जीपी कोइरालाका नाउँमा
२७ कार्तिक २०६६
•
१३ मिनेट पाठ
जीपी कोइरालाका नाउँमा
सन्मान्य गिरिजाबाबु,




जय नेपाल।

शिशुमानव कालक्रममा जवान हुन्छ, जवान बृद्ध हुन्छ र बृद्ध महाविश्रामको अगोचर यात्रामा विलीन हुन्छ। मर्त्यलोकका तपाईँको, मेरो र सबैको साझा नियति यही हो। यो जीवनको एक शाश्वत सत्य हो। तर, दैहिक अवसान मानव जीवनको मारिमेटी अन्त्य भने होइन। दैहिक अवसानपछि पनि इहलोकमा जीवनको निरन्तरता रहिरहन्छ। त्यो रहन्छ इतिहासका पानामा र जनजनको स्मृति-शृङ्खलामा। उदात्त जीवनको प्राप्तिप्रति समर्पित सङ्घर्षमय दीर्घयात्रा छिचोलेर तपाईँ आफ्नो जीवनको गोधूली साँझतिर पुग्नुभएको छ। यो क्षणमा निकट अतीतका ऐतिहासिक घटनाको ऐनामा तपाईँलाई हेर्न र तपाईँछेउ केही आग्रह गर्न मलाई रहर लाग्यो। केही उचनीच भए कृपया क्षमा गर्नुहुनेछ।

आफ्नो निरङ्कुश आकाङ्क्षालाई तृप्त गर्न ज्ञानेन्द्र शाहले सैन्य बलको सहाराले जब बलात् शासनको बागडोर हातमा लिए, त्यसको उग्र अस्वीकृतिमा तपाईँ, म र अरु धेरै मुक्तिकामी नागरिकहरू रत्नपार्कमा हातेमालो गरी छाती थापेर उभियौँ। इतिहासको त्यो सङ्कटकालमा आफ्नो पृष्ठभूमि, वरीयता, कद र स्थानका कारण तपाईँ राजनीतिका सबै मत र पथका सर्वमान्य नेता हुनुहुन्थ्यो। तपाईँ त्यो देउराली हुनुहुन्थ्यो, जसलाई हेरेर शाही तानाशाही विरोधी हामी सबैले आशीर्वाद, प्रेरणा, ऊर्जा र साहस प्राप्त गरेका थियौँ। धुम्म परेको जाडो याममा त्रू्कर शाहीतन्त्रले फोहोर पानीको फोहराको निर्मम प्रहारले तपाईँलाई हावामा उडाउँदा म एक सहयात्री, साक्षी र संस्मरणकर्ताका रूपमा तपाईँको छेवैमा उभिएको थिएँ। स्वतन्त्रता र मुक्तिका लागि जोखिमको महान् यज्ञमा समर्पित त्यो क्षणको सम्झना गर्दा मलाई सधैँ गौरवबोध हुन्छ, र तपाईँको प्रखर व्यक्ति-विम्ब मेरो मानसमा झनै प्रदीप्त हुन्छ।

गिरिजाबाबु! त्यस उप्रान्त नेपाली इतिहासमा थुप्रै कीर्तिमानी घटनाको रचना भयो। बाह्र बुँदे समझदारी नामक एक फराकिलो चौतारी बन्यो, जहाँ बसेको बहुपक्षीय कचहरीले राजा बोक्ने नेपालीले राजालाई बिसाउने र बन्दुक बोक्ने नेपालीले बन्दुक बिसाउने मतो गर्‍यो। र, नेपालको इतिहासमा पहिलो पटक वृहत्तर राजनीतिक एकता बन्यो, जसको जनआन्दोलनकारी आवेग, शक्ति र सौर्यको योगले नेपाली जीवनमाथि सुमेरु पर्वततुल्य बोझ बनेको राजतन्त्रलाई नामेट पारिदियो। परिवर्तनको मनोहारी लहरमा लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी सङ्घीय गणराज्य र नयाँ राष्ट्रिय गानको उद्घोष भयो। यी घटना भावी न्यायपूर्ण, शान्त, समृद्ध र अखण्डित नेपाललाई चिहाएर हेर्ने सुन्दर ‰याल हुन्। यी ‰यालका कणकणमा तपाईँको सद्विवेक, जोखिमपूर्ण यत्न, निर्णयकारी संकल्प र सार्थक संयोजनको स्मरणीय छाप छ।

गिरिजाबाबु! उद्घोष गरिएका नेपाली समाजका बहुआयामिक द्वन्द्वलाई समन गर्ने यी अग्रगामी सङ्कल्पहरू विधिवत्रूपले संस्थागत भएमा नेपाली इतिहासमा तपाईँको छवि जाज्वल्यमान् आभा-मण्डलसहित अङ्कित हुनेछ। तर, शान्ति-प्रक्रियाको बीच बाटोमै यी संकल्प मेटिएमा इतिहासमा तपाईँले पाउने स्थान खलपात्रको हुने निश्चित् छ। यसर्थ शान्ति प्रक्रियाको नियतिसित तपाईँको निजी र संस्थागत सुकीर्ति अभिन्नरूपले गाँसिएको छ।

तर दुर्भाग्यवश, यी संकल्पहरू दक्षिणपन्थी धरापमा पर्न लागेको विद्रूप यथार्थ हाम्रासामु उजागर भइरहेछ। म यहाँ गिरिजाबाबुछेउ मूलतः नेपाली कांग्रेसको भूमिकाबारे नै निवेदन गरुँ। जब तपाईँले प्रचलित कांग्रेसी शब्दमा 'कम दुःख पाएकी' छोरीलाई टीका लगाएर सत्तारोहण गर्ने भर्‍याङ बनाइदिनुभयो, 'धेरै दुःख पाएका' कांग्रेसी त्यो टीका थाप्न नपाएर हुनुसम्म क्षुव्ध भए। उत्तेजित प्रतिक्रियास्वरूप तिनले सभापतीय व्यक्तिगत प्रणालीलाई विसर्जन गरी निर्वाचकीय चयनमुखी सामूहिक प्रणालीको ध्वजा उचाले। तिनले तपाईँको सनातनी आग्रहलाई उपेक्षा गरी तपाईँको हाकाहाकी अवज्ञा गरे। जे होस्, पुत्रीमोहबाट प्रेरित तपाईँको नकारात्मक निर्णयको वृक्षमा सकारात्मक फल फल्ने लक्षण दृष्टिगोचर भयो। र, नेपाली कांग्रेस आफ्नो संरचना, कार्यशैली र संस्कृतिमा साँच्ची नै लोकतान्त्रिक बन्ने अभ्यास आरम्भ भएझैँ लाग्यो। तर विडम्वना, लोकतान्त्रिक मूल्य प्रणालीको यति चर्को स्वरमा वकालत गर्ने कांग्रेसी जमात शान्ति प्रक्रियालाई नै तिलाञ्जली दिने गरी दक्षिणपन्थतर्फ ढल्केको अतिशय अरुचिकर दृश्य सतहमा उत्रिरहेको छ। मलाई लाग्छ, यहाँ छवटामात्र कारणको उल्लेख गर्नु यथेष्ट हुनेछ। एक, कांग्रेसी जमात सेना समायोजन व्यवस्थापनसम्बन्धी बृहत् शान्ति सम्झौतामा राजीखुसीले गरिएका वाचा कबोलबाट पन्छिन जिद्दी गरिरहेको छ। दुई, ऊ संसद्द्वारा निर्वाचित राष्ट्रपतिलाई राजालाई झैँ जन्मदातृ संसद्भन्दा माथि राख्ने धृष्टता गरी माओवादीसँगको असमझदारी र द्वन्द्वका जरामा मलजल गर्नतर्फ प्रवृत्त छ। तीन, ऊ गाईजात्राझैँ प्रतीत हुने माधव सरकारलाई आफ्नो बर्कत बुताले भ्याएसम्म बोकिरहन अभिशप्त छ। चार, कांग्रेसी महलको कुनै कोणबाट आफ्नो घर पनि नबनाउने, अर्काको घर बन्न पनि नदिने बाँदरे प्रवृत्तिको झल्को दिँदै नेपालीको भाग्य लेख्ने संविधानसभारूपी साझा घर भत्काएर सैन्यबलको छायाँमुनि कुनै गोप्य दूलोमा यथास्थितिमुखी संविधान लेख्ने कुत्सित अभिप्रायसमेत प्रकट भइसकेको छ। पाँच, आफ्ना यी यावत् आग्रहलाई मूर्तरूप दिन माओवादीका कतिपय वास्तविक र कतिपय कल्पित दुर्बलतालाई अतिरञ्जित र भ्रान्तिकारीरूपमा चित्रण गर्ने द्वन्द्वकारी अभियान जारी छ। छ, आफ्नो निहित स्वार्थसित बा‰ने कुनै पनि पक्षको कुनै पनि कथन वा धारणाप्रति ऊ हदैसम्म असहिष्णु देखिन थालेको छ। आइसीजे, कार्टर फाउन्डेसन, एसडी मुनी, वान की मुन र नागरिक आन्दोलन यस तथ्यका केही दृष्टान्त हुन्। आश्चर्य त के छ भने यीमध्ये अधिकांश आग्रहमा कांग्रेसभित्रका हिजोका शिशु सम्राटमार्गी, अमूर्त मध्यमार्गी र मुखर परिवर्तनकामी सबै तत्वको लगभग मतैक्य छ। मानौँ तिनका बीचका वैचारिक पृथक्ताका सबै लछुमन रेखा विलुप्त भइसके।

गिरिजाबाबु! नेपाल अधुरा आदर्श सपना प्रदूषित भएको भयंकर विरोधाभाषी अवस्थामा छ। राजतन्त्र गयो र हामीले त्यत्रो हर्षबढाइँ गर्‍यौँ। तर, अठार दलको प्रेरणा र प्रोत्साहनमा गणतन्त्रका प्रथम राष्ट्रपतिको भेषमा नवनरेशको उदय हुनसक्ने विद्रूप यथार्थको भूतले हामीलाई पलप्रतिपल तर्साइरहेछ। लोकतान्त्रिक गणतन्त्रको सुन्दर अलंकार पहिराइएको नेपाल राज्यका सबै निकायको संरचना, शैली र संस्कृति उही सामन्ती राजतन्त्रकालीन छ। विभेद र शोषणकारी सम्पति सम्बन्धमा तीलको दानोजति पनि परिवर्तन भएको छैन। विविध नेपाली समुदायका अवसर, पहुँच, भाषा र संस्कृतिसम्बन्धी आकांक्षा अलपत्र पर्ने त्रास बढेको छ। र, यसबीच यथास्थितिमा आफ्नो सनातनी स्वर्गको रक्षा भएको देख्न चाहने तत्व कतै मुखर र कतै प्रच्छन्नरूपमा शान्ति प्रक्रिया र परिवर्तनका एजेन्डाविरुद्ध विष वमन गर्दै छाती तन्काएर उभिएका छन्। नेपाल मङ्गलमय शान्तितिर लाग्ने हो कि फेरि कोलाहलमय युद्धमै फर्किने हो? यो सन्तापकारी प्रश्न अनुत्तरित छ।

गिरिजाबाबु! तपाईँ नेपाली राजनीति र कूटनीतिको मक्का-मदिनासरह हुनुहुन्छ। चालु, जटिल एवं नितान्त प्रयोगशील राजनीतिमा यस घडीसम्म जे जति सहमति, उद्घोष र परिवर्तन भए, त्यो समग्र प्रक्रियामा तपाईँको अभिभावकीय उपस्थिति, तपाईँको अग्रसरता र तपाईँको सहजीकरणको योगदान, मलाई लाग्छ, सदैव स्तुत्य छ। अहिले गठबन्धनकारी बाइस दल र प्रतिपक्षी एकीकृत नेकपा (माओवादी)माझ विमति र अविश्वासको भयावह खाडल उत्पन्न भएको छ। यो यस्तो विकराल खाडल हो, जहाँबाट कुनै पनि बेला सर्वनाशी युद्धको आगो हुर्हुरी बल्न बेर छैन। विमति र अविश्वासको यो खाडल पुर्न प्रभावकारी भूमिका खेल्नसक्ने व्यक्तित्व, ओज र प्रभावकारिता कसैमा छ भने गिरिजाबाबुमै होला। जीवनको यो गोधुली साँझमा एकीकृत र अखण्डित नेपाल , लोकतान्त्रिक गणतन्त्र र शान्ति तथा सामाजिक न्याय र समृद्धिसिवाय गिरिजाबाबुको अर्को कुनै स्वार्थ बाँकी होला र? वुद्धिमान् मानवले मौकामा हीरा पनि फोर्छ भन्ने लोकोक्तिलाई चरितार्थ गर्ने अवसर तपाईँसामु छ। जीवन दोहोर्‍याएर बाँच्न पाइँदैन र मौका कसैलाई पर्खँदैन। किमधिकम्?

यहाँको शीघ्र आरोग्यको मङ्गलकामनासहित।

जय नेपाल।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस