निर्धा जनता, गिर्दो बोली
१० जेष्ठ २०७१
•
१४ मिनेट पाठ
निर्धा जनता, गिर्दो बोली
बेला थियो २०६२/०६३ जनआन्दोलनको सुरसारको। राजनीतिक दलले आयोजना गर्ने सभाहरूमा जनसहभागिता अत्यन्त न्यून हुन्थ्यो। नागरिक समाजका अगुवाले बोलेको भने जनताले सुन्थे। राजनीतिक दलका नेताले बोलेको कुराको खासै महत्व थिएन।नागरिक समाजले बसन्तपुर, पाटन, भक्तपुर र जिल्ला जिल्लामा आयोजना गर्ने कार्यक्रममा नन्दकृष्ण जोशीको देउडा, अर्जुन पराजुलीका कविता र कृष्ण पहाडीको काव्यात्मक शैलीका भाषण सुन्न अपार भिड लाग्थ्यो। अन्य अगुवा पनि थिए जसको बोलीलाई जनताले निर्देशन मान्थे, जस्तो डा. देवेन्द्रराज पाण्डे, डा. मथुराप्रसाद श्रेष्ठ, कृष्ण खनाल, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, डा. महेश मास्के आदि। जनतालाई आफ्नो आवाज सुनाउन राजनीतिक दलका नेता नागरिक समाजले आयोजना गर्ने कार्यक्रममा भाग लिन जान्थे। नागरिक समाजले ठाउँ दिएका नेताको प्रभाव बढ्थ्यो जनमानसमा। त्यस अवस्थामा नागरिक समाजले नेतृत्व नलिएको भए जनतालाई राजाको शासनविरुद्ध सडकमा ओराल्न नेपालका राजनीतिक दललाई निकै हम्मे पर्ने थियो। अन्ततः जनता सडकमा ओर्ले, राजनीतिक दल सत्तामा उक्ले, नागरिक समाज बिलायो। अनि मलिन भयो जनताको आवाज। अझ स्पष्ट भन्दा कोही रहेन जनआवाजको प्रतिनिधि। 
नागरिक समाज किन र कसरी हराएर गयो, कसरी नागरिक समाज आफैँमा राजनीतिकरण भयो, कसरी नागरिक समाजका नेता आपसमा मिल्न सकेनन् भन्ने विषयमा धेरै लेखिएको छ। आजको यस लेखको उद्देश्य भने राज्य संचालनमा नागरिकको आवाज किन कमजोर हुँदै गयो भन्नेे लेखाजोखा गर्ने जमर्को हो। हुनत,सरकार र राजनीतिक दल नागरिकको हित र तिनको भावनाअनुरुप चल्नुपर्ने हो तर किन चलेनन्? अहिलेको चासोको विषय त्यही भएको छ। 
विसं २०६३ साल पश्चात देशमा अनेकौं सरकार बनिसकेका छन्। पहिले गिरिजाप्रसाद कोइरालाले पुरानो संसद्को ब्युँताएर शासन चलाए। त्यसपछि २०६४ सालको संविधान सभा व्यवस्थापिका संसद्को निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' प्रधानमन्त्री भए। अनि क्रमशः माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईले शासनको बागडोर सम्हाले। तर कोइरालादेखि भट्टराईसम्म कसैले पनि राजनीतिमा खास सरोकार नराख्ने, शिक्षित र व्यावसायिक काम गर्ने मध्यम वर्गीय समूहले के भन्दैछ भन्ने थाहा पाउन आवश्यक ठानेनन्। कुनै पनि समाजमा यही समूहको आवाज सबैभन्दा बलियो मानिन्छ। किनभने धेरै पिछडिएका वर्गको आवाज छरपष्ट र मधुरो हुन्छ, कसैले खोजेर सुन्न जाँदैन। धेरै उपल्लो वर्ग सधैँ आफ्नो धन, मान र इज्जत बचाउने ध्याउन्नमा हुन्छ। उस्को आवाज कसैले सुन्न चाहँदैन। मध्यम वर्गलेभने गरिब र पिछडिएका वर्गको हितमा पनि आवाज उठाइरहेको हुन्छ। साथै, कानुनी शासन, मानव अधिकार, सम्पत्तिमाथिको अधिकार जस्ता विषयमा पनि उत्तिकै चासो राखेको हुन्छ। त्यसले उपल्लो वर्गको पनि हित हुन्छ। त्यसैले यो वर्ग अधिकतम जनताको हितको विषयमा बोल्ने समूह मानिन्छ। 
विसं २०६४ सालपछि नागरिकको आवाजको उपेक्षा हुने प्रक्रिया बढेर गएको हो। तर २०६९ सालपछि जनआवाजको उपेक्षाको मात्रा निकै बढेको देखिएको छ। प्रथमतः सबै प्रभावशाली राजनीतिक दलको सहमतिमा प्रधान न्यायाधीशलाई कार्यकारी प्रमुख बनाउने विषयमा राजनीति बुझ्ने र लोकतन्त्रका मूल्य मान्यतामा सम्झौता हुनुहुँदैन भन्ने समूहले विरोध गरेको थियो। तर, सबै राजनीतिक दल एकै ठाउँमा उभिएर यस सम्झौतालाई कार्यान्वयन गरेरै छाडे। धन्न खीलराज रेग्मीले संविधान सभा निर्वाचन गराउने आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि सरकार निर्वाचित प्रधानमन्त्रीलाई हस्तान्तरण गरे। निर्वाचन गराउन नसकेको भए वा हुन नसकेको भए नेपालको राजनीति कुनैपनि अतिवादी धारमा जान सक्थ्यो। 
राजा ज्ञानेन्द्रको विशेष कृपापात्र बनेर राजाको समयमा मुख्य सचिव बनेका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउनु हुँदैन भनेर पनि सञ्चार माध्यम, नागरिक समाज र विद्वत् वर्गले निकै चर्को आवाज उठाएको थियो। तर यस विषयलाई पनि प्रमुख दलका नेताहरु मिलेर गलैँचा मुनि लुकाइदिए। अब उनले पनि राम्रो कार्य गरे भने त यो असन्तोष विस्तारै सेलाएर जाला नत्र यही विषय राजनीतिक दलका लागि कालक्रममा गलपासो बन्ने निश्चित् छ। 
हालै सरकार र राजनीतिक दलको समर्थनमा सत्य निरुपण तथा मेल मिलाप आयोग सम्बन्धी ऐनका विषयमा पनि मिडिया र नागरिक समाजले उठाएका विषयलाई बेवास्ता गरियो। सञ्चारकर्मी र समाजका अगुवाले सुझाएको साधारण संशोधन समेत बेवास्ता गर्दै संसद्ले विधेयक पास गरेर राष्ट्रपतिबाट प्रमाणीकरण गराई ऐन बनाइयो। अहिले सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति प्रकरणमा पनि मिडिया र नागरिक समाजलाई बेवास्ता गर्ने पक्काजस्तो भइसकेको छ। सुनुवाइ नै नगर्ने वा न्याय परिषद्लाई नै बयान दिन बोलाउने भन्नेजस्ता अनेक नाटक मञ्चन गरेर अन्त्यमा समय घर्की सकेपछि न्यायाधीशको सुनुवाई सुरु भयो। अब पुराना अन्य क्षेत्रका नियुक्तिजस्तै सिफारिसमा परेका सबैलाई सर्वोच्च अदालतको ढोकाबाट छिर्न सम्भवतः कसैले रोक्न सत्तै्कन। कुनै एक वा दुईमात्र पनि विवादग्रस्त व्यक्तिलाई सर्वोच्च अदालतमा जान रोक्न सकेहुन्थ्यो भन्ने मिडिया र नागरिक समाजको क्रन्दन कसैले सुन्ने अवस्था देखिँदैन। 
किन यसरी निरीह बन्यो मिडियाको आवाज र नागरिक समाज? यसका अन्य धेरै कारण होलान् तर सबैभन्दा प्रमुख कारणे नागरिक समाज र मिडियाको राजनीतिकरण नै हो। निजामती कर्मचारी, प्रहरी, न्यायालय, शिक्षक, विद्यार्थी, व्यापारी, प्राज्ञ कोही पनि राजनीतिकरणबाट अलग रहन सकेनन्। पत्रकारिता त यसै पनि राजनीतिको एउटा प्यादा नै बनेको छ। अनि नागरिक समाजका कतिपय मुख्य जिम्मेवार अगुवा पनि राजनीतिक दलको ढोके बन्न पुगेको सबैले देखेकै छन्। यसले गर्दा राजनीतिक दललाई कुनैपनि नागरिक समूह वा नागरिक समाजको आवाजमा ध्यान दिनुपर्ने आवश्यकतै रहेन। माथि भनिएका सबै समूहमा विवेकशील, लोकतान्त्रिक र जिम्मेवार व्यक्ति नभएका होइनन् तर राजनीतिक दलको ह्विप जारी हुनासाथ सबैको बुद्धिमा बिर्को लाग्छ, जिब्रोमा ताला झुन्डिन्छ। त्यसैले नेपाली समाजमा कस्तो काम गर्न हुन्छ वा हुँदैन भनेर सोच्ने प्रवृत्तिको विकासै नभई अवसान हुन पुगेको छ। दुई वा तीन दलको सिन्डिकेटले साना दललाई त पेलेर राख्ने नै भए जनताको आवाज पनि सुन्न छाडिदिएका छन्। 
नेपाली जनताको आवाज राजनीतिक दलहरुले सुन्न छाड्नुमा जनताको व्यवहार पनि जिम्मेवार छ। चेतनाको कमीले होस्, शिक्षाको अभावले होस् वा अन्य कुनै कारणले, नेपालका जनताले कहिल्यै मत माग्न आउने राजनीतिक दलका नेतालाई तिनले विगतमा गरेका कामका आधारमा मूल्यांकन गर्ने गरेका छैनन्। अधिकांश निर्वाचनमा स्थानीय क्लब, आमा समूह र केही टाठा बाठालाई हातमा लिन सक्ने व्यक्तिको विजय भएको छ। जनताले उसको सिद्धान्त के हो? ऊ सम्बद्ध राजनीतिक दलले देशमा शान्ति ल्याउँछ कि ल्याउँदैन? रोजगारीका अवसर सिर्जना गर्छ कि गर्दैन वा लोकतान्त्रिक व्यवस्था स्थापित गर्छ वा गर्दैन केही मतलब गर्दैनन्। फलानो मान्छे निर्वाचित भयो वा उसको दलले सरकार बनायो भने मैले काम गरेर खान पाउँछु वा मेरो सन्तानले आफ्नो क्षमताको आधारमा सार्वजनिक पद पाउँछन् र कानुनी आधारमा बाच्न सक्छन् भनेर कसैले सोच्दैन। कुन नेताले रक्सी र मासुको भोज दियो, आफ्नो घरमा आएर भोट माग्यो वा फलानोले भोलि मेरो व्यक्तिगत काम गर्छ भन्ने आधारमा भोट दिइन्छ। त्यसैले सायद नेताहरूले अहिले जनचाहनाअनुसार होइन राजनीतिक दलहरुको हितअनुरुपको काम गर्ने बेला हो भन्ने ठानेको हुनुपर्छ। भोट चाहिने बेलामा जनताले अहिलेको कामको मूल्यांकन गर्दैनन् भने किन अहिलेदेखि चिन्ता लिने भन्ने सोच तिनमा पलाएको देखिएको छ। 
विगतका केही राजनीतिक नियुक्तिदेखि लिएर सत्य निरुपण तथा मेल मिलाप आयोग बनाउने वा सर्वोच्च अदालतमा न्यायाधीश बनाउने सम्पूर्ण विषयमा नागरिक समाज र मिडिया (राजनीतिक दलका मुखपत्रलाई छाडेर) निरीह देखिएको छ। समाजका महत्वपूर्ण अवयव यसरी कमजोर हुँदा लोकतन्त्रका मूल्य मान्यतामै प्रश्न उब्जेकोे छ। सरकारमा पुगेपछि राजनीतिक दलले जनताको बोलीमा ध्यानै दिनु नपर्ने र नेतालाई जे मन लाग्यो त्यही गर्दै जान पाउने हो भने त्यो पनि लोकतन्त्रको आवरणमा तानाशाही नै हो। अझ तिनको कसी लगाउने प्रक्रियाका रूपमा रहेको आवधिक निर्वाचनसमेत तिनले सजाय पनि नपाउने वर्तमान अवस्थाले नागरिकलाई झनै निरीह बनाएको छ। 
यही हो, लोकतन्त्रका नाममा अति राजनीतिकरण हुनुको परिणाम! अहिल्यै पत्रकारिता र नागरिक समाजलाई राजनीतिबाट टाढा राख्ने हो भने बिस्तारै कर्मचारी, सुरक्षा संयन्त्र, विद्यार्थी, शिक्षक सबैलाई राजनीतिको गोटी हुनबाट जोगाउन सकिन्थ्यो। अनिमात्र सरकारमा बसेकालाई जनताको आवाज सुन्नैपर्ने बाध्यता हुन्थ्यो। अहिलेको अवस्थामा त राजनीतिक दलको सिन्डिकेटको मारमा परेका निरीह जनताको नाममा दुःख मनाउ गर्नेबाहेक कुनै उपाय देखिन्न।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस