परिवर्तनको कुरा गर्न जति सजिलो छ त्यतिनै गाह्रो हुन्छ आत्मसात् गर्न। परिवर्तन ल्याउन सबैभन्दा महत्वपूर्ण पक्ष अनुशासन हो, जुन हामी बिरलै प्रदर्शन गर्न सक्छौँ। प्रसंग सुरु गरौं नेपाल प्रहरीले आयोजना गरेको एउटा छलफल कार्यक्रमबाट।
दुई दिने सो कार्यक्रममा धेरै महत्वपूर्ण विषयमा छलफल र ज्ञान आदान प्रदान भयो होला। पंक्तिकार एउटा कार्यक्रममा कार्यपत्रको टिप्पणीकारको रूपमा मात्र उपस्थित थियो। तर त्यही एउटै कार्यक्रमको अनुभवले पनि नेपालमा परिवर्तनको सिलसिला सुरु गर्न सजिलो नभएको अनुभव भयो। अरु केही कुराले होइन, समयको पालना वा समय अनुशासनको अभावले।नेपाल प्रहरीजस्तो अनुशासित संस्थाको प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक र गृह सचिवको उपस्थितिमा भएको कार्यक्रममा पन्ध्र मिनेटका लागि राखिएको प्रश्न र जिज्ञासाको समय एक घन्टा लम्मियो। अर्को सत्रका वक्ता र टिप्पणीकर्ता आएर आफ्नो पालो कुर्न थालिसकेका थिए। तर कार्यक्रम समयमै सक्न कसैलाई चासो रहेन। सबैलाई आफ्नो पालो पुर्यापउनु थियो। आफ्नो ज्ञान देखाउनु थियो। समय ढिला भयो भन्ने विषयलाई कसैले ठूलो कुरै ठानेनन्। साधारणतया अरू कार्यक्रम पनि समयमा सुरु हुँदैन। देशभर आयोजना गरिने सबैजसो कार्यक्रममा हुने यही हो। एक घन्टालाई भनेर सुरु गरेको कार्यक्रम तीन घन्टा चल्छ, पाँच मिनेट बोल्नुपर्ने वक्ता आधा घन्टा बोल्छन् र दर्शक दीर्घामा बसेका आधाभन्दा बढी मानिस उँघ्न थालेपछि मेरो दुई शब्द यही टुंग्याउँछु भन्छन्। तिनले आधा घन्टा बोलेर दुई शब्द भन्छन् भने दुई वाक्य बोले भने त दिनै सिध्याउलान् कि!
कुनै अलिकति बुद्धि भएको व्यक्तिसँग कुरा गर्नुस्, उसलाई नेपालको विकास गर्न के गर्नुपर्दछ भन्ने पूरा जानकारी हुन्छ। कुन कुरामा कस्तो निर्णय लिनुपर्छ, सरकारको जिम्मेवारी के हो र जनताको कर्तव्य के हो भन्ने विषयमा समेत उसले तर्कसंगत धारणा अघि सार्न सक्छ। यस्तै अनुभव भयो हालैको टर्की भ्रमणका क्रममा। नेपाल र टर्कीबीच व्यापार बढाउने उद्देश्यले नेपाल टर्की चेम्बर अफ् कमर्सले आयोजना गरेको यस कार्यक्रममा प्रायः मध्यम वर्गीय व्यापारी र व्यापारिक कार्यमा लागेका व्यावसायिक व्यक्तिको सहभागिता थियो। (पंक्तिकार मेरिडिएन इन्टरनेसनल स्कुलको आतिथ्यमा त्यहाँ पुगेको थियो)। त्यो भ्रमण दलका सदस्य सबैलाई नेपालमा के के कमजोरी भयो विकासका क्रममा भन्ने राम्ररी जानकारी छ। सबैले इस्तानबुलमा प्लेन अवतरण गर्दाको समयदेखि नै हाम्रो देशमा पनि यस्तो गर्नुपर्ने, उस्तो गर्नुपर्ने, यो पार्टीले यस्तो गर्न सकेन, यस्तो नियम बन्न सकेन आदि विषयमा कुरा गर्दै गए। तर कार्यक्रममा जाँदा, कुनै ठाउँ घुम्न जाँदा वा सामूहिकरूपमा बाहिर निक्लँदा कहिल्यै समयमा सबैजना पुग्न सकिएन। जहिले पनि कोही न कोही ढिला हुने। जहिले पनि आयोजकले बच्चाहरूको समूहलाई घुमाउन ल्याएको जस्तो अनुभव गर्नुपर्ने बनाइयो। अर्थात् यति धेरै कुरा जानेका हामीलाई परिवर्तन गर्न के के गर्नुपर्छ भन्ने थाहा त छ तर समयको महत्व थाहा छैन। अधिकांशले समयको इज्जत नगरी कुनै पनि परिवर्तन संभव छैन भन्ने तथ्यलाई आत्मसात् गरेको देखिएन।
प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा १५ मिनेट भनेको सत्र १ घन्टा चल्छ, प्रतिष्ठित व्यापारीहरू साढे नौ बजे भेला हुने भनिएको कार्यक्रममा साढे दसतिर ढल्कँदै आइपुग्छन् भने पाँच वर्षमा पूरा गर्ने भनेर सुरु गरिएको मेलम्ची आयोजनालाई पच्चीस वर्ष लाग्नु के आश्चर्य भयो र? तपाईलाई कुनै ठाउँमा आधाघन्टा ढिला पुग्दा खास केही हुँदैनजस्तो लाग्छ भने कुनै बिजुलीको आयोजनामा केही दशक ढिलाइ हुनु, बनाउन सुरु गरिसकेको सडकको कालोपत्रे हुन महिनौ लाग्नु, पुल वा बाटाका लागि हरेक वर्ष लागतको पाँच वा दश प्रतिशतमात्र रकम विनियोजित हुनु र त्यो पनि सबैले बाँडेर खानु अनि पुल कहिल्यै नबन्नु सबै उस्तै कुरा हुन्। गरिबका लागि ल्याइने कार्यक्रम किन लागु हुँदैन भने समयमा सिध्याउनु पर्छ भनेर कसैलाई तातो लाग्दैन। कुनै पनि विषयमा काम नहुने प्रमुख कारण नै समयको मर्यादा नगर्नुले नै हो।
कुनैबेला एकजना मान्छेले निरन्तर कोदालो चलाएर पहाडलाई मैदान बनाउने महत्वाकांक्षा लिएर खनिरहेको लोककथा पढिन्थ्यो। त्यस्तो कथाको शिक्षा के हुन्थ्यो भने कसैले निरन्तर कुनै काम गर्योह भने असंभव केही हुँदैन। तर नेपालको परिप्रेक्ष्यमा त्यस्ता एकलब्य कोही भएनन्। सधँै समयमा कार्यक्रममा पुग्यो कार्यक्रम ढिला सुरु हुन्छ। सधैँ बिजुली यति वर्षमा पर्याप्त आउँछ भनिन्छ त्यो ढिला हुन्छ। सधैँ सडक अब यति वर्षमा गाउँ पुग्छ भन्यो त्यति दशकमा पनि पुग्दैन। अनि बिस्तारै समयको मर्यादा गर्ने व्यक्ति पनि ढिला चल्न थाल्छ। तर यही मनःस्थितिले देशमा परिवर्तनको लहर नै रोकेर राखेको छ भन्ने तथ्य न त कसैले मनन गरेका छन् न त यो कुरा बताउँदा मनन् गर्न तयारै हुन्छन्।
सजिलो छैन परिवर्तनको पहाड फोर्न। समय एउटा तत्वबोध हो, साध्य हो, साधन होइन। अर्को तत्वबोध गर्नुपर्ने विषय हाम्रो मानसिकता हो र यो साध्य र साधन दुवै हो। समयको महत्व बुझेर धेरै कार्य तदारुकताका साथ गर्न सकिन्छ भन्ने मानसिकताले त्यस्ता कार्य गराउँछ। र मानसिकता परिवर्तन आफैँमा एक उपलब्धि पनि हो। नेपालमा परिवर्तन ल्याउन चाक्लो बाटो, ठूलो एअरपोर्ट, ठूला बिजुली आयोजना चाहिन्छ भनेर सबैलाई थाहा छ तर किन बन्दैनन्? (केही बनेका पनि छन्।) कारण मानसिकता हो। यसको उत्तरका लागि एक अर्को कार्यक्रमको उदाहरण लिउँ्क। ब्लु कफी नामक संस्थाले बस्न योग्य काठमाडौं शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको थियो। सभासद् गगन थापाले उपत्यकामा अन्य सभासद्सँगको सहकार्यमा काठमाडौंको वायु, पानी, ढल, ऊर्जा, यातायात र फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने अध्ययन गरेका रहेछन्। उनको अध्ययनको धेरै कुरामा विवाद गर्ने स्थान छैन। उल्लेखित विषयमा के के गर्नु पर्छ भनेर राम्रो अध्ययन गरिएको छ र तिनको कार्यान्वयन गर्नसकियो भने अवश्य पनि काठमाडौंको रूप फेरिन्छ, यो सहर बस्न योग्य बन्छ। तर किन त्यसो हुँदैन? यो हाम्रो मानसिकताको समस्या हो। हामीलाई सहर राम्रो बनाउन कुनै चासो छैन, चासो छ त फलानो आयोजनाबाट आफूले कति कमाइन्छ भन्ने। सहरका प्राथमिकताका विषय, सौन्दर्य, वायु प्रदूषणका विषय र अन्य जनताले सुख पाउने कुरा गौण हुन्छन्।
गगन थापाले बोलेका विषयमा टिप्पणी गर्नेमध्ये एक विद्वान्ले नेपाल वायुसेवा निगमको प्रसंग उठाए। उनको विचारमा सुगतरत्न कंसाकारले भनेको बेलामा निगमले दुईवटा जहाज किनेको भए अहिले अवस्था धेरै परिवर्तन हुन सक्थ्यो। कंशाकारलाई त्यसबेला लगाएको पाँच करोड कमिसनको आरोप सही थियो भने प्लेन आएपछि पनि कारबाही गर्न सकिन्थ्यो। कमसेकम प्लेन त आउँथ्यो। तर त्यसो गरिएन। प्लेन आउन दिएर कंसाकारलाई पछि कारबाही गर्नेतिर कोही लागेन। (अहिले कंसाकारले सफाइ पाइसकेका छन्)। यसरी वास्ता नगर्नुको पछाडि हाम्रो मानसिकताले काम गरेको छ। त्यसबेला कारबाही गर्नेहरूलाई देशको भन्दा आफ्नो हित महत्वपूर्ण लाग्यो। कंसाकारले नै गरेको व्यापार संझौतालाई निरन्तरता दिएको भए नयाँ व्यवस्थापनलाई कमिसन चाहिँ नआउन सक्थ्यो होला। निगमलाई एक, दुई वर्ष प्लेन आउन ढिलाइ भए कसैलाई के मतलब? देशको राष्ट्रिय ध्वजा वाहकको बेहाल हुनुसँग पनि कसैलाई केही मतलब भएन। सबैको मतलब कमिसन पाउनुमै सीमित रह्यो। नेपालका ठूला आयोजना अघि बढ्न नसक्नुको प्रमुख र सर्वाधिक महत्वपूर्ण कारण यही हो। ठूला विद्युत् आयोजना एउटा सरकारले बनाउन लाग्यो भने अर्को राजनीतिक दलले त्यसमा राष्ट्रियतादेखि लिएर जातीयतासम्मको समस्या तेर्स्याउँछ। त्यसो गर्नुको कारण देश हितको चिन्ता होइन, कमिसनको ढोका उता नखुलोस् र आफूतिरमात्र खुलोस् भनेर हो। अर्थात् हाम्रो मानसिकता देश विकास गर्नका लागि तत्पर छैन, आफू मोटो हुनुपर्ने स्वार्थले गाँजिएको छ।
समयको इज्जत र देश विकासका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिनसकियो भनेमात्र एकलव्यजस्तो आफ्नो साधनामा एकचित्त हुन सकिन्छ। अनिमात्र परिवर्तनको पहाडमाथि विजय प्राप्त होला। अन्यथा गफै गर्ने हो भने व्यापारी, विद्यार्थी, कर्मचारी, राजनीतिकर्मी कसैमा पनि यसो के गर्नुपर्छ भन्ने बुद्धिको चाहिँ कमी छैन।