सरकारले यथासक्य छिटो बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने बताइहेको छ। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा स्थापित मान्यताबमोजिमको पीडित केन्द्रित आयोग बनाउने प्रतिवद्धता सरकारले जनाएको छ।
राजनैतिक दलहरूले पनि छिटोभन्दा छिटो संक्रमणकालीन न्याय संयन्त्र बनाउने बताइरहेका छन्। आयोगका आयुक्तहरू सिफारिस गर्न सरकारद्वारा गठित सिफारिस समितिले यही डिसेम्बर महिनाभित्र आयोग गठन गर्ने पनि बताएको छ। विस्तृत शान्ति सम्झौताकालदेखि नै द्वन्द्वपीडित समुदायले उपरोक्त आयोग तुरुन्त गठन गर्न निरन्तर आवाज उठाउँदै आएको हो। तर, विस्तृत शान्ति सम्झौताको ८ वर्ष बित्दा पनि विश्वसनीय र स्वतन्त्र आयोग प्रक्रिया सुरु हुनसकेन।आयुक्तहरू सिफारिसका लागि सरकारले गठन गरेको सिफारिस समितिले डिसेम्बरभित्र तोकिएको काम पूरा गर्ने समाचारमा सुनिएको छ। त्यसअघि मानवअधिकार आयोगका प्रतिनिधिविनै सिफारिस समितिले लामो अलमलपछि परामर्श नै नगरी छनौट कार्यविधि बनाएर आयुक्तका लागि आवेदन मागिसकेको छ। र, आयुक्तका रूपमा विभिन्न व्यक्तिको चर्चापरिचर्चा पनि चलिरहेको छ। आयोगका पदाधिकारी नियुक्ति गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाको सन्दर्भमा सर्वोच्च अदालतले २०७० पुस १८ मा मार्गदर्शन दिएको थियो। द्वन्द्वकालमा सशस्त्र विद्रोहको पक्षमा वा सो विद्रोहको दमन अथवा प्रशासनमा संलग्न भई कुनैरूपमा द्वन्द्वको पक्षधर वा सम्बन्धितबाहेकका मानवअधिकार उल्लंघनको नकारात्मक अभिलेख नभएका व्यक्ति सम्मिलित हुनेगरी अन्तर्राष्ट्रियरूपमा स्वीकृत मापदण्डको आधारमा स्वच्छ, निष्पक्ष, विश्वसनीय आयोग गठन गर्न सर्वोच्च अदालतले निर्देश गरेको छ। तर, सिफारिस समितिले छनौट कार्यविधि तयार पार्दा खुला हृदयले न परामर्श गर्योद न त विश्वसनीय छनौट प्रक्रिया नै तयार पार्योा। आयोगको पदाधिकारी नियुक्तिको लागि आवेदन दिएका व्यक्तिउपर सरोकारवालाले दाबीविरोध तथा उजुरी दिन पाउने व्यवस्थासमेत नभएको र कुनै व्यक्तिको विशिष्ट योग्यता र अनुभवको आधारमा समितिले नाम सूचीकृत गर्ने प्रावधान सिद्धान्ततः राम्रो देखिए पनि आयोगका पदाधिकारी नियुक्तिमा राजनैतिक भागबण्डा हुने आशंकामा बल पुगेको छ।
संक्रमणकालीन न्याय केवल प्राविधिक एवं कानुनी प्रक्रियामात्र नभएर पीडितप्रतिको भावनात्मक, मनोवैज्ञानिक र व्यवहारिकताजन्य प्रक्रिया हो। पीडितलगायत आमजनताको विश्वास जित्न र अपनत्व महसुस गर्नका लागि आयोग गठन प्रक्रियादेखि नै द्वन्द्वबाट पीडित एवं आमनागरिकको भौतिक तथा भावनात्मक संलग्नता एवं सहभागिता हुनुपर्छ। संक्रमणकालीन न्यायलाई केवल कसले कसलाई पीडित बनायो भन्ने थाहापाउने, पीडक र पीडितलाई देखावटी अंकमाल गराएर मेलमिलाप भयो भनाउने, केही पीडकलाई दण्डित गरेजस्तो गर्ने, पीडितलाई २/४ लाखको राहत दिने र २/४ वटा स्मारक बनाउनेजस्तो सा"घुरो तथा अस्थायी ढंगमा थामथुम पार्ने प्रक्रियाका रूपमा मात्र कदापि बुझ्नु हुँदैन। संक्रमणकालीन न्यायको उद्देश्य केवल पीडित र पीडकका पहिचानमात्र नभएर द्वन्द्वका अन्तर्निहित कारण पत्ता लगाउने, गम्भीर मानवअधिकार उल्लंघनकर्ताहरूको पहिचान गर्ने र जवाफदेही बनाउने, आवश्यक कानुनी व्यवस्था गरी भविष्यमा त्यस्ता अपराध गरेमा दण्डित भइनेतर्फ सचेत गराउने हो। विधिको शासन, मानवअधिकार, जवाफदेहितालाई अभिन्न अंग मानेको संक्रमणकालीन न्यायलाई लोकतन्त्रको आधारस्तम्भका रुपमा बुझ्नु र आत्मसात गर्नु जरुरी छ।
बेलैमा विश्वसनीय संक्रमणकालीन न्यायप्रक्रिया अवलम्बन गर्न नसकिएकै कारण उच्चपदस्थ प्रहरी अधिकारी शान्तिसेनामा तथा केही राजनैतिक दलका नेता एवं तत्कालीन महान्यायधिवक्तासमेत विदेश जाननपाएको तथ्य हाम्रासामु ताजै छ। वर्षौंको प्रतीक्षापछि पनि पीडितले देशमा न्यूनतम न्यायको अनुभूति गर्ननसकेमा अरू कुमार लामाहरू विदेशमा प्रक्राउ पर्ने अप्रिय घटनाको सामना गर्ननपर्ला भन्न सकिन्न। अन्तर्राष्ट्रियजगत्मा देशको विश्वसनीयता एवं छविसँग जोडिएको विषयवस्तु भएकाले आपसमा विभाजित भएर वा असहयोगको वातावरण कायम राखेर होइन कि सरकार, राजनैतिक दल, पीडित समुदाय, मानवअधिकारकर्मी तथा नागरिक समाजको आपसी सहकार्य र अपनत्वले मात्र स्ांक्रमणकालीन न्यायप्रक्रिया सफल हुन्छ। विगतमा मल्लिक आयोग, रायमाझी आयोगजस्तो समस्यालाई थामथुम पार्नका लागि आयोग गठन गर्ने र प्रतिवेदन कहिल्यै कार्यान्वयन नहुने नियति सत्य निरुपण आयोगलाई कदापि स्वीकार्य हुनु हुँदैन।
स्थापित मान्यताबमोजिम नबनाइने आयोग प्रक्रियामा सहभागी नहुने संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायको अडानबीच सरकारले बेपत्ता पारिएका व्यक्ति छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कामका लागि आफै साधनस्रोत उपलब्ध गराउने र द्वन्द्वबाट पीडित भएका नागरिकको परिपूरणका लागि विदेशी समुदायसँग सहयोग मागिरहेको बुझिएको छ। ऐन बनाउँदा सरकारले पीडित समुदायसँगको सहकार्यको आवश्यकतालाई बेवास्ता गरिसकेको छ। सिफारिस समितिले अलमलका बीच काम अगाडि बढाइरहेको भए तापनि ऐन सर्वोच्च अदालतको फैसला एवं मानवअधिकारका अन्तर्राष्ट्रि्र्रय दस्तावेजउपर निहित राज्यको दायित्वविपरित रहेको जनाउँदै मानवअधिकार सुमदायले राखेको ऐन संशोधन नगरी आयोग गठन प्रक्रियामा संलग्न नहुने कुनै हचुवाको अडान पक्कै होइन। साथै, प्रक्रियालाई सर्वस्वीकार्य बनाउनकै लागि संयुक्त राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघका विशेष समाधिक्षक, अन्तर्राष्ट्रिय संघसंस्थाहरू, एम्नेस्टी इन्टरनेसनल, आइसीजे, ह्युमन राइट्स वाच, आइसीटीजेले सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन एवं मापदण्डबमोजिम ऐन संशोधन गर्न आग्रह गरेका छन्।
मुख्य ३ दलका शीर्ष नेताले सिफारिस समितिसँगको परामर्शमा स्वतन्त्र र सक्षम व्यक्ति छनौटका लागि हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएको सुनिएको छ। सबै क्षेत्रमा राजनीतिक भागवण्डा हुने र कुनै दलमा नलागेका विज्ञहरूले कुनै भूमिका नपाउने हाम्रोजस्तो देशमा आयुक्तहरूले कति स्वतन्त्र र विवेकपूर्ण ढंगले काम गर्न सक्नेछन् भविष्यले नै बताउला! आयोगका आयुक्तहरूको विश्वसनीयता, क्षमता, विज्ञता एवं निष्पक्षताले नै आयोगको समग्र सफलता निर्धारण गर्दछ। आफ्नो पीडा आत्मसात् गर्नसक्ने सक्षम, निष्पक्ष, क्षमतावान एवं विश्वास जितेका आयुक्तहरू भएमा र सुरक्षाको विश्वसनीय प्रबन्ध भएमात्र पीडित एवं साक्षीले आयोगमा गएर कुरा खोल्न सक्नेछन्। राजनैतिक प्रभावमुक्त भएर तटस्थ भूमिका खेल्नसक्नेे, संक्रमणकालीन न्याय तथा मानवअधिकारप्रति प्रतिवद्ध, स्वतन्त्र, इमानदार, सार्वजनिक ख्याति कमाएको, विश्वसनीय, द्वन्द्वरत कुनै पक्षसँग संलग्न नरहेको, मानवअधिकार उल्लंघनको नकारात्मक संक्रमणकालीन न्याय र मानवअधिकारप्रति जानेबुझेको व्यक्ति छान्नुपर्छ। साथै, आवश्यकताअनुसार साधनस्रोत र विज्ञ उपलब्ध गराउने पहुँच भएको एवं सबै समुदाय र क्षेत्रको प्रतिनिधित्वतर्फ उत्तिकै ध्यान दिनु पनि आवश्यक छ।
पीडित समुदायलगायत सबै क्षेत्रबाट ऐन संशोधनका लागि निरन्तर आवाज उठिरहेको र पीडित समुदायले नै गठन प्रक्रियामा अपनत्व महसुस नगरिरहेको सन्दर्भमा सरकारले आपसी विश्वास र सहकार्य सुनिश्चित गर्नका लागि तुरुन्त निकास खोज्नुपर्दछ। र, विश्वसनीय आयोग गठन प्रक्रिया तत्काल आरम्भ गर्नुपर्छ। सम्भावित आयुक्तहरूको संक्षिप्त सूची सार्वजनिक गर्नुपर्छ, सरोकारवालाले देशैभरिबाट दाबीविरोध गर्ने तथा उम्मेदवारहरूलाई सफाइ प्रस्तुत गर्ने पर्यात समय र अवसर प्रदान गर्नुपर्छ। अन्तिम सूचीमा परेका उम्मेदवारको आयुक्त बन्न चाहनुको कारण, कार्ययोजना तथा भूमिकाका सम्बन्धमा सार्वजनिक सुनुवाई गर्नुपर्छ। द्वन्द्वपीडित समुदायसमक्ष पीडितको सहमतिमा मात्र मेलमिलाप एवं क्षमादानका लागि सिफारिस गर्ने, तर गम्भीर अपराधमा क्षमादानको लागि सिफारिस नगर्ने प्रतिबद्धता व्यक्त गरेका व्यक्तिमात्र आयोगको पदाधिकारीमा सिफारिस गर्नुपर्छ।