी-जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक...ढुक...’ आवाजले बिउँझाउथ्यो।




झिसमिसेमै घरआँगनमा जाँतो घुम्थ्यो। ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो। अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ। अन्न कुट्ने र पिस्ने यी साधन घरायसी कामका उपकरण मात्र थिएनन्, गाउँको श्रम, आत्मनिर्भरता, खानपान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिका अभिन्न हिस्सा थिए।

आधुनिक प्रविधिको विस्तार, विद्युतीय मिलको सहज पहुँच र नयाँ पुस्ताको घट्दो चासोसँगै ढिकी–जाँतोको प्रयोग घटदै गएको छ। प्रत्येक घरमा देखिने यी साधन अहिले कतै घरको कुनामा थन्किएका छन् भने कतै पुरानो पुस्ताको स्मरणमा मात्रै छन्।

ढिकी नेपालको परम्परागत कुटानी–पिसानी प्रविधिको महत्त्वपूर्ण साधन हो। धान कुट्न, कोदो तथा जौको भुस निकाल्न, चिउरा बनाउन र विभिन्न खाद्य सामग्री कुट्न यसको प्रयोग हुन्थ्यो। जाँतोमा मकै, कोदो, फापर, गहुँ, दाल लगायत अन्न पिसिन्थ्यो। स्थानीय सामग्रीबाटै निर्माण हुने यी साधन गाउँको आवश्यकता र सीप अनुसार विकसित परम्परागत प्रविधिका उदाहरण थिए।

दूधपोखरी गाउँपालिकाकी ८५ वर्षीया मायाकुमारी गुरुङलाई आफ्ना पालाका ती दिन अझै सम्झना छ। “हाम्रा पालामा सबै घरमा ढिकी हुन्थ्यो। मकैको छुट्टै, कोदोको छुट्टै जाँतो हुन्थ्यो। गाउँमा मिल आएपछि सबैले ढिकी–जाँतो प्रयोग गर्न छाडे। त्यसबेलाको खानाको स्वाद सम्झँदा अहिले पनि जिब्रो रसाउँछ,” उनले भनिन्।

दोर्दी गाउँपालिका–४ की ७९ वर्षीया लालमाया घिमिरेले आफ्नो जीवनको अधिकांश समय ढिकी कुट्दै र जाँतो पिन्दै बिताइन्। ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरको स्वाद अहिले पनि बिर्सन नसकेको उनले सुनाइन्।“पहिले गाउँमा ढिकी–जाँतो नभएको घर हुँदैनथ्यो। अहिले देख्नै मुस्किल छ। विगतका ती दिन सम्झँदा कथाजस्तै लाग्छ,” उनले भनिन्।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका स्थानीय कामसार्की गुरुङका अनुसार गाउँमा करिब १३–१४ वर्षअघि विद्युतीय मिल सञ्चालनमा आएपछि ढिकी–जाँतो प्रयोग गर्ने चलन लगभग समाप्त भएको हो। “पहिले सबै घरमा ढिकी–जाँतो थियो। अहिले एकाध घरमा मात्रै बाँकी छ। परम्परा हराउँदै गएको देख्दा दुःख लाग्छ,” उनले भनिन्।

मर्स्याङ्दी  गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार १०–१२ वर्षअघिसम्म गाउँका अधिकांश घरमा ढिकी–जाँतो नियमित प्रयोग हुन्थ्यो। अहिले एक–दुई घरमा मात्रै ती सामग्री बाँकी रहेको उनले बताइन्।

बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँकी सावित्री रानामगरका अनुसार विद्युतीय मिल सञ्चालनमा आएपछि प्रयोग घट्दै गएर अहिले गाउँमा दुई घरमा मात्र ढिकी–जाँतो बाँकी रहेको उनले सुनाइन्।

“मिल आएपछि सबैलाई सहज भयो। ढिकी–जाँतोमा धेरै समय र मेहनत लाग्ने भएकाले प्रयोग घट्यो तर यी हाम्रो संस्कृतिको चिनारी भएकाले हराउँदै जाँदा निकै दुःख लाग्छ,” उनले भनिन्।

विगतमा महिलाको दैनिक जीवन ढिकी–जाँतोसँग जोडिएको थियो।  बिहान सबेरैदेखि धान कुट्ने, मकै, कोदो, फापर, गहुँ र दाल पिस्ने गरिन्थ्यो। कतिपय स्थानका महिला एकै ठाउँमा भेला भएर पालैपालो कुटानी–पिसानी गर्ने चलन थियो।

यसले श्रमसँगै आपसी भेटघाट र सामाजिक सम्बन्धलाई पनि जोड्ने गरेको पुरानो पुस्ताको अनुभव छ। त्यो श्रम सहज थिएन। स्थानीयका अनुसार विद्युतीय मिलमा एकमुरी धान करिब आधा घण्टामै कुट्न सकिन्छ। त्यही काम ढिकीमा गर्दा आधा दिनभन्दा बढी समय र निकै श्रम लाग्थ्यो।

त्यसैले गाउँमा मिल स्थापना हुन थालेसँगै मानिसले समय र श्रम बचाउने आधुनिक प्रविधि रोजे। आधुनिक मिलले कुटानी–पिसानीको काम सहज बनाएको छ। समय र श्रम बचत भएको छ। त्यससँगै गाउँको परम्परागत श्रम संस्कृति, स्थानीय प्रविधि, आत्मनिर्भर जीवनशैली र मौलिक खानपानको एउटा अध्याय भने हराउँदै गएको छ। ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरबाट तयार हुने परिकार पुरानो पुस्ताको दैनिक भोजनका हिस्सा थिए।

त्यसैले ढिकी–जाँतो हराउनु एउटा साधन हराउनु मात्र नभई त्यससँग जोडिएको खानपान, सीप र जीवनपद्धतिको एउटा अंश हराउनु पनि हो।  संरक्षणमा ध्यान नदिने हो भने आगामी पुस्ताले ढिकी–जाँतोलाई प्रयोगमा होइन, इतिहासका पाना, सङ्ग्रहालय वा तस्बिरमा मात्र देख्नुपर्ने अवस्था आउन सक्ने स्थानीयको चिन्ता छ।

स्थानीयवासीले परम्परागत ढिकी–जाँतोे संरक्षणका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गरी होमस्टे, सांस्कृतिक पर्यटन, विद्यालयको स्थानीय पाठ्यक्रम तथा सामुदायिक सङ्ग्रहालयसँग जोड्नुपर्ने बताएका छन्।

प्रयोगमा नआए पनि यस्ता सामग्री सुरक्षित राख्ने, नयाँ पुस्तालाई यसको महत्त्वबारे जानकारी दिने तथा स्थानीय संस्कृति र पर्यटनसँग जोड्ने प्रयास गर्नुपर्ने उनीहरूको भनाइ छ।

ढिकी–जाँतो हरेक घरमा चलाउन सम्भव नहोला। आधुनिक मिलले गाउँको जीवन सहज बनाएको छ तर सहजतासँगै हराउँदै गएको मौलिक पहिचान जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

यसको इतिहास, प्रविधि र त्यससँग जोडिएको संस्कृति जोगाउन सके कुनै समय ग्रामीण बिहान ब्युँझाउने ‘ढुक...ढुक...’ आवाज कम्तीमा भावी पुस्ताका लागि जीवित सांस्कृतिक सम्पदाका रूपमा रहिरहनेछ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस