हर्षस्थानसहस्त्राणि भयस्थान शतानी च,
दिवस–दिवसे मूढमाविशंति न पंडितम्:
पत्नी आरुणीबाट जन्मिएका पुत्र शुकदेवलाई महर्षि व्यासले सम्पूर्ण महाभारत पढाई सकेपछि त्यसको सार खिच्दै माथिको श्लोक सुनाए।अर्थात् ‘अज्ञानीका लागि दिनमा हजारौं पटक हाँस्ने र सयौं पटक डराउने अवसर आउँछ तर पंडित वा ज्ञानीको अगाडि आउँदैन।' र, ज्ञानी हुनु भनेको विगतको अनुभव र सिद्धान्तको शिक्षाद्वारा वर्तमानको सही विश्लेषण गर्नसक्नु हो। नयाँ संविधान रचनाका क्रममा देखिएको नेतृत्वको अज्ञानले राजनीतिक नेतृत्वलाई मात्र होइन, सम्पूर्ण जनतालाई नै हजार पटक हाँस्ने र सयौं पटक डराउने अज्ञानी बनाइदिएको छ – महर्षि व्यासले भनेजस्तै।
मुलुकलाई कसरी संघीयकरण गर्ने भन्ने विषयले वर्षौदेखि मुलुकलाई अचम्मको अज्ञानी प्रमाणित गरिरहेको छ। सयौंको संख्यामा रहेका राजनीतिक दल र तिनका नेताको त के कुरा अलिअलि लेख्न र बोल्न जान्ने सबै नेपालीले संघीयताका विषयमा नबोलेको वा नलेखेको रहेछ भने त्यो अपवादमा पर्छ। तर यहाँ त जति धेरै बोलिदै र लेखिँदै जान्छ विषयवस्तु प्रष्ट हुनुको साटो झन् झन् जेलिदैँछ। संघीयताको विषय जेलिँदै जानुभनेको एकथरीको लागि राजनीति गर्ने अमूर्त औजार निर्माण गरिदिँदै जाने आत्मघाती रणनीति पनि हो। संघीयकरणको विषयमार्फत् गर्न खोजिएको राजनीतिले मुलुकलाई कति कमजोर बनाउँदैछ र बनाइसकेको छ भन्ने बुझाउन धेरै प्रयास आवश्यकता छैन। सामान्य नागरिकले त अझ राम्रोसँग यसलाई बुझिसकेका छन्। तै पनि किन यो विषय सदैव सहमतिबाट टाढा भाग्दै गइरहेको छ?
यसै विषयको वरिपरि फन्को लगाउँदै पहिलो संविधान सभाले मृत्युवरण गर्यो। दोस्रोको मृत्यु पनि यसै रोगबाट हुनसक्ने जोखिम देखिँदैछ। तर मुख्य दलका शीर्ष नेतृत्व भने आआफ्नो अडानलाई अझ कसिलो बनाइरहेका देखिन्छन्। सत्तासीन नेपाली कांग्रेसको तर्फबाट भर्खरै ६ वा ७ प्रदेशका दुईवटा छुट्टाछुट्टै प्रारूप प्रस्ताव गरिएपछि विवाद र धु्रवीकरणको तीव्रता बढेर गएको छ। संविधान सभामा रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले केही समयअगाडि सहमतिका लागि दस प्रदेशको खाका प्रस्तावित गरेपछि प्रतिक्रियास्वरूप काँग्रेसको वर्तमान प्रस्ताव अगाडि आएको हो। तर कांग्रेसको प्रतिक्रियात्मक प्रस्तावपछि मुलुकको संघीयकरणको विषयमा तीव्र धु्रवीकरण आरम्भ भएको छ। एकातिर यो धु्रवीकरणले शीघ्र सहमति खोज्न दबाब उत्पन्न गरेको छ भने अर्कोतिर ध्रुवीकरणको सीमामा थप लचकता आएन भने संविधान निर्माणको प्रक्रिया पनि समाप्त भएर जाने खतरा उत्पन्न भएको छ।
काँग्रेसको प्रस्तावित खाकामा नेकपा (एमाले)समेत सहमत बन्ने बलियो स्थिति देखेपछि सत्तासीन दलहरूले खाकालाई अन्य साना दलहरूसँग पनि सहमति कायम गर्ने प्रयत्नलाई तीव्रता दिइरहेका छन्। आर्थिक सामर्थ्य, प्राकृतिक स्रोत र साधन, प्रशासनिक सुगमताआदिलाई आधार मानेर प्रस्ताव गरिएको कांग्रेसको प्रस्तावलाई एमाओवादी, मधेसवादी तथा अन्य ससाना जातीय दलले अस्वीकार गरेपछि संघीयकरणको विषयमा ध्रुवीकरणले तीव्रता पाएको हो। यसरी अहिले संघीयकरणको विषयमा आर्थिक सामर्थ्य र भौतिक पूर्वाधारको एउटा ध्रुव निर्माण भएको छ भने जातीय र क्षेत्रीय पहिचानका पक्षमा अर्को ध्रुव खडा भएको छ। पहिलो ध्रुवको नेतृत्व कांग्रेसले गरेको छ भने दोस्रो ध्रुवको नेतृत्व एमाओवादीले।
राजनीतिक शक्ति र संघीयताको खाकामा देखिएको ध्रुवीकरणले सहमतिका लागि आवश्यक लचकता अपनाउन दुवै पक्षलाई दबाब परेको भए पनि एक अर्कालाई गलाउन उत्तिकै अडान प्रदर्शन भइरहेको देखिन्छ। तर संघीयतासम्बन्धी दलका अडानहरूमा तथ्यगत अन्वेषणको आधार छैन। कुनै दललाई आफँैले प्रस्तावित गरेको खाका यसकारणले वैज्ञानिक लागिरहेको छ किनभने उसको पार्टीले त्यस्तै निर्णय गरेको छ। नेपालको सन्दर्भमा संघीयताको अर्थ र महत्वबारे केही विज्ञहरुले धेरै पहिलेदेखि नै अन्वेषण गर्दै आएका थिए। नेपालमा त्यस्ता अन्वेषकका सीमित नाम छन् र मुलुकमा उनीहरूलाई धेरैले चिन्छन्। संघीयकरणको सवालमा त्यस्ता विज्ञको सहयोग लिने उदेश्यले पहिलो संविधान सभामा आयोग पनि बनाइएको थियो। तर उक्त आयोग पनि राजनीतिक दलका निजी अडानकै लाचार प्रतिविम्बमात्र बनेको थियो। आयोगको प्रतिवेदन पनि उस्तै आयो जस्तो मुख्य दलहरूको संघीय अनुहार थियो। यथार्थमा उक्त आयोग मुलुकको वास्तविकता र तथ्यको अन्वेषण गर्न नभई निजी अडानहरूलाई कथित विज्ञहरुको टोपी लगाइदिएर थप ‘वैज्ञानिकता'को छापमात्र लगाउन बनाइएको थियो। आआफ्ना दलका ‘विज्ञ'हरूको छाप लगाएर आएको प्रतिवेदन विवादरहित बन्ने कुरै थिएन।
संघीयकरणको जातीय र क्षेत्रीय आधार रोजेर ध्रुवीकरणको नेतृत्व गरिरहेको एमाओवादी वैचारिक हिसाबले सबैभन्दा संकटग्रस्त देखिन्छ। संघीयकरणको जातीय आधार उसको घोषित वैचारिक अवधारणा नभएर केवल बाध्यताको विषय बन्न गएको छ। किनभने मार्क्सवादीका लागि वर्गको समानान्तर जातीय अवधारणा प्रत्युत्पादक हुन्छ भन्नेमा क्षणिक समयको लागी एमाओवादीले आँखा चिम्लिएकोमात्र हो। जातिसम्बन्धी एउटा नियतिवादी अवधारणालाई वर्गीय अवधारणाको समानान्तर बनाउँदा जातीय विभेदमा परेका सीमान्त वर्गलाई त्यसै जातको अभिजात्यले शासन गर्ने भएकोले मार्क्सवादले वर्ग सापेक्ष जातीय समस्याको विषय उठाएको हो। तर एमाओवादीले सामाजिक रूपान्तरणका लागि परिचालन गर्नुपर्ने संगठित श्रमजीवीका स्थानमा विशेष जात/जातिलाई उभ्याउने गलत सोच अख्तियार गर्दैआएको छ। खासगरी सम्झौताद्वारा राज्यसत्ताको एउटा विशेष र निम्छरो अंग व्यवस्थापिकामा सहभागिता जनाएपछि एमाओवादीको लागि प्रगतिशील देखिने प्राकृतिक विषय बाँकी रहेनन्। वर्गीय सवालको सनातनी अडानमाथि पनि मोहन वैद्य समूहको दाबी बलियो भयो। त्यसकारण एमाओवादीका लागी ‘पहिचान' कुनै अमुक जातिको लागिभन्दा पनि आफ्नै पार्टीको पहिचानका लागि आवश्यक बनेको छ।
वर्गीय सवाल उठाएर दस वर्षसम्म सशस्त्र संघर्ष गरेको एमाओवादीले त्यो विषय छोड्नेबित्तिकै वैद्य समूहले उठाएर हिर्काएको ‘वर्गीय ढुंगा'ले एमाओवादीको खुट्टा किचिसकेको छ। र, कालान्तरमा जातीय मोर्चामा आबद्ध शक्तिले उठाउने ‘जातीय ढुंगा'ले चाहिँ खुट्टामात्र किच्दैन टाउको नै फुटाइ दिनसक्छ। रौतहटको गौरमा भएको विभत्स हत्याकाण्डमा एमाओवादीका जवान कार्यकर्तालाई ढुंगाले टाउकोमा किचेर हत्या गरिएको थियो। उक्त संकेतलाई नबुझ्ने अबुझलाई इतिहासले पुनः कस्तो पाठ पढाउने हो थाहा छैन। तर यति चाहिँ प्रष्टै छ, एमाओवादीले वर्गीय विश्वासघातमा पाएको सजायँभन्दा जातीय विशवासघातमा पाउने सजायँ बढी विभत्स हुनेछ। किनभने पहिले उचालेको वर्गीय सवादमा घात गरेजस्तै अहिले उचालेको जातीय विषयमा पनि एमाओवादीले गर्न सक्ने ‘विश्वासघात' बाहेक अरु केही छैन।
अर्कोतिर एमाओवादीको जातीय ध्रुवीकरणमा आबद्ध शक्तिहरू आफ्नो अभिजात वर्गीय अडानमा ज्यादै प्रष्ट छन्। अवश्य नै उनीहरूको लागि जातीय र क्षेत्रीय विषयले प्रगतिशील अर्थ राख्छ। हिन्दु वर्ण व्यवस्थाले कोरेको सामाजिक विभेद र खास सामाजिक संरचनालाई संस्थागत गरेको हुँदा त्यसलाई भत्काउने हदसम्म उनीहरूको अभियान उचितै हुन्छ। तर मार्क्सवाद–लेनिनवाद र माओवादलाई आफ्नो वैचारिक सिद्धान्त बनाएको एमाओवादीको लागी कथित जातीय पहिचानको संघवादी धारणा आफ्नै शक्ति विघटनको कारणमात्र बन्छ। जातीय अवधारणाबारे समाजवादी र साम्राज्यवादीको मुख्य विभेद के हो भने समाजवादीहरूले बलियो समाजवादी सत्ता निर्माणको सर्तलाई केन्द्रमा राखेरमात्र यस्ता जातीय र क्षेत्रीय विभेदलाई सन्तुलित ढंगले समाधान गर्छन्। उता साम्राज्यवादीको ‘फुटाउ र राज गर' नीतिले भने जातीय सवाललाई वर्गबाट विमुख गर्छ र केही अभिजातहरूको महत्वाकांक्षालाई अगाडि सारेर वर्गीय समस्यालाई बर्गल्याउँछ। अहिले नेपालको सन्दर्भमा ठीक यही भइरहेको छ।
उता ध्रुवीकरणको सरकारी मोर्चाले केन्द्रीकृत सामन्ती व्यवस्थाको विघटनलाई रोक्ने प्रयासका रूपमा संघीकरणको विषयलाई ‘डेन्टपेन्ट' मात्र गर्न चाहन्छ। नेपालको सन्दर्भमा संघीयकरणको सवाल जातीय/क्षेत्रीय विभेदको सम्वोधन अवश्य हो तर यसको सम्बोधनमात्र चाँहि होइन। विभिन्न ऐतिहासिक कालखण्डमा विभिन्न जाति, धर्म तथा क्षेत्रको प्रभुत्व र साझेदारी विकसित बन्दै आएको यस मुलुकमा पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार र एकीकरणले खास धर्म, संस्कृति, सभ्यता र राजतन्त्रलाई नेपालको राष्ट्रियता र पहिचान घोषित गर्दै गयो। फलस्वरूप, नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुक्षेत्रीय सुन्दरता कुण्ठित हँुदैगयो। राज्यको संघीय पुनःसंरचना भनेको गुमेको उक्त सुन्दरताको नयाँ जगेर्ना हो। इतिहासको बदलाभावले त्यस्तो सुन्दरताको जगेर्ना संभवै छैन।
मुलुकलाई एकात्मक ढाँचामा राखिरहन संभव छैन भन्नेमा राप्रपा र जनमोर्चाजस्ता केही साना दलबाहेक अरू सबै सहमत देखिन्छन्। तर संघीय ढाँचा भन्नेबित्तिकै त्यसको मूल आधार कसरी निर्माण गर्ने भन्ने प्रश्न उब्जिहाल्छ। अहिले भइरहेका विवाद र असहमति पनि यही आधार पहिल्याउने प्रश्नमा केन्द्रित छन्। वर्तमान राजनीतिक शक्ति सन्तुलनभित्र यो विवादरहित समाधान हुनसक्ने विषय पनि होइन। तर अपेक्षाकृत प्रगतिशील समाधान खोज्न सकिएन भने कालान्तरमा त्यसको प्रतिक्रिया प्रीतिकर हुँदैन। त्यसैले संघीयकरणको सवाललाई कांग्रेस र एमालेले प्रशासनिक इकाइका रूपमा मात्र बुझ्नु गलत हुनेछ। सात प्रदेशलाई नै एकल पहिचानको नामाकरण गर्न तयार भए त्यसलाई स्वीकार्न एमाओवादी तयार रहेको पुष्पकमल दाहालको अभिव्यक्तिले धेरै कुरा प्रष्ट पार्छ। त्यसकारण सवाल संख्याको मात्र होइन रहेछ। मुख्य विवाद आधारको रहेछ। त्यसकारण कांग्रेसको प्रस्तावले केही प्रदेशको संख्या थप गर्ने र एमाओवादीको प्रस्तावले बहुपहिचानलाई स्वीकार गर्दा सहमति कायम हुनसक्छ। त्यसको प्रारम्भिक आधार विघटित संविधान सभाको ‘राज्यको पुनःसंरचना तथा शक्तिको बाँडफाँट उपसमिति'को प्रतिवेदनलाई बनाउन सकिन्छ। किनभने अहिलेको विवाद र त्यसको प्रकृतिलाई हेर्दा उक्त प्रतिवेदन सामर्थ्य र पहिचानको सन्तुलित आधार बन्न सक्छ।
कांग्रेसको प्रस्तावलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने अभिव्यक्ति मधेसी दलहरूबाट पनि आएको छ। कांग्रेसको प्रस्तावले संघीयताको स्वायत्तता संबन्धी अवधारणालाई कुण्ठित पारेको आरोप उनीहरूको छ। खासगरी हिन्दु पहाडे जाति संघीयताको पक्षधर नै होइनन् भन्ने अतिवादी सोच मधेसवादी र अन्य केही जनजातिमा छ। तर उनीहरूले नबुझेको कुरा के हो भने संसारमा आफ्नो लडाँइ आफैँ एकल जाति वा वर्गले मात्र लडेर जितेको हुँदैन। उक्त लडाइँमा तत्कालीन शासक जाति वा वर्गको पनि उल्लेख्य समर्थन चाहिन्छ। कथित उग्र जातिवादी सोचको एकल संघर्षले कहिल्यै पनि सफलता प्राप्त हुँदैन। केही अति पिछडिएका अल्पसंख्यक जातिलाई छोडेर अन्य जातिभित्र पनि वर्गीय खाडल कम गहिरो छैन। र, खास जातिभित्रको उक्त वर्गीय विभेदलाई कसरी कम गर्ने भन्ने चिन्ता उग्र जातीयताका पक्षधरलाई छैन, हुँदैन। त्यसकारण यस प्रकारको अतिवादी सोचलाई न्यूनीकरण गर्न पनि स्थानीय स्वायत्तताको आधारलाई संघीयकरणको आधार बनाउन जरुरी देखिन्छ।
एकातिर सत्ताधारी ध्रुवीकरणले संघीयतालाई आर्थिक विकेन्द्रीकरणको इकाइबाहेक केही नमान्ने र अर्कोतिर एमाओवादी/मधेसवादी ध्रुवीकरणले संघीयतालाई जातीय/क्षेत्रीय पहिचानबाहेक अरु नठान्ने हो भने यी दुवै अतिवादी सोच हुन्। अतः संघीयकरणका विषयमा देखिएका दुई प्रकारका अतिवादी सोचबाट मुक्त नभएमा वर्तमान संविधान सभा पनि दुर्घटनामा पर्ने निश्चित छ।