राज्यकै ‘भागबन्डा’
०२ भदौ २०७१
•
१८ मिनेट पाठ
राज्यकै ‘भागबन्डा’
‘अंशबन्डा' नेपाली समाजमा प्रचलित शब्द हो। खासगरी पैतृक सम्पत्तिलाई अंशबन्डा गरेर भाग लगाइन्छ। अंशियार भद्र भए वा लोभीपापी भएनन् भने तिनले पुर्ख्यौली सम्पत्ति बाँडफाँट गर्दा दुनियाँ हसाउँदैनन् । तर त्यस्तो कमै देखिएको छ।पुर्ख्यौली सम्पत्तिका विाषयमा परिवारका सदस्यबीच भएका झगडाले अदालतमा मुद्दाका चाङ लागेका छन्। न्यायाधीश र वकिलको पेसा त्यसैबाट चलेको भान हुन्छ।
प्राकृतिक स्रोत र सम्पत्तिमाथिको हकदाबी नेपाली समाज नयाँ चरणमा प्रवेश गरेको छ। युगौंदेखि अंश पाउन वञ्चित महिला अब हकदाबीका नयाँ पात्र भएर अगाडि आएका छन्। आदिवासी र जनजातिले पनि आफूले संरक्षित र सुरक्षित राखेको प्राकृतिक स्रोतको उपभोगमा हकदाबी गर्नु स्वाभाविकै हो। राज्यले महिला र पुरुषबीचको विभेद अन्त्य गरी कल्याणकारी राज्यको मान्यतामा अग्रसर हुनुपर्ने परिस्थिति निर्माण भएको छ। महिलाको सम्पत्तिमाथिको हकदाबीले समाजमा हलचल ल्याएको छ। यस्तो हलचलमा पुराना मान्यता र सिद्धान्त थोत्रा र काम नलाग्ने भएका छन्। फलस्वरूप, नयाँ सिद्धान्त अगाडि आउने तरखरमा छन् अंशबन्डाका सन्दर्भमा। 
सम्पत्तिमाथिको हकदाबी गर्ने कानुनी र सामाजिक व्यवस्था राज्यको नीति नियमबाट बाँधिएका छन्। सबै नागरिकले त्यसमा समानभाव राख्छन्, राख्नुपर्छ। पैतृक सम्पत्ति सामाजिक चलन र कानुनी विधिअनुसार वितरण गरिन्छ। सामाजिक चलनबाट सबै कार्य पूरा गरी कानुनी स्विकृति लिँदा परिवारको मात्र होइन समाजको सामाजिक पुँजी पनि वृद्धि हुन्छ तर कानुनी उपचारबाट हुने छिनोफानोमा भने पहिला परिवार टुक्रिन्छ, अनि सम्बन्धहरू बिग्रन्छन् र अन्तत पैतृक सम्पत्तिको ठुलो अंश वैध अवैध किसिमले बिचौलिया, वकिल र न्यायकर्मीको खल्तीमा पुग्नेगर्छ। 
परिवारको अंशबन्डा खासै सार्वजनिक चासोको विषय हुँदैन। परिवार, तिनका आफन्त र छरछिमेकमा मात्र त्यसको चासो सीमित रहन्छ। यद्यपि, त्यसको प्रभाव भावि पुस्तासम्म पनि परिरहन्छ र समाज विखण्डन र सर्वनाशको कारण पनि बन्न जान्छ। जस्तो कुरु र यदुवंशका बीचमा भयो र महाभारत युद्धपछि दुवै वंशको सर्वनाश भयो।
अंशबन्डा नेपाली समाजको चल्दैआएको चलन भए पनि त्यस्तै अर्थराख्ने अर्को शब्द ‘भागबन्डा' नेपाली समाजमा केही दशक यता विकृतिसहितस्थापित भएको छ। भागबन्डा नेपालमा दलका नेताहरूबीच भइरहेको छ। यस्तो भागबन्डा पैतृक सम्पतिको भए त सार्वजनिक चासोको विषय नै हुने थिएन। तर राज्यको ढुकुटी र स्रोत र साधनको भागबन्डा गरिँदा भने जनस्तरमा छलफल र बहस हुन्छ। र त्यो स्वीकार्य र अस्वीकार्य हुन्छ। राज्यलाई कर तिर्नेले खर्चबारे चासो राख्नु स्वाभाविक पनि हो। विश्वका सबै क्रान्तिको पृष्ठभूमि यही छ। बेलायतको गौरवमय क्रान्तिदेखि, अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सेली क्रान्ति र बोल्सविक क्रान्ति सबै क्रान्तिको पृष्ठभूमि राज्यकोे स्रोतसाधनको परिचालन सही ढंगबाट नहुँदा जनता आन्दोलनमा उत्रिएका हुन्। इतिहासले सिकाएको यही हो। 
लाग्छ, अब ‘भागबन्डा' शब्दको अर्थमा ‘राजनीतिक दलका नेताहरूबाट वितरण गरिने राज्यको ढुकुटी र पद' भनेर नेपाली शब्दकोषमा लेखिनेछ। पंचायतको तत्कालीन उग्र युवा जमातले लिच्छवी कालदेखि अत्यन्त उच्च मर्यादा पाएको ‘मण्डल' शब्द नै विकृत पारे। अहिले नेपाली बृहत् शब्दकोषमा ‘मण्डल' शब्दको त्यही बिग्रेको अर्थ पनि भेटिन्छ। 
‘भागबन्डा'मा नागरिकको पहुँच हुँदैन, छैन। त्यसैले सामान्य नागरिक पहिरोमा पुरिँदा, नदीले बगाउँदा, प्राथमिक उपचार नपाएर मर्न बाध्य हुँदा पनि सरकार संवेदनशील हुँदैन। तर, जस्को पहुँच छ त्यसलाई तुरुन्त मन्त्रिपरिषद्ले निर्णय गरी सामान्य उपचारका लागि पनि लन्डन, अमेरिका र भारत पठाइन्छ करोडौं रुपियाँ खर्चेर। भर्खरै एमाले नेता झलनाथ खनाललाई शरीरमा ‘भिडामिन डी' अभाव भएकाले लन्डन लग्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भयो। यो महंगो परीक्षण सबै नेपालीले गर्नै संभव छैन। सिद्धि पोली क्लिनिकमा यसको जाँच गर्नै ५ हजार लाग्छ। अनि औषधि खर्च पनि त्यत्तिकै पर्छ। तर के अनुमान गर्न सकिन्छ भने जाँच गरेर हेरे काठमाडौंको आधा जनसंख्यामा ‘भिटामिन डी'को कमी देखिने छ। किनभने यस सहरको बसोवास नै भिटामिन डी कम हुने प्रकारको छ। घामको प्रकाश नछिर्ने घर र छिँडीमा बस्न बाध्य सबैलाई यो रोग सहजै लाग्न सक्छ। तर राज्य सबै काठमाडौंवासीप्रति कहाँ उदार हुन्छ र? केहीप्रतिमात्र उदार भएपछि देशको ढुकुटी चन्द्रशमशेरको पालामा जस्तै शासकको निजी भएको मान्ने कि नमान्ने? 
भारतीय समाजको विश्लेषण गर्ने क्रममा गुरुचरण दास लेख्छन् – ‘ भारतमा दुईवटा समाज छ, एउटा सरकारमा पहुँच भएको र अर्को सरकारमा बिल्कुलै पहुँच नभएको।' नेपालमा गुरुचरण दासले भनेजस्तो पहुँच हुने र नहुनेको गरी दुईवटा समाजमात्र छैन एउटा ‘खास' समाज पनि छ। विशेष वर्ग पनि छ। ‘एनिमल फार्म'का लेखक जर्ज अरवेलले कम्युनिस्ट प्रणालीलाई व्यंग्य गर्दै दशकौं अगाडि लेखेका थिए ‘सबै बराबर हुन्छन् तर केही थप बराबर हुन्छन्।' अरवेलको ‘फिउ आर मोर इक्वेल' कम्युनिस्ट पार्टीको पोलिटब्युरो र महासचिवको असीमित अधिकारमाथिको व्यंग्य थियो। अहिलेको नेपालमा त्यही शैली छ तर महासचिव भने एक बथान छन्। विश्वबाट एकदलीय कम्युनिस्ट शासक प्रणाली लगभग समाप्त भयो तर नेपालमा कम्युनिस्टको ‘थप बराबर'को संस्कार भने कायमै रह्यो। 
भागबन्डाको राजनीतिले नेपाल दूषिद र प्रदूषित हुँदै गएको सबैलाई थाहा छ। त्यसबाट नेपाली समाजमा धमिरा लागेको छ। नेपालको शिक्षा प्रणाली भागबन्डाकै कारणबाट ध्वस्त भयो। विराटनगरको महेन्द्र मोरंग कलेज प्रवेश गर्दा त्यो कुनै शैक्षिक संस्था नभएर शरणार्थी शिविरजस्तो देखिन्छ। कोशी अंचल अस्पतालमा डाक्टरभन्दा बिरामीलाई निजी अस्पतालको बाटो देखाउने दलाल धेरै भेटिन्छन्। निर्माणतर्फको कुरा त लेखेरै साध्य छैन। एउटा गुटले भागबन्डाबाट बाटो बनायो भने अर्को गुटलाई त्यही बाटो एक वर्षपछि मर्मत गर्न दिइने मौखिक आश्वासनसमेत सरकारी निकायबाट पेस्कीमै बाँडिन थालेको छ। यही कारण हो बाटो, पुलजस्ता संरचना बनेसँगै बिग्रेका समाचार सामान्य भएका छन्। यो सबै भागबन्डाकै त परिणाम हो। अनि यस्तो दूषित भागबन्डा रोक्न संविधान चाहिन्छ कि राज्य संचालन गर्ने इच्छाशक्ति? 
मुलुकलाई द्वन्द्वबाट राजनीतिक सहमतिमा लिएर जाने उपायका रूपमा मात्र ‘भागबन्डा' हुनसक्नुपर्थ्यो। सहमतिको राजनीति समाज र विकासलाई अगाडि बढाउने माध्यम हुनसक्छ। जस्तो दक्षिण अफ्रिकामा भइरहेको छ। तर सामाजिक पूर्वाधार निर्माणदेखि मसानघाटमा लास जलाउनसम्म भागबन्डा गर्नुपर्ने परिस्थिति आउँदा संविधान सभाबाट संविधान निर्माण भए पनि समाज र देश निर्माण गर्न सम्भव हुनेछैन। यस्तो भागबन्डा नेपाली संस्कृति, सभ्यता र आदर्शविपरीत थियो केही दशक अगाडिसम्म। अब यो नेपाली समाजको धमिरा भएको छ, क्यान्सर भएको छ। 
भागबन्डाको राजनीतिक पृष्ठभूमि निर्माण २०४६ सालको संविधान निर्माणको समयबाट भएको जानिफकार मान्छन्। अढाइ दशकअगाडि प्रजातन्त्र पूनर्स्थापना भएपछि विश्वनाथ उपाध्यायको नेतृत्वमा बनेको संविधान निर्माण समितिमा कांग्रेस, एमाले र राजावादीबीच संविधान निर्माणका लागि सदस्य नियुक्त गर्दा भागबन्डा भयो। पार्टी कार्यकर्ताले संविधान निर्माणको जिम्मेवारी पाए। संविधान निर्माणमा ती पार्टी कार्यकर्ताको योगदान र भूमिका कस्तो रह्यो भन्ने भने कहिल्यै सार्वजनिक भएन। सबैभन्दा दुर्भाग्य विश्वनाथ उपाध्यायले संविधान निर्माणको समय आफ्ना ती सदस्यले खेलेको भूमिकाबारे संस्मरणसम्म पनि कतै लेखेर जान चाहेनन्। उपाध्यायले संविधान निर्माणमा भागबन्डाको सिद्धान्तले के कस्तो भूमिका खेल्यो र प्रभाव पार्योर भनी नेपाली समाजबीच खुलासा गरिदिएको भए प्रारम्भबाटै भागबन्डालाई निरुत्साहित गर्न सजिलो हुनसक्थो कि? 
नेताहरू बिरामी हुँदा केही सुस्त र गतिहीन भए पनि देश बिग्री हाल्दैन। अटल विहारी वाजपेयी बिरामी र सुस्त भएर पनि भारतलाई आधुनिक राष्ट्र निर्माणको जग हाल्न सके। त्यस्तै नेल्सन मन्डेलाको जीर्ण शरीरले दक्षिण अफ्रिकामा उनको योगदान कम भएन। ती नेता आफ्नो उपचारमा समय खर्चन्थे तर आफूमातहतका मन्त्री र कर्मचारीबाट काम लिन सिपालु थिए। नागरिक समाज र जनसाधारणसँग तिनको संवाद अद्वितीय थियो। नेपालका प्रधानमन्त्री सुशील कोइरालाबाट भने अरूसँग काम लिन नचाहने र जनतासँगको संवादलाई बेवास्ता गर्ने त्रुटि भइरहेको देखिएको छ। कोइराला जति थाकित छन् त्यसभन्दा धेरै थकित र इच्छाशक्तिहीन देखिन्छ उनको मन्त्रिपरिषद् र कर्मचारीतन्त्र। 
हो, देश बोक्ने नेताको काँधले नै अरूको सहारा खोज्ने अवस्था जनताले देख्दा टीकाटिप्पणी हुनु अस्वाभाविक होइन। तर जनताको त्यस्तो नकारात्मक सोचलाई सकारात्मक सोचमा परिवर्तन गर्ने जिम्मेवारी सरकारको हो। सरकारका लागि सकारात्मक सोचमात्र पर्याप्त हुँदैन क्रियाशीलता पनि जरुरी हुन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै भाषणबाट दशकौंदेखि संशयमा रहेको नेपाल–भारत सम्बन्धलाई सकारात्मक दिशा दिए। प्रधानमन्त्री सुशील कोइरालाले भागबन्डाको एउटा तह निर्धारण गर्नमात्र सके पनि नेपाली जनताले उनलाई स्याबासी दिनेछन्। 
खासगरी शिक्षा र स्वास्थमा ‘भागबन्डा'को अपसंस्कृतिले धेरै नराम्रो असर गरेको छ। यो दुई क्षेत्रको संचालनमा सरकार र निजी क्षेत्रबीच सहकार्य नगरी अब सुधार सम्भव छैन। शैक्षिक र स्वास्थ क्षेत्रमा नियुक्ति, सरुवा, बढुवा , संचालन र जवाफदेहीमा सरकारले आफ्नो हस्तक्षेप त्यागेर स्वतन्त्र आयोगमार्फत काम कारबाही अगाडि बढाउन सक्नुपर्छ। शिक्षा र स्वास्थ मंत्रालयलाई गाभेर मानव संशाधन मंत्रालय बनाउन सकिन्छ। यी दुवै क्षेत्रलाई दल र सरकारको भागबन्डाको अतिक्रमणबाट जोगाउन मात्र सकेमात्र अब यिनको औचित्य स्थापित गर्न सम्भव छ। अन्यथा, अर्बौं खर्चेर सामाजिक पूर्वाधार निर्माण गर्ने सरकारको प्रयाश निरर्थक हुनेछ, भइरहेको छ। भागबन्डाको अपसंस्कारका कारण विराटनगरको महेन्द्रमोरंग कलेज शरणार्थी शिविरजस्तो भए झैँ देशको सबैभन्दा पुरानो त्रिचन्द्र कलेज बलिरहने छ। फलस्वरूप, देश पिल्सिने र पोलिने क्रम निरन्तर हुनेछ।
धेरै समय सत्ता र त्यसको आसपास रहँदा व्यक्तिको जोस जाँगरमात्र भुत्ते र कामचलाउ हुने होइन इच्छाशक्ति पनि कमजोर र प्रभावहीन हुन्छ भन्ने मनोविज्ञानको मान्यता छ। जस्तो अहिले कांग्रेसबाट मन्त्रिपरिषद्मा गएका दिग्गज मंत्रीहरू प्रभावकारी भएनन् भन्ने गुनासो सांसदहरूबाट सुनिन्छ। सांसदमात्र होइन जनताले पनि काम गर्लान् कि भन्ने अपेक्षा गरेका मंत्रीहरू जागिरेजस्ता भएका छन्। संविधान निर्माणमा, सुशासनमा र भागबन्डाको राजनीतिलाई निरुत्साहित गर्नेजस्ता कुनै काममा तिनको सक्रियता देखिएको छैन।
दोस्रो विश्वयुद्धपछि शान्तिको लागि बसेको एउटा सभामा बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलका यी कथन स्मरणीय छन्। चर्चिलले भनेका थिए – हामी तिनै पुराना मान्छे हौँ जस्ले युद्ध गर्यौँ्। केही वर्षअगाडि युद्धको छलफल र जित्ने रणनीति तयार गर्थ्यौँ। हामीले सहर र गाउँका संरचना, विरोधिको सेना र जनताको संहार गरेर युद्ध जित्यौँ। अब हामी मानवताका कुरा गर्दैछौँ। अनि युरोप र विश्वको नयाँ संरचना तयारीको खाका कोर्र्दैछौँ। के हाम्रो मानसिक क्षमता यी दुवै कार्य गर्न समर्थ भएको विश्व सामु प्रमाणित गर्न सक्छौँ?
नेपालका नेताहरूले चर्चिलले आठ दशकअगाडि गरेको आत्मसमीक्षाको प्रसंग सम्झने बेला आएको छ। नेताहरूलाई इतिहासले ‘पटकपटक असफल' भनेर उल्लेख गर्नु नपरोस् भन्ने हेक्का रहोस्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस