बितेका दशक र गुमेको अवसर
०९ मंसिर २०७१
•
१४ मिनेट पाठ
बितेका दशक र गुमेको अवसर
व्यक्ति, संगठन वा राष्ट्रलाई प्राप्त अवसर ठीकसँग उपयोग गर्न सकेन भने त्यो सधैँका लागि गुम्न पुग्छ। अवसर सूचना वा संकेत दिएर आउने पनि होइन, परिवेश र प्रवृत्तिको सही आँकलन र विश्लेषण गरेर नै अवसरको पहिचान तथा उपयोग गर्न सक्नुपर्छ।कसैले उपयोग गर्न नसकेको अवसर अर्कोले उपयोग गरिदिन्छ, किनकि अवसरले कसैलाई पर्खेर बस्दैन। अवसर आफैमा प्रतिष्पर्धी विषय हो। तर, एउटा अवसरलाई सही उपयोग गर्न सकियो भने अरू अवसर ठम्याउन र उपयोग गर्न पनि सजिलो पर्छ। अवसर समय भएकाले गतिशील हुन्छ, अवसर टोकियोबाट ओसाकाका लागि छुटेको सिन्कानसेन (बुलेट ट्रेन) जस्तै हो, छुट्यो त छुट्यो छुट्यो, घन्टौँ नकुरी अर्को आउदैन। पहिला चढ्नेहरू नै सधैँ अगाडि हुन्छन्। 
व्यक्तिको होस् वा राष्ट्रको जीवनमा होस्, सबैभन्दा महत्वपूर्ण कुरा समय हो। समयले ल्याउने अवसरबाट पाखालाग्नु वा समयको गति पक्रन नसक्नु अवसरबाट वञ्चित हुनु हो। त्यो वञ्चिती अरू कसैले नभएर आफैले सिर्जना गरेको हो। नेपालको राष्ट्रिय जीवनमा यस्ता कैयन अवसर आए, तर त्यसको गति र प्रवृत्ति (वेभ एन्ड पेस) पक्रन नसक्दा पर्याप्त सम्भावनाबीच हामी अभावमा बाँचिरहेका छौँ। पञ्चायतकालीन समयमा पञ्चहरू परिवेशले ल्याएका अवसर पक्रनुभन्दा राजाको परिक्रमा गरेर आफ्नै स्वार्थको अवसरमा रमाए। विश्वका सबैजसो विकासोन्मुख मुलुक विकासको नयाँ ढाँचा आविष्कार गर्न केन्द्रित रहँदा पञ्चायती नेतृत्वले राष्ट्रिय जीवनको ३० वर्ष ख्यालख्यालमै गुमायो। समकालीन चीनका देङ, कोरियाका पार्क, इजिप्टका सादात, इन्डोनेसियाका सुकार्नो र सिंगापुरका यु सबैले पञ्चायतजस्तै निर्देशित व्यवस्थामा शासन चलाए। प्रजातन्त्रका अवसर तिनले पक्रन नसके पनि विकासका अवसरलाई छाडेनन्। लोकतन्त्र र विकासमा कुन पहिला भन्नेमा विकासको मूल्य बढी देखे। विकासको आधारशिलापछि लोकतन्त्र र मानवअधिकारलाई मजबुत बनाउन सकिन्छ भन्ने निष्कर्ष उनीहरुको थियो। त्यो पनि एउटा सोच हो। यही सोच अनुरूप राष्ट्रनिर्माणमा कतिपय अनुदार नेता आफ्नो अनुदारताको क्षतिपूर्ति विकासमार्फत् दिने गर्दछन्। अहिले उदीयमान अर्थतन्त्र भएका मुलुकहरूले इतिहासको खण्डमा यही ढाँचा अवलम्बन गरेका थिए। पार्क लोकतान्त्रिक थिएनन्, उनको हत्या पनि भयो। तर, कोरिया विकासका प्रणेता उनी नै भए। देङ पनि आधुनिक चीनका निर्माता बने। महाथिर पनि साह्रै प्रिय होइनन्, न लोकतान्त्रिक नै। तर, मलेसियाले ‘टेक अफ' उनकै समयमा लियो। राजा र पञ्चले प्रजातन्त्र खोसे पनि देशलाई आर्थिकरूपमा समृद्ध बनाउने अवसर पाएका थिए। तर, समयगत संवेदनशीलता देखाउन नसक्दा उनीहरूको समय राजतन्त्र र पञ्चायत संस्थागत बनाउने प्रयत्नमै बित्यो (न त्यसलाई संस्थागत गराउन सके)। आधुनिक नेपालको जग हाल्ने ३ दशकको समय बित्थामा गुम्न पुग्यो। कोही मन्त्री, प्रधानमन्त्री, राजा वा कुनै लाभको पदमा पुगेर मुलुकले अवसर लिनसक्ने होइन रहेछ। उत्पादन प्रक्रिया, कार्यसंस्कृति र आर्थिक क्रियाकलाप विस्तार गरेर नै अवसरको औचित्य सिद्ध हुँदो रहेछ। त्यो गुमेको अवसरका कारण समयले त्यतिबेलाको नेतृत्वलाई निर्मम सजाय दियो। इतिहासमा उनीहरू सुरक्षित र सम्मानित रहेनन्। राष्ट्रिय अवसर गुमाउनेलाई इतिहासले दण्डित गरेको धेरै उदाहरण छ। 
पञ्चायत आएपछि जन्मेका बालक चालीसको दशकमा जुँगामुठे नौजवान बनिसक्दा पनि आशा लाग्दो भविष्य नदेखेपछि सुरक्षित भविष्यको खोजीमा आन्दोलित बन्यो। पञ्चायत गयो र लोकतान्त्रिक (नेपाली कांग्रेस) र बामपन्थी शक्तिलाई युवाको भविष्य सुरक्षित बनाउने जिम्मेवारी दिइयो। युगले तत्कालीन अवस्थामा त्यो अवसरलाई दोहन गर्न प्रजातान्त्रिक शक्तिलाई नेतृत्व र बामशक्तिलाई पहरेदारीको जिम्मेवारी दियो, ताकि ‘राजा–पञ्च–भारदार' बीचको स्वार्थको ‘नेक्सस' जस्तै अर्को नेक्सस फेरि बन्न नपाओस्। ऐतिहासिक जिम्मेवारी पूरा गर्न बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई सहयोग गर्न रामशरण महत, महेश आचार्य, भोला चालिसेजस्ता उदारवादी समुहले नीतिशिल्पीको भूमिकामा काम गरेका थिए। दर्शन र अनुभवको सम्मिश्रण भएको उक्त समुहले नीतिशिल्पकारिता राम्ररी देखाए। गैरराज्य क्षेत्रको सम्भावना, सीप र क्षमताको उपयोग गरी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने थालनी भयो। प्रत्यक्ष, बाह्य र आन्तरिक लगानीमार्फत् सेवा र उद्योगक्षेत्रले आशालाग्दो स्थिति देखायो। आर्थिक र सामाजिक सूचकहरूमा सुधारको संकेत देखियो। तर, राजनीतिक खिचातानीका कारण सूचनाप्रविधि क्षेत्रमा नेपाललाई प्राप्त अवसर उपयोग गर्न सकिएन। सूचनाप्रविधि पार्क निर्माणस्थल कहाँ भन्ने विवाद देखियो। नेपाललाई नियालिरहेको छिमेकी मुलुक भारतले नेपालको उदारवादी दर्शनबाट थुप्रै सिक्नसक्यो। हाम्रै नीतिमा हामी भने अल्मलियौँ। अहिले विश्वका अधिकांशः मुलुकमा भारतले उत्पादन गरेका स्वास्थ्य तथा सूचनाप्रविधिका जनशक्ति उपयोगबाट भारत उदीयमान अर्थतन्त्र बन्न सक्यो। गत वर्ष पी. चिदाम्वबरम्ले सन् २०४३ मा भारतीय अर्थतन्त्र विश्वको तेस्रो ठूलो बनाउने १० बुँदे रणनीति प्रस्तुत गरे। तर, आर्थिक सुधारको थालनीको आधा दशक नबित्दै नेपाली अर्थतन्त्र गैरआर्थिक कारणबाट ओरालो लाग्न थाल्यो। आर्थिक विषयलाई राजनीतिक आँखाबाट सतहीरूपमा हेर्ने बानीले पुँजी र प्रविधि नेपाली अर्थतन्त्रमा हच्किन र दच्किन थाल्यो। अहिले पनि त्यसको ‘आफ्टर सक' बाँकी नै छ। परिणामतः लोकतन्त्र प्राप्तिपछिका अढाई दशक पनि अवसर गुमेको समय सावित भयो। 
आर्थिक विकास प्राकृतिक स्रोत, श्रम र पुँजी एवं प्रविधिको अन्तरक्रियाको नतिजा हो। पुँजी स्थिरतामा रमाउँछ, प्रविधिले अग्रसरता खोज्छ र श्रम क्षणमै नास हुने, संवेदनशील अनि तरल स्वभावको हुन्छ। द्वन्द्व, अस्थिरता र अविश्वासले पुँजी, प्रविधि र श्रमको अभ्यास हुन सकेन। परिणामतः प्रचुर प्राकृतिक स्रोतको उपयोग हुन सकेन। पर्याप्त सम्भावनाबीच जलविद्युत्, उद्योग र पर्यटनलगायतका सेवा क्षेत्रको उपयोग गरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिएन। मुलुकले राजनैतिक आन्दोलन र द्वन्द्व जति सिक्योे विकास, अर्थतन्त्र निर्माण र सम्भावनाको उपयोगमा त्यति नै चुक्यो। एक दलले अर्कोलाई, एक व्यक्तिले अर्कोमाथि गाली–आलोचना र आरोपमा खर्चिंदा भविष्यनिर्माणको अवसर भने गुम्दै गयो। अरुण बनेन, बरु नबनाउन देशव्यापी राजनीतिक आन्दोलन नै भयो। बनेको भए आर्थिक अवसरको ठूलो ढोका खुल्ने थियो र अरू थुप्रै अवसर सहज हुने थिए। अन्य ठूला आयोजनाबारे पनि प्राविधिक होइन, सस्तो र क्षणिक आवेगमा विश्लेषण गरियो। दुई वर्षमा बन्नपर्ने संविधान ६ वर्ष बितिसक्दा पनि बनेन, उल्टो जात, धर्म र साम्प्रदायिकताको विजारोपण भैरहेको छ। यो अरू विस्तार भएमा समाजमा रहेको सामाजिक सहसम्बन्ध, सद्भाव र सहकार्य (सोसल हार्मोनी) को ‘नेपालीपना' गुम्ने खतरा छ। कुनै पनि कुरामा गहिरो विश्लेषणविना नै रौसिने, हौसिने र बतासिने बानीले समय बितेपछि तड्पिने, प्रताडिने र प्रायश्चित गर्ने संस्कार बसालिदिएको छ। नकारात्मक सोचले धेरैको मनोबृत्ति कलुषित बन्दैछ। अरूको कमजोरी, गल्ती र अयोग्यता देख्ने आफू सच्चिन, संयमित हुने र आफैबाट थालनी गर्ने असल संस्कृतिको कसरी विकास गर्ने? राजनीतिबाट होइन, अब समाजशास्त्रीय विश्लेषणबाट सुरु गर्ने बेला आएको छ। सर्वसाधारण जनता परिणाम चाहिरहेका छन्, युग उपलब्धि खोजिरहेको छ। निराशा धेरै दिनसम्म रहन दिनुहुन्न, समाज ध्वंशकारी बन्ने खतरा बढ्छ। 
अहिले पनि मुलुकमा धेरै सम्भावना छ। सबैजसो मुलुकले प्राकृतिक स्रोतको अन्धाधुन्द प्रयोग गरिसक्दा पनि हामीसँग जलस्रोत, बन, भूमि र खानीको अलिकति पनि उपयोग भएको छैन। जलविद्युत्को उपयोग गर्न सकिएमा नेपाल यस क्षेत्रकै रणनीतिक महत्वको देश बन्नेछ। विभिन्न जलविद्युत् आयोजना बन्नका लागि हालै भएका पीडीए र पीटीएले आशाको संकेत गरेको छ। तर, ढिला गरे छिमेकीहरू अर्को विकल्पतिर जानेछन्। सन् २०२५ पछि जलविद्युत्भन्दा सौर्य ऊर्जा सस्तो बन्ने सम्भावना छ। यदि त्यसो भएमा हाम्रा सम्भावना र स्रोतबाट फेरि पनि हामी ठगिने छौँ। औद्योगिक विकासका लागि ‘लेबर र लोकेसन' हाम्रा पक्षमा छ। उदीयमान छिमेकी अर्थतन्त्रको फाइदा लिने अवसर पनि हामीसँगै छ। इतिहासमा नै नदेखिएको ‘जनसंख्याको लाभांश' पनि मुलुकले पाएको छ। कूल जनसंख्यामा आर्थिकरूपले सक्रियको संख्या ५७ प्रतिशत छ। अझै २० वर्ष युवा बन्ने जनहिस्सा २० प्रतिशत छ। युवाहरू सम्भावना, उत्साह र जोखिम मोल्ने जुझारुको समुह हो। तिनको उपयोग गर्ननसके कुण्ठा, विद्रोह र विसर्जन पनि तीभित्रै छ। विकास साझेदारका सहयोगी हात पनि हाम्रा साथ छन्, तर हाम्रा प्राथमिकता र प्रणालीमा समेट्ने चुनौती छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस