सरोज कोइरालालाई धेरैले सहिदका रूपमा चिन्छन्। उनको अर्को परिचय असल र कुशल नेताका रूपमा पनि छ। यद्यपि, नयाँ पुस्तामा उनको योगदानका बारेमा खासै जानकारी भएको पाइँदैन। तर, हामी कसैले थाहा पाएका छैनौ भन्दैमा कसैको व्यक्तित्व कमजोर त हुँदैन।
प्रसिद्ध कोइराला परिवारका सदस्यका रूपमा जन्मिएका सरोज पारिवारिक वातावरणका कारणसमेतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सम्पूर्णरूपमा समाहित हुन पुगे। बीपी कोइरालालाई उनको राजनीतिक जीवनमा समर्पण भावका साथ सघाउने थोरैमध्येका एक जना थिए सरोज। असल र कुशल नेता सरोज कोइरालाको अभाव उनीपछिको राजनीतिमा सधैँ खटि्करहेको छ।
सरोज स्थानीय तहका (ग्रासरुट) कार्यकर्ता र सामान्य जनतासँग अत्यन्त निकट सम्बन्ध राख्न सक्थे। यस्तै, उनी सामाजिक सुधारका विषयमा पनि हरेक तहमा अगुवाई गर्थे। यस्ता गुण भएका नेता समकालीन राजनीतिमा बिरलै भेटिन्छन्।
कार्यकर्ता र नेताबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने सवाल अहिले बहसको बिषय बन्न सक्छ। राजनीतिकर्मी र मतदाताबीचको सम्बन्धमा आत्मीयता र संगतिको मात्रा रहेन भने त्यो यान्त्रिक र निरस बन्न जान्छ। यस्तो यान्त्रिक सम्बन्धका बीचमा हुने चुनाव पनि प्राबिधिक अभ्यासमा सीमित हुन्छ। प्राविधिक चुनावका माध्यमबाट निर्वाचित प्रतिनिधिले सही अर्थमा जनताको प्रतिनिधित्व गर्न सत्तै्कन। अर्थात्, त्यस्ता प्रतिनिधिले चलाउने शासन व्यवस्था वास्तवमा लोकतन्त्र हँुदैन। त्यो त प्राविधिक लोकतन्त्रमा सीमित हुनजान्छ। प्राविधिक लोकतन्त्रले गरिब र धनीबीचको खाडल पूर्न असम्भव नै हुन्छ। राजनीति केही संभ्रान्तको हातमा सीमित हुन पुग्छ। अहिलेको राजनीतिक शैलीलाई मिहिन ढंगले हेर्ने हो भने राजनीति नजानिदोरूपमा संभ्रान्तहरूको हातमा जाँदैछ। नेताहरूको जीवनशैली राजा महाराजाको जस्तै बनिरहेको छ। पद र प्राप्तिभन्दा अर्को कुनै लक्ष्यसहितको राजनीतिक नेताको पूर्ण अभाव छ। यस्तो संकटको अवस्था निर्माणको प्रमुख कारण जनता र नेताबीचको सम्बन्धलाई प्राविधिक प्रक्रिया सीमित गर्नु हो। जनतालाई दैनिकरूपमा राजनीतिमा संलग्न गराइराख्नु उचित पनि हुँदैन र सम्भव पनि हुँदैन। तर, जनतालाई 'राजनीतिक नेतृत्व इमानदारीसाथ काममा लागेको छ र उसले हाम्रा सबै अप्ठेराको महसुस गर्दै त्यसलाई सहज बनाउन लागिरहेको छ' भन्ने अनुभूति दिलाउन भने जरुरी हुन्छ। यो भाव जागृत भयो भनेमात्र सम्बन्धमा मधुरता र आत्मीयता कायम हुनपुग्छ। नत्र, जनताको सहयोगमा नेतृत्वमा पुगेपछि 'सबथोक मै हुँ' भन्ने मान्यता राखेजस्तै ठहर्छ। यस्तो मान्यता राख्नु जनताको नाममा सत्ताको व्यापारी बन्नु हो।
सरोज कोइरालामा यस विषयमा स्पष्ट धारणा रहेको देखिन्छ। जनतासँगको सम्बन्धमा रहेको आत्मीयता उनको जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो। उनको लोकप्रियताको आधार नै त्यति विशेषता रहनपुग्यो। यस्तो विशेषताका साथ क्रियाशील व्यक्तित्वसँग शासकहरू थर्कमान हुनपुगे र पेसेवर अपराधीलाई प्रयोग गरेर २०३० साल कार्तिक २ गते भारतको मधुवनीमा उनको हत्या गरियो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा सम्पूर्ण जीवन खर्चेका उनको सोचअनुरूपको जनता र कार्यकर्ता तथा नेताबीचका सम्बन्ध निर्माण हुन सकेन भने अझै पनि लोकतन्त्रप्रति सामान्य जनताको मोहभंग हुनसक्छ। निर्णय प्रक्रियामा स्वेछाचारिता, महंगो र भड्किलो जीवन शैली, जनतासँगको व्यवहारमा विभेद प्रदर्शनजस्ता अराजनीतिक चरित्र राजनीतिक नेतृत्वमा देखिदै जाँदा सुसंस्कृत राजनीतिको अपेक्षा 'आकाशको फल आँखा तरी मर' भने झैँमात्र हुनेछ।
तराईलाई 'कांग्रेसको गढ'का रूपमा चिनिन्थ्यो। यसको तात्पर्य प्रजातान्त्रिक आन्दोलनमा तराईको संलग्नता तुलनात्मक रूपमा निकै नै बढी थियो भन्ने हो। त्यो अहिले पनि छ। तराईमा प्रजातान्त्रिक चेतना प्रवाह गर्ने महत्वपूर्ण पात्र थिए सरोज कोइराला। तराईका अति विपन्न समुदायको नेताका रूपमा परिचित थिए सरोज कोइराला। त्यस समुदायका सवाललाई राज्यका सानो इकाइदेखि संसदसम्म पुर्याएएर सामाजिक सुधारका अभियन्ताका रूपमा स्थापित भएका थिए सरोज कोइराला। जनता र राजनीतिक नेताको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने व्यवहारमै उदाहरण दिएर सरोज कोइरालाले त्यस्तो परिचय बनाएका हुन्। उनका नामका अगाडि लगाइने यी बिशेषण उनको यही चिन्तन र चिन्तनअनुरुपको व्यवहारका आधारमा बनेका हुन्। यो चिन्तन उजिल्याउँदै त्यसअनुरूपको व्यवहार प्रदर्शन गर्नसक्ने हो भने नेपाली राजनीतिमा अहिले देखिएका बिसंगतिमात्र हैन, बेमेलको अवस्था पनि अन्त्य हुने अपेक्षा गर्न सकिन्छ। समाज र राष्ट्रलाई केही मूल्य, मान्यता र जीवनकला सिकाएर गएका इतिहासका आदर्श पात्रहरूको अनुसरण गर्दै अगाडि जानसक्ने हो भनेमात्र उनीहरूप्रति श्रद्धाञ्जली हुनेछ र समाज परिवर्तनमा योगदान पुर्याणउन सकिन्छ।
सहिद सरोज कोइरालाले समाज सुधारका क्षेत्रमा पनि आफूलाई निकै प्रखररूपमा प्रस्तुत गरेका थिए। कार्यकर्ता असल भइदिएमा मात्र नेताले पनि राम्ररी काम गर्न सक्छ भन्ने सन्देश पनि उनीबाट सिक्न सकिन्छ। नेपाली कांग्रेसको पहिलो सरकारले २०१६ सालमा बिर्ता, बेठबेगारी प्रथा उन्मूलन गरेको थियो। नेपाली जनताले प्रत्यक्ष दैनिक जीवनमा अनुभूति गर्नसक्ने गरी भएको समाज सुधारको पहिलो कदम थियो त्यो उन्मूलन। बिर्ता र बेठबेगारी प्रथा उन्मूलनको प्रस्ताव पारित गर्न उनले निकै महत्वपूर्ण भूमिका खेलेका थिए। बीपी कोइरालालाई त्यस प्रस्ताव पारित गर्ने चरणसम्म महत्वपूर्णरूपमा सघाउने पात्र सरोज कोइराला थिए। समाजका यस्ता तमाम बिसंगतिसँग लड्दै सुधारको अभियानको नेतृत्व गर्ने उनको दोस्रो बिशेषता पनि यतिबेला सबैका लागि अनुकरणीय छ। राजनीतिकर्मीहरूले सामाजिक विषय उठाउनै छाडेजस्तो देखिन लागेको छ। यो त लोकतन्त्र यान्त्रिक लोकतन्त्रमा परिवर्तन भइरहेको संकेत हो। कार्यकर्तामा पद प्राप्ति नै प्राथमिक विषय बनेको छ। विकासलाई पनि भौतिक विकासमा सीमित गरिँदैछ। त्यो पनि आफ्नो निर्वाचन क्षेत्रमा भोट बटुल्ने उद्देश्यका साथमात्र हुनथालेको छ। दीर्घकालीन विकास, समाज सुधारका आयाम, समाजमा मानवीयताको विकास, कल्याणकारी कार्यक्रमको अवधारणा, गरिबी, अशिक्षा, पछौटेपनको कारण र निराकरणका उपाय सुझाउने चिन्तनको विकास जस्ता प्रजातान्त्रिक समाजवादका आधारभूत पक्षका प्रति राजनीतिक नेतृत्वको उदासीनता देखिन्छ। व्यक्तिगत महत्वाकांक्षा र त्यसको पूर्तिका लागि नेतृत्वको घर दैलोमा 'गणेश' बन्न जाने प्रवृत्तिमा राजनीतिक अभ्यासलाई सीमित गरिँदैछ। यस्तो प्रवृत्तिको राजनीतिबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कार्यकर्ता पंक्तिले जनताका समस्या पहिचान गरी त्यसको समाधानका लागि नेतृत्वलाई घच्घच्याउने र रचनात्मकरूपमा सघाउने संस्कृतिको अभावमा परिवर्तन असंभव नै छ। सरोज कोइराला नेताका लागि त्यस्तै कार्यकर्ता भएर उभिए भने जनताका लागि आफ्ना समस्यामा बोली दिने र साथ दिने लोकप्रिय नेता बनेर रहे। उनको यस विशेषतालाई समकालीन राजनीतिक नेतृत्व र कार्यकर्ताले बु‰न सके र केही मात्रामा भए पनि अनुसरण गर्नथाले भने त्यसले राजनीतिमा शुद्धीकरण र नेता तथा जनताको सम्बन्धको नयाँ आयामको विकास गर्नसक्छ।
सरोज कोइरालाको स्मृति दिवसका अवसरमा उनको योगदानको स्मरण र उनले देखाएका विशेष क्षमता अनुकरणको प्रतिबद्धता गर्न सकियो भने उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।