मोदी र नेपाल–भारत सम्बन्ध
१४ साउन २०७१
•
१९ मिनेट पाठ
मोदी र नेपाल–भारत सम्बन्ध
१७ अगस्त, सन् २००९ मा भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा पूर्वविदेश मन्त्री जसवन्त सिंहले आफ्नो बहुचर्चित पुस्तक 'जिन्ना : भारत, पार्टिसन, इनडिपेन्डेन्स' सार्वजनिक गरे। र, त्यसको अर्को दिन जसवन्त सिंहलाई भाजपाबाट निष्कासन गरियो। पुस्तकमा तत्कालीन कथित भारत विभाजनका नायक मोहमद अली जिन्नालाई 'हिन्दु–मुस्लिम एकताका अनुयायी' र 'सेक्युलर' भनिएकोमा भाजपाको आपत्ति थियो।त्यसको अर्को दिन गुजरात प्रान्तमा उनको पुस्तक प्रतिबन्धमात्र लगाइएन, भाजपाका नेता र कार्यकर्ताको रोहबरमा पुस्तकका केही प्रति जलाइए पनि। जतिबेला गुजरातको पार्टी र सरकारको नेतृत्व वर्तमान प्रधान मन्त्री नरेन्द्र मोदीले गरिरहेका थिए। पार्टीबाट निष्काशनको दबाब पनि गुजरात र मोदीसँग बढी जोडिएको तथ्य पछि जसवन्त सिंहले बढो कूटनीतिक ढंगले हिन्दी संस्करणको सानो भूमिका 'दिल से' भन्ने शीर्षकमा सामेल गरे। 
भनिन्छ, स्वयं नबदलिएको र कसैले बदल्न पनि नसकेको व्यक्तिलाई समयले मात्र बदल्न सक्छ। यहाँ समयको अर्थ वस्तुगत जगतमा आएको परिवर्तनको प्रवाह बुझ्नुपर्छ। 'कट्टर हिन्दु अतिवादी' को छवि निर्माण गरेका यिनै मोदीलाई जब पार्टीको तर्फबाट गत निर्वाचनमा प्रधान मन्त्रीका रूपमा अघि सारियो तब पूरै निर्वाचनको अवधिमा उनले कहीँ कतै पनि हिन्दुत्वको उच्चारण पनि गरेनन्। समय वा मोदीमा आएको परिवर्तनलाई भाजपाले कसरी मूल्यांकन गरेको छ भन्ने कुरा उसको पार्टीको निजी मामिला हो तर मोदीमा आएको 'आर्थिक विकास र समृद्धि' को मोडेललाई भारतमा धेरैले सकारात्मक र आशावादी नजरले हेरेका छन्। भारतले मात्र होइन, उसका छिमेकी राष्ट्रहरुले पनि मोदीको कार्यकालमा भारतसँगको सम्बन्धमा सकारात्मक परिवर्तनको आशा गरेका छन्। पहिलेदेखि बढी आशावादी देखिएको नेपाल झन् यसै हप्ता हुन लागेको उनको भ्रमणले पूरै मोदीमय भएको छ। मोदी र भारत हाम्रा लागि अहिले महाभारत भएको छ। 
हुन त यसै पनि नेपाल जे भए पनि उत्साहित हुने मुलुक हो। परिणामलाई आफ्नो पक्षमा पार्न चाहिने क्षमता, कौशल र तयारीभन्दा उत्साह/उत्सव मनाएरै खुसी हुने हाम्रो सनातनी परम्परा छ। मोदीको आगमन र नेपालले लिने सक्ने फाइदा/बेफाइदाका उत्साहजनक फेहरिस्तहरुले पत्रपत्रिका भरिएका छन्। विदेश मन्त्री सुषमा स्वराजको तयारी भ्रमण र मोदी आगमनको पूर्वसन्ध्याको नेपाल पिलिक्क बिजुली बल्दै र पानीमा झोसिएर निभ्दै गरिरहेको छ। दैनिक २० घण्टा लोडसेडिङमा बस्ने नेपालीले ठूला ठूला मेघा प्रोजेक्टका कुरा सुनेर मनमा बिजुली बाल्नु स्वाभाविकै हो तर आजसम्म भारतले बाँधेका विशाल बाँधबाट डुबानबाहेक केही नपाएका नेपालीको बिजुलीको उत्कट चाहना पनि त्यही डुवानमा झोसिएर मर्ने गरेको छ। त्यसकारण मोदीको भ्रमणलाई सन्तुलित र वस्तुपरक ढंगबाट विश्लेषण गर्नुभन्दा अतिशयोक्तिपूर्ण वा अत्यन्त उदासिनपूर्ण ढंगबाट हेर्नु दुवै गलत हुन्छ। 
मोदी र राजनीतिक सम्बन्ध
सबैले भनिआएको र मानिआएको कुरा के छ भने मोदी प्रधान मन्त्री भएपछि नेपालसँगको द्विपक्षीय सम्बन्ध राजनीतिक तहको हुनेछ। नेपालसँग राजनीतिक तहको सम्बन्ध हुनु भनेको के हो? मोदीभन्दा अगाडि भारतले नेपालसँग कुन र कस्तो तहको सम्बन्ध स्थापित गरेको थियो? राजनीतिक तहमा सम्बन्ध स्थापित भएपछि नेपाललाई के कस्तो फाइदा हुने हो आदि प्रश्नको सेरोफेरोभित्र बहस/छलफल भइरहेको देखिन्छ। निश्चय नै कुनै पनि देशको द्विपक्षीय सम्बन्ध उच्च राजनीतिक तहमा हुनुले धेरै कुरामा सहज र पारदर्शी सम्बन्ध स्थापित गर्न मद्दत गर्छ। र, यो सकारात्मक कुरा नै हो तर त्यसका लागि राजनीतिक दलहरुको दलीय जीवन संस्थागत हुन जरुरी हुन्छ। अन्यथा कहिलेकाहीँ अमुक नेताको व्यक्तिगत तहको सम्बन्ध नै कथित राजनीतिक सम्बन्ध बन्न पुग्छ र त्यसले थप जटिलता र शंकामात्र उत्पन्न गर्छ। 
सबैलाई थाहा भएकै कुरा हो, सन् ९० को दशकदेखि भारतको विदेश नीति त नभनौं तर दक्षिण एशियाली छिमेक नीति ज्यादै विवादित हुँदै आएको छ। पूर्वप्रधान मन्त्री आइके गुजरालको सीमित कार्यकालको 'गुजराल डक्ट्रिन' को सकारात्मक बहसबाहेक भारतको छिमेक नीतिमा कुनै उल्लेख्य सकारात्मक परिवर्तन देखा परेन। जबकि त्यसै अवधिमा वर्तमान प्रधान मन्त्री मोदीको पार्टीले पनि थुप्रै वर्ष सत्ता सञ्चालन गरिसकेको छ। सम्बन्धित राष्ट्रहरुमा मात्र होइन, भारतभित्र पनि विदेश मामिलाका कूटनीतिज्ञ र विषेशज्ञहरुले भारतीय छिमेक नीतिको असफलताको खुलेर आलोचना गरिरहेका थिए। उनीहरुको प्रष्ट संकेत बिग्रँदै र विवादित हुँदै गइरहेको 'ब्युरोक्रेसी र एजेन्सी' तहको सम्बन्धबाट छिमेकीलाई डिल गर्ने भारतीय नीतितर्फ थियो। 
नेपालको सन्दर्भमा हेर्ने हो भने प्रत्यक्ष राजतन्त्रको पालामा केही राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरुका कारण नेपाल–भारत सम्बन्ध थप संकटपूर्ण अवस्थामा थियो। लोकतन्त्र र दलहरुलाई किनारा लगाएको राजतन्त्रलाई जोगाउन गलत नै भए पनि भारतीय नीतिको दलहरुले प्रतिवाद गर्ने राजनीतिक अवस्था थिएन। तर गणतन्त्रको आगमनपछि नेपाल–भारत सम्बन्धको सामान्य साझा दृष्टिकोण पनि नभएका दलहरुले जुन हदसम्म अराजकता प्रदर्शन गरे, नेपालको इतिहासमा यस्तो भाँडभैलो कहिल्यै देखिएको थिएन। यहाँसम्म कि हरेक दलभित्र भारतीय एजेन्सीसँग राम्रो व्यक्तिगत सम्बन्ध हुनेलाई आधिकारिकरूपमा नै 'भारत सम्बन्ध' सुमधुर बनाउने एजेन्ट तोकिएका छन्। जसले सम्पूर्ण राजनीतिक दलभित्रै समेत 'प्रो–इन्डियन र एन्टी–इन्डियन' को लबी नै निर्माण गरेको छ। यही चित्र नै नेपाल–भारत सम्बन्धको अहिलेको यथार्थ हो। यसलाई राजनीतिक तहमा उक्लेको हेर्न चाहनेको आकांक्षामा मोदी उदाएका हुन्।
तर उदेकलाग्दो कुरा के छ भने नेपाल–भारत सम्बन्धमा 'राजनीतिक सम्बन्ध'को जुन कुरा अहिले उठिरहेको छ त्यसमा नेपालको आफ्नै पहलकदमीको कुनै पनि भूमिका छैन। केवल भारतमा भएको सरकार परिवर्तन र मोदीको उदयसँग जोडिएको उनको व्यक्तिगत इच्छा र पहलमा हाम्रो उत्साह निर्भर छ। यसलाई कति राजनीतिक तहको सम्बन्ध हो र हुनेछ भन्ने सवालमा पनि मोदीकै आगामी पहलमा निर्भर हुनुबाहेक हामीले कुनै अरु कुरा सोचेका छैनौँ। त्यसैको परिणाम हो, मोदी आउँदा 'के गर्ने वा के माग्ने' भन्ने तयारी पनि हाम्रो छैन। प्रत्येक सरकार बदलिएपछि पर्ने कुनै न कुनै नयाँ प्राथमिकताको विषयमा अहिले परेको मोदीको छिमेक नीतिप्रतिको प्राथमिकताबाट ज्यादै धेरै उत्साहित हुनुपर्ने कारण देखिँदैन। अझ थप कुरा गर्ने हो भारतको विदेश नीतिमा एक्लो प्रधान मन्त्रीको भूमिका निकै गौण हुन्छ। प्रधान मन्त्रीको जोडमा नीतिगत कुराभन्दा आर्थिक चासोका विषयमा केही उदार कदम हुन सक्छन्। 
राजनीतिक तहमा सम्बन्ध निर्माण हुनेबित्तिकै सम्बन्धित राष्ट्र लाभान्वित भइहाल्छ भन्ने हुँदैन। व्यक्तिगत र राजनीतिक दुवै तहमा बीपी कोइराला र जवाहरलाल नेहरुको सम्बन्ध ज्यादै निकट रहे तापनि नेपालले त्यसको कुनै उपलब्धि हासिल गरेको देखिएन। त्यतिमात्र होइन, भारत र नेपालका थुप्रै नेताबीच व्यक्तिगत सम्बन्ध रहँदै आएको छ तर त्यसले समस्यालाई सहजभन्दा असहज बनाउन बढी भूमिका खेलेको छ। त्यसकारण जबसम्म नेपालका दलहरुको संस्थागत तहमा भारतका दलहरुसँग संस्थागत सम्बन्ध बन्दैन त्यसलाई राजनीतिक सम्बन्ध भनिँदैन, मानिँदैन। एकतर्फीरूपमा मोदीको तर्फबाट गर्न खोजिएको विगतको गल्तीको 'कोर्स करेक्सन' गर्ने अर्थमा मात्र १७ वर्षपछि हुन लागेको वर्तमान भ्रमण सीमित छ। हो, हामीले पनि विगतको गल्तीलाई मूल्यांकन गर्दै हाम्रो हितमा भारतसँग 'डिल गर्न हुने र नहुने' विषयको छनोट गर्नु र भारतीय पक्षसँग सम्पूर्ण प्राविधिक तथा नीतिगत तयारीका साथ प्रस्तुत हुन भने जरुरी छ। 
म्ाोदी र वामपन्थ सम्बन्ध 
गत हप्ता नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले गृह मन्त्री बामदेव गौतमलाई करिब एक घण्टा कुराए पनि निर्धारित समयमा भेटवार्ता हुन सकेन। झ्वाट्ट हेर्दा यो एउटा प्राविधिक विषयजस्तो देखिए तापनि वास्तवमा यो कुनै प्राविधिक विषय थिएन। एक जना जिम्मेवार भारतीय मन्त्रीले अन्जानमा नै त्यस्तो गल्ती गरे भनेर कूटनीतिक मर्यादा बुझेका कसैले पनि पत्याउँछ जस्तो मलाई लाग्दैन। त्यसबाट दिन खोजिएको सन्देश प्रष्ट थियो। अर्थात महाकाली सन्धिको विरोधबाट पार्टी जन्माएका बामदेव गौतममार्फत नेपालका कम्युनिष्टहरुलाई केही नभनीकनै केही कुरा भन्नु थियो। भाजपाले नेपालका वामपन्थीहरुलाई कसरी हेर्छ भनेर बुझ्न यही घटना हेरे पनि पुग्छ। मोदी र कम्युनिष्टको सम्बन्ध पक्कै पनि सुमधुर हुन सक्तैन भन्ने संकेतका रूपमा वामपन्थीहरुले यो घटनालाई लिँदा हुन्छ।
कट्टर हिन्दुवादी मोदीको भ्रमणलाई बहुसंख्यक हिन्दु धर्मावलम्वी तथा सत्तामा पनि हिन्दु बाहुल्य प्रभुत्वका कारण नेपालले उत्साहपूर्वक स्वागत गर्न आतुर रहनु स्वाभाविकै मानिएला तर भारतीय प्रधान मन्त्रीको भ्रमणबारे केही अतिवामहरुकोे कर्मकाण्डी विरोधको झिनो स्वरबाहेक अन्य 'वाम' हरुको कुनै प्रतिक्रिया सुनिएन। बरु उनीहरुले पनि मोदी उत्साहको स्वरमा स्वर मिलाउँदै उनको समृद्धिको कायापलटबाट ज्यादै प्रभावित बनेको देखियो। तर मोदीको आगमन र उनको भारतीय कम्युनिष्टप्रतिको प्रारम्भिक प्रतिक्रिया हेर्ने हो भने नेपालका कम्युनिष्टहरु पनि खासै उत्साहित हुनुपर्ने देखिन्न। 
भारतीय निर्वाचनमा अत्याधिक बहुमत हासिल गरिसकेपछि उनले भारतको सबैभन्दा खतरनाक इलाका 'माओवादी इलाका' र ठूलो खतरा पनि 'माओवादी' नै रहेको बताएका थिए। र, सबैलाई थाहा छ, आजको भारतका लागि 'माओवादी खतरा' ज्यादै सामान्य खतरा हो। तर कथित माओवादी इलाकामा बस्ने आदिवासी/जनजातिलाई त्यहाँबाट विस्थापित गर्नका लागि भारतको कर्पोरेट जगतले दिएको दबाब नै भारतीय शासकको मूल खतरा हो। माओवादी दमनको सहाराबिना उक्त आदिवासी इलाका खाली गराउन सम्भव छैन। मोदी विजयमा देखिएको भारतीय कर्पोरेट लगानीले पनि यो तथ्यलाई पुष्टि गर्छ। फैलँदै गएको भारतीय उद्योगका लागि चाहिने कच्चा पदार्थका लागि आजको भारतको कर्पोरेट जगत कथित माओवादी इलाकाप्रति अत्यधिक आकर्षित छ। माओवादी दमनको बहानामा त्यसमाथि आधिपत्य कायम गर्ने होडमा लागेको कर्पोरेट जगतले राजनीतिलाई अत्यधिक प्रभावित तुल्याउँदै आएको छ। 
आदिवासी बाहुल्य क्षेत्रमा नै सबैभन्दा बढी खनिज पदार्थको बाहुल्यता पनि छ तर उक्त जमिन अधिकरण गरेर निजी क्षेत्रलाई दिन भारतको पञ्चायती ऐनले अवरोध सिर्जना गर्छ। त्यसकारण उनीहरुले विभिन्न माफियालाई गैरकानुनी तरिकाले उत्खनन्को अधिकार दिन्छन्। कांग्रेस सरकारको पालामा पनि कर्पोरेट जगतको दबाब माओवादी सफायाका नाममा उक्त क्षेत्र खाली गराउने उद्देश्यमा केन्द्रित थियो। तर कांग्रेस पार्टीभित्र देखिएको माओवादी समस्या 'वार्ताद्वारा हल गर्ने वा दमनद्वारा' भन्ने विषयमा निरन्तर रहेको विवादले भारतीय कर्पोरेट जगत कांग्रेससँग रुष्ट बनेको थियो। अनुदार छवि र गुजरात विकास मोडेलका नायकका रूपमा चर्चा कमाएका मोदीलाई भारतको कर्पोरेट जगतले अगाडि सार्नुको मुख्य कारण यही हो। र, मोदीको चुनावी भाषणमा हिन्दुत्वको गन्ध नआउनुको अधिप्राय पनि यही थियो।
भारतमा मोदी मोडेलको विकासका लक्षण देखिएछन् भने पनि त्यहाँका कम्युनिष्टहरुका लागि मोदी उदार हुने सम्भावना छैन। त्यसको प्रत्यक्ष असर नेपालको वामपन्थी जगतमा पनि देखिनेछ। माओवादी कट्टरताको तुलनामा अन्य वामपन्थी दलहरुसँग अहिले केही उदार देखिए पनि माओवादीसँगको हिसाबकिताब दुरुस्त पारेपछि अन्य वाम शक्तिसँग पनि मोदीको दृष्टिकोण अनुदार नै रहनेछ। नेपालको आर्थिक विकासको हिसाबले मोदी र नेपाल–भारत सम्बन्ध कस्तो हुनेछ भनेर अहिल्यै यकिन गर्न सकिन्न तर मोदी र नेपालका कम्युनिष्टहरुको सम्बन्ध सौहार्द्ध हुने छैन भन्ने कुराचाहिँ अहिले नै यकिनसाथ भन्न सकिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस