पशुपतिनाथ मन्दिरको प्राङ्गणमा धेरैथरीका भक्त देखिन्छन्। कोही जाडो याममा लाजमात्र ढाकेर खुला स्थानमा नांगै बसेर भक्ति देखाइरहेका हुन्छन् भने कोही हनुमानको मुखौटो पहिरेर भक्तिभावको प्रतिस्पर्धामा कस्सिएर भाग लिइरहेका हुन्छन्।
कतिपय भक्त साउन महिनामा 'बोल बम' नारा लगाउँदै सुन्तला रंगको कपडामा देशभर र भारतबाट समेत ओइरिन्छन् भने कोही धेरै टाढादेखि भुइँमा लम्पसार पर्दै भगवानलाई प्रणाम गर्दै शरीरले नै सडक नापेरै पशुपतिका अघि 'माथा' टेक्न आइपुग्छन्। कोही मन्दिर प्रांगणमा लाख बत्ती बालेर भक्तिलाई ज्योतिपुञ्जबाट प्रकाश पारिरहेका हुन्छन् भने कोही हजारौं रुपैयाँको पूजा गरेर भगवानलाई द्रव्यशक्तिबाट अर्चना गरिरहेका हुन्छन्। यी सबैको उद्देश्य भगवानले तिनको भक्ति र समर्पण बुझेर सुख, शान्ति र समृद्धि देउन् भन्ने नै हुनुपर्छ। भगवानले यिनको पुकारा सुन्छन् वा सुन्दैनन् भन्ने त कसैलाई केही थाहा हुँदैन तर कोही पनि आफूले गरेको भक्तिमा प्रश्न उठेको मन पराउँदैन। ऊ भक्ति गरिरहन्छ, एक तमासले, धेरै अवस्थामा टिठलाग्दो गरेर।व्यक्तिपिच्छे भगवानसँगको 'हट लाइन' फरकफरक होला। त्यसैले भगवानको भक्तिमा देखाइएको चित्त, भाव र व्यवहारमा प्रश्न गर्नु अस्वाभाविक मानिन्छ। तर त्यस्तै भक्ति कुनै अर्को देशका लागि देखाउँदा भने हास्यास्पद र लाजमर्दो हुन्छ। नेपालको भारत र चीनसँगको सम्बन्धमा यस्तै अन्धभक्तहरूको बोलबाला छ। यिनै अन्धभक्तका कारणले कूटनीतिक वृत्तमा नेपालको छवि धमिलिँदै गएको छ।
नेपाली भनेर चिनिने तर आफ्नो देशको भन्दा चीन वा भारत हित सम्बर्द्धन गर्न पाएकोमा आफ्नो जन्म सार्थक भएको ठान्नेहरूको चरित्र देख्दा भारतीय र चिनियाँ कूटनितिज्ञ, कर्मचारीतन्त्र र राजनीतिकर्मी आफँै आश्चर्यमा पर्दा हुन्। हुनत, यस्तै भक्तिभाव अमेरिकी, बेलायती, नर्वेली, जर्मन र अन्य दाता राष्ट्रप्रति पनि देखाइन्छ र उनीहरू पनि यही धर्तीमा आफूलाई देवता मान्नेहरूको अन्धभक्ति र दासता भावले कायल हुन्छन्।
नेपालीको विदेशी शक्तिप्रतिको भक्तिभावले आश्चर्यमा पारेका घटना बयान गरेरै सकिँदैन। ती असाध्य छन्। तर यस्ता पनि घटना छन् जुन सम्बद्ध देशले थाहै नपाई बीचका केही अत्यन्त अतिभक्ति देखाउने दलालले निर्णय लिइरहेका हुन्छन् र नेपालको अहित भइरहेको हुन्छ। यस्तै एउटा घटनामध्ये केही वर्ष पहिले एउटा नेपाली विमान कम्पनी ताइवानबाट नेपालसम्म सिधा हवाई सम्पर्क स्थापना गर्ने उद्देश्यले अनुमतिका लागि सम्बद्ध निकायमा पुगेको थियो। उक्त निकायले ताइवानबाट नेपालमा हवाई सम्पर्क राख्न चीनको समर्थन चाहिने भन्दै उडान अनुमति पत्र रोक्यो। चीन र ताइवानका बीच सन् २००८ देखि छ दशक पुरानो हवाई शून्यता अत्य गरी हवाई यातायात सुचारु भइसकेको घटनाले पनि उसलाई छोएन। चीनका विभिन्न सहरबाट ताइवानको ताइपेई सहरमा दर्जनौ उडानबाट दैनिक हजारौं पर्यटक ओहोरदोहोर गरिरहेका छन् तर ती ताइवानी नेपाल आउन चाहिँ त्यहि चीनले दिँदैन भन्ने सोच पालियो। चीनले ताइवानसँग सिधा हवाई सेवा स्थापित गर्छ भने उसले नेपाललाई त्यसो नगर भन्ने कुनै आधार बाँकी रहँदैन। वास्तवमा उसले त्यसो भनेन पनि होला तर उग्र चीन समर्थकहरूलाई उत्तरी छिमेकीप्रति समर्पित भएको प्रमाण दिन यो अनुमति निवेदन एक राम्रो बहना भयो। नेपालको हित र नेपालको पर्यटनलाई बलि दिन तिनलाई कत्ति पनि संकोच भएन। चीनले केही बोल्दै नबोली तिनले उडान अनुमति दिएनन्।
चीनमुखी नेपालीले चीनको हित भनेर चिनियाँ पक्षलाई थाहै नभएको र उसले खासै ध्यान नदिने विषयमा समेत नेपालको अहित गरिरहेका अनगिन्ती उदाहरण छन्। झन् भारतका विषयमा त कुरै भएन। भारतमुखी नेपालीको त गणना गरेरै साध्य हुँदैन।
कुनै एउटा व्यापार चिनीया व्यापारीले सस्तोमा गर्न लाग्यो भने कोही न कोही कर्मचारी वा राजनीतिकर्मी 'भारतले मन पराउँदैन, भारतले चाहँदैन, भारतले रोक्यो' भनेर त्यसमा भाँजो हाल्न उद्यत भइहाल्छन्। पूर्व–पश्चिम राजमार्गदेखि अनेकौं जल विद्युत् परियोजनासम्म चीनले लगानी गरेको भारतले मन पराउँदैन भनेर काम बिगार्ने वा आयोजना तुहाउने अनगिन्ती कार्य भएका छन्। यस्ता कतिपय कार्यमा हाम्रा छिमेकी देशले कतै न कतै कुनै न कुनै रूपमा मनसुवा प्रदर्शन गर्छन् पनि होला। यस्तो अवस्थामा अडान लिने र छलफल गरेर आफ्नो देशको हितमा निर्णय गराउन सक्नुपर्नेमा भक्तिभावको प्रतिस्पर्धामा लागेका हनुमानले रामभक्ति देखाउन छाती चिरेझैँ परदेश भक्ति देखाउन नेपाल आमाको छातीमा घाउ लगाउन संकोच मान्दैनन्। नेपालले विदेशसँग हतियार किन्न लाग्यो भने, नेपालले सञ्चार उपकरण अन्तैबाट ल्याउन लाग्यो भने वा अरू कुनै पनि ठूलो कार्य गर्न लाग्यो भने यी भारतमुखी सुलसुले अनेकौं विवाद उत्पन्न गरेर देशको शरीरभर गरिबीको डाबर कायमै राख्न सल्बलाउँछन्।
त्यसैले नेपालको भौगोलिक अवस्थितिबाट उत्पन्न समस्या हाम्रो नियति नभएर नियतजन्य हो। विदेश सम्बन्धको विषयमा छलफल वा निर्णय गर्नुपर्ने अवस्थामा जहिले पनि केही नेपालीहरू पृथ्वीनारायण शाहले २ सय ५० वर्ष अघि व्यक्त गरेको उद्गारका आधारमा नेपाल दुई ढुंगाबीचको तरुल हो भनेर आफूलाई नियतिले ठगेको भन्छन् र उत्तरी अथवा दक्षिणी प्रभुको चरण स्पर्शमा लिप्त हुन्छन्।
नेपालीको नियतिका कारणले नभएर नियतका कारणले हो यो देशलाई अझैपनि सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा व्यवहारिक मान्यता दिएका छैनन् विश्वका शक्ति राष्ट्रले। अमेरिकी राष्ट्रपति हुन् वा रुसी सरकार प्रमुख, कोही पनि दक्षिण एसियाको भ्रमणमा आउँदा नेपाल आउन चाहँदैनन्। किन? किनभने नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा भुटानको भन्दा कमजोर हुन थालेको छ। कतिपय शक्ति राष्ट्रले हाकाहाकी नेपाललाई भारतीय 'लेन्स'ले हेर्छौं भनेर नेपालबाट राजदूतावास र भिसा दिने कार्यपनि बिस्तारै नयाँ दिल्ली सार्दा पनि हामी चुपचाप बसिरहेका छौँ।
यही सन्दर्भमा चिनिया राष्ट्रपति सी जिनपिङको भारत र दक्षिण एसिया भ्रमणलाई पनि नेपालले गंभीरतापूर्वक लिनुपर्छ। मालदिभ्सको मालेमा गएर समुद्री सिल्क रुटको विकासको संभावनामा चीनको सदिच्छा देखाउने, श्री लंकाको कोलोम्बोमा पुगेर करिब साढे एक खर्ब रुपैयाँ बराबरको व्यापारिक सहर निर्माणको कुरा अघि बढाउने सी किन नेपाल आउन रुचाएनन्? सजिलै भन्न सकिन्छ चीनका राष्ट्रपतिको भ्रमण भयो भने भारत सशंकित हुन्छ भनेर यस विषयलाई नेपाल सरकारले सशक्त ढंगले चीन सामु राख्नै सकेन। विश्वको महाशक्ति राष्ट्र बन्दै गरेको आफ्नो छिमेकी राष्ट्रका शक्तिशाली राष्ट्रपतिलाई नेपाल ल्याउन नसक्नुमा पनि अतिहनुमानी चरित्रले काम गरेको बुझिन्छ। चीनका राष्ट्रपति भारतमा गएर दुई देशबीच अनगिन्ती आयोजना र ६० अर्ब डलर बराबरको वार्षिक व्यापारको कुरा गरिरहँदा पनि उनलाई नेपाल ल्याउदा भारतको कर्के नजर हुन्छ भन्ने लाजमर्दो डरले काम गर्योग।
एकजना चीनिया कूटनितिज्ञले पंक्तिकारसँगको भेटमा भनेका थिए – चीन, नेपाल र भारतबीच त्रिपक्षीय विकास संझौता वा सहयोग संगठन खोल्ने विषयमा भारत कहिल्यै सकारात्मक हुँदैन। तर गएको चुनावपश्चात् भारतको दृष्टिकोण बदलिँदै गएको देखिएको छ। भारत नेपाललाई आफ्नो अर्धउपनिवेशको रुपमा राख्न चाहँदैन भन्ने प्रमाण उसले बिस्तारै दिनथालेको छ। नरेन्द्र मोदी सरकारले अहिलेसम्म नेपालप्रति देखाएको सद्भाव र महत्वको सदुपयोग गरेर नेपालले चीनसँगको सम्बन्धलाई पनि सँगसँगै अघि बढाउन अत्यन्त जरुरी भइसकेको छ। यही सन्दर्भमा चीनको त्रिदेशीय सहयोग संगठनको प्रस्ताव छ भने त्यसलाई ब्युँझाउँदा नेपालको आर्थिक र कूटनीतिक प्रगति हुने देखिन्छ।
कूटनीतिक वृत्तमा भारत र चीनका बीच दक्षिण एसियाको शक्ति सन्तुलन विषयमा एक गोप्य संझौता भएको प्रसंग निकै चर्चित छ। सन् २००२ मा भएको भनिएको सो संझौताअनुसार चीनले सिक्किमको कुरा नउठाउने र भारतले तिब्बत स्वतन्त्रताको कुरामा नबोल्ने सहमति भएको छ। त्यस्तै नेपाल भारतको प्रभाव क्षेत्रमा र अन्य केही देश चीनको प्रभाव क्षेत्रमा रहने विषयमा पनि सहमति भएको भनिएको छ। यी विषयमा भद्र सहमति वा लिखित संझौता भएको हो भने नेपालले आफू सम्बद्ध विषयमा जानकारी राख्नु पर्छ र त्यसलाई नेपालका हितमा हुने गरी उल्टाउने कोसिस गर्नुपर्छ। मोदी सरकार नेपालमा स्थायित्व र विकास चाहन्छ भने चीनको लगानी आउने बाटोमा भाँजो हाल्नेछैन तर यसका लागि पहल भने नेपालकै तर्फबाट हुन जरुरी छ।
अन्त्यमाः पशुपतिनाथले जसरी कुनैपनि भक्तलाई भक्ति देखाउने सही वा गलत तरिका बताउँदैनन् त्यसरी नै नेपालका दुई शक्तिशाली छिमेकीले पनि आफ्ना नेपाली भक्तहरू कस्तो धुनमा भक्ति राग अलाप्छन् भन्नेमा खासै ध्यान दिँदैनन्। त्यस्ता पथभ्रष्ट विदेशी दलाललाई चिन्ने र तिनको गलत प्रवृत्तिविरुद्ध उभिने क्षमता र इच्छाशक्ति नेपाल सरकारले हासिल गर्नुपर्छ। नेपाल आफैँले त्रिदेशीय सम्बन्धमा आफू कहाँनिर उभिने भनेर निर्णय गर्न नसकुन्जेल विदेशी 'गुलामी'मा निजी शक्ति र प्रभाव बढाउने भाटचारणहरूलाई ठीक स्थानमा राख्न सकिँदैन।