संविधान सभाको पहिलो निर्वाचन पूर्व २०६४ सालमा प्रमुख राजनीतिक दलहरूबीच निर्वाचनपछि पनि सहमतीय सरकार बनाउने सम्झौता भएको थियो। त्यसैले होला एनेकपा (माओवादी) सबैभन्दा ठूलो दलका रूपमा स्थापित भइसक्दा पनि गिरिजाप्रसाद कोइरालामा प्रधानमन्त्री पद छाड्ने इच्छा देखिएको थिएन। त्यसबेला पंक्तिकार एउटा अंग्रेजी पत्रिकाको सम्पादक थियो। एकदिन अचानक एउटा नर्डिक देशका राजदूत कोठामा आइपुगे र 'गिरिजाबाबुले प्रचण्डलाई प्रधानमन्त्री बन्न किन रोकिरहेका छन् भनेर' कडि्कन थाले।
उनको एउटै भनाइथियो जनमतले जसलाई समर्थन दिन्छ उही प्रधानमन्त्री बन्नुपर्छ र पत्रपत्रिकाले पनि जनमतको कदर गर्नुपर्छ। नभन्दै गिरिजाप्रसाद कोइरालाले कुर्सी नछाडी धरै पाएनन्। चैत्र २८, २०६४ मा भएको निर्वाचनको परिणामा एक साताभित्रै आएको भए पनि करिब ४ महिना पछिमात्र भाद्र २, २०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री भए।
वास्तवमा सहमतीय प्रथाको प्रमुख रचनाकर्ता माओवादी नै थिए। तर सहमतीय व्यवस्थाले पहिलो संविधान सभाको निर्वाचनपश्चात् झन्डै प्रधानमन्त्री पदै नपाएको र संविधान पनि बन्न नसकेको निर्क्योल निकालेर संविधान सभाको दोस्रो निर्वाचनमा जानु पूर्व तिनै मुख्य दल बसेर सम्झौता गरे। त्यसअनुसार सहमतिमा विवाद मिल्न सकेन भने सरकारलगायत संविधान निर्माण प्रक्रिया पनि जनमतअनुसार बहुमतका आधारमा तय गर्ने भनेर। तर पछिल्लोपल्ट जनताले कोल्टे फेरे। नेपाली कांग्रेस र नेकपा एमालेको पक्षमा प्रचण्ड बहुमत आयो। अब तिनै बहुमतीय प्रक्रियाका अनुयायी खुलामंचमा कुर्लिँदैछन्, सहमतीय प्रक्रियाबाट संविधान बनेन भने देशमा ठूलो संकट निम्तिन सक्छ, ठूलो विद्रोह हुनसक्छ। धम्की दिनेमा संविधान सभामा पुगेका साना दलमात्र होइनन् संविधान सभाको निर्वाचनमा भाग नलिएका दलसमेत छन्। सधैँ धम्की र त्रास देखाएर स्वार्थ पूर्तिगर्ने राजनीतिक दल अहिले फेरि त्यही रणनीतिअनुसार अघि बढेका छन्। अनि आफ्ना दललाई जनताले करिब दुई तिहाइ मत दिएर जिताएका दलका नेताहरू रनभुल्लमा परेजस्तो व्यवहार गर्दैछन्।
वास्तवमा कांग्रेस र एमालेको व्यवहार पञ्चतन्त्रको ब्राह्मणको कथाजस्तो देखिएको छ। कथामा एक जना ब्राह्मण दानमा पाएको गाईको बाच्छी डोर्या्उँदै घर गइरहेको हुन्छ। तिनले डोर्यााएको बाछी उम्काउने दाउ गर्दै तीनजना ठग ब्राह्मणलाई पालैपालो अचानक भेट भएजस्तो नाटक गर्छन्। पहिलोले ती ब्राह्मणलाई कुकुर कता हिँडाएको भनेर सोध्छ, दोस्रोले गधाको बच्चा किन घिस्याएको भन्छ र झन् तेस्रोले त बाहुनले सुंगुरको पाठो किन तान्दै हिंडेको होला भनिदिन्छ। हो न हो यो त रूप फेरिरहने भूत पो रहेछ कि भनेर ब्राह्मण त्यस बाच्छीलाई बाटैमा छाडेर भाग्छ। बाहुनले छाडेको बाछी लिएर ठगहरू हाँस्दै बाटो लाग्छन्।
दोस्रो संविधान सभाको निर्वाचनबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले पनि जनताबाट ठूलै उपहार पाएका हुन्। जसरी पञ्चतन्त्रको ब्राह्मणले पाएको दान उसको घरसम्म पुगेको भए उपयोगी हुन्थ्यो त्यस्तै यी दुई ठूला दलले पाएका जनमतरूपी दान पनि लोकतान्त्रिक संविधानको निर्माण भए पश्चातमात्र सार्थक हुन्छ। तर यी दल जनताले दिएको विश्वास र समर्थनको महत्व बु‰न सकिरहेका छैनन् र आफूले पाएको उपहार बाटैमा छाडेर छलकपटको चक्रव्युहमा फस्दै जान लागेका देखिएका छन्।
देशका १८ वर्षभन्दा माथिका मतदान अधिकार प्राप्त जनसंख्याको ८० प्रतिशतले अपूर्व रूपमा ओइरिएर कांग्रेस र एमालेलाई संयुक्तरूपमा ३८८ स्थानमा जिताएका छन्। यसमध्ये कांग्रेसको २०५ स्थान छ भने एमालेको १८३ स्थान छ। जनसंख्याको हिसाबले गणना गर्ने हो भने कुल १ करोड ८५ लाख मतदातामध्ये करिब १ करोड मत यी दुई दललाई मात्र गएको देखिन्छ। यसरी हेर्दा कांग्रेस र एमालेले कुनैपनि अवस्थामा जनताले दिएको मतको बेईज्जत गर्नु उचित हुँदैन। जम्मा ६०१ सदस्यीय संविधान सभामा ४०१ मत पुगेमा दुई तिहाइ बहुमत पुग्छ। यसरी हेर्दा १३ स्थानमात्र अन्य राजनीतिक दलबाट समर्थन जुटाउन सके संविधान सजिलै संविधान बन्ने अवस्था छ। सरकारमा सहभागी र वर्तमान सत्तारुढ गठबनधनलाई समर्थन गर्ने दलहरूको संख्या जोड्ने हो भने दुई तिहाइ बहुमत सजिलै पुग्छ।
अब यी दुई दल आफैँमा लोकतान्त्रिक संविधान निर्माण गरेर विगतका जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न तयार छैनन् भने अर्कै कुरा भयो, होइन भने एकातिर सहमतिबाट निर्णय गर्न सकिएन भने प्रक्रियाबाट पनि संविधान निर्माण गर्न सकिन्छ भनेर मुखले ठीक्क पार्ने र अर्कोतिर खुलामञ्चमा कुर्लेर अर्को द्वन्द्वको धम्की दिने नेता र जनतामा कुनै स्थान नभएका समूहहरूको कुरा सुनेर कहीँ पुगिँदैन। हुनत, दुई ठूला दलहरू पनि सहमतिका लागि विकल्प रहेसम्म प्रयास गरेको प्रमाणित गरेर मात्र निर्णय प्रक्रियामा अगाडि बढ्न खोजेका हुनसक्छन्। तर जनतामा अन्योल उत्पन्न भयो र पुनः अराजकता उत्पन्न हुनसक्ने डर मनमा बस्यो भने फेरि यस्तै अराजक समूह बलियो भएर जान्छन्। कमजोर जनता फेरि पनि आफ्नो मनको कुरा मनमै दबाएर हल्लाखोर र हिंस्रक राजनीतिक शक्तिका अगाडि मौन बस्ने मनःस्थितिमा पुग्न सक्छन्।
एनेकपा (माओवादी) र अन्य जातिवादी दलले आन्दोलन र संघर्षको धम्की दिएका छन्। अझ सहमतीय संविधान बनेन भने त्यस्तो संविधान सडकमै जलाउनेसम्मको धम्की दिएका छन्। तर संविधान त जनताको हक, अधिकारको रक्षा, जनताले बाँच्ने, सम्पत्ति राख्ने, आफ्ना प्रतिनिधि छान्न पाउने अधिकारको प्रत्याभूतिका लागि बनाउने हो। कसैले पनि नजलाउने संविधान बनोस् भनेर प्रतीक्षा गरेर बस्ने होे भने त अर्को चारवटा संविधान सभाको निर्वाचनपछि पनि हामी यतै कतै अलमलिइरहेका हुनेछौँ।
त्यसैले कांग्रेस र एमालेले बहुमतीय प्रक्रियामा गएर संविधान निर्माण भयोभने के के हुन सक्छ भन्ने पूर्वानुमान गर्ने अवस्था आइसकेको छ। अहिलेको कांग्रेस र एमाले दुवैको कुरो मिलेको ७ प्रदेशमा जाने हो भने माओवादी, मधेसी र अन्य जातिवादी दलको विरोध कति ठूलो होला भनेर पूर्वानुमान गर्न अलि कठिनै छ। तथापि, एमाओवादीको अहिलेको अवस्था मूल्यांकन गर्ने हो भने उसले खासै ठूलो विरोध गर्न सक्दैन। गत शुक्रवारको २२ दलको आमसभाले पनि सही स्थिति देखाएको छ। एमाओवादी भित्रैपनि जस्तो भएपनि संविधान बनेको खण्डमा एउटा बाटो लिन सकिने मानसिकता बलियो बन्दै गएको छ। बाबुराम भट्टराई समूह त संविधान बन्नेबित्तिकै नयाँ शक्ति निर्माण गरेर निर्वाचनको तयारीमा जुट्ने मनःसिथ्तिमा देखिन्छ। त्यस्तो अवस्थामा प्रचण्डको समूहमात्रै विद्रोहमा जाला भन्न सकिँदैन। प्रचण्ड र वैद्य समूहको सामूहिक कार्यक्रम हुन सक्छ तर त्यस्तो आन्दोलन कति सशक्त हुन्छ भन्नेमा आर्थिक पक्षको भूमिका महत्वपूर्ण हुन्छ।
एमाओवादीको अर्थ संकलनको पुरानो संरचना भत्किएको छ। अब त्यही संरचना अपनाउन सहज छैन। अलि अलि रहेको स्रोत परिचालनका साधनमा पनि दलगतभन्दा व्यक्तिगत नियन्त्रण बलियो देखिएको छ। अर्को आर्थिक स्रोतको माध्यम वैदेशिक सहायता हो तर एमाओवादीले समाज परिवर्तनका लागि लडेको हो भन्ने भ्रम स्क्यान्डेनेभियालीमा पनि टुटिसकेको हुनुपर्छ। युरोपका अन्य देश पनि अहिले जातिवादी र माओवादी आन्दोलनमा पैसा खन्याउने पक्षमा देखिएका छैनन्।
माओवादीपछि कोइराला सरकार, कांग्रेस र एमालेले विचार पुर्यााउनुपर्ने जातिवादी दलहरूको आर्थिक स्रोतमा हो। त्यसैले पश्चिम युरोप र उत्तरपुर्वी युरोपका देशहरुलाई दुई तिहाइ जनमतको कदर गर्दै लोकतान्त्रिक संविधान बनाउन सघाउन सहयोग माग्नुपर्छ। अहिले जसरी जातिवादी आन्दोलनमा यी देशहरूले सहयोग बन्द गरेका कारण डलरका भरमा जनता दिग्भ्रमित पार्नेको आवाज मलिन भएको छ त्यही अवस्था कायम गरिदिन विशेष अनुरोध गर्नुपर्छ।
यस्तै मधेसवादी दललाई भारत र भारतका सीमावर्ती राज्यहरूबाट आउने सहयोग कस्तो प्रकारको हुन्छ, कसले सहयोग गर्छ भन्नेजस्ता विषय अध्ययन गरिनु जरुरी छ। यसबीच मधेसी जनताले निर्वाचनमा सबैभन्दा धेरै मत कांग्रेस र एमालेलाई नै दिएको उदाहरण प्रस्तुत गरेर मधेसको आवाजको कदरस्वरूप तिनले बनाएको संविधान सफल पार्न सहयोग गर्न पनि अनुरोध गर्नुपर्छ।
जनताले दोस्रो संविधान सभामा प्रकट गरेको मतको कदर गर्ने हो भने अहिले प्रक्रियागत रूपमै गएरबाहेक अन्य तरिकाबाट संविधान बन्ने छाँट देखिन्न। यसलाई नेपाली जनता, राजनीतिक दल र विदेशी मित्रहरूले पनि मनन गर्नुपर्छ।